सिमेन्टको भुइँमा रातो कार्पेट ओछ्याइएको छ। दुई वटा कक्षाका विद्यार्थीहरू पलेँटी कसेर बसेका छन्। एकातिर तीन कक्षाका दुई जना विद्यार्थी छन्, अर्कातिर फर्केर चार कक्षा चार जना बसेका छन्।
शिक्षक पुष्पा केसी बसेरै पढाउँदैछिन्। अर्की शिक्षक लोका केसी उभिएकी छन्।
बालविकास शिक्षाका र एक कक्षाका विद्यार्थी पनि अर्को कोठामा यसरी नै राखिएका छन्।
यो दृश्य हो दाङको शान्तिनगर गाउँपालिका-४, जुम्लेकुलास्थित सरस्वती आधारभूत विद्यालयको।
गत भदौदेखि यी चार वटा कक्षाको पढाइ यसरी नै चलेको छ। विद्यालयमा कक्षा कोठा अभाव भएर यसो गर्नुपरेको होइन। चिराघाटमा रहेको शान्तिनगर गाउँपालिका कार्यालय जुम्लेकुलामा स्थानान्तरण भएपछि यो स्कुलले चारवटा कक्षाका विद्यार्थीलाई दुइटा कोठामा राख्नुपरेको हो।
गाउँपालिका कार्यालय सरेर आएपछि कार्यालयका केही शाखा स्कुलका कक्षाकोठामा राखिएका छन्। गाउँपालिका उपप्रमुखको कार्यालय स्कुलमै छ। शिक्षा शाखा, कृषि शाखा र स्वास्थ्य शाखा पनि यहीँ छन्।
यसरी विद्यालय भवन गाउँपालिका कार्यालयले प्रयोग गरेपछि विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राख्नुपर्ने बाध्यता आइलागेको प्रधानाध्यापक दिनेशकुमार वलीले बताए।
'विद्यालयमा विद्यार्थी संख्या थोरै छ, केही समयका लागि कक्षाकोठा प्रयोग गर्न दिनुपर्यो भनेपछि दिएका थियौं,' वलीले भने, 'ठूला कक्षाकोठालाई दुई भागमा बाँडेर पढाउन गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आग्रह गरेपछि हामीले मानेका हौं।'
गाउँपालिका कार्यालय आफ्नो ठाउँमा आउने भएपछि जुम्लेकुलाका बासिन्दाले पनि सहयोगका लागि स्कुलमा आग्रह गरेका थिए। तर दुइटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउँदा एकअर्काको आवाजले असर पर्ने गरेको शिक्षक पुष्पा र लोकाले बताए।
स्कुलमा विद्यार्थी संख्या भने निकै कम छ। प्रधानाध्यापक वलीका अनुसार विगतमा कक्षा आठसम्म पढाइ हुन्थ्यो, हाल ६ कक्षासम्म मात्रै हुन्छ। चालु शैक्षिक सत्रमा कुल विद्यार्थी संख्या ४६ जना मात्रै छ। नियमित रूपमा उपस्थित हुने आधाजति मात्रै हुन्छन्। कहिलेकाहीँ कुनै कक्षा त संख्या शून्य पनि हुन्छ।
बालविकासमा १२ जना, कक्षा एकमा पाँच जना, कक्षा दुईमा चार जना, कक्षा तीनमा पाँच जना, कक्षा चारमा पाँच जना, कक्षा पाँचमा नौ जना र कक्षा ६ मा ६ जना विद्यार्थी भर्ना भएका थिए।
बालविकासका र कक्षा एकका विद्यार्थी एउटै कोठामा राखेर पढाउँदा अप्ठ्यारो हुने गरेको शिक्षक यमुना पौडेलको भनाइ छ। बालविकास कक्षा दिउँसो दुई बजे छुट्टी हुन्छ।
स्कुलमा हाल सात जना शिक्षक छन्। तीमध्ये तीन जना स्थायी, दुईजना गाउँपालिकाको अनुदानका र दुई जना बालविकासतर्फका छन्।
घट्दो विद्यार्थी संख्या नियालिरहेका कतिपय अभिभावकलाई गाउँपालिका कार्यालयले विद्यालय भवन प्रयोग गरेको उचित लागेको छैन।
