मनसुनजन्य विपद्ले कोशी प्रदेशलाई सुरूबाटै अत्याउन थालिसकेको छ।
यसपटक जेठ १५ मा कोशी हुँदै नेपाल भित्रेको मनसुनले पहिलो दिन नै विपदको संकेत देखाइसकेको छ।
अहिलेसम्म मानवीय क्षति नभए पनि मनसुनको पहिलो दिनको भीषण वर्षाले कोशीका सात वटा सडकमा ठूलो क्षति निम्त्याएको थियो। बाढी र पहिरोले ठाउँ–ठाउँमा सडक संरचनामा अवरोध खडा गरेको थियो।
भौतिक संरचनाहरूको जोखिम एकातिर छँदैछ, कोशीमा मनसुनजन्य विपद्को जोखिममा जनसंख्याको ठूलो हिस्सा पर्दै आएको छ। भर्खरै मात्रै कोशी प्रदेश सरकारले विज्ञहरू परिचालन गरेर गरेको अध्ययनकै निष्कर्षले पनि कोशीमा मनसुनजन्य विपद्को सम्भावित आकार ठूलो हुने देखाउँछ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा विपद् विज्ञका रूपमा कार्यरत रामकुमार दाहालका अनुसार कोशीमा १ लाख १६ हजार ८ सय १८ घरपरिवार मनसुनजन्य विपद्को जोखिममा रहेको देखिएको छ। पहिरो, बाढी, डुबान, कटान लगायतका विपद्ले हरेक वर्ष प्रदेशमा जनधनको ठूलो क्षति गर्दै आएको छ।
विज्ञहरूसहितको सरकारी टोलीले गरेको अध्ययन र विपद्को सम्भावित जोखिमको नक्सांकनले देखाएको डरलाग्दो चित्र अर्को छ। जसअनुसार कोशीमा २ हजार ४ सय ६६ घरपरिवारलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ।
‘२४६६ परिवार जुनसुकै बेला पहिरो र बाढीको चपेटामा पर्नसक्ने सम्भावना देखिएको छ,’ विपद् विज्ञ दाहालले भने, ‘अति जोखिममा रहेका उनीहरूलाई तत्कालै स्थानान्तरण गर्न हामीले सुझाव दिएका छौं।’
अध्ययनले २४६६ परिवारलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने भनिरहेका बेला प्रदेश सरकारसँग भने १ हजार परिवारलाई पुग्ने सामग्री लिएर बसेको पनि पाइएको छ।
त्यसो त कोशी प्रदेश सरकार अथवा संघीय सरकारले विपद्को सम्भावित आंकलन प्रत्येक वर्ष गर्दै आएको छ। विज्ञहरू परिचालन गरेर राज्यकोषको ठूलै रकम खर्चेर गरिने यस्ता अध्ययनले निर्देश गरेका सुझाव कार्यान्वयनमा भने सरकार उदासिन रहन्छ।
कोशीमा गत वर्ष पनि विज्ञहरूले प्रदेशमा जोखिम क्षेत्र पहिल्याएर तत्कालै स्थानान्तरण गरिहाल्नुपर्ने परिवार संख्या जिल्लागत आधारमै तोकेको थियो।
माथिल्लो तहका सरकारहरूले स्थानीय तहसँग समन्वय गरेर उच्च जोखिम क्षेत्रका बासिन्दालाई जोखिम क्षेत्रबाट अन्यत्र सार्न सुझाव दिइएको थियो। तर, विज्ञहरूको सुझाव कतै थन्कियो। गत वर्ष असोजको तीन दिनको बाढीपहिरोमा परेर प्रदेशमा १८ जनाले ज्यान गुमाए।
