एप्पलमा कुनै सामान होइन, स्टिभ जब्सको ‘सपना’ उत्पादन हुन्छ

एप्पलमा कुनै सामान होइन, स्टिभ जब्सको ‘सपना’ उत्पादन हुन्छ

स्टिभ जब्सको सम्झनामा

तस्बिरः एपी


‘मान्छे धेरै खालका हुन्छन्। मान्छेको भावना अभिव्यक्त गर्ने तरिका पनि धेरै खालका हुन्छन्। भावना अभिव्यक्ति भनेको सबैको आ–आफ्नो विश्वासमा भर पर्ने कुरा हो। मेरो विश्वास अलग छ। म समाजलाई केही दिएर आफ्नो भावना अभिव्यक्त गर्न चाहन्छु। मलाई यही प्रिय लाग्छ, मेरो मनको एकदम नजिक।’

जब अमेरिकाको क्यूपरटिनोस्थित नवनिर्मित ‘स्टिभ जब्स थिएटर’ को अँध्यारो हलमा स्टिभको यो आवाज गुञ्जियो, खचाखच दर्शकले एक साथ लामो सास फेरे।

झुस्स सेतो दारी पालेका, गोलो चस्मा लगाएका ‘श्याम–श्वेत’ स्टिभ आफ्नो परिचित कालो टिसर्टमा दुवै हातका दस औंला जोडेर अगाडिको ठूलो डिजिटल स्क्रिनमा मुसुक्क मुस्काउँदै थिए। र, भन्दै थिए, ‘जुन काम हामी पूरा प्रेम र लगनसाथ गर्छौं, त्यसमा हाम्रो आत्मा सँगसँगै प्रवाहित भइरहेको हुन्छ। र, यही आत्माको प्रवाह नै हामीले आफू हुनुको कृतज्ञता जाहेर गर्ने सबभन्दा सशक्त माध्यम हो।’

स्टिभको शान्त भंगिमातर्फ नजर टिकाएर बसेका दर्शकलाई उनका यी अभिव्यक्तिले मानौं ध्यानमा लीन गराउँदै थियो।

सयौं दर्शकको एकोहोरो श्वासप्रश्वासबीच स्टिभ भनिरहेका थिए, ‘हामी को हौं? हाम्रा निम्ति के महत्वपूर्ण छ? सत्य सधैं यही हुनुपर्छ। एप्पलमा हामी सबैको कोशिस नै यही हो। जसरी हामीले आफ्नो पहिचानबाट आफू हुनुको अर्थ दिन्छौं, एप्पलले त्यस्तै गर्छ र सधैं त्यही गरिरहनेछ।’

स्टिभको आवाज रोकियो।

अँध्यारो मञ्चमा रोशनी पोखियो।

डिजिटल स्क्रिनको उज्यालो र हलको अँध्यारोबीच छेलिएका एप्पलका प्रमुख कार्यकारी टिम कुक मञ्चको बीचमा आए।

नयाँ आइफोन, घडी र टिभीको झलक हेर्न व्यग्र दर्शकको तालीध्वनि मत्थर नहुँदै टिमले भने, ‘मलाई स्टिभको बोली सुन्न साह्रै मनपर्छ, यो थिएटर स्टिभले आफैं उद्घाटन गरेका भए बेस हुन्थ्यो।’

‘स्टिभ मेरा निम्ति ज्यादै आत्मीय छन्,’ उनी एकछिन रोकिए, अनि भने, ‘हामी सबैका निम्ति।’

‘उनलाई नसम्झी बितेको कुनै दिन छैन,’ टिम भावुक सुनिए, ‘हामी आज र आगामी दिनको निम्ति जति तयारी गर्दै छौं, उनका सम्झना उति ताजा हुँदैछन्। स्टिभको जीवनदर्शन नै एप्पलको डिएनए हो।’

सेप्टेम्बर १२ को त्यो दिन टिम कुक र थिएटरमा भेला भएका एप्पल शुभेच्छुक यस कारण पनि बढ्ता भावुक देखिएका हुन सक्छन्, किनकि स्टिभले संसारबाट विदा लिएको महिना नजिकिँदै थियो। उनको निधन भएको यो साता छ वर्ष पूरा भएको छ। पित्तथैली क्यान्सरले सन् २०११ अक्टोबर ५ मा उनको निधन भएको थियो। उनी ५६ वर्षका थिए।

यो छ वर्षमा पनि एप्पल स्टिभले परिकल्पना गरेकै वृत्तमा गोलगोल घुमिरहेको छ, मानौं टिमले भनेझैं उनी एप्पलका डिएनए नै हुन्।

स्टिभको अन्तिम निगरानीमा बनेको ‘आइफोन–५’ आज हुर्केर ‘टेन’ सम्म पुगेको छ। यसबीच डिजाइनमा केही परिमार्जन भए, सुविधा केही थपिए, तर मूल सार एउटै छ। यहाँसम्म कि, एप्पलले स्टिभको अनुपस्थितिमा उनले छाडेर गएका उत्पादनको नवीन संस्करणबाहेक पृथक केही बनाउन सकेको छैन।

यसरी एउटा सिंगो कम्पनी कुनै एउटा व्यक्तिको परिकल्पनासँग यति निकट जोडिएको यो विरल घटना हो। यस पछाडि कुनै कारण छ भने त्यो स्टिभको सपना नै हो, जसमा एप्पल आजसम्म डोरिइरहेको छ।

स्टिभको ‘अद्भूत’ सपनालाई पृथक बनाउँछ, उनको प्रतिभा र रनाहाले। उपभोक्ताका चाहना सुँघेर त्यसलाई पूरा गर्ने प्रयासमा कुनै कसर नछाड्ने रनाहा नै स्टिभ–स्वभावको अद्भूत विशेषता भएको उनका आत्मकथाकार वाल्टर इज्याक्सन बताउँछन्।

‘स्टिभले आफैं कुनै चिज आविष्कार गरेनन्,’ वाल्टर आफ्नो किताबमा लेख्छन्, ‘उनी वैज्ञानिक थिएनन्, न डिजाइनर थिए। उनको विशेषता यत्ति हो, उनमा विचार, कला र प्रविधिलाई एकैठाउँ घोलेर नयाँ सिर्जना गर्ने खुबी थियो, जसले भविष्यको बाटो कोर्थ्यो।’

अस्कर विजेता ‘स्लमडग मिलेनियर’ का निर्देशक डेनी बोयलद्वारा निर्देशित ‘स्टिभ जब्स’ फिल्ममा एउटा दृश्य छ, जसमा स्टिभलाई प्रश्न गरिन्छ, ‘तिमी इञ्जिनियर होइनौ, डिजाइनर पनि होइनौ, के हौ तिमी?’

