शिलान्यासको १६ महिनापछि पोखरा विमानस्थलको काम शुरू


राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु गरिएको छ । चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसीले उक्त विमानस्थलको निर्माण कार्य शुरु गरेको हो ।  बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले उक्त विमानस्थलको निर्माण कार्यको उद्घाटन गरेका छन् ।

विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा आज आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले सो कुरा जानकारी गराएका छन् ।

उनले ६० कामदार र अन्य प्राविधिक गरी हाल ११० जना व्यक्ति निर्माण प्रक्रियामा संलग्न रहेको जानकारी दिँदै शाखा कार्यालय, अस्थायी शिविर आदिको निर्माण कार्य थालिसकिएको बताए ।

मन्त्री  देवले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियासँगै हवाई मार्गका सम्बन्धमा पनि मन्त्रालयले काम अघि बढाउने उल्लेख गरे ।  विमानस्थल तयार भइसकेपछि तत्काल उपयोगमा आउने किसिमले हवाई मार्ग तयलगायतका विषय पनि सँगसँगै अघि बढ्नुपर्नेमा उनको भनाइ थियाे ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखरेली जनताको ४० वर्षभन्दा बढी समयदेखिको सपना भएको बताउँदै निर्माण कार्यको शुरुवात सम्पूर्ण पोखरेलीको गर्वको विषय भएको बताए ।

स्थानीय सर्वसाधारणसँग सरोकार राख्ने जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत विषयलाई समेत सम्बोधन गर्दै अघि बढिने बताउँदै उनले  निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन सबैको सकारात्मक सहयोग चाहिने बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवम् व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले हाल निर्माणाधीन विमानस्थल नजिकै रहेको ल्याण्डफिडसाइडको व्यवस्थापन गर्न महानगरपालिकालाई र बाँकी जग्गा अधिग्रहणका सम्पूर्ण प्रक्रिया आगामी भदौ १५ भित्र सक्न प्रमुख जिल्ला अधिकारीलाई  अाग्रह गरे।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन स्थानीय सरोकारवाला सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।

आगामी २०२१ जुलाई १० भित्र निर्माण कार्य सक्ने निर्माण कम्पनीको लक्ष्य छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.