तपाईंको बच्चाले भनेको मान्दैन? के गर्न सकिन्छ?

तपाईंको बच्चाले भनेको मान्दैन? के गर्न सकिन्छ?

स्वास्थ्य-उपचार


तपाईं आफ्नो तीन-चार वर्षको बच्चासँगै उसको साथीको घरमा हुनुहुन्छ, तर ऊ त्यहाँबाट निस्केर आफ्नो घर जानै मान्दैन। तपाईं आफ्नो बच्चालाई सुत्ने बेलामा खेलौना राख्न भन्नुहुन्छ, तर ऊ अबेलासम्म खेलेरै बस्छ, मान्दैन। यी र यस्तै घटना तपाईंले आफ्नै वा आफ्नो निकटका कोही बच्चाहरुसँग अनुभव गर्नुभएको होला।

तपाईंलाई के लाग्छ, किन बच्चाले त्यसो गर्छन्? उनीहरू भनेको किन मान्दैनन् र यस्तो बेलामा तपाईंले के गर्नु राम्रो होला?

पहिलो एक-दुई वर्षसम्म बच्चा जति तपाईंसँग निर्भर हुन्थ्यो, तीन-चार वर्षको हुँदा त्यति हुँदैन। उसको आफ्नोपन अलि बलियो हुँदै जान्छ र आफ्नो स्वतन्त्रमा अलि बढी सुरक्षित महसुस गर्न थालिसकेको हुन्छ। केही हदसम्म उसमा बिद्रोही भावना पनि आइसकेको हुन्छ। अर्को कुरा ऊ आफ्नो संवेगलाई नियन्त्रण गर्न बल्ल सिक्दै हुन्छ, यसका लागि समय लाग्छ र निरन्तर अभ्यास पनि।

बच्चाले भनेको मानेन भने हामीलाई रिस उठ्न सक्छ। कहिलेकाँही हामी आफ्नो रिस नियन्त्रण गर्न सक्दैनौं र उसलाई सजाय दिन पनि सक्छौं। यो राम्रो हैन भन्ने पक्कै पनि हामीलाई थाहा छ। उसोभए यस्ता जिद्दी बच्चालाई के गर्न सक्छौं हामी?

पहिलो कुरा त हामीले यस्तो किन भएको हो भन्ने कुरा बुझ्नु र मनन गर्नु पर्छ। उदाहरणका लागि तपाईंले बच्चालाई खान खाना बोलाउनु भयो तर ऊ आउन मान्दैन। तपाईंले जबर्जस्ती तानेर वा गाली गरेर ल्याउनुभयो। स्वाभाविक हो ऊ रुन्छ। एकपटक आफूलाई उसको ठाउँमा राखेर हेर्नुस् त ! उ खेलिरहेको थियो र उसलाई त्यो कुरा मन परिरहेको छ। तपाईं उ खेलिरहेको ठाउँमा गएर माया गरेर अँगालो मार्नुस्। तपाईं उसलाई ‘तिमीलाई खेल्न मज्जा आइरहेको मलाई थाहा छ, तर खाना तयार छ, सेलाउँछ, पहिला खान खाऊ अनि खेलम्ला नि’ भन्नु होला। यसो गर्दा उसले खेल्न नपाउनुको कारण तपाईं हो भन्ने नबुझेर तपाईं उसको पक्षमा हुनुहुन्छ भन्ने सोच्नेछ। उसलाई नरिसाइकन दयालु भएर पनि खेल्न छुटाउने र खाना खाने टेबलमा ल्याउने काम गराउनुहोस्।

दोस्रो तरिका भनेको कुनै पनि कुराको निश्चित सीमा तोकिदिनु हो। आफ्नो बच्चाले कुन कुरा गर्नपर्छ र कुन कुरा कुनै हालतमा गर्न हुन्न भन्ने थाहा पाएको हुनुपर्छ। वास्तबमा बच्चाहरुलाई यस्तो सीमा रेखा तोकिदिएको मन पनि पर्छ।

उदाहरणको लागि सडकमा बाटो काट्दा उसले तपाईंको हात समात्न पर्छ भन्नुहोस्। वा उसको साथीले खेलौना खोसिदियो भने पिटेर लिने हैन, मेरो खेलौना देऊ भनेर मागेर लिनुपर्छ भन्ने बुझाउनोस्।

कहिलेकाँही उनीहरुलाई सीमा तोकिदिए वा नियम बनाएअनुसार पालना गराउन सकिदैंन। यस्तो बेला कुनै खाले समाधानको बाटो खोज्नु पर्छ। जस्तै तपाईंको चार वर्षको छोराले एक वर्षकी छोरीलाई जति गरे पनि पिट्न छोडेन। सम्भवतः ऊ बहिनीका कारण आफूले आमाको समय नपाएको सोचेर उसलाई पिट्दै छ होला। अब तपाईंले खोज्न सक्ने समाधान भनेको उसलाई बहिनीलाई खुवाउने वा कपडा लगाइदिने काममा आफूसँगै संलग्न गराउने हो। अनि सकेसम्म उसको लागि पनि बिशेष समय निकाल्ने हो।