स्टिभ जवाफ दिन्छन्, ‘संगीतकारहरू बाजा बजाउँछन्, म अर्केस्टा बजाउँछु।’

स्टिभमा यही खुबी थियो, फरक–फरक बाजाको संगीतलाई एउटै ताल दिने र नयाँ धुन सिर्जने। यही खुबीकै कारण व्यक्तिगत कम्प्युटर र मोबाइलको डिजिटल रूपान्तरणको श्रेय उनलाई जान्छ। उनले सन् १९७६ मा क्यालिफोर्नियाको ग्यारेजबाट सुरु गरेको ‘एप्पल’ लाई संसारकै एक अग्रणी कम्पनीको हैसियतमा पुर्याए। उनले विश्वविद्यालयको डिग्री लिएनन्, तर डिग्री लिएका सयौं प्राविधिक टोलीलाई नेतृत्व दिए। उनीहरूलाई आफ्नो सपना देखाए र त्यसलाई पूरा गर्ने ‘क्रेज’ को सम्मोहन मन्त्र फुकिदिए।

त्यसैले त भनिन्छ, एप्पलमा कुनै सामान उत्पादन हुँदैन, स्टिभको ‘सपना’ उत्पादन हुन्छ।

उनी फोर्ड कार कम्पनीका संस्थापक हेनरी फोर्डका भनाइ सम्झँदै भन्ने गर्थे, ‘म उपभोक्ता के चाहन्छन् भनेर हेर्दिनँ। म जे दिन्छु, त्यो उपभोक्ताको चाहना हुन्छ। आफूलाई के चाहिएको छ भनेर सोच्ने फुुर्सद उपभोक्तालाई छैन, भए पनि उनीहरू हामीलाई भन्न आउँदैनन्। त्यसैले म यस्तो चिज दिन्छु, जो उनीहरूको चाहना बनोस्। उनीहरूको चाहना के हुनसक्छ भनेर पत्ता लगाउने काम भने हाम्रो हो।’

स्टिभले हेनरी फोर्डबाट सापट लिएको यही विचारलाई जब कामप्रतिको आफ्नो रनाहासँग मिसाए, डिजिटल दुनियाँमा परिवर्तनको नयाँ युग सुरु भयो।

आइफोन उत्पादनकै सन्दर्भमा उनको यो रनाहा प्रशस्तै झल्किन्छ।

आइफोनको पहिलो संस्करण बजारमा ल्याउनुअघि स्टिभले लगातार दुई वर्ष यसको डिजाइनमा मात्र काम गरेका थिए। दुईवटा डिजाइन त अन्तिम समयमा उनले रद्दै गरिदिए। उनलाई कहिले मोबाइलको कुनाको गोलाइ मनपर्थेन, कहिले सिसाको चिल्लोपना। हुँदाहुँदा प्याकेजिङ आकर्षक बनाउनधरि उनले आफ्ना कर्मचारीको धेरै रात बिगारेका छन्। उनी भन्थे, ‘म उपभोक्तालाई नयाँ प्रविधि मात्र दिन चाहन्न, त्यो प्रविधिसँगै आत्मीयता पनि दिन चाहन्छु। हामी हुनुको कृतज्ञता उनीहरूसँग बाँड्न चाहन्छु।’

स्टिभ सबथोक ‘पर्फेक्ट’ चाहन्थे, मान्छेले गञ्जागोल पार्नुअघिको प्राकृतिक सिर्जनाजस्तै। आफ्नो कामप्रतिको यो रनाहा स्टिभले व्यक्तिगत जीवनबाटै ल्याएका हुन्।

व्यक्तिगत जीवनमा उनी कतिसम्म ‘पर्फेक्सनिस्ट’ थिए भने, रेस्टुरेन्टमा मेनुको डिजाइन मन नपरेर फर्केका कयौं उदाहरण छन्। उनले आफ्नो घरमा फर्निचर प्रयोग विरलै गरे। कुनै पनि फर्निचरको डिजाइन स्टिभको निम्ति ‘पर्फेक्ट’ हुँदै भएन। हुँदाहुँदा जीवनको उत्तरार्द्धतिर त उनलाई आफूसुहाउँदो लुगा छान्नधरि समस्या भयो। उनी जतिन्खेरै कालो टिसर्ट र निलो जिन्स लगाएर हिँड्न थाले। भनिन्छ, ह्वाइट हाउसले सुट–टाई लाउनुपर्ने आफ्नो ‘ड्रेस कोड’ मा एकचोटि मात्र सम्झौता गर्यो, स्टिभलाई आमन्त्रण गर्दा। उनी त्यहाँ पनि उही आफ्नो चिरपरिचित परिधानमै पुगेका थिए।

काम र गुणस्तरप्रतिको यो रनाहाले स्टिभको व्यवहार रूखो र सन्की बनाएको उनका आत्मकथाकार वाल्टरले लेखेका छन्।

‘यो स्टिभलाई थाहा थियो, तर उनले आफूलाई बदलेनन्,’ आत्मकथामा वाल्टरले स्टिभलाई उद्धृत गर्दै भनेका छन्, ‘मेरो काम नै इमानदार हुनु हो। म जोसँग सम्बन्धित जे कुरा छ, त्यो उसको मुखैअघि भनिदिन्छु। कसैलाई मनमा आएको कुरा भन्न पाउँदा बल्ल म आफूलाई हल्का महशुस गर्छु।’

स्टिभको व्यवहार र कार्यशैलीजस्तै जन्म पनि सहज थिएन।

सन् १९५५ फेब्रुअरी २४ मा स्टिभलाई जन्म दिने आमाबाबु जोएन स्किबल र अब्दुलफताह जन्दाली हुन्। विस्कनसिन विश्वविद्यालयमा पढ्ने उनीहरूको बिहे नहुँदै बच्चा जन्मियो। उनीहरूले त्यो जिम्मेवारी सम्हाल्न चाहेनन्। सिरियाली मुस्लिम बाबु र क्याथलिक आमाको प्रेममा धर्म र परिवार अड्चन बनेर उभिएका थिए। खासगरी जोएनका बाबु यो सम्बन्धबाट खुसी थिएनन्। क्याथलिक समुदायमा गर्भपतन पनि सहज थिएन।