‘पोहोर हामीले दिएको सुझावमा प्रदेश र संघ सरकार मात्रै संवेदनशील भइदिएको भए त्यतिधेरै मान्छेको ज्यान जाने थिएन,’ गत वर्षको प्रदेश विपद् जोखिम नक्सांकनमा सहभागी बनेका एक जना रेडक्रसकर्मीले भने, ‘सरकारी निकाय पूर्व सतर्कतामा भन्दा विपद्पछिको राहतमा धेरै केन्द्रित भयो। सतर्कताका लागि गर्नुपर्ने काम भएन।’
यसपटक पनि अवस्था गत वर्षभन्दा फरक छैन। सरकारकै अध्ययनले ‘अति उच्च जोखिममा’ रहेका २४६६ परिवार अहिले पनि त्यही उच्च जोखिमयुक्त आफ्नै थातथलोमै दैनिकी बिताइरहेका छन्। जहाँ जुनसुकै बेला ठूलो दुर्घटनाको सम्मुखमै रहेको सरकारी अध्ययनकै निष्कर्ष छ।
अरु बेलाभन्दा सरदर १५ दिन अगावै नेपाल भित्रिएको मनसुन तराईका बासिन्दाका लागि शीतल अनुभव गराउने उपाय भइरहँदा पहाडी क्षेत्रका बासिन्दाका लागि भने कहर सावित हुँदै आएको छ। यसपटक पनि लगातार बढ्दै गएको तापक्रमले पूर्वी नेपालको मैदानी भूभागका बासिन्दालाई उकुसमुकुस बनाउँदै थियो। जेठ महिना मध्यतिर लम्किँदै गर्दा प्रचण्ड गर्मीको रापले सताउँदै थियो।
बढ्दो तापक्रमले गर्मी बढाएको त्यही बेला जेठ १५ गते बिहीबार रातिदेखि कोशी प्रदेश हुँदै मनसुन नेपाल भित्रिएको घोषणा भयो। गर्मीले पिरोलिएका धरैलाई त्यही रातिदेखि दर्केको पानीले शितल अनुभूति गरायो।
यद्यपि त्यही दिनको वर्षाले कोशी पहाडका सात वटा सडकमा ठूलो क्षति गरेको थियो। हजारौं सर्वसाधारणको आवतजावत केही दिन ठप्पै पारेको थियो। धनकुटा–भेडेटार, रवि–राँकेसहितसात वटा सडक खण्ड अवरुद्ध हुने गरी आएको बाढीपहिरोले धेरैलाई गत वर्षको असोजको बिर्सनलायक घटनाको याद ताजा गराइदियो।
‘अलि ठूलो पानी पर्यो कि पोहोरकै घटनाको याद आइहाल्छ,’ पाँचथर फिदिमका शुक्र लिम्बूले भने, ‘घरबास छोडेर हिँड्न पनि सकिँदैन।’
गत वर्षको पहिरोमा परेर उनले परिवारका दुई सदस्य दिदी र भान्जी गुमाएका थिए। आँखै अघि आफन्त गुमाएका उनी र उनी जस्ता सयौं परिवार पहिरोको जोखिम सहेर बसिरहेका छन्। गत वर्ष प्रदेशभरीमा १८ जनाले ज्यान गुमाउँदा पाँचथरमा ५ जनाको मृत्यु भएको थियो।
दुई वर्ष अघि पाँचथरमा मात्रै २० जनाको ज्यान गएको थियो। पाँचथरमा मात्रै ३ हजार ५ सय ४० घरपरिवार पहिरोको जोखिममा देखिने प्रदेशको अध्ययनको ठहर छ। उनीहरूमध्ये सबै घरपरिवार अति जोखिमका होइनन्। तर, कुनै न कुनै रुपमा बाढीपहिरोले सताइनेमा भने पर्दछन्।
कोशीका १४ जिल्लामध्ये मोरङ, सुनसरी, झापा र उदयपुर बाढी, पहिरो, डुबान र कटान सबैथरी जोखिममा छन्। यसमध्ये सबै भन्दा बढी मोरङ जिल्लामा मात्र बाढी र डुवानका कारण ४२ हजार ९ घरपरिवार यसपटक विपदबाट प्रभावित बन्न सक्ने सम्भावना अध्ययनले औंल्याएको छ।
