‘दसौं लिगलिगे दौड प्रतियोगिता २०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिएका छन्।
गोरखाको पालुङटारमा आज भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगरले चौथो पटक सो उपाधि जित्न सफल भएका हुन्।
भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित भए।
प्रथम थापामगरलाई एक वर्षका लागि पालुङटार नगरपालिकाको सद्भावदूत घोषणा गरिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए।
प्रतियोगितामा दोस्रो भएका नेपाली सेनाका खगेन्द्रबहादुरले निर्धारित दूरी एक घण्टा एक मिनेट आठ सेकेण्डमा पूरा गरेका थिए।
लमजुङका नेपाली सेनाका राम्जी बस्नेतले निर्धारित दूरी एक घण्टा एक मिनेट २४ सेकेण्डमा पूरा गर्दै तेस्रो भए।
चौथो भएका गोरखा हर्मीका सन्दीप ढकालले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३४ सेकेण्डमा पूरा गरेका हुन्।
गोरखा र लमजुङको सीमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरू भएको दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिएको थियो।
प्रथम थापामगरलाई नगद रु ६० हजार १०० सहित श्रीपेच पगरी, ट्रफी र मेडल प्रदान गरिएको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले जानकारी दिए।
दोस्रो भएका भाटलाई नगद रु ३५ हजार १००, तेस्रो भएका बस्नेतलाई नगद रु २५ हजार १०० सहित मेडल, ट्रफी र प्रमाणपत्र, प्रदान गरिएको अध्यक्ष पूर्ण रानाले जानकारी दिए।
उनले प्रतियोगितामा १० औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिएको जानकारी दिए।
नेपाली सेना रणसिंह दल गण गोरखा, पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिताको गरिएको हो।
विसं १६०४ मा सुरू भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिए। राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ।