हाङझाउ एसियाली खेलकुदअन्तर्गत करातेमा नेपालका विप्लवलाल श्रेष्ठ कास्य पदकको भिडन्तमा चुकेका छन्।
शुक्रबार ८४ केजीमाथिको तौल समूहमा साउदी अरेबियाका अली मोहमद हमेदीसँग पराजित हुँदा विप्लवले कास्य पदक जित्ने अवसर गुमाएका हुन्। उनी ९-१ अंकले पराजित भए।
यसअघि अन्तिम १६ को खेलमा उनले ताजकिस्तानका खेलाडीलाई १२-४ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए।
क्वार्टरफाइनलमा भने उनी किर्गिस्तानका खेलाडीसँग ५-१ अंकले पराजित भए। किर्गिस्तानका खेलाडी फाइनलमा पुगेसँगै उनले रिपाचेमा स्थान बनाए। रिपाचेको पहिलो राउन्डमा बाइ पाएका उनले कास्य पदकको भिडन्तमा साउदीका खेलाडीसँग भिडेका हुन्।
उनी १३औं सागका स्वर्ण विजेता खेलाडी हुन्। २०७६ मा भएको सागमा उनले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जितेका थिए।
यसअघि करातेकै अर्को प्रतिस्पर्धामा नेपालकी निरुपा दोङ तामाङ बंगालदेशकी खेलाडीसँग पहिलो चरणमै पराजित भइन्।