पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले जितेका छन्।
उनले ५ स्टेज (ट्रयाक) को ११.९२० किमीको दूरी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरेर उपाधि जितेका हुन्।
विभिन्न ७ विधामध्ये इलिट पुरूषतर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
त्यसैगरी सोही विधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान बनाउन सफल भए।
किलिङले सोही दुरी १० मिनेट १६ सेकेण्ड ९७ मिलिसेकेण्डमा पार गरे भने प्रचितले १० मिनेट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा पार गरे।
यससँगै किलिङले नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे। त्यस्तै, महिलातर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङ्गमा याङ्जी शेर्पाले दोस्रो र सिंगापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गर्न सफल भए।
उनीहरूले १० किमी ५०० मिटरको दूरी क्रमशः ९ मिनेट ५३ सेकेण्ड ४८ मिलिसेकेण्ड, ११ मिनेट २५ सेकेण्ड ३१ मिलिसेकेण्ड र १५ मिनेट ३५ सेकेण्ड ३६ मिलिसेकेण्डमा पार गरे। योसँगै उनीहरूले क्रमशः नगद ३५ हजार रुपैयाँ, २५ हजार र १५ हजारसहित प्रमाणपत्र, मेडर र गिफ्ट ह्याम्पर प्राप्त गरे।
अर्को विधा १८ वर्षसम्मका पुरूष जुनियरतर्फ नेपालका विपुल थापा प्रथम हुन सफल भए। उनलाई पछ्याउँदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए। उनीहरूले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे।
त्यस्तै, ३० देखि ३९ वर्ष समूहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मंगल लामा दोस्रो र कुंगा वोसेर तेस्रो हुन सफल रहे। तीनै जना नेपालका खेलाडीले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे।
त्यसैगरी अर्को विधा ४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले प्रथम, रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान बनाउन सफल भए। उनीहरू सबै नेपाली हुन्। उनीहरूले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे।
त्यस्तै, ५० वर्षभन्दा माथिका समूहका लागि भेट्रान विधातर्फ लाल आले, सुलोचन राजभण्डारी र सैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भए। नेपालका उनीहरूले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे।
नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम प्रथम हुन सफल भए भने विश्वास मोदी दोस्रो भए। उनीहरूले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा तीन दिनसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा (महाप्रभु धाम) मा प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ।
प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए।
इन्डुरो माउण्टेन बाइक रेसले पोखराको पर्यटन विकासमा टेवा पुगेको पोखरा– १३ का वडाध्यक्ष किरण बरालले बताए।
‘अन्तर्राष्ट्रिय स्तरको माउण्टेन बाइक रेसले पोखराको खेल पर्यटनलाई उजागर गरेको छ,’ उनले भने, ‘आगामी दिनमा अझै व्यापक तयारीका साथ यस प्रतियोगितालाई निरन्तरता दिन्छौं।’