इसराइलले गजा कब्जाको पहिलो चरण घोषणा गरेको छ।
गजामा युद्धविरामका लागि नयाँ प्रस्तावमा छलफल चलिरहेको बेला इसराइलले सम्पूर्ण गजा कब्जाको पहिलो चरण घोषणा गरेको हो।
जसअन्तर्गत ठूलो संख्या सैनिकहरू गजा क्षेत्रमा परिचालन गरिनेछ।
इसराइली सेनाले बुधबारदेखि नै प्रारम्भिक सैन्य कारबाही सुरू गरिसकेको र आफ्ना सैनिकहरू गजा सहरको बाहिरी इलाकामा पुगिसकेको जनाएको छ।
गजा कब्जा अभियानका लागि ८० हजार रिजर्भ सैनिकलाई बोलाएको छ।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको अन्तिम गढमध्ये एक मानेको गजा सहर कब्जा गर्न सेनाले ६० हजार नयाँ रिजर्भ सैनिक बोलाउने र थप २० हजार सैनिकको सेवा अवधि लम्ब्याउने निर्णय गरेको बताएका छन्।
'हामीले गजा सहरमा आक्रमणको प्रारम्भिक कारबाही र पहिलो चरण सुरू गरिसकेका छौं। यो ठूलो अभियानको पहिलो कदम हो,' इसराइली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले भने।
सुरुमा यो अभियान पूरा हुन पाँच महिना लाग्ने अनुमान गरिए पनि प्रधानमन्त्री नेतान्याहुले सेनालाई छोटो समयमै कारबाही सम्पन्न गर्न निर्देशन दिएका छन्।
तर, लगभग दुई वर्ष लामो युद्धबाट थकित सेनाभित्र भने यो निर्णयलाई लिएर असन्तुष्टि बढ्दो छ।
इसराइली सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जमीरले केही समयअघि सुरक्षा क्याबिनेटलाई सैनिकहरूमा थकान र निराशा बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
तर, नेतान्याहु र उनका गठबन्धन साझेदारहरूले उनको चिन्तालाई बेवास्ता गर्दै नयाँ युद्ध योजना अघि बढाएका छन्।
हिब्रु विश्वविद्यालयको एक सर्वेक्षणअनुसार लगभग ४० प्रतिशत सैनिकमा सेवा गर्ने उत्प्रेरणा घटेको छ। युद्ध अन्त्य हुनुपर्छ भन्ने पक्षमा अधिकांश इसराइली जनताको समर्थन देखिनु र सेनाभित्र बढ्दो निराशाले इसराइलको सैन्य क्षमतामाथि नै प्रश्न उठेको छ।
यो अभियानले बन्धकहरूको जीवनलाई झन् खतरामा पार्ने भन्दै केही सैनिकहरूले सेवा गर्न अस्वीकार गर्न थालेका छन्।
३०० दिनभन्दा बढी गजामा सेवा गरेका अवशालोम जोहर सालले सिएनएनसँग भने, 'म फेरि युद्ध मोर्चामा फर्कन तयार छैन। सरकारको यो निर्णय बन्धकहरूका लागि मृत्युदण्डजस्तै हो।'
उनले सरकारको लक्ष्य हमासलाई नष्ट गर्नु मात्र रहेको तर त्यो असम्भव भएको बताए।
इसराइलका पूर्वसेना प्रमुख डान हालुट्जले पनि सबै रिजर्भ सैनिकहरू ड्युटीमा नफर्किने भविष्यवाणी गरेका छन्।
सम्पूर्ण गजा कब्जा गर्ने इसराइली निर्णयको युरोपेली र अरब मुलुकहरूले निन्दा गरेका छन्। युरोपेली मुलुकहरूले धमाधम प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा समेत गरेका थिए।
गजामा मानवीय सहायता लैजान इसराइली सेनाले नै रोकेपछि पछिल्लो महिना त्यहाँ भोकमरीको चरम अवस्था देखा परेको थियो। तीव्र अन्तर्राष्ट्रिय आलोचनापश्चात इसराइली सेनाले गजामा मानवीय सहायता पुर्याउन दिएको थियो।
यो द्वन्द्व सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गरेपछि सुरु भएको थियो, जसमा करिब १,२०० इसराइली मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो।
त्यसयता इसराइलको आक्रमणमा ६२ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्, जसमा अधिकांश महिला र बालबालिका छन्।
हाल अरब मध्यस्थकर्ताहरूले ६० दिने युद्धविरामको प्रस्ताव गरेका छन्, जसलाई हमासले स्वीकारेको छ।
तर, इसराइलले सबै बन्धक एकैपटक रिहा हुनुपर्ने अडान राखेको छ। बाँकी रहेका ५० बन्धकमध्ये २० जना मात्र जीवित रहेको इसराइली अधिकारीहरूको अनुमान छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)