चीनको पूर्वी शहर हाङझाउमा अहिले १९ औं संस्करणको एसियाली खेलकुद जारी छ। ४५ देशका करिब १२ हजार खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गरिरहेका छन्।
नेपालका २५३ खेलाडीले २९ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। चौथो दिनको खेल जारी रहँदा नेपालका खेलाडीको खराब प्रदर्शन जारी छ। कोही पनि खेलाडी पदक नजिकसमेत पुग्न सकेका छैनन्।
खेलाडीले खराब प्रदर्शन गरिरहँदा नेपालबाट १० जना निर्णायकले आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। सम्बन्धित खेलको निर्णायकको भूमिका रहँदै उनीहरूले नेपालको प्रतिनिधित्व गरिरहेका छन्।
नेपालबाट चेसका विदुरप्रसाद गौतम, हकीका अनिलप्रसाद शर्मा र तेक्वान्दोका कोशिसबहादुर खड्का हाङझाउ एसियाली खेलकुदको निर्णायक छन्।
यस्तै भलिबलका पूर्ण चौलागाईंले पनि एसियाली खेलकुदका खेल सञ्चालन गरिरहेका छन्। उसुमा दुई जना निर्णायक नेपालका छन्। रतनबहादुर खाती र मन्जुर महर्जनले उसुको निर्णायकमा नाम छ।
ट्रायथलनमा पनि नेपालका दुई जना प्राविधिक बनेर आगामी शनिबारदेखि सुरू हुने प्रतिस्पर्धामा आफ्नो भूमिका निर्वाह गर्दैछन्। ट्रायथलनमा पुष्परत्न बज्राचार्य र चाहाना शाह निर्णायक मण्डलमा छन्।
ब्याडमिन्टनका उदय अर्यालमा पनि निर्णायकको रुपमा एसियाली खेलकुदमा छन्।
दक्षिण एसियाली खेकलुद (साग) का स्वर्ण विजेतासमेत रहेका कोशिसबहादुर खड्का एसियाली खेलकुदमा निर्णायकको भूमिकामा रहन पाउँदा गर्व लागेको बताउँछन्।
उनी तेक्वान्दोको पहिलो दिन पुम्से (कला प्रदर्शनी) मा निर्णायकको भूमिकामा थिए। यस्तै सोमबार चार खेलमा उनी निर्णायककै भूमिकामा रहे।
नेपाल तेक्वान्दो संघले एसियाली तेक्वान्दो युनियनलाई नाम पठाएपछि उनी एसियाली खेलकुदको निर्णायकका लागि छनोटमा परेका थिए। त्यो छनोट पार गरेपछि एसियाली खेलकुदको आयोजकले उनलाई निर्णायकको जिम्मेवारी सुम्पिएको हो। उनलाई हवाई टिकट, बस्ने व्यवस्थासहित भत्ता आयोजकले दिन्छ।
एसियाली खेलकुदमा तेक्वान्दोबाट निर्णायक बन्ने उनी नेपालका तेस्रा व्यक्ति हुन्। यसअघि दीपराज गुरूङ र नवीन श्रेष्ठले मात्र एसियाली खेलकुदमा तेक्वान्दोको निर्णायक बन्ने अवसर पाएका थिए।
२००६ देखि निर्णायक बनेका उनले यसअघि साग खेलकुदसहित सिकागो ओपन, अमेरिकाको पोर्टल्यान्डमा भएको अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको काम गरेका थिए।
खेलाडीको रूपमा उनको इच्छा एसियाली खेलकुद खेल्नु थियो। तर छनोट भएर भाग लिने मौका पाएनन्। खेलाडीको रूपमा एसियाली खेलकुद खेल्न नपाएका उनले निर्णायक बनेर आफ्नो सपना पूरा गरेका छन्।
‘एसियाली खेलकुद ओलम्पिकपछिको सबैभन्दा ठूलो प्रतियोगिता हो। महादेशीय प्रतियोगितामध्ये सबैभन्दा ठूलो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै निर्णायक बन्न पाउँदा निकै गर्व लागेको छ,’ खड्काले मंगलबारको बिहानी सत्रको ब्रेक टाइममा सेतोपाटीसँग कुरा गर्दै भने।
