चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदका सुरूवाती पाँच दिनमा गरेको प्रदर्शनले थाहा हुन्छ, नेपाली खेलकुदको स्तर।
खेलाडीले लगातार खराब प्रदर्शन गरिरहँदा अहिले नेपाली खेलकुदको व्यस्थापनप्रति प्रश्न उठेको छ। केही दिनअघि मात्र विभिन्न खेलमा असम्बन्धित व्यक्ति म्यानेजर बनेर आएको सार्वजनिक भएको थियो।
अझ ओलम्पियन दीपक बिष्ट गल्फको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ उसुको व्यवस्थापक बनेर चीन आएपछि चर्को आलोचना भइरहेको छ। बिष्ट तेक्वान्दो प्रशिक्षक हुन् भने श्रेष्ठ कराते प्रशिक्षक हुन्। दुबै जना साग गेम्सका कीर्तिमानी स्वर्ण विजेतासमेत हुन्।
नेपाली खेलकुदको विकृति यतिमा मात्र सीमित छैन। दुई खेल संघका अध्यक्ष निर्णायकको कोटामा चीन आइपुगेका छन्। नेपाल चेस संघका अध्यक्ष विदुरप्रसाद गौतम र हकी संघका अध्यक्ष अनिलप्रसाद शर्मा निर्णायकको रूपमा चीन आएको हाङझाउ एसियाली खेलकुदको आधिकारीक वेबसाइटमा उल्लेख छ।
एसियाली खेलकुदको आयोजकले निर्णायक छान्ने जिम्मा सम्बन्धित खेलको एसियाली महासंघलाई दिन्छ। त्यसपछि महासंघले आफू आबद्ध भएको देशका संघलाई निर्णायक सिफारिस गर्नका लागि पत्र पठाउने गरेको छ। त्यसका लागि सबै देशका संघले आफ्नो देशका बढीभन्दा बढी निर्णायकको नाम सिफारिस गर्छन्। त्यही सिफारिसको आधारमा एसियन खेलकुदका लागि निर्णायक छानिन्छ।
नेपाल आएका दुई अध्यक्षले भने आफूले आफूलाई नाम सिफारिस गरेर चीन आएको देखिएको छ।
चेस संघका अध्यक्ष निर्णायक बनेर चीन आएको विषयमा बुझ्दा चेस संघका वरिष्ठ उपाध्यक्ष हेराकाजी महर्जन सन्तुष्ट देखिएनन्।
‘उहाँ कसरी र के आधारमा निर्णायक भनेर चीन जानुभएको बारेमा चेस संघलाई जानकारी छैन,’ सेतोपाटीसँग महर्जनले भने, ‘हुन त उहाँ पनि निर्णायक नै हो। तर संघमा कसलाई सिफारिस गर्नेबारे निर्णय भएको छैन। यस्तोमा अध्यक्ष भन्दा अरू निर्णायकलाई अवसर दिनु पर्छ भन्ने मेरो धारणा हो।’
हाङझाउ एसियाडमा चेसमा पनि प्रतिस्पर्धा भइरहेको छ। तर नेपालबाट भने कोही पनि खेलाडी सहभागी छैनन्। चेसलाई एसियाली खेलकुदमा सहभागी गराउनुका लागि संघले लबिङ नगरेको ओलम्पिक कमिटी स्रोतको भनाइ छ।
‘हामीले यसअघि एसियाली प्रतियोगितामा कास्य पनि जितेका थियौं। वर्ल्ड कपमा पनि राम्रै खेल्यौं,’ वरिष्ठ उपाध्यक्ष महर्जनले भने, ‘चेसबाट पदक सम्भावना भएको हुँदा खेलाउन पहल हुनुपर्थ्यो।’
हकीबाट निर्णायक बनेका अनिलप्रसाद शर्मा यसअघि संघको कार्यवाहक अध्यक्ष थिए। उनी गत महिना भएको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी पनि हकीका निर्णायक हुन्।
‘अध्यक्ष जस्तो मान्छेले अर्को नयाँ प्रशिक्षकलाई अवसर दिनु पर्थ्यो,’ हकीका एक पदाधिकारीले भने, ‘तर उहाँ आफैं निर्णायक बन्नु राम्रो होइन। यो त निर्णायकको कोटामा विदेश घुम्ने मेलो मात्र भयो।’
एसियाली खेलकुदजस्तो ठूलो महादेशीय प्रतियोगितामा आफ्ना निर्णायकलाई पठाएर अनुभव दिलाउनु पर्ने उनको भनाइ छ।
तेक्वान्दोबाट निर्णायक बनेर चीन आइपुग्न कोशिसबहादुर खड्कालाई सहज भएन।
दशकौंदेखि नेपाल तेक्वान्दो संघको महासचिव रहेका दीपराज गुरूङले उनको नाम हटाउन एसियाली तेक्वान्दो युनियनलाई पत्राचार नै गरेका थिए। तर आयोजकले सिफारिस भइसकेको नाम हटाउन नमानेपछि खड्काको नाम काट्ने दीपराजको प्रयास सफल हुन पाएन।
एसियाली खेलकुदमा एक हजार निर्णायकमा भारतबाट झन्डै तीन सय बढी निर्णायक छन्। तर नेपालबाट मुस्किलले दर्जन निर्णायक चीनमा छन्। संघले सम्बन्धित महासंघमा बेलैमा लबिङ गर्न नसक्दा नेपालका निर्णायकले ठूलो प्रतियोगितामा अवसर पाउन सकेका छैनन्। अझ अध्यक्ष नै प्रशिक्षकको कोटामा आउदा निर्णायकमाथि अन्याय भएको छ।