खुला दिसामुक्त घोषणासँगै रोल्पामा सुस्तायो सरसफाइ


विसं २०७२ पुस ९ गते जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएपछि अभियान सुस्ताएको छ ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आव २०७३/७४ को असार मसान्तभित्र जिल्लाका साबिक पाँच वडालाई पूर्ण सरसफाइ घोषणा गरे पनि तोकिएको समयमा पूर्णसरसफाइ घोषणा नभएपछि जनतामा आशंका देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा सबैको ध्यान जाँदा तोकिएको समयमा पूर्णसरसफाइ वडा घोषणा गर्न नसकिएको जिल्ला समन्वय समितिका सरसफाइ फोकल पर्सन दामोदरप्रसाद सुवेदीले बताए।

जिसस, खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय तथा सरसफाइका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था र परियोजनाले जिल्लामा पूर्णसरसफाइको काम गरिरहेको बताइएको छ । पूर्णसरसफाइका विषय तथा सूचकका बारेमा सचेतीकरण गर्ने काम भइरहेको सरसफाइ सबडिभिजन कार्यालयकास्रोत व्यक्ति डिल्लीराज न्यौपानेले जानकारी दिए। वर्षात् सकिनेबित्तिकै घर्तीगाउँ, ओत, भावाङ, रांसी, ह्वामा, घोडागाउँ र गुम्चालका १० वडालाई पूर्णसरसफाइमुक्त वडा घोषणा गर्ने तयारी भइरहेको छ ।

जिल्लालाई खुला दिसामुक्त गरिएसँगै झाडापखाला, आउँ, कमलपित्तलगायत बिरामीको संख्या घटेको बताइएको छ । स्वास्थ्यमा सुधार हुनाका साथै गाउँघरमा दिसा देखिन छाडेको न्यौपानेले बताए।

सदरमुकामलगायत बजार क्षेत्रमा निर्माण गरिएका शौचालयको प्रयोग र व्यवस्थापनमा देखिएको समस्या एवं बजार क्षेत्रमा खुला ठाउँमा देखिने दिसाले भने अभियानमाथि नै प्रश्न उठाउन सक्ने बताइएको छ ।

स्वच्छता समन्वय समितिले जिल्लास्तरीय पूर्णसरसफाइ रणनीतिक योजना तयार गरी कार्यान्वयन गरिरहेको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गरेसँगै सुस्ताएको सरसफाइ अभियानले नयाँ जनप्रतिनिधि पाएसँगै तीव्रता पाउने अपेक्षा गरिएको छ । जिल्लालाई सन् २०२२ भित्र पूर्णसरसफाइमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.