जोएन आफ्ना बच्चाको निम्ति कानुनी अभिभावक खोज्न थालिन्। विश्वविद्यालयको पढाइ पूरा गरेको हुनुपर्ने उनको न्यूनतम सर्त थियो।

क्यालिफोर्नियामा बस्ने एक निम्नवर्गीय दम्पती पल र क्लारा जब्स जोएनको बच्चा सकार्न तयार भए। तर, उनीहरूको पढाइ थिएन।

विकल्प नपाएपछि जोएनले अर्को सर्त राखिन्, ‘मेरो छोरा विश्वविद्यालय पढ्न जानुपर्छ।’

जब्स दम्पती तयार भए।

यसरी जोएन र अब्दुलफताहको सन्तान पर्ल र क्लाराका छोरा बने– स्टेभन (स्टिभ) जब्स।

जोएन र अब्दुलले पछि एक छोरीलाई जन्म दिए, मोना। ठूली भइसक्दासम्म मोनालाई आफ्नो दाजु स्टिभबारे केही थाहा थिएन।

स्टिभलाई भने आफू क्लाराको कोखबाट नजन्मिएको सानैमा थाहा थियो। उनी यसबाट विचलित भएका थिए। यो विचलन धेरै समय टिकेन। आफ्नो धर्मराएको र शान्त मनबारे स्टिभले वाल्टरलाई भनेका छन्, ‘म बुबासँग मेसिनको काम गर्थें। उहाँ धेरै पढेको हुनुहुन्नथ्यो, तर निकै बाठो हुनुहुन्थ्यो। विस्तारै मैले आफूलाई मेरा आमाबाबुभन्दा तेज र तीक्ष्ण ठान्न थालेँ। यो सोचले मलाई पछि निकै लज्जाबोध भयो। मैले आखिरमा बुझेँ, मेरा आमाबाबु निकै मायालु हुनुहुन्थ्यो। म उहाँहरूभन्दा अलग भए पनि मेरा निम्ति कुनै कसर बाँकी राख्नुहुन्नथ्यो। म उहाँहरूको ‘विशेष’ थिएँ। मेरा हरेक आवश्यकता पूरा गर्ने उहाँहरूमा तीव्र चाहना थियो।’

आफूलाई ‘विशेष’ महशुस गरे पनि ‘त्यागिएको’ सन्तान हुँ भन्ने भावनाले स्टिभलाई कहिल्यै छाडेन। यही अनुभूतिसँगै स्टिभको व्यक्तित्वले आकार लिँदै गयो।

उनको रुखो र सन्की स्वभावको पछाडि यही असहज विगत कारण हुनसक्ने उनका परिचितहरू औंल्याउँछन्।

तस्बिरः अमेजन डट कम

पढाइ र इलेक्ट्रोनिक दुनियाँमा प्रवेश

स्टिभका बाबु पर्ल जब्स कारको लकसम्बन्धी काम गर्थे। उनीहरू अमेरिकी इलेक्ट्रोनिक उद्योगको केन्द्र ‘सिलिकन भ्याली’ मा बस्थे। त्यहीँ हुर्केबढेकाले स्टिभलाई सानैदेखि मेसिन र इलेक्ट्रोनिक सामानमा रुचि थियो।

उनी नयाँ उपकरण भेट्यो कि खोलखाल पार्न व्यग्र हुन्थे। पाटपूर्जा खोल्थे, छर्थे, हेर्थे र आफैं जोड्थे। एकदिन हेव्लेट–प्याकर्ड (एचपी) कम्पनीको ‘फ्रिक्वेन्सी काउन्टर’ भन्ने उपकरण खोतलखातल पार्दा उनले थाहा पाए, मेसिनमा एउटा पुर्जा छैन। उनले एचपीका सह–संस्थापक विलियम हेव्लेटलाई फोन गरे। स्टिभका कुरामा यति दम थियो, २० मिनेटको टेलिफोन वार्तामै हेव्लेट प्रभावित भए। उनले मेसिनमा नभएको पुर्जाको प्याकेट तुरुन्तै पठाइदिए।

स्टिभले त्यो प्याकेटसँगै अर्को थोक पनि पाए, एचपी कम्पनीमा प्रशिक्षार्थीको जागिर।

इलेक्ट्रोनिक क्षेत्रमा पाइला हालेको यही कम्पनीमा स्टिभको भेट भयो, स्टेफेन वुजनेकसँग। स्टिभको प्रविधि लगावलाई दिशा दिनमा वुजनेक र उनकी आमाको भूमिका छ। आमाले सन् १९७१ सेप्टेम्बरमा वुजनेकलाई इस्क्वायर पत्रिकामा प्रकाशित ‘सिक्रेट्स अफ दी लिटल ब्लु बक्स’ लेख पठाएकी थिइन्। त्यो लेख ‘फोनफ्रिक्स’ नामका युवाहरूबारे थियो, जसमा उनीहरूले अमेरिकी टेलिफोन प्रणालीका कमजोरी पत्ता लगाएर पैसै नतिरी कसरी कुराकानी गरिरहेका छन् भन्ने उल्लेख थियो।

वुजनेकले स्टिभलाई त्यो लेख देखाएपछि उनको हुटहुटी बढ्यो। उनलाई त्यो प्रविधि खोतल्न र चलाउन खरो भयो। उनीहरूले लेखमा उल्लिखित पात्र ‘क्याप्टेन क्रन्च’ लाई खोजे, जो हवाई सेनाका पूर्व इलेक्ट्रोनिक टेक्निसियन जोन ड्र्यापर थिए।

स्टिभ र वुजनेकले ड्र्यापरलाई तारन्तार सम्पर्क गरे। धेरै प्रयासपछि ड्र्यापर भेट्न तयार भए।

क्यूपरटिनोस्थित होमस्टिड हाइस्कुलमा पढ्ने स्टिभ ड्र्यापरलाई भेट्न बक्र्ले पुगे। ड्र्यापर तिनै थिए, जसले फोनको ह्यान्डसेटमा सिठ्ठी फुकेर बिनापैसा लामो दुरीको टेलिफोन गर्ने तरिका पत्ता लगाए।

यति तरिका बुझेपछि प्रविधिमा व्यग्र र जिज्ञासु दुई युवालाई केले रोक्थ्यो?