एसियाली खेलकुदमा नेपालको सबैभन्दा सफल खेल तेक्वान्दो भए पनि यसपटक नेपालले खराब सुरूवात गरेकोमा भने उनी दु:खी छन्। एसियाका हरेक खेलाडीका खेल नियालिरहेका खड्काले नेपाली खेलाडीमा आत्मविश्वासको कमी भएको पाएका छन्।
‘प्राविधिक र राजनीतिक कारण नेपाली खेलाडीको स्तर माथि उठ्न नसकेको पाएको छु,’ लुम्बिनी प्रदेश खेलकुद परिषदका कोषाध्यक्षसमेत रहेका खड्काले भने, ‘सुरूमा नेपाली खेलाडीले राम्रो खेले पनि विपक्षीको नाम र देश सुनेपछि मोरल डाउन भएको देखिएको छ।’
एसियाली खेलकुदमा लागि भलिबलका रेफ्री पूर्ण चौलागाईं चीन आएको १२ दिन भयो। उनले अहिलेसम्म २ वटा खेलको मुख्य रेफ्रीको रूपमा काम गरिसकेका छन्। चौलागाईंले कतार भर्सेस हङकङ र पाकिस्तान भर्सेस चाइनिज ताइपेइको खेलमा मुख्य रेफ्री भएर खेल सञ्चालन गरेका थिए।
यससँगै उनले सहायक रेफ्री र च्यालेञ्ज रेफ्रीको भूमिका पनि निर्वाह गरिसकेका छन्।
चौलागाईं पनि एसियाली भलिबल महासंघको छनोट पार गरेर एसियाली खेलकुदमा निर्णायक छानिएका हुन्। एसियाली खेलकुद सञ्चालनका लागि नेपाल भलिबल संघले ५ जना रेफ्रीको नाम पठाए पनि चौलागाईंमात्र अन्तिम छनोटमा परेका थिए। आयोजकले ट्राभलसहित खाना र भत्ता दिन्छ।
अहिले सबै खेलका निर्णायकलाई टेक्निकल भिलेजमा राखिएको छ। चीनले एसियाली खेलकुदमा भाग लिने १२ हजार खेलाडीका लागि भव्य एथ्लेटिक भिलेजसँगै एक हजार अफिसियलका लागि टेक्निकल भिलेज र १० हजार बढी पत्रकार लागि मिडिया भिलेज बनाएको छ।
एसियाली खेलकुदको खेल सञ्चालन गरिरहदा चौलागाईंले नौलो अनुभव बटुलिरहेका छन्।
भलिबलको खेल सञ्चालन गर्नुअघि रेफ्री क्लिनिक र हरेक दिनको परीक्षामा पास गर्नुपर्छ।
२०१६ मा अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स गर्दै अन्तर्राष्ट्रिय खेल खेलाउँदै आएका चौलागाईं त्यसअघि राष्ट्रिय रेफ्री थिए। उनी सन् २०११ मा क्षेत्रीय र २०१४ मा राष्ट्रिय रेफ्री बनेका थिए।
उनले निर्णायक बनेर हङकङ, मकाउ, बंगालदेशमा गएर खेल सञ्चालन गरिसकेका छन्। एसियाली भलिबल महासंघ र सेन्ट्रल जोन भलिबल महासंघअन्तर्गतका प्रतियोगिता सञ्चालन गरेका चौलागाईंले एसियाली खेलकुदका खेल सञ्चालन गरेको भने यो पहिलो पटक हो।
‘चीनले एसियाली खेकलुदमा अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ। जसले गर्दा निर्णायकलाई पनि सजिलो भएको छ,’ एसियाली खेलकुदमा खेल सञ्चालन गर्दाको अनुभव सुनाउँदै चौलागाईंले सेतोपाटीसँग भने, ‘४८ वटा क्यामेराले खिचिरहेको खेल सञ्चालन गर्दा अर्कै खालको आनन्द आइरहेको छ।’
निर्णायक बनेर चीन आएका उनले पुरूष भलिबलमा नेपालका खेल प्रत्यक्ष हेरे। बहराइन र इरानसँग पराजित हुँदै नेपाल फर्किसकेका नेपाली खेलाडीको खेल विश्लेषण गर्दै उनले अघि भने, ‘नेपाली खेलकुदमा कमी भनेको पूर्वाधारको हो। खेलाडीका लागि संघ र सरकारले सकेको जति सुविधा दिएकोजस्तो लाग्छ,’ उनले भने, ‘नेपाली खेलाडीमा खेलमा जित्नका लागि हुनु पर्ने जोश नहुनु र खेललाई लिने कमजोर दृष्टिकोण हारको कारण हो जस्तो लाग्छ।’