यस्तो पर्व जहाँ एक दिन मरेर अन्तिम संस्कार गरिन्छ


मृत्यु भएका आफन्तको सम्झनामा विभिन्न झाँकी निकालेर आज मंगलबार काठमाडौं उपत्यकामा गाईजात्रा मनाइँदैछ। आफन्तको मृत्युमा शोकाकूल परिवारलाई दुःख बिर्सेर अगाडि बढ्न यसले प्रेरित गर्छ।

राजा प्रताप मल्लले छोराको मृत्यु शोकमा डुबेकी रानी थुम्थुम्याएर अनुहारमा हाँसो ल्याउन यो जात्रा चलाएका हुन्, जुन आज काठमाडौं सभ्यता र परम्पराको हिस्सा बनेको छ।

आफन्तको मृत्युसँग जोडेर कुनै पर्व मनाउने यस्तो चलन नेपालमा मात्र होइन।

यहाँभन्दा कोसौं टाढा स्पेनको एउटा गाउँमा लगभग गाईजात्राकै आसपास एक पर्व मनाइन्छ, जसको मर्म केही हदसम्म गाईजात्रासँग नजिक छ।

फरक यत्ति हो, गाईजात्रामा हामी मृत्यु भएकाको सम्झनामा झाँकी निकाल्छौं, स्पेनी जात्रामा मृत्युको मुखमा पुगेर बाँचेकाहरूका लागि ईश्वरलाई धन्यवाद दिँदै झाँकी निकालिन्छ।

हरेक वर्ष जुलाई २९ मा यो पर्व मनाइन्छ। यसदिन मृत्युबाट बचेर आएकाको दीर्घायू कामना गर्दै उसका आफन्त एक दिनका लागि मृत्यु अँगाल्छन्।

बाइबलमा उल्लेख भएअनुसार जुन दिन मृत्युको मुखमा पुगेका लाजारस जिसस क्राइस्टको आगमनपछि बाँचेका थिए, त्यसै दिन यो जात्रा मनाइने हो। लाजारस स्थानीय समुदायका एक महत्वपूर्ण सन्त मार्थाका भाइ थिए।

पर्वमा मृत्युको मुखमा पुगेर बाँच्नेको कुनै आफन्त मरेको ‘अभिनय’ गर्दै कफिनमा सुत्छन्। साँच्चिकै लाशजस्तो उसको पूजापाठ गरिन्छ। मलामीले ‌ऊ सुतेको कफिन बोकेर चिहानसम्म पुर्‍याउँछन् र, अन्तिम संस्कार गर्छन्। मान्छे मरेपछि गरिने सम्पूर्ण किरियाकर्म यही एक दिनमा पूरा गरिन्छ। नाटक भए पनि यो सबै रित पुर्‍याएर गरिन्छ।

स्पेनको उत्तरपश्चिमी पहाडी गाउँ सान्ता मार्ता डे रिबार्तेमेको एउटा सानो चर्चमा गत जुलाई २९ को दिन एकाबिहानै पिलर डोमिनज मुनोज आफ्नो लुगा मिलाउँदै थिइन्। उनले कालो चस्मा लगाईन् र सर्लक्क कफिनभित्र लम्पसार परिन्। मरेको मान्छेको झैं मुनोजको कफिन मलामीले चारतिरबाट काँधमा उचाले।

मुनोजको अनुहार शान्त थियो। ब्रासब्यान्डको बाजागाजासहित अन्तिम संस्कार गर्न मलामीले लगिरहँदा कफिनमा सुतेकी उनको अनुहारमा बेचैनी थिएन। रातो गुलाफ लिएर दुई हात जोडेकी उनी ध्यानमा बसेकी योगीझैं देखिएकी थिइन्।

उक्जिया भने यी सबै घटना उत्सुकतासाथ हेरिरहेकी थिइन्। बेलाबेला छक्क पर्थिन्, घरि रमाउँथिन्। एक दिनलाई मृत्यु अँगालेर कफिनमा सुतेकी मुनोजकी छोरी हुन्, उक्जिया।