बच्चालाई अनुशासनमा राख्ने अर्को तरिका भनेको राम्रो व्यवहारलाई प्रोत्साहन गर्नु हो। यदि तपाईंले उसले नराम्रो गरेको बेलामा मात्र ध्यान नदिएर उसले गरेको केही राम्रो कुराका लागि स्याबासी दिनुभयो भने उसले राम्रो बानी अंगाल्न थाल्छ।

उसले आफ्नो भाइलाई केही कुरा दिइरहेको देख्नुभयो भने भाइलाई यसरी नै माया गर्नु पर्छ है भन्नुहोस्। यसो भएमा उ प्रोत्साहित हुन्छ र  आफ्नो खेलौना मिलेर खेल्न झन् खुशी हुन थाल्छ। त्यस्तै बच्चाले कुनै गल्ती गरेको बेलामा ऊ आफैं नराम्रो मानिरहेको हुन्छ। यस्तो बेला उसलाई तुरुन्तै गाली नगरेर शान्त भई रिस उठेको बेला के गर्नुपर्छ भन्ने उदाहरण देखाउनुहोस्।

अनुशासन भनेको बच्चालाई नियन्त्रणमा राख्नु हैन, बरु बच्चाले आफैंलाई नियन्त्रणमा राख्न सिक्नु हो। सजाय दिँदा केही बेरका लागि डराएर पनि उसले राम्रो गरेजस्तो देखाउला वा नराम्रो नगर्ला। तर, यदि बच्चाले मन पराएर वा आफूलाई खुसी लागेर कुनै कुरा गर्छ भने त्यो दिगो हुन्छ। हाम्रो प्रयास बच्चालाई सकारात्मक व्यवहार प्रोत्साहन गर्ने तिरै केन्द्रित हुनुपर्छ।

जब हामी बच्चालाई आफैं केही कुरा रोज्ने वा आफ्नो इच्छाले कुनै राम्रो काम गर्ने अवसर दिन्छौं, उसले आफ्नो नियन्त्रित वातावरणमा केही आफ्नोपन वा स्वतन्त्रता महसुस गर्न पाउँछ। जस्तै बच्चाले कोठाभित्रै बल खेलेर टिभी भएतिर हान्दैछ भने कोठामा बल नखेल भन्नुको सट्टा बाहिर गएर हामी बल खेल्ने? भनेर सोध्नुहोस्। र, उसले मन गर्‍यो भने गएर एकछिन् खेलिदिनुस्। अनि उसले कोठाभित्र जथाभाबी नहानेर बल खेल्न बाहिर जान पर्छ भन्ने सिक्छ।

तपाईंको बच्चाले कुनै दिन रातो ट्राउजरसँग निलो धर्का भएको सेतो टिसर्ट नै लगाउने भनेर झगडा गर्दैछ भने लगाउन दिनुहोस्। यसले केही बिगार्ने त हैन। कुन कुरामा कडाइ गर्ने र उसलाई कुन कुरामा स्वतन्त्र हुन दिने भन्ने विचार गर्नुपर्छ।

अनुशासन सिकाउँदै गर्दा आफ्नो बच्चाको उमेर र उसको क्षमता के छ भन्ने सधैं मनन गर्नुहोस्। बच्चालाई कुनै नयाँ सीप सिक्न केही समय लाग्छ र तपाईंको अलिकति मिहिनेत पनि। जथाभाबी दिसा-पिसाब गर्यो भनेर रिसाउनु वा गाली गर्नुभन्दा उसलाई सही समयमा सही तरिकाले समय लगाएर ‘ट्वाइलेट ट्रेनिङ’ दिनुपर्छ। तपाईंको बच्चाले अटेरी गर्यो वा भनेको मानेन भनेर सोचेको कुरा कतै उसले सिकेकै पो छैन कि?

हामीले बुझ्नै पर्ने कुरा के हो भने हाम्रो बच्चाको समय र हाम्रो समय एकै होइन। उसले सोच्ने तरिका र हामीले सोच्ने तरिका पनि एकै नहुन सक्छ। उसलाई समय दिनुपर्छ, माया गरेर ढाडस दिदैं सिकाउनुपर्छ र जिद्दी गर्दैमा सबै कुरा पाइन्छ भन्ने सोचाई आउनबाट पनि बचाउन पर्छ।

(बालरोग बिशषज्ञ डा दिनेश धरेल धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका उप-प्राध्यापक हुन्। तपाईंलाई आफ्नो बच्चाको स्वास्थ्य र स्याहारसम्बन्धी कुनै पनि जिज्ञासा वा सबाल भएमा [email protected] इमेल मार्फत पठाउन सक्नु हुनेछ।)

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.