दक्षिण एसियाली देशले एसियाली खेलकुद र ओलम्पिक मात्र खेल्ने भएकाले आपसी सम्बन्ध बलियो हुन नसकेको राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्यसचिव शरदचन्द्र शाहको तर्क थियो। खेलकुद परिषद्लमा लामो समय नेतृत्व गरेका शाहले सार्क क्षेत्रका देशबीचको सम्बन्धलाई मजबुत पार्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता गर्नु पर्ने अवधारणा राखेका थिए।
लामो छलफलपछि सन् १९८२ नोभेम्बरमा दक्षिण एसियाली खेलकुद महासंघ स्थापना गरिएको थियो। महासंघमा सुरुमा पाँच देश मात्र सदस्य थिए। सुरुमा नेपाल, भारत, पाकिस्तान र श्रीलंका सदस्य बने। पछि भुटान र माल्दिभ्सले पनि सदस्यता लिए।
दक्षिण एसियाली खेलकुल महासंघ स्थापन भएको दुई वर्षपछि पहिलो संस्करणको प्रतियोगिता आयोजना भएको थियो। पहिलो दक्षिण एसियाली महासंघ खेलकुद (साफ) को आयोजना जिम्मा नेपालले पाएको थियो (सन् २००६ देखि साग नामाकरण गरिएको)। सन् १९८४ सेप्टेम्बर १७ देखि २३ सम्म काठमाडौंमा भएको साफको पहिलो संस्करणका ७ देशले भाग लिएका थिए।
साफका लागि दशरथ रंगशालाको स्वरुप परिवर्तन गरिएको थियो। साधारण प्यारापिट र भाइआइपी प्यारापिटको तल्लो भाग काटेर बार लगाइएको थियो। तत्कालिन राजा वीरेन्द्रले साफको उद्घाटन गरेका थिए।
पहिलो साफमा एथलेटिक्स, बक्सिङ, फुटबल, पौडी र भारोत्तोलन गरी पाँच खेलमा प्रतिस्पर्धा भएको थियो। जहाँ भारतले सबैभन्दा बढी पदक जित्ने क्रममा ४४ स्वर्ण, २८ रजत, १६ कास्य गरी कुल ८८ पदक हात पारेको थियो। श्रीलंका ७ स्वर्ण, ११ रजत र १९ कांस्य जितेर दोस्रो भएको थियो भने तेस्रो बनेको पाकिस्तानले ५ स्वर्ण ३ रजत र २ कासय हात पारेको थियो।
आयोजक नेपालले ४ स्वर्ण, १२ कास्य र ८ रजत पदक हात पारेको थियो। बैकुण्ठ मानन्धरले नेपालका लागि पहिलो स्वर्ण म्याराथनमा जितेका थिए। पहिलो दिन नै म्याराथनको प्रतिस्पर्धा भएकाले मानन्धर नेपालका लागि पहिलो स्वर्ण जित्ने खेलाडी बनेका थिए। त्यतिबेलासम्म नेपालले अन्य आधिकारीक प्रतियोगितामा स्वर्ण जित्न सकेको थिएन।
नेपालका लागि पहिलो स्वर्ण जित्नुअघि बैकुण्ठले ३ पटक ओलम्पिक र ३ पटक एसियाली खेलकुदमा भाग लिइसकेका थिए। त्यसैले उनले सहजै रुपमा स्वर्ण जितेका थिए। बैकुण्ठको दौड हेर्न राजा वीरेन्द्र रंगशालामै पुगेका थिए। स्वर्ण जितेपछि वीरेन्द्रले उठेर ताली पिटेका घटना बैकुण्ठ अहिले पनि सुनाइरहन्छन्।
पहिलो साफमा नेपालले बक्सिङबाट २ स्वर्ण जितेको थियो। दलबहादुर रानामगर र पुष्करध्वज शाहीले बक्सिङमा स्वर्ण पदक हात पारेका थिए।
फुटबल पनि स्वर्ण जित्ने क्रममा नेपालले फाइनलमा बंगलादेशलाई हराएको थियो। दशरथ रंगशालामा भएको रोमाञ्चक फाइनलमा नेपाल ४–२ ले विजयी भएको थियो। यो नेपाली फुटबलले हात पारेको पहिलो अन्तर्राष्ट्रिय पदक हो। भक्तराज राजकर्णिकार, विदुर विष्ट, विनय श्रेष्ठ, धिरेन्द्र प्रधान, किरण राई, गणेश थापा, केदार मानन्धर, कृष्ण थापा, रुपकराज शर्मा, लोकबहादुर शाही, मानबहादुर मल्ल, पवन रानामगर, राजकाजी शाक्य, श्रीराम रञ्जितकार, सुरेश बस्नेत, उमेश प्रधान र वाइबी घले नेपाली फुटबलमा पहिलो उपाधि उचाल्ने स्वर्णीम नाम हुन्।
