थामे आधारभूत विद्यालयमा हाजिरी-जबाफ प्रतियोगिता भर्खरै सकिएको थियो। विद्यालयको होस्टलमा विद्यार्थीहरूलाई खाजा खुवाउने तयारी चल्दै थियो।
त्यही बेला होस्टलको बलेसीमा रहेको धारामा हात धुन गएका विद्यार्थीमध्ये कसैले मास्तिरबाट केही अनौठो चिज स्कुलतिरै आउँदै गरेको देखे।
'मिस हेर्नु न, त्यहाँमाथिबाट के आएको हो?,' ती विद्यार्थीले देखाएपछि शिक्षकहरूले उतै नजर लगाए।
'सिंगै पृथ्वी उल्टेला जस्तो गरी बाढी आउँदै गरेको थाहा पाइहाल्यौं,' थामे विद्यालयका प्रधानाध्यापक ओमप्रसाद भट्टराईले शुक्रबारको घटना सम्झिए, 'हतारहतार विद्यार्थीहरूलाई पाखोतिर उकाल्यौं। आफूहरू पनि उक्लियौं। हामी उक्लेको दुई-चार मिनेटमै स्कुल, गाउँ पुर्ने र बगाउने गरी बाढी आइपुग्यो।'
भट्टराईका अनुसार त्यस बेला स्कुलमा ३२ जना विद्यार्थी र ८ जना शिक्षक थिए।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा रहेको थामे बजार ध्वस्त पार्ने गरी पसेको बाढीले मच्चाएको विध्वंश स्थानीयबासीका लागि कहालीलाग्दो घटना बनेको छ। १४ वटा घर पूर्ण रूपमा बगाएको बाढीले बाँकी रहेका घरलाई पनि बस्न लायक छाडेको छैन।
'घर मात्रै होइन, सिंगो थामे बजारलाई बाढीले बस्नै नसकिने तुल्याइदिएको छ,' शनिबार रक्षामन्त्री मानबीर राईसँगै हेलिकप्टरमा सोलु पुगेर फर्केका राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सेतोपाटीसँग भने, 'त्यति सुन्दर पर्यटकीय बजार खण्डहरमा परिणत भयो।'
शनिबार बिहान काठमाडौंबाट सोलुखुम्बुका लागि हेलिकप्