इन्डोनेसियाको बाताममा भएको ५३औं एसियन बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी रजनी श्रेष्ठले रजत पदक जितेकी छिन्। रजनीले ३० वर्ष माथिको समूहमा पनि कास्य पदक जित्दा पहिलो अन्तर्राष्ट्रिय सहभागितामै दुई पदक हात पार्न सफल भएकी छिन्।
उनले ५५ केजी तौल समूहमा दोस्रो स्थान हासिल गरेकी हुन्। पहिलो अन्तर्राष्ट्रिय प्रयासमा पदक जितेकी ३६ वर्षीया रजनी एक छोराकी आमा हुन्।
उनले ५५ केजी तौल समूहमा भारतकी ब्रम्हाचारी अमला प्रदिपलाई पछि पार्दै रजतपदक हात पारेकी थिइन। यो समूहमा भियतनामकी तोन होया खान लानले प्रथम स्थान हासिल गरेकी थिइन्।
३० वर्ष भन्दा माथिको समूहमा समेत भारतकी ब्रम्हाचारी अमला प्रदिपलाई पछि पार्दै कास्य पदक हात पारिन्। उक्त समूहमा भियतनामकी तोन होया खान लानले दोस्रो र नुगुयेन बीच ट्रामले प्रथम स्थान हासिल गरेका छन्।
२८ राष्ट्र सम्मिलित यस प्रतियोगितामा ३५८ खेलाडी र १६० अफिसियलहरुको सहभागिता थियो।
यता एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोट्र्स महासंघ इलेक्टोरल कंग्रेसको मिटले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोट्र्स महासंघमा दोस्रो पटक उपाध्यक्षमा मनोनित गरेको छ।
साथै नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले नेपालमा ५५औ शारीरिक सुगठन तथा फिजिक्स स्पोट्र्स फिटनेस प्रतियोगिता आयोजनाका लागि गरेको प्रस्ताव कंग्रेसले अनुमोदन गरेको संघका प्रवक्ता दिनेश राजभण्डारी जानकारी दिएका छन्।