उनीहरूले यही आधारमा पैसा नतिरी लामो दुरीको टेलिफोन गर्ने उपकरण बनाए। स्टिभ र वुजनेकको यो पहिलो सहकार्य लोकप्रिय भयो। सुरुमा रमाइलो गर्न चलाउँदै आएको उपकरणबाट उनीहरूले ६ हजार अमेरिकी डलरभन्दा बढी कमाए।

होमस्टिड हाइस्कुलको पढाइ सकेपछि स्टिभ १९७२ मा पोर्टल्यान्डको रिड कलेज भर्ना भए। स्टिभ आफ्नै हठले त्यहाँ भर्ना भए पनि एक सेमेस्टरभन्दा बढी टिक्न सकेनन्।

सन् २००५ मा स्ट्यान्फोर्ड कलेजको दीक्षान्त समारोहमा भाषण दिँदा स्टिभले कलेज छाड्ने कारण बताएका थिए। ‘म पढ्न चाहन्थेँ, तर कलेज छान्ने मामिलामा आलोकाँचो रहेछु। मैले झन्डै स्ट्यानफोर्डजति नै महँगो कलेज छानेँ। आमाबाबुको कमाइ मेरो कलेजको शुल्क तिर्नमै सकिन थाल्यो। मलाई आमाबाबुले दुःख गरी कमाएको पैसा कलेज शुल्कमा मात्र खर्चिन व्यर्थ लाग्यो। यही सोचेर मैले ६ महिनामै कलेज छाडेँ,’ उनले भनेका छन्।

स्टिभलाई कलेजका अल्छीलाग्दा विषयमा महँगो ट्युसन शुल्क तिर्न मन थिएन। कलेज छाडे पनि केही अनिवार्य कक्षा लिन उनी पछि परेनन्। जुन कक्षा चाखलाग्दा हुन्थे, उनी त्यहीँ पसिदिन्थे।

‘त्योबेला रिड कलेजमा क्यालिग्राफी पढाइ हुन्थ्यो। कलेजभरि टाँसिएका पोस्टरमा सुन्दर अक्षर हुन्थे,’ स्टिभले आफ्नो भाषणमा भनेका छन्, ‘क्यालिग्राफीमा मलाई रुचि थियो। म सुटुक्क त्यसको कक्षामा छिर्थें।’

त्यतिबेला क्यालिग्राफी कक्षा छिर्नुको फाइदा १० वर्षपछि भयो, जब उनी वुजनेकसँग मिलेर म्याकिन्टोस कम्प्युटर बनाउँदै थिए। ‘क्यालिग्राफी ज्ञानबाट हामीले पहिलोपटक यस्तो कम्प्युटर बनाउन सक्यौं, जसमा टाइप गर्दा सुन्दर अक्षर देखिन्थे,’ उनको भाषणमा छ।

औपचारिक पढाइ छाडेपछि स्टिभले आफ्नो रुचिको काम गर्ने बाटो समाते।

ती स्टिभका संघर्षपूर्ण दिन थिए। कलेज छाडेकाले उनीसँग होस्टलको कोठामा बस्ने सुविधा थिएन। उनी साथीहरूको कोठामा बस्न–सुत्न जान्थे। भुइँमै पल्टन्थे। कोकको बोतल किन्दा साथीहरूले राखेको पाँच सेन्ट धरौटीको लोभमा उनी खाली बोतलहरू जम्मा गर्थे र पसलमा फिर्ता लैजान्थे। त्यसबाट आउने पाँच सेन्टले खानेकुरा किन्थे।

उनले मिठो खान पाउने साताको एकचोटि थियो– आइतबार। त्यस दिन उनी आफू बस्ने ठाउँभन्दा सात माइल परको हरेकृष्ण मन्दिरसम्म हिँडेर पुग्थे र सित्तैमा मीठा परिकारहरू खान्थे।

अठार महिना पोर्टल्यान्डमै यताउति घुमेपछि सन् १९७४ मा उनी आफ्ना आमाबाबुकै सहर सिलिकन भ्याली फर्के।

त्यहाँ भिडियो गेम उत्पादक ‘अटारी’ मा उनको जागिर सुरु भयो, प्रतिघन्टा पाँच डलर पारिश्रमिक पाउने गरी।

अटारीको जागिरले उनको तीव्र जिज्ञासा र व्यग्रता मेट्न सकेन। उनले आफ्नो फराकिलो खोजमा केही नयाँ भेट्न सकेनन्। जागिर क्रममा जम्मा गरेको अलिअलि पैसा बोकेर उनी कलेजका साथी डेनियल कोट्केसँग घुम्न हिँडे, भारतमा गुरू भेट्न हिँडेको भन्दै। कोट्के तिनै हुन्, जसले एप्पलका सुरुआती दिनमा स्टिभलाई सघाए।

उनी भारत त आए, तर दिल्ली एयरपोर्टमा ओर्लिंदा–नओर्लिंदै बिरामी परे। दिल्लीको गर्मीसँगै उनले ज्वरो र पखाला झेले। एक सातामै खुत्रुक्क दुब्लाएका उनी अलि बिसेक भएपछि हरिद्वार गए। त्यहाँ उनको जिज्ञासु स्वभावले बौद्ध धर्मतिर तान्यो। उनले आफ्नो लामो कपाल खौरे र भिक्षुहरूको जीवन धारण गरे।

सात महिना भारतका गाउँगाउँ घुमेर फर्कंदा उनको हुलिया यति फेरिएको थियो, ओकल्यान्ड एयरपोर्टमा लिन आएका आमाबाबुले धरि अलि बेरपछि मात्र उनलाई चिने।

‘आफ्नो देश फर्कंदा मलाई भारत जाँदाभन्दा बढी सकस भयो। त्यहाँको सँस्कृति नै अलग थियो,’ उनले आत्मकथामा भनेका छन्, ‘हामी बौद्धिक हिसाबले चल्छौं, उनीहरू अन्तज्र्ञानले। मेरो विचारमा बौद्धिकताभन्दा अन्तज्र्ञान धेरै शक्तिशाली छ, र यसले मेरो काममा निकै प्रभाव पारेको छ।’