'बालबालिकाको पढाइमा असर पार्ने काम तुरुन्त सच्याउनुपर्छ। गाउँपालिका कार्यालयको गतिविधि र विद्यालयको पढाइ एकै ठाउँमा सम्भव हुँदैन,' स्थानीयवासी मैमान परियारले भने, 'सेवाग्राहीको हल्लाखल्लामा पढाउने वातावरण हुँदैन।'
मैमानले आफ्ना छोराछोरी यही विद्यालयमा पढेको र अहिले नातिनी पनि यहीँ पढ्दै गरेको बताए। पहिलेको तुलनामा स्कुलमा पढाइको स्तर बिग्रेको भन्ने हल्लाले आफूलाई चिन्ता लागेको उनको भनाइ छ।
'पहिला त विद्यार्थी भरिभराउ हुन्थे। चार सय जनासम्म थिए,' उनले भने, 'सरकारको लगानी भएको छ तर विद्यार्थी खोज्नुपर्ने अवस्था छ। यसमा कसैको ध्यान छैन। भाषणबाजी र आरोप-प्रत्यारोपमा रमाएका छन्।'
अर्का स्थानीयवासी रेशमबहादुर केसीका एक छोरा पनि यही स्कुल पढ्छन्। उनले निजी लगानीमा स्कुल परिसरमा सरस्वती मन्दिर पनि बनाइदिएका छन्। तर स्कुलको अस्तित्व संकटमा परेको देखेर उनलाई चिन्ता लागेको छ।
स्कुल कमजोर बन्नुमा शिक्षक, अभिभावक र गाउँसमाज जिम्मेवार रहेको उनी ठान्छन्।
'हामी देखासिकीमा रमाउन थाल्यौं। बोर्डिङ (निजी स्कुल) नामको कटेरो मात्रै भए पनि विद्यार्थी भरिभराउ हुन्छन्,' उनले भने, 'सरकारी स्कुलका बिल्डिङ रित्ता पर्छन्। यो चिन्ताको कुरा हो।'
शिक्षा सबैका लागि समान र सर्वसुलभ हुनुपर्नेमा ठीक विपरीत भइरहेको उनको भनाइ छ।
'यस्तै अवस्था रहे गरिबले छोराछोरी पढाउनै नसक्ने अवस्था हुन्छ,' उनले भने, 'दूरदराजमा शिक्षाको नाममा सरकारी स्कुल मात्र छन्। ग्रामीण भेगका सरकारी स्कुल जतिसुकै राम्रा भए पनि गरिबका छोराछोरीका लागि मात्रै हो धारणा छ। शिक्षकको भूमिका पनि सन्तोषजनक छैन। विद्यालय सुधारका लागि काम गर्न आवश्यक छ।'
प्रधानाध्यापक वली भने विद्यालय कमजोर हुनुमा शिक्षक मात्रै नभई अभिभावक पनि जिम्मेवार रहेको बताउँछन्।
'हामीले अंग्रेजी माध्यममा पनि पढाउन थालेका थियौं तर अभिभावकले विश्वास गरेको देखिएन,' उनले भने, 'अवस्था बिग्रिँदै गएपछि अभिभावकले शिक्षकलाई र शिक्षकले अभिभावकलाई दोष लगाउने प्रवृत्ति राम्रो होइन।'
शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा अधिकृत सुमन पाण्डेका अनुसार हिमाल, पहाड र तराईका जिल्लामा विद्यार्थी संख्याबारे फरकफरक मापदण्ड छ।
दाङजस्तो भित्री मधेस र तराईमा एउटा कक्षामा ५० जना विद्यार्थी हुनुपर्छ। यसअनुसार विद्यालय सञ्चालन गर्न कठिन हुँदै उनको भनाइ छ।
कक्षामा एक जना मात्रै विद्यार्थी भए पनि पढ्न पाउने उसको अधिकार हनन गर्न नमिल्ने उनले बताए। सरस्वती आधारभूत विद्यालय भवनका केही कोठा गाउँपालिकाले प्रयोग गर्दा पठनपाठनमा असहजता उत्पन्न भएको उनले स्वीकार गरे।
यसको समाधान चाँडै खोज्नुपर्ने उनको भनाइ छ।
तस्बिर सौजन्य : विकास डाँगी