दक्षिण एसियाली खेलकुद प्रतियोगिताको छनोटको रुपमा रहेको एनएसए राष्ट्रिय पौडी प्रतियोगिताको पहिलो दिन चार वटा राष्ट्रिय कीर्तिमान बनेका छन्।
सातदोबाटोस्थित पौडी कम्प्लेक्समा २०७२ को भूकम्पपछि पहिलो पटक राष्ट्रिय प्रतियोगिता भएको हो। यसअघि यहाँ प्रधानसेनापति ट्रफीअन्तर्गत पौडी प्रतियोगिता मात्र भएको थियो।
चाइना रेलवेले गत भदौ १५ मा पौडी पोखरी आंशिक रुपमा हस्तान्तरण गरेपछि यहाँ पहिलो पटक राष्ट्रिय प्रतियोगिता भएको हो।
मंगलबार भएको पहिलो दिनको प्रतिस्पर्धाको पुरुष सय मिटर ब्याकस्टोक्सको हिट चरणमा तेन्जिङ नाम्डोल रायन गुरुङले राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले निर्धारित दूरी १ मिनेट ०८.२८ सेकेन्डमा पूरा गरे।
यसअघि यो कीर्तिमान एलेक्स जेन्डर शाहको नाममा १ मिनेट १०.९३ सेकेन्डमा थियो।
हिटमा रेकर्ड बनाए पनि गुरुङ फाइनलमा भने दोस्रो भए। उनले फाइनलमा १ मिनेटमा ०९.०० सेकेन्डमा पौडिएका थिए। लिङकनका अदित्या सूर्या १ मिनेट ७.५९ सेकेन्डमा पौडिएर पहिलो भए। नासिर हुसेन तेस्रो १ मिनेट १४.९१ सेकेन्डका साथ तेस्रो भए।
यता महिला २ सय मिटर ब्रेस्टस्टोकमा २ कीर्तिमान बनेका छन्। आर्मीकी अपात्सी महर्जन र विद्या संस्कार स्कुलकी अदिप्सा वैद्यले दुवना लामाको नाममा रहेको रेकर्ड भंग गरेका हुन्।
हिट चरणमा आर्मीका अपात्सीले ३ मिनेट ०१.८१ मिनेट र अदिप्सले ३ मिनेटमा ०२.२५ सेकेन्डमा निर्धारित दूरी पौडिए। यसअघि दुवानाले ३ मिनेट ७.२२ सेकेन्डमा पौडिएर रेकर्ड बनाएकी थिइन्।
पुरुष १ मिटरमा बटरफ्लाइको हिटमा आर्मीका अनुभव सुब्बाले १ मिनेट ००.९३ मा पौडिएर नयाँ रेकर्ड बनाएका छन्। उनले सायद हम्जा साहको नाममा रहेको रेकर्ड भंग गरेका हुन्। उनीहरु सिधै अन्तिम ३२ मा पुगेका छन्।
बुधबारसम्म चल्ने प्रतियोगिताबाट ३२ खेलाडी छनोट हुनेछन्।
हाल बन्द प्रशिक्षणमा रहेका ४० मध्ये ३२ खेलाडी छनोट गर्न लागिएको हो। सागकी पदकधारी गौरिका सिंह लगायतका केहि खेलाडीको उत्कृष्ट टाइमिङ भएकाले जारी राष्ट्रिय प्रतियोगितामा सहभागी छैनन्।
जारी प्रतियोगिताबाट छनोट भएका ३२ मध्ये २८ खेलाडीले सागमा नेपालको प्रतिनिधित्व गर्नेछन्। जसमा पुरुष १६ जना र महिला १२ जना हुनेछन्।