काठमाडौं–तराई मधेश द्रूत मार्ग (फास्ट ट्रयाक) को ट्रयाक नेपाली सेनाले नै खोलेको हो। सेनाले ट्रयाक खोलेपछि यो सडकमा २०६९ सालमा नै गाडी गुडेको थियो। तर, पाँच वर्षसम्म यो सडकको अवस्था निकै नाजुक भइसकेको छ। कतै पहिरोले पुरिएको छ त कतै भत्किएको अवस्थामा छ।
फास्ट ट्रयाक निर्माण गर्ने जिम्मेवारी पाइसकेपछि सेनाले आफ्नो जनशक्तिलाई त्यसतर्फ पठाएको छ। अहिले पाँच ठाउँमा सेनाले क्याम्प राखेर कामलाई तिब्रता दिएको छ। बागदेब, बुदुने, लेनडाडा, सिस्नेरी र मख्खुबेसीमा सेनाको क्याम्प बनाएको छ।
फास्ट ट्रयाकको डिपीआर तयार भइनसकेकोले सेनाले सडक खन्ने काम भने अझै सुरू गरेको छैन। डिपीआरको अध्ययन भइसकेपछि मात्रै फास्ट ट्रयाक कसरी बनाउने र यसका लागि कति खर्च लाग्छ भन्ने एउटा खाका तयार हुने नेपाली सेनाका प्राविधिक महासेनानी विकास पोखरेलले सेतोपाटीलाई बताए।

तर त्यो भन्दा पहिला सेनालाई अन्य तयारी जरूरी भएकाले सेनाले अहिले सडक निर्माणका लागि आवश्यक पर्ने क्याम्पहरु खडा गर्नै काम गरिरहेको पोखरेलले बताए।
बाढी पहिरोको कारणले ट्रयाक सफा गर्ने काममा अवरोध आएको नेपाली सेनाका प्रविधिक सेनानी रमेश मराशीनीले बताए।
सडक निर्माण गर्नको लागि दोहोरो लेन पास हुने तरिकाले काम गर्नुपर्ने भएकोले त्यही अनुसार काम भएको माराशीनीले जानकारी दिए। ‘हामीले ३१ किलोमिटर ट्रयाक सफा गरिसकेका छौ,’ उनले भने, ‘बाढी पहिरोको कारणले सफा गरेका सडकहरू फेरी पनि उस्तै भइसकेका छन्।’
सडक निर्माणको काम सुरू भएपछि दस वटा क्याम्प राखेर कामलाई तिब्रता दिने सेनाको तयारी छ। एउटा क्याम्पमा सय जनाको हाराहारीमा सैनिक हुनेछन्।

७६ किलोमिटरको सडकमा साना–ठूला गरी ८० देखि १०० वटा सम्म पुल राख्नुपर्छ । झण्डै दस किलोमिटर त पुल नै बनाउन पर्ने हुन्छ। कतिपए पुलहरू नेपाली सेनाकै जनशक्तिले बनाउनेछ भने कतिपय पुलका लागि विदेशी कन्सल्टेन्टको सहयोग लिनुपर्नेछ।
यो सडकमा डेढ किलोमिटर सुरूङ समेत बनाउनुपर्ने हुन्छ। त्यसको लागि भने सेनाले बिदेशी कन्सल्टेण्टकै सहयोग लिनुपर्छ।
‘बजेट र प्रविधि यती नै आवश्यक पर्छ भनेर हामीले अहिले नै भन्न सकिदैन,’ पोखरेलले भने, ‘उच्च प्रविधिको प्रयोग गरेर सडक निर्माणको काम हुन्छ। हामी चार बर्ष भित्र सक्ने कोशिशमा हुन्छौ।’
सडक निर्माण गर्ने क्रममा स्थानीयलाई नै प्राथमिकता दिएर उनीहरूसँग सहकार्य गरेर काम गर्ने पोखरेलले बताए। ललितपुरको खोकनाबाट सुरु हुने फास्ट ट्रयाकको ललितपुरमा ९ दशमलब ९ किलोमिटर, काठमाडौंमा ४ किलोमिटर, मकवानपुरमा ५६ दशमलब ७ किलोमिटर र बारामा ७ दशमलब ६ किलोमिटर पर्छ। पहाडी क्षेत्रमा २३ मिटर र तराई क्षेत्रमा २५ मिटर चौडा सडक बनाउने सेनाको योजना छ।