कबड्डी खेल नेपालको पुरानो खेल मध्येको एक हो। भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि कबड्डीलाई अघोषित रूपमा राष्ट्रिय खेल मानिन्थ्यो।
नेपाली संस्कृतिसँग समेत जोडिएको कबड्डी खेलको विकास र विस्तार भने हुन सकेको छैन।
नेपाली कबड्डी टिमका लागि प्रशिक्षण गर्ने आफ्नै हल छैन। नेपाल आर्मी, पुलिस र एपिएफमा आबद्ध खेलाडीले आफ्नै विभागमा गर्ने अभ्यासले नेपाली कबड्डी धानेको छ।
कमजोर धरातलमा रहेको नेपाली महिला कबड्डी टिमले चीनको हाङझाउ एसियाली खेलकुदअघि हैरानी खेप्न पर्यो। नेपाली टिमले भारतको हरियाणामा एक महिना अभ्यास गरेको थियो। भारतमा अभ्यास गरेर नेपाल फर्किएपछि भने नेपालमा सोचेजस्तो प्रशिक्षण हुन सकेन।
‘भारतबाट एक महिनाको अभ्यास गरेर नेपाल आयौं। तर नेपालमा आएपछि अभ्यास गर्ने हल नै भएन,’ नेपाली टिमकी कप्तान मेनुकाकुमारी राजवंशीले एसियाली खेलकुदअघि पाएको हैरानीबारे हाङझाउमा सुनाइन्।
तर पनि महिला कबड्डी टिमले एसियाली खेलकुदमा डेब्यू गर्न लागेकोमा भने उनी उत्साहित थिइन्। यसअघि पुरूष कबड्डी टिमले एसियाली खेलकुदमा प्रतिस्पर्धा गरे पनि महिला टिमले भने असवर पाएको थिएन। महिला टिमका लागि साग खेलकुदमा रजत जित्नु नै ठूलो उपलब्धि थियो। यदाकदा राष्ट्रिय प्रतियोगिता भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि महिला कबड्डी टिमले लामो समय पर्खनु पर्ने बाध्यता छ।
१५ वर्ष कबड्डी खेलिसकेकी राजवंशीले जति नै हैरानी खेपे पनि एसियाली खेलकुदमा पाएको अवसरमा सदुपयोग गर्ने अठोट गरेकी थिइन्।
तर जब महिला कबड्डीको समूह विभाजन सार्वजनिक भयो नेपाली टिममा आशाको सञ्चार भयो। एसियाली खेलकुदको महिला कबड्डीमा सात टिम मात्र सहभागी भएकोमा नेपाल तीन टिम सम्मिलित समूहमा पर्यो। अझ तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी बंगलादेशसँग पनि नेपाल रहेको समूह ‘बी’ मै परेपछि नेपाली अफिसियलहरू समेत हौसिएका थिए।
आइतबार साँझ हाङझाउको भव्य एथलेट भिलेजमा पुग्दा नेपाली महिला टिम डिनरका लागि जाँदै थियो। बाटोमा भेटिएका प्रशिक्षक विष्णुदत्त भट्ट भन्दै थिए, ‘सबैले हामीमाथि आशा राख्नुभएको छ। जता गए पनि हाम्रै चर्चा पो सुन्छु।’
उनले गत दक्षिण एसियाली खेकलुद (साग) मा बंगलादेशलाई पराजित गरेको तथ्य देखाउँदै सोमबार बिहानको खेल जित्दै इतिहास रच्ने बताए।
नेपालका पूर्वकबड्डी खेलाडी समेत रहेका भट्टले चीनमै भएको १९९० को बेइजिङ एसियाली खेलकुद खेलेका थिए। आफ्नो समयमा एसियाली खेलकुदमा पदक जित्न नसकेका भट्टका लागि प्रशिक्षकको रूपमा त्यो पनि चीनमै पदक जित्ने अवसर आएको थियो।
सोमबार बिहान हाङझाउस्थित जिआओसान गुआली स्पोर्ट्स सेन्टरमा जब नेपाली टिम बंगलादेशविरूद्ध कोर्टमा उत्रियो, सुरूवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्न सफल भयो।
नेपालले १५ मिनेटको पहिलो हाफमा २१-१६ को अग्रता लिन सफल भएको थियो। जसमा नेपालले दुई पटक बंगालदेशलाई अलआउट गरेको थियो।
