स्पेनिस टेनिस स्टार राफायल नाडालले करिअरको १९औं ग्रान्डस्लामको उपाधि जितेका छन्। नाडालले आइतबार विहान सकिएको युएस ओपन टेनिसको पुरुष एकलको उपाधि जितेका हुन्।
उनले रसियाका डानिल मेडभेडेभलाई ३–२ को सेटमा पराजित गरेका हुन्।
३३ वर्षीय नाडालले सुरुवाती २ सेट जिते पनि त्यसपछिका २ सेट गुमाएका थिए। तर पाँचौ सेटमा विजयी भएपछि नाडालले सनसनीपूर्ण जित हात पारेका हुन्।
दोस्रो वरीयताका नाडालले पहिले सेट ७–५ र दोस्रो सेट ६–३ ले जिते। तर तेस्रो सेटमा पाँचौ वरीयताका डानिल ७–५ ले विजयी हुँदा चौथो सेटमा ६–४ को जित निकालेर खेललाई बराबरीमा ल्याए।
पाँचौ सेटमा नाडाल ६–४ ले वियजी भए।
रोमाञ्चक फाइनल खेल ४ घन्टा ५१ मिनेट चलेको थियो।
जितपछि नाडालले आफ्नो करिअरको भावानात्मक रात भएको प्रतिक्रिया दिएका छन्।
१९औं ग्रान्डस्लाम जितेका नाडाल स्विस खेलाडी रोजर फेडेररको कीर्तिमान भेट्टाउन एक उपाधि टाढा छन्। फेडेररले २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन्।