पछि स्टिभले भिक्षु पहिरन र जीवनशैली त छाडे, तर बौद्ध धर्मप्रतिको आस्था कायम रह्यो। आफ्नो जीवनको यो अध्यायलाई उनले ‘सबभन्दा अविश्मरणीय’ भनेका छन्।

भारतबाट फर्केको केही समयपछि स्टिभ भिक्षुकै पहिरनमा खाली खुट्टा र हातमा ‘बि हियर नाउ’ किताब बोकेर अटारी पुगे। भने, ‘मेरो जागिर छ?’
‘उनी त्यसबेला ‘हरे कृष्ण’ भन्दै हिँड्ने मान्छेजस्ता देखिएका थिए। तर, मलाई उनको त्यो चाल मनप¥यो,’ अटारीका प्रमुख इञ्जिनियर अल अर्लकोनले भनेका छन्।

स्टिभ रातभरि काम गर्थे। यतिबेलासम्म एचपी कम्पनीमा इञ्जिनियर भइसकेका वुजनेक अटारी नजिकैको अपार्टमेन्टमा बस्थे। कहिलेकाहीँ स्टिभलाई भेट्न आउँथे। दुवै मिलेर सँगै खाना खान्थे, भिडियो गेम खेल्थे।

सन् १९७५ को एक दिन अटारीका संस्थापक नोलान बुसनेलले एक्लै खेल्न मिल्ने ‘पोङ गेम’ बनाउने सोचे। स्टिभलाई बोलाएर यसबारे बताए। यो काम सफल भए बोनस दिने लोभ देखाए। बुसनेललाई थाहा थियो, स्टिभ इञ्जिनयर थिएनन्, उनी स्टिभसँगै घुमिरहेका वुजनेकलाई त्यो काममा लगाउन चाहन्थे।

उनको यो तरिका सफल भयो। स्टिभले भिडियो गेम बनाउने काममा सघाउन वुजनेकलाई प्रस्ताव राखे।

‘यो मेरो जीवनकै सबभन्दा राम्रो प्रस्ताव थियो, मान्छेले साँच्चै नै प्रयोग गर्न सक्ने गेम डिजाइन गर्नु। तर, मलाई यो काम गर्न सक्दिनँ कि भन्ने लाग्यो। स्टिभ नै थिए, जसले मलाई आत्मबल दिए,’ वुजनेकले आत्मकथाकार वाल्टरलाई भनेका छन्, ‘स्टिभ हार मान्नेमध्ये थिँदै थिएनन्।’
अटारीको निम्ति बनाएको पर्सनल भिडियो गेम स्टिभ र वुजनेकको दोस्रो सफल सहकार्य थियो।

तेस्रो सहकार्यबाट उनीहरूले यस्तो उत्पादन बजारमा ल्याए, जसले पर्सनल कम्युटरको दिशा नै मोडिदियो।

तस्बिरः सिएनबिसी डट कम

परिवर्तनकारी कदम

त्यो समय संसारभरिका कम्प्युटर उत्पादकबीच प्रयोग गर्न सजिलो पर्सनल कम्प्युटर बनाउने होड थियो। स्टिभ र वुजनेक होमब्य्रु कम्प्युटर क्लबमा आबद्ध भए र त्यसका बैठकमा भाग लिन थाले।

‘म अझै सम्झन्छु, स्टिभमा एक किसिमको रनाहाको महल थियो,’ होमब्य्रुका सदस्य कम्प्युटर डिजाइनर ली फेल्सेनस्टिनले भनेका छन्, ‘उनी कुनै बैठक, कुनै अन्तर्क्रिया छुटाउँथेनन्। सबैका कुरा सुन्न चाहन्थे।’

होमब्य्रु क्लबमा आबद्ध भएकैबेला वुजनेकले पहिलोचोटि एप्पल कम्प्युटरको पहिलो संस्करण (एप्पल–१) डिजाइन गरेका थिए। समूहका साथीहरूलाई देखाउन भनेर बनाएको त्यही कम्प्युटरलाई व्यावसायिक उत्पादनको रूप दिए, स्टिभ जब्सले।

र, यहीँबाट सुरु भयो एकछेउ टोकेको र बाँकी आफैं टोकुँटोकुँ लाग्ने लोगोसहितको नयाँ कम्पनी ‘एप्पल’, जसले डिजिटल प्रविधिको मुहारै फेरिदियो।

स्टिभले सन् १९७६ को सुरुमा आफ्नो फक्सवागन गाडी र वुजनेकले एचपी क्यालकुलेटर बेचेर जम्मा गरेको १ हजार ३ सय डलरबाट यो कम्पनी खडा गरेका हुन्। होमस्टिड हाइस्कुल पढ्दाका साथी एलन बम पनि सँगै जोडिए। उनका बाबुले ५ हजार डलर दिएका थिए। उनीहरूलाई भने कम्पनी सुरु गर्न १५ हजार डलर चाहिएको थियो। पछि पाटपूर्जा बेच्ने कम्पनीसँग कुराकानी गरेर उनीहरूले नपुग रकम जोहो गरे।

एप्पलमा प्राविधिक जिम्मा वुजनेकको थियो, स्टिभ बजार व्यवस्थापन सम्हाल्थे।

लस एल्टोसमा जब्स परिवारको पुरानो ग्यारेज थियो। कम्पनीको सुरुआत त्यहीँबाट भयो। त्यहाँ केही समय संघर्ष गरेपछि क्यूपरटिनोमा सानो घर भाडामा लिएर कम्पनी सर्यो।

एप्पल–१ विस्तारै नाफाको बाटोमा जान थाल्यो। पहिलो उत्पादनको सफलतासँगै वुजनेक यसको नयाँ डिजाइन सोच्न थाले।

सन् १९७७ अप्रिलमा सान फ्रान्सिस्कोमा आयोजित पश्चिम तटीय कम्प्युटर मेलामा स्टिभ र वुजनेकले दोस्रो संस्करण (एप्पल–२) सार्वजनिक गरे। स्टिभ भन्थे, ‘वुजनेकमा इञ्जिनियरिङको जादु छ।’

यो त्यही जादु नै हो, जसले उदीयमान कम्प्युटर बजारमा एप्पल–२ ले सबैको ध्यान खिच्यो।