दोस्रो हाफमा पनि नेपालले आफ्नो लय कामयै राख्यो। दोस्रो हाफमा पनि बंगलादेशलाई दुई पटक अलआउट गरेको नेपाल ३७-२४ अंको जित निकाल्दै एसियाली खेलकुदमा ऐतिहासिक जित निकाल्यो।
महिला कबड्डी टिमले एसियाली खेलकुदको आफ्नो डेब्यू खेलमै जित निकालेसँगै पदक नजिक पुग्यो। अब समूहमा नेपाल र इरान तथा बंगलादेश र इरानबीच खेल हुन बाँकी छ। नेपालले इरानसँग हारे पनि सेमिफाइनल पुगेर पदक जित्ने अवस्था छ। त्यसका लागि बंगलादेशले इरानसँग हार्नु पर्छ। कबड्डीमा सेमिफाइनलम पराजित हुने दुई टिमलाई पदक दिने नियम छ।
यसरी डेब्यू खेल जितेर पदक नजिक पुगेपछि नेपाली टिमकी कप्तान मेनुकाकुमारी राजवंशीसहितको टिमको खुसीको सीमा छैन। कोर्टमा नै कोही खुसीले उफ्रिएका थिए भने कसैले हर्षका आँशु झारेका थिए।
‘बंगलादेशलाई जितेपछि हाम्रो मेडल पक्का हुन्छ भन्ने थियो। अब घाँटीमा मेडल लगाउन पाउँदैछौं, सबै जना धेरै खुसी छौं,’ उनले भनिन्, ‘महिला कबड्डी टिमलाई एसियाली खेलकुदमा सहभागी गराउनुभएको सबैलाई धन्यवाद दिन चाहन्छु। मेडल जित्छ सक्छौं भन्ने आशा राख्नुभएको थियो। त्यसमा हामी सफल भयौं।’
नेपाल र बंगलादेश दुबै टिमले एसियाली खेलकुदको तयारी भारतमा गरेका थिए। बंगलादेशले भारतमा चार महिनाभन्दा बढी अभ्यास गर्दा नेपालले एक महिनामात्र अभ्यास गर्ने अवसर पाएको थियो। त्यही एक महिनाको अभ्यासका कारण बंगलादेशलाई पराजित गर्न सम्भव भएको कप्तान राजवंशीको भनाइ छ।
‘भारतको हरियाणामा एक महिना गरेको अभ्यासले राम्रो भयो। हामीले त्यहाँ ६-७ वटा फ्रेन्ड्ली म्याच खेल्ने अवसर पायौं। सायद त्यही खेलले गर्दा आज हामीले राम्रो खेल्न सक्यौं,’ उनले भनिन्।
एसियाली खेलकुदको डेब्यू खेल जितेर पदक नजिक पुग्दा उनले आफ्नो सपना पूरा भएको ठानेकी छिन्।
‘कबड्डी खेल्न थालेको १५ वर्ष भयो। आज यो खेल खेलेको सपना पूरा भएको छ। सबै टिमको सपना पूरा भएको छ। हाम्रो लागि विश्वकप वा ओलम्पिक भनेकै यही हो, त्यसैले सबै जना खुसी छौं,’ उनले भनिन्, ‘हरियाणाको एकदमै गर्मीमा अभ्यास गरेर जसका लागि मेहनत गरेर पसिना बगाएका थियौं, आज त्यो पूरा भयो।’
एसियाली खेलकुदमा कबड्डी प्राथमिकतामा परेको खेल भने होइन। पछिल्लो सयम ओझेल पर्दै आएको कबड्डी एसियाली खेलकुदमा पदक नजिक पुगेसँगै यसमा लगानी गर्न कप्तान राजवंशीले आग्रह गरिन्।
‘क्रिकेट, भलिबल, बास्केटबल जस्तै कबड्डीको लागि पनि अभ्यास गर्ने एउटा हल हुनुपर्यो। हल नहुँदा हामीले एसियाली खेलकुदका लागि राम्रो अभ्यास गर्न पाएनौं। बिन्ती छ कबड्डीको हल भनेर बनाइदिनु होला,’ उनले भनिन्।
नेपालकी प्रशिक्षक पार्वती राईले नेपाल पदक नजिक पुग्दाको क्षण शब्दमा व्यक्त गर्न नसकिने बताइन्। उनले अवसर पाए नेपाली महिला कबड्डी टिमले पनि जित्न सक्ने बताइन्।
‘खेलाडीले अवसर पाए केही असम्भव छैन। लामो सयम बन्द प्रशिक्षण र सुविधा दिएमा नेपालले पदक जित्न सक्छ। कष्टकर अवस्थामा पनि अभ्यास गरेका थियौं। खेलाडीले पनि कुनै गुनासो नगरी मेहनत गर्दा यो सफलत हात पार्न सफल भयौं,’ राईले भनिन्।