हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो ६ घन्टामा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाको वेबसाइटले देखाउँछ।
शनिबार दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।
त्यस्तै कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
शनिबार राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।
राति देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्कादेखि मध्यम वर्षा र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।