उनीहरूले दोस्रो संस्करणको एप्पल कम्प्युटरबाट एकै वर्षमा २० लाख डलर कमाए। १९८१ सम्म ६० करोड डलर कमाए। त्यसै वर्ष कम्पनीको सार्वजनिक सेयर पनि बिक्री गरे।

सन् १९८३ सम्ममा एप्पल यस्तरी चम्कियो, संसारकै धनी कम्पनीहरूको सूची ‘फच्र्युन ५००’ मा नाम लेखाउन सफल भयो। यति कम समयमा यो सूचीमा पर्ने एप्पलबाहेक सायदै कुनै कम्पनी थियो।

यसबीच एप्पलका केही उत्पादन असफल पनि भए। सन् १९८० मा बजारमा आएको डेस्कटप कम्प्युटर एप्पल–३ ले खासै प्रभाव जमाउन सकेन। त्यसमा केही प्राविधिक समस्या देखिए।

स्टिभ एकचोटि पछारिएपछि लडिरहने स्वभावका कहाँ थिए र!

उनले नयाँ योजनामा हात हाले, अफिस वर्कस्टेसन कम्प्युटर जसलाई उनले नाम दिए, ‘लिसा’।

लिसा नामसँग स्टिभको व्यक्तिगत जीवन जोडिन्छ। भलै उनले विभिन्न प्राविधिक शब्दावलीको पहिलो अक्षर जोड्दै ‘लिसा’ शब्द बनाए, तर त्यो नाम स्टिभकी आफ्नै छोरीको हो।

स्टिभको जीवनको संयोग के भने, जसरी उनी आमाबाबुबाट परित्यक्त भए र जिन्दगीभर त्यो पीडा बोकेर हिँडिरहे, उनले पनि लामो समय लिसालाई छोरीका रूपमा अपनाएनन्। लिसाको सन्दर्भ उठ्दा स्टिभ भन्थे, ‘म बाबु हुन चाहन्नथेँ, त्यसैले भइनँ।’

क्रिश्सान ब्रेनानसँगको सम्बन्धबाट जन्मिएकी लिसालाई स्टिभले जीवनको उत्तराद्र्धमा मात्र छोरीका रूपमा अपनाएका थिए, जब उनको मृत्यु लगभग निश्चित भइसकेको थियो। स्टिभ धेरैपटक चुके पनि जिन्दगीको अन्तिम समयमा हरसम्भव लिसाको बाबु बन्ने प्रयास गरेको वाल्टरले लेखेका छन्।

यसबीच उनी भावनात्मक अन्तरद्वन्द्वमा थिए, सायद। लिसामा आफ्नै परित्यक्त बाल्यकालको झल्को देख्थे कि? त्यही झल्कोले उनलाई लिसासँग घुलिन पीडा हुन्थ्यो कि?

सायद!

नभए लिसालाई छोरी मान्नुभन्दा वर्षौंअघि नै उनको नामसँग एप्पललाई किन जोड्थे?

जेरोक्स भ्रमण

स्टिभको जीवनमा सन् १९७९ को एउटा घटनाले ठूलो प्रभाव पार्यो, जब उनी विश्वप्रसिद्ध फोटोकपी मेसिन उत्पादक ‘जेरोक्स’ को पालोअल्टो अनुसन्धान केन्द्र घुम्न गए।

त्यहाँको मुख्य लबीमै उनी र उनका साथीले पर्सनल कम्प्युटर प्रणाली ‘अल्टो’ देखे।

स्टिभ अधैर्य भए। उनलाई लाग्यो, ‘यो प्रणाली सुनखानी हो, जसमाथि जेरोक्स मस्त सुतेको छ। यसलाई बाहिर ल्याउने हो भने आधुनिक डेस्कटप कम्प्युटरमा ठूलो परिवर्तन आउनसक्छ।’

अल्टो–ग्राफिकल भिडियो डिस्प्ले भएको त्यो कम्प्युटर प्रणाली एउटा सानो यन्त्रबाट चल्थ्यो, जसलाई आज हामी ‘माउस’ भनेर चिन्छौं।

‘त्यो प्रणाली हेरेको १० मिनेटमै कुनै दिन संसारका सबै कम्प्युटर यस्तै हुनेछन् भन्ने मलाई महशुस भएको थियो,’ १९९५ मा स्मिथसोनियन इन्स्टिच्युसनलाई दिएको अन्तर्वार्तामा स्टिभले भनेका थिए, ‘पालोअल्टो अनुसन्धान केन्द्रको त्यो भ्रमण मेरो जिन्दगीमा परिवर्तन ल्याउने सबभन्दा महत्वपूर्ण घटना हो।’

स्टिभले पछि त्यही माउसबाट चल्ने ग्राफिकल कम्प्युटर बनाए, जुन आज ‘म्याक’ का रूपमा लोकप्रिय छ।

त्यतिबेला एप्पलमा इञ्जिनियरहरूको एउटा सानो समूह कम बजेटको कम्प्युटर प्रणालीमा काम गरिरहेको थियो। स्टिभ पनि त्यसमा सामेल भए। यो कम्प्युटर सन् १९८४ जनवरीमा सार्वजनिक गरियो, जसको नाम थियो, ‘म्याकिन्टोस’।

म्याकिन्टोस आउनु एक वर्षअघि नै स्टिभले एप्पलको प्रमुख जिम्मेवारी अरू कसैका हातमा थमाइसकेका थिए। एप्पलको प्रमुख कार्यकारीका रूपमा नियुक्त गरिएका ती व्यक्ति थिए, जोन स्कल्ली।

पेप्सीकोलामा प्रमुख कार्यकारी स्कल्लीलाई पहिलो भेटमै स्टिभले भनेका थिए, ‘तिमी जिन्दगीभरि चिनी घोलेको पानी बेचेर बस्न चाहन्छौ, कि यो संसार परिवर्तन गर्ने अभियानमा सरिक हुन चाहन्छौ?’