यो वर्ष अन्तिम संस्कार पर्वमा भाग लिने ९ जनामध्येकी एक मुनोज गत वर्ष पनि सरिक थिइन्। दुई पटक मृत्यु संस्कारमा सहभागी हुने कारण भने एउटै–छोरी उक्जिया।

उक्जियालाई हड्डी कमजोर हुने रोग लागेको थियो। अघिल्लो वर्ष उनको सुस्वास्थ्यको कामना गर्दै पर्वमा हिस्सा लिएकी मुनोजले ‘यस वर्ष छोरीको स्वास्थय लाभ निम्ति सन्तलाई धन्यवाद दिएको’ बताइन्।

‘पोहोर म कफिनमा थिएँ, मेरी छोरी ह्विलचेयरमा। ऊ गोलीगाँठोको हड्डी भाँच्चिएर हिँड्न नसक्ने थिई,’ मुनोजले भनिन्, ‘आज सन्त मार्थाको कृपाले आफैं हिँडेर पर्वमा सहभागी छ। छोरीको सुस्वास्थ्यको निम्ति सन्तलाई धन्यवाद दिन म फेरि आएकी हुँ।’

यो जात्रामा धेरै मान्छे आफन्त बाँचेको खुसीमा मृत्यु संस्कार गर्छन्। कोही आफ्नो संस्कारमा आफैं सरिक हुन्छन्। दुर्घटना वा रोगबिरामबाट बाँचेकाहरू जात्रामा आफैं भाग लिन्छन्- मरेको अभिनय र अन्तिम संस्कार गर्छन्।

‘कोही मान्छे हाम्रो यो पर्व देखेर छक्क पर्छन्, हामीलाई ‘क्रेजी’ भन्छन्। केही वर्षअघि यसमा सहभागी हुन्छु भन्दा मेरी आमाले नै मलाई त्यस्तै भन्नुभएको थियो,’ स्थानीय करिना डोमिनजले भनिन्। उनी गत वर्ष मृत्यु अभिनय गर्दै आफ्नै अन्तिम संस्कारमा सहभागी थिइन्। यस वर्ष मलामी छन्।

केही सय व्यक्ति बसोबास गर्ने सानो गाउँमा यो पर्व कहिले सुरु भयो यकिन छैन। यसलाई मध्यकालीन पर्व मान्ने टन्नै छन्। जिन्दगीमा आएको आकस्मिक संकट टारेकोमा सन्त मार्थालाई धन्यवाद दिँदै दीर्घायू कामना गर्न यो जात्रा मनाउन थालेको स्थानीय बताउँछन्।

यसले स्थानीय धामीझाँक्रीमा विश्वास गर्ने यहाँको परम्परा पनि इंगीत गर्छ। स्थानीय रोड्रिगज मेन्डेज भन्छन्,‘बीसौं शताब्दीमा यो समाज सामन्ती थियो। उनीहरूसँग आधुनिक उपचार पद्धति सुविधा थिएन। बिरामी परे स्थानीय धामीझाँक्रीकै भर पर्थे।’

जिउँदै कफिनमा सुतेर अन्तिम संस्कारमा सरिक हुनुलाई ‘मृत्युमाथि जीवनको विजय’ का रूपमा लिइने यो पर्व ‘अस्वाभाविक’ मानिन्छ।

‘अस्वाभाविक’ भनिए पनि फ्रान्स र पोर्चुगलका केही क्याथलिक तीर्थस्थलमा समेत यो परम्परा प्रचलित छ। त्यहाँ शारीरिक तथा आत्मिक दुःख निवारण गर्न भनेर यस्तै विधि अपनाइन्छ।

सान्ता मार्ता डे रिबार्तेमेमा मनाइने यो पर्वमा भाग लिनेको संख्या पछिल्ला वर्ष बढ्दै गएको रोड्रिगज मेन्डेज बताउँछन्। परम्परा संरक्षण अभियानले यस्ता चाड जोगाउनुपर्छ भन्ने मत बलियो बनाउँदै गएको छ।