दोस्रो साफ बंगलादेशको ढाकामा आयोजना भयो। साफ इतिहासमा कम समयको अन्तरालमा आयोजना भएको १९८५ को ढाका साफ हो। पहिलो साफ सकिएको १५ महिनापछि सन् १९८५ डिसेम्बरमा आयोजना भएको साफमा पनि सात देश सहभागी थिए। जहाँ एथ्लेटिक्स, बक्सिङ, फुटबल, कबड्डी, पौडी, भारोत्तोलन र कुस्ती गरी ७ खेलमा प्रतिस्पर्धा भएको थियो। २० डिसेम्बरमा बंगबन्धु राष्ट्रिय रंगशालामा बंगलादेशका तत्कालिन राष्ट्रपति मोहमद इर्सादले दोस्रो साफको उद्घाटन गरेका थिए।
दोस्रो साफमा नेपालको प्रदर्शन कमजोर रह्यो। नेपालका लागि म्याराथनमा बैकुण्ठ मानन्धरले मात्र स्वर्ण जित्न सके। नेपाल पदक तालिकामा भुटान र माल्दिभ्स भन्दा अघि पाँचौ स्थानमा रह्यो। एथ्लेटिक्सका अमिरी यावद रजतमा सिमित बनेका थिए। अघिल्लो संस्करणमा स्वर्ण जितेका बक्सर पुस्करध्वज शाही पनि फाइनलमा पराजित हुँदा रजतमै सीमित बन्न पुगेका थिए। भारोत्तोलन खेलाडीहरु सुरेन्द्र हमाल, सुमसुद्दिन सिद्धिकी र मनन शिभक्तीले पनि रजतमै चित्त बुझाउन परेको थियो।
पहिलो साफमा स्वर्ण जितेको नेपाली फुटबल टिम तेस्रो स्थानमै सीमित बन्न पुगेको थियो। तेस्रो स्थानका लागि भएको खेलमा नेपालले पाकिस्तानलाई ३–२ गोलले पराजित गरेको थियो। त्यसअघिको निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो।
दोस्रो साफमा नेपालले १ स्वर्ण, ९ रजत र २२ कास्य पदक हात परेको थियो। एक मात्र स्वर्ण जितेपछि नेपाली खेल पदाधिकारीको चर्को आलोचना भएको थियो। लगातार दोस्रो स्वर्ण जितेर इतिहास बनाएका बैकुण्ठलाई विमानस्थलमा स्वागत गर्दा 'करोडौको रुपैयाँको एक स्वर्ण' भनेर नाराबाजी भएको थियो।
तेस्रो साफ सन् १९८७ नोभेम्बर २० देखि २७ सम्म भारतको कलकत्तामा आयोजना गरियो। 'साल्ट लेक' रंगशालामा भारतका तत्कालिन राष्ट्रपति रामास्वामी वेन्कटारमनले तेस्रो साफको उद्घाटन गरेका थिए।
तेस्रो साफमा पनि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, नेपाल, भुटान र माल्दिभ्सले भाग लिएका थिए। तेस्रो साफमा एथ्लेटिक्स, बास्केटबल, बक्सिङ, फुटबल, कबड्डी, पौडी, टेबलटेनिस, भलिबल, भारोत्तोलन र कुस्ती गरी १० खेलमा प्रतिस्पर्धा भएको थियो। खोखोलाई प्रदर्शनी खेलमा राखिएको थियो।
तेस्रो साफमा नेपालले २ वटा मात्र स्वर्ण जित्न सक्यो। बैकुण्ठ मानन्धरले लगातार तेस्रो पटक म्याराथनमा स्वर्ण जितेर इतिहास बनाए। उनी नेपाल र साफमा लगातार तेस्रो स्वर्ण जित्न पहिलो खेलाडी हुन्। स्वर्णसँगै उनले म्याराथनमा नयाँ रेकर्ड पनि कायम गरेका थिए। म्याराथन २ घन्टा १५ मिनेट ०३ सेकेन्ड पूरा गरेर उनले रेकर्ड बनाएका थिए। दक्षिण एसियाली खेलकुदमा यो रेकर्ड अहिलेसम्म कुनै खेलाडी पनि तोड्न सकेका छैनन्।
कलकत्तामा बैकुण्ठसँगै बक्सर दलबहादुर रानामगरले स्वर्ण पदक हात पारे। दोस्रो साफका चुकेका रानामगरले पहिलो साफमा पनि स्वर्ण पदक हात पारेका थिए।
यो साफमा नेपाली फुटबल टिम स्वर्ण जित्नबाट बञ्चित बन्यो। कलकत्ताको इडिन गार्डेनमा भएको फाइनलमा घरेलु टिम भारतले नेपालमाथि १–० को जित हात पारेको थियो।
तेस्रो साफमा नेपालले ७ रजत जित्दा ३३ कास्य हात पारेको थियो। नेपाली टिम उक्त साफमा बढी कास्य पदत हात पारेको टिम बनेको थियो।
सो साफमा पनि नेपालले पदक तालिकामा भुटान र माल्दिभ्सलाई मात्र पछि पार्न सक्यो।