विपद् विज्ञ दाहालले दिएको जानकारी अनुसार सोलुखुम्बुमा ३ हजार ६ सय ३७, संखुवासभामा २ हजार ६ सय ५० घरपरिवार विपद्को उच्च जोखिममा छन्। संखुवासभा जिल्लामा मात्रै तत्कालै ७ सय ८ घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था देखिएको अध्ययनले देखाएको छ। इलाममा १ हजार २ सय ४३ परिवार पहिरोको जोखिममा हुँदा ३ सय ५५ परिवार अत्यधिक जोखिमयुक्त क्षेत्रमा बसिरहेका छन्।
ताप्लेजुङमा २ हजार ४ सय ३० परिवार जोखिममा छन्, जसमध्ये २ सय ८५ परिवारलाई तत्कालै स्थानान्तरण आवश्यक रहेको अध्ययनको ठहर छ। खोटाङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, उदयपुर, मोरङ, सुनसरी, झापालगायत जिल्लामा पनि सयौं परिवार पहिरोको जोखिमसँग जुधिरहेको दाहालले जानकारी दिए।
आफैले परिचालन गरेको विज्ञ टोलीले निकालेको निष्कर्ष कार्यान्वयनका लागि प्रदेश सरकार के गरिरहेको छ? अति जोखिममा रहेको भनिएका परिवारलाई सुरक्षित ठाउँमा सार्न कुनै पहल भएको छ?
सेतोपाटीले यसबारे प्रदेश सरकारलाई सोधेको छ।
आन्तरिक मामिला मन्त्रालयका प्रवक्तासमेत रहेका विपद् महाशाखा प्रमुख कमलबहादुर थापाका अनुसार अध्ययन र जोखिमको नक्सांकन भइसकेको छ।
‘तर, अहिलेसम्म जोखिम क्षेत्रका घरपरिवारलाई सारिहाल्ने काम भने भएको छैन,’ उपसचिव थापाले भने, ‘अब सोमबार मुख्यमन्त्री नेतृत्वमा रहेको मुख्य समितिको बैठक बस्दैछ। त्यो बैठकले केही न केही निर्णय गर्नेछ।’
थापाका अनुसार यसपटक अरुबेलाभन्दा धेरै छिटो प्रदेशमा खतराको घन्टी बजेको छ। सरकारी निकाय यसबारे सजग रहेको प्रदेश सरकारको भनाइ छ।
‘मनसुनको पहिलो दिन नै कोशी प्रदेशमा बाढीपहिरोले सबैभन्दा ठूलो क्षति गर्यो,’ उपसचिव थापाले भने, ‘मनसुनको सुरूमै कोशी प्रदेशमा विपद्को जोखिम कति उच्च छ भन्ने देखाएको यो घटनाले पर्याप्त सजगता र पूर्वतयारीको माग गर्दछ। सरकार त्यही काममा लागेको छ।’
थापाका अनुसार मनसुन पूर्वतयारी प्रतिकार्य योजना तयार भइसकेको छ भने त्यसबाहेक एक हजार परिवारलाई तत्कालै स्थानान्तरण गर्नपर्यो भने लत्ताकपडा, भाँडावर्तन लगायतका सबै सामान स्टकमा पनि छ।
उनका अनुसार खाद्य सामग्रीबाहेक प्रदेश सरकारसँग हजार परिवारलाई पुग्ने सबै सामग्री तयारी अवस्थामा राखिएको हो। त्यसबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई पनि उद्धार तथा राहतमा खटिनलाई सामग्री उपलब्ध गराइएको उनले बताए।
‘नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतनामा गत वर्षदेखि नै मनसुनभरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ,’ थापाले भने, ‘यसपटक पनि तयारी अवस्थामा राखिएको छ।’