स्कल्लीलाई स्टिभको यही प्रश्न पर्याप्त भयो, स्थापित बहुराष्ट्रिय कम्पनी पेप्सीकोलाको प्रमुख कार्यकारीको जागिर छाडेर स्टिभको सपनामा सघाउन।

स्कल्लीले लिसा र म्याकिन्टोस डेस्कटप कम्प्युटर प्रवर्द्धनदेखि माउसबाट चल्ने ग्राफिकल कम्प्युटर लोकप्रिय बनाउनमा समेत स्टिभलाई सघाए।

उनै स्कल्ली कारण पनि बने, स्टिभ एप्पलबाट बाहिरिनुको।

स्टिभ र स्कल्लीको प्रयासका बाबजुद लिसा व्यावसायिक रूपमा सफल हुन सकेन। म्याकिन्टोसको बजारले पनि अपेक्षित गति लिएन। कम्पनीमा तनाव सुरु भयो। स्कल्ली बजार केन्द्रित भए। म्याकिन्टोसको मूल्य बढाउन खोजे। स्टिभ सहमत भएनन्।

‘म यो कम्पनीबाट नाफा निकाल्न चाहन्नँ, परिवर्तन गर्न चाहन्छु,’ उनले भनेका थिए।

यो विवादबीच एप्पलका एकपछि अर्को उत्पादन असफल हुँदै गए। अन्य कम्पनीले एप्पललाई उछिन्दै गए। एप्पलको ओरालो लाग्दै गरेको बजारमा स्टिभलाई नै कारक ठहर्याइन थाल्यो। अन्ततः कम्पनीको सञ्चालक समितिले लिसा कम्प्युटरको जिम्मेवारी स्टिभबाट खोस्यो।

स्टिभसँगै एप्पलका १२ सय कर्मचारी निकालिए।

आफ्नो आमाबाबुको ग्यारेजमा साथी वुजनेकसँगै मिलेर सुरू गरेको, परिवर्तनकारी सपनाहरू सँगालेको, कयौं हन्डर खाएर त्यहाँसम्म पुर्याएको एप्पलबाटै स्टिभ बाहिरिए, सन् १९८५ मा।

एप्पल छाड्नुअघि उनले कर्मचारीको सानो जमघटमा भनेका थिए, ‘मसँग कम्पनी चलाउने खुबी रहेनछ।’

स्टिभ त्यतिखेर पनि कालो टिसर्ट र निलो जिन्समा थिए, खाली खुट्टै।

सान फ्रान्सिस्कोमा आयोजित प्रविधि मेलामा एप्पल-२ कम्प्युटर सार्वजनिक गर्दै (बायाँबाट) स्टिभ जब्स, जन स्कल्ली र वुजनेक। तस्बिर: एपी

एप्पल पछि, ‘नेक्स्ट’

एप्पल छाडेकै वर्ष सेप्टेम्बर महिनामा स्टिभले नयाँ कम्पनी सुरु गरे, ‘नेक्स्ट इन्क’।

उच्चशिक्षालाई चाहिने वर्कस्टेसन कम्प्युटर बनाउने उनको उद्देश्य थियो, जसमा टेक्सासका उद्योगपति एच रोस पेरटले २ करोड डलर लगानी गरे।

नेक्स्टबाट स्टिभको लक्ष्य पूरा हुन सकेन। रफ्तारमा दौडिएका स्टिभले १ करोड डलर लगानी गरेर ‘पिक्सार’ नामक ग्राफिक्स सुपरकम्प्युटिङ कम्पनी किने। आफूसँग जम्मा भएको भएभरको सम्पत्ति उनले पिक्सारमा खन्याए, जुन वित्तीय रूपमा नाजुक थियो। फिल्म निर्माता जर्ज लुकासले स्थापना गरेको त्यो कम्पनीमा स्टिभको कदम फलदायी साबित भयो।

कम्प्युटर–एनिमेसन फिल्म बजार सानो भएकाबेला १९९५ मा पिक्सार र वाल्ट डिस्नेले ‘टोय स्टोरी’ एनिमेसन फिल्म रिलिज गरे। फिल्मको बक्स–अफिस कमाइ ३६ करोड डलर नाघ्यो।

पिक्सारले त्यसपछि सार्वजनिक सेयर खुला गर्यो। आवेदनको ओइरो लाग्यो। स्टिभ रातारात अर्बपति भए।

सन् २००६ मा वाल्ट डिस्नेले ७ अर्ब ४० करोड डलरमा पिक्सार किन्ने प्रस्ताव गर्यो। स्टिभले ७ प्रतिशत सेयर आफूसँग राखेर कम्पनी बेचिदिए। यसले उनलाई वाल्ट डिस्नेको एक्लो सबभन्दा ठूलो सेयरधनी बनायो।

स्ट्यान्फोर्ड विश्वविद्यालयमा दिएको भाषणमा स्टिभले भनेका छन्, ‘एप्पल छाड्नु मेरो जीवनको सबभन्दा सुनौलो मोड लाग्छ।’

जोएन र मोना

एप्पलबाट बाहिरिएको एक वर्षपछि उनकी आमा क्लारा थला परेकी थिइन्। फोक्सो क्यान्सरबाट ग्रसित क्लारा ओछ्यानमा लडिरहेका बेला स्टिभले सोधेका थिए, ‘बुबासँग बिहे हुँदा तपाईं कुमारी नै हुनुहुन्थ्यो?’

क्लारालाई बोल्न गाह्रो थियो। उनी मुस्काइन्।

उनले पर्लसँग बिहे गर्नुअघि नै आफ्नो बिहे भइसकेको बताइन्। युद्घमा गएका पहिलो श्रीमान कहिल्यै नफर्केपछि उनले पर्लसँग दोस्रो विवाह गरेकी थिइन्। उनले आफ्नो आमा बन्न नसक्ने समस्यादेखि स्टिभलाई कानुनी सन्तानका रूपमा ग्रहण गरेको घटनासम्म सबै बेलिविस्तार लगाइन्।

क्लाराको मुखबाट सबै कथा सुनेर पनि स्टिभको अतृप्त दिमाग शान्त भएन।

उनी आफूलाई ‘त्याग्ने’ आमा चिन्न चाहन्थे। उनले एक जासुससम्म खटाए, जसले केही पत्ता लगाउन सकेन। उनले आफ्नो कानुनी अभिभावक छान्ने डाक्टर खोजे। ती डाक्टरले सुरुमा केही भनेनन्। तर, आफू मरेपछि स्टिभ जब्सलाई दिनू भनेर उनले एउटा पत्र श्रीमतीलाई थमाएका रहेछन्। डाक्टरको मृत्यु भएको केही दिनपछि स्टिभले त्यो पत्र पाए, जसमा लेखिएको थियो– ‘तिम्री आमाको नाम जोएन स्किबल हो।’

