मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटनामा तीनको मृत्यु, २० घाइते


धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा २० जना घाइते भएका छन्। मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग१ख ५५२९ नंको बस ब्रेक फेल भई दुर्घटना हुँदा विराटनगर८ का गणेश सुवेदी, सवारीचालक बागलुङका खेमबहादुर बुढामगर र कीर्तिपुर१२ का शर्मिला दुलालको घटनास्थलमै मृत्यु भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए। उनका अनुसार, दुर्घटनामा घाइते २० मध्ये ६ जनाको अवस्था गम्भीर देखिएको छ ।

घाइते सबैको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । गम्भीर भएकालाई भौगोलिक अवस्थाका कारण तत्काल अन्यत्र पठाउनसक्ने अवस्था छैन‘, उनले भने, ‘बुधबार बिहान मात्रै रिफरको काम हुन्छ ।दसैं बिदा मनाउन मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि आएका तीर्थयात्री घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक अर्जुनबहादुर ढकालका अनुसार सोही स्थानमा दुई महिनाअघि दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो। यसभन्दा अघि दुर्घटना भएको ठाउँमै दुर्घटना भएको छ। घाइते विभिन्न जिल्लाका छन्‘, उनले भने। घाइतेका आफन्तजनले तत्काल सुविधासम्पन्न अस्पतालमा रिफर गर्न आग्रह गरे पनि जीर्ण बेनीजोमसोम सडक र रातको समयमा हवाई उडान सम्भव नभएका कारण जिल्ला अस्पतालमै राखेर उपचार गर्नु परेको प्रहरीले जनाएको छ ।

मुस्ताङमा दसैं बिदा मनाउन मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढी रहेको बताइएको छ। सवारीचालकको पनि ज्यान गएका कारण दुर्घटनाको थप अनुसन्धान हुन बाँकी छ। तर पनि भोलिदेखि सवारी जाँचमा थप कडाइ हुनेछ‘, प्रनाउ पाण्डेले भने।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.