सल्यानको कपुरकोटमा धान र पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनका अनुसार १४ वर्षीय गोवर्द्धन खड्का र १२ वर्षीय डिल्ली भनिने अनिल भण्डारीको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, १३ वर्षीया सृजना बस्नेतको उपचारका क्रममा कपुरकोटस्थित स्वास्थ्य चौकीमा मृत्यु भएको हो।
तीनै जनाको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल सल्यानतर्फ पठाइएको अध्यक्ष पुनले जानकारी दिए।
सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले भने सृजना बस्नेतको मात्रै मृत्यु भएको स्वास्थ्य चौकीले पुष्टि गरेको भए पनि अचेत अवस्थाका अन्य दुई जनालाई जिल्ला अस्पताल सल्यानतर्फ ल्याउँदै गरिएको हुँदा उनीहरूको मृत्यु पुष्टि हुन बाँकी रहेको बताए।
दुर्घटनामा परी १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीतसागर बस्नेत, १७ वर्षीय संजिव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत पुन, गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी र सहचालक १८ रोनक भण्डारी घाइते छन्।
घाइतेमध्ये हिक्मत पुनको त्रिवेणी गाउँपालिकाको लुहामस्थित पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले बताएको छ।
त्यस्तै, तीन जनालाई थप उपचारको लागि दाङको तुलसीपुर हुँदै बाँकेको लागि रिफर गरिएको छ। अन्यको भने कपुरकोटमै उपचार भइरहेको छ।
बाँकेका लागि रिफर गरिएका तीन घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अध्यक्ष पुनले बताए।
गाउँपालिकाका अध्यक्ष पुनका अनुसार सोमबार बेलुकी साढे ४ बजेतिर कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल बोकेर सिनवाङतर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको हो।
स्थानीय घुरे खोलाबाट स्थानीयले धान पराल ल्याउँदै गर्दा साँघुरो बाटोमा ट्रक रूखले छुन्छ कि! भनेर अलि बढी सडक किनार च्याप्दा त्यहीँबाट ट्रक खसेको जस्तो आफूले देखेको प्रत्यक्षदर्शी अध्यक्ष पुनले सेतोपाटीलाई बताए।
‘मिनी ट्रकले अलिबेसी धान र परालको झम्पट बोकेर आउँदै रहेछ,’ उनले भने, ‘सानो र साँघुरो बाटोमा एउटा रूखले पराल छुन्छ भन्ने ठानेर चालकले साइड च्याप्दा ट्रक खसेको जस्तो देखिन्छ।’
जिल्ला प्रहरी प्रमुख डिएसपी न्यौपानेका अनुसार रा १ ख २४०२ नम्बरको धान र पराल बोकेको ट्रक पौने ६ बजेतिर झन्डै एक सय ५० मिटर तल खसेको बताए। साँघुरो बाटोमा धान र पराल बोकेको गाडी भिरबाट खसेको उनले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।