पर्वतका अनिश थापा रोटरी हाफ म्याराथन २०२३ को च्याम्पियन बनेका छन्।
भारतीय सेनामा कार्यरत ३३ वर्षीय थापाले हाफ म्याराथनमा निर्धारित २१ दशमलव १ किलोमिटर दुरी १ घण्टा ६ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्।
विश्व पोलियो दिवसको अवसरमा पोलियो उन्मुलनको सन्देश दिने भन्दै रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले शनिबार भैरहवा हाफ म्याराथन आयोजना गरेका थिए।
रोटरीले गत वर्ष आयोजना गरेको म्याराथनका पनि विजेत बनेका थापाले यसपटक पनि च्याम्पियन बन्दै एक लाख रुपैयाँ पुरस्कार हात पारेका छन्।
‘आजै पोलियो उन्मुलन गरौं’ भन्ने नाराका साथ आयोजित म्याराथनमा बैतडीका नरेन्द्रसिंह रावत दोस्रो बने। २८ वर्षीय रावत नेपाली सेनामा कार्यरत छन्। एक घण्टा ७ मिनेट ४ सेकेन्डमा निर्धारित दुरी पूरा गरी दोस्रो बनेका रावतले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
यस्तै, नेपाली सेनामै कार्यरत महेन्द्रनगरका मुकेशबहादुर पाल तेस्रो भए। एक घण्टा ८ मिनेट ४२ सेकेन्डमा म्याराथनमा निर्धारित दुरी पार गरेका पालले नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, विभिन्न क्लबमा आवद्ध तथा व्यक्तिगत धावक समेत गरि २ सय बढी धावकले सहभागिता जनाएको हाफ म्याराथनमा चौथो र पाँचौं हुने दुई जनालाई जनही ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
निर्धारित दूरी एक घण्टा १४ मिनेट १ सेकेन्डमा पार गर्दै संजय श्रेष्ठ चौथो भए भने एक घण्टा २५ मिनेट ५९ सेकेन्डमा दूरी पूरा गरेका उमेश बरई पाँचौं भए।
भैरहवाको बुद्वचोकबाट बिहान सुरू भएको म्याराथन देवकोटा चोक, बसन्तपुर, बेलहिया बाइपास, पर्यटकीयद्वार हुँदै पुनः देवकोटा चोक, गौतमबुद्व विमानस्थल भएर लुम्बिनी गेट हुँदै आवारोडमा आएर समापन भएको थियो।
प्रतियोगितामा रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ राजधानी सहआयोजक बनेका थिए। रोटरी डिष्ट्रिक पब्लिक इमेज चेयर तथा म्याराथन संयोजक राजकुमार गुप्ताले प्रत्येक वर्ष पोलियो दिवसका दिन म्याराथन आयोजना गर्दै आएको जानकारी दिए।