उनले जोएनलाई भेटे। अब्दुलफताहले उनलाई छाडिसकेका थिए। उनले जर्ज सिम्पसनसँग दोस्रो विवाह गरेकी थिइन्। त्यो सम्बन्ध पनि टिकेको थिएन। जोएन र अब्दुलबाट जन्मेकी छोरी मोनाले भने सिम्पसन थर नै लिएका थिए।

मोना र जोएनले स्टिभलाई अब्दुलसँग भेटाउने प्रयास गरे। स्टिभ सधैं यसबाट पन्छिए।

बहिनी मोनासँग भने उनी निकट भए। स्टिभले न्यूयोर्क टाइम्स म्यागेजिनसँगको अन्तर्वार्तामा भनेका थिए, ‘हामी एउटै परिवारका हौं। यो संसारमा उनी एक मात्र मेरा मिल्ने साथी हुन्। म दुई–तीन दिन बिराएर उनलाई टेलिफोन गर्छु र हामी लामो समय कुराकानी गर्छौं।’

पारिवारिक सन्दर्भमा स्टिभको विवाह पनि जोडिन्छ।

‘महिलाको मामिलामा स्टिभ एकदमै गहिरिन सक्थे, रोमान्टिक थिए,’ वाल्टरले स्टिभको आत्मकथामा लेखेका छन्।

नेक्स्ट कम्पनी स्थापना क्रममै उनी लरेन पवेलसँग प्रेम सम्बन्धमा बाँधिए। सन् १९९१ मार्चमा ३६ वर्ष पुगेका स्टिभले २७ वर्षीया लरेनसँग विवाह गरे। लरेन र स्टिभका तीन सन्तान छन्– इभ, इरिन र रिड। पछि लिसा पनि स्टिभसँगै बसिन्।

स्टिभ आफ्नी पत्नी लरेन र केटाकेटीसँग। तस्बिर स्रोत: स्टिभको आत्मकथा

फेरि एप्पल

एप्पल छाडेका स्टिभले नेक्स्ट र पिक्सार दुवैलाई सफलता दिलाए। यता स्टिभबिनाको एप्पल ओइलाउँदै थियो।

नयाँ पुस्ताको अपरेटिङ सिस्टम ल्याउने प्रयासमा असफल भएकै बेला एप्पलको डोरी गिलबर्ट एमेलियोको हातमा पर्यो। उनले एप्पलका ‘पिता’ स्टिभसँग सहकार्यको हात बढाए। सन् १९९६ मा एप्पलले ४३ करोड डलरमा नेक्स्ट कम्पनी किन्यो। अर्को वर्ष स्टिभ परामर्शदाताका रूपमा एप्पल फर्के। र, त्यसको तीन वर्षपछि फेरि प्रमुख कार्यकारी भए।

स्टिभ स्वभावैले उपभोक्तामुखी थिए। उपभोक्ता के चाहन्छन् भन्दा पनि उनीहरूलाई के दिनुपर्छ भनी आकलन गरेर उत्पादन गर्नु उनको विशेषता थियो।

एप्पलको दोस्रो ‘इनिङ’ मा स्टिभ इलेक्ट्रोनिक उपकरण उत्पादनतर्फ केन्द्रित भए। आइट्युन्स र आइपड प्लेयरको सफलतासँगै इन्टेल प्रोसेसरमा आधारित म्याकिन्टोस कम्प्युटरले एप्पललाई उचाइमा पु¥यायो।

यो उचाइमा इँटा थप्यो, आइफोनले।

सन् २००७ जनवरी ९ मा क्यालिफोर्नियामा आयोजित प्रविधि मेलामा सबैलाई पहिलो आइफोन देखाउँदै स्टिभले भनेका थिए, ‘म यसका निम्ति साढे दुई वर्षदेखि प्रतीक्षारत् थिएँ। आज एप्पलले फोनको पुनर्निर्माण गर्दैछ।’

उनको यही परिवर्तनकारी आइफोनको आजसम्म १८ वटा मोडल बजारमा आइसकेका छन्।

यही सेप्टेम्बर १२ को दिन स्टिभ जब्स थिएटरमा आइफोन–८, ८ प्लस र टेन सार्वजनिक गर्दै टिमले भनेका थिए, ‘स्टिभ जिनियस थिए, अलौकिक। नयाँ पुस्तालाई परिवर्तनकारी उपकरणको स्वाद चखाउने खुबी उनमा थियो। उत्प्रेरणाका उनी खानी थिए, कहिल्यै नसकिने, कहिल्यै नथाक्ने। उनको ‘भिजन र प्यासन’ एप्पलमा सधैं रहनेछ, सधैं नै।’

स्टिभकै स्ट्यान्फोर्ड विश्वविद्यालयको भाषणले पनि उनको ‘भिजन र प्यासन’ झल्काउने जीवनदर्शन बुझ्न सघाउँछ।

उनले भनेका छन्ः

‘तपाईंहरूको समय सीमित छ। यो दुर्लभ समय अर्काको जिन्दगी बाँचेर खेर नफ्याल्नुस्। कुनै कठोर आस्था वा सिद्धान्तको घेराभित्र नअड्किनुस्।
जब म तन्नेरी थिएँ, त्यसबेला ‘द होल अर्थ क्याटलग’ भन्ने एउटा गज्जबको प्रकाशन थियो। त्यो प्रकाशन अहिलेको ‘गुगल’ जस्तै मेरो पुस्ताका लागि महत्वपूर्ण थियो। ‘द होल अर्थ क्याटलग’ का थुप्रै अंक प्रकाशन भए।

त्यसैको अन्तिम अंकको अन्तिम पृष्ठमा सखारै खिचिएको एउटा गाम्रीण सडकको तस्बिर थियो। तस्बिरमुनि लेखिएको थियो– अतृप्तै रहनू, अल्पज्ञानी हुनू।

मैले यही दर्शन जिन्दगीभरि पछ्याएँ।’

टिम कुकले भनेको ‘एप्पलको डिएनए’ यही हो, सायद।

(स्टिभ जब्सको आत्मकथा, फिल्म र विभिन्न पत्रिका तथा टेलिजिभनमा स्टिभले दिएका अन्तर्वार्ता र प्रकाशित समाचारमा आधारित)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.