स्थानीय अधिकारीहरूले जनमत बुझेर यसलाई स्पेनको आधिकारिक चाडको सूचीमा राख्न दबाब दिने बताएका छन्। यो अभियान सफल भए यसले गाउँको पर्यटन गतिविधि बढाउन सरकारबाट अनुदानसमेत पाउनेछ।

स्थानीय चर्चले यस वर्ष पहिलोपटक कफिनको पैसा लियो। प्रत्येक कफिनका लागि सय युरो तिर्नुपरेकोमा स्थानीयले भने गुनासो गरेका छन्।

अन्तिम संस्कार पर्वमा अनावश्यक भीडभाड नहोस् भनेर कफिनको शुल्क लिन थालेको चर्चका पादरी बताउँछन्। धार्मिक विश्वासभन्दा दन्त्यकथाका भरमा मान्छेहरू यहाँ आएर कफिनमा सुत्न थालेको उनको भनाइ छ।

‘यसलाई धार्मिक विश्वासका रूपमा लिऊन् भन्ने हामी चाहन्छौं,’ उनले भने, ‘तर, कफिनमा सुतेर अन्तिम संस्कार गर्दैमा यसको उद्देश्य पूरा हुँदैन। मान्छेले कसैको सुस्वास्थ्यको कामना गर्नुछ र सन्त मार्थालाई धन्यवाद दिनुछ भने सबैको अगाडि उभिएर आत्मालोचना पनि गर्नुपर्छ।’

मुनोज पनि यस वर्ष आफूले कफिनको पैसा तिर्नुपरेकोमा दुःखी छिन्। ‘म यहाँ सान्ता मार्थाको निम्ति आएकी हुँ, कुनै पादरीका लागि होइन,’ उनले भनिन्।

यो पर्वमा कफिन गाउँमा घुमाएको केही घन्टापछि मलामी गएका फेरि चर्चमै फर्कन्छन्। सबै भेला भएर सन्तको मूर्ति छुन लाइनमा बस्छन्।

सुरुमा सेतो रुमालले उनीहरू मार्थाको पाउ पुस्छन् र त्यही रुमालले आफ्नो अनुहार सफा गर्छन्। त्यसपछि चर्चमा भेला भएकामध्ये केही घुँडाले घस्रिदैं, केही बलिरहेको मैनबत्ती बोकेर अघि बढ्न थाल्छन्। कफिनको पछि हिँड्ने ती मलामी सन्त मार्थाको प्रशंसामा गीत गाउँछन्।

जब ती कफिन फेरि चर्चमा फिर्ता ल्याइन्छ, त्यसमा मरेझैं सुतेकाहरू उठ्छन्, बाहिर निस्कन्छन् र खुट्टा तन्काउँछन्। आफ्नो जीउको पसिना र आँसु पुस्छन्।

अन्तिम संस्कार सकेर फर्केका ३८ वर्षीय मार्कोस रोर्डिगेज यसमा भाग लिएर निकै सन्तुष्ट भएको बताउँछन्। कफिनबाट निस्कनेबित्तिकै उनले ६ वर्षे छोरा निकोलसलाई गम्लंग अँगालो मारे। निकोलस बाबुको अँगालोमा बेरिन पाएकोमा खुसी थिए, सँगसँगै बाबु रोइरहेकोमा छक्क थिए। गत वर्ष निकोलसको सफलतापूर्वक मस्तिष्क शल्यक्रिया गरिएको थियो।

‘मेरो छोरा बचाइदियौ भने म धन्यवाद दिन आउँछु भनेर मार्थालाई बाचा गरेको थिएँ,’ मार्कोसले भने, ‘आज छोराको त्यो रोग सम्झँदा मैले आफूलाई थाम्न सकेको छैन। त्यस्तै संकट आइपर्यो भने म अर्कोचोटि पनि यो अन्तिम संस्कार पर्वमा भाग लिन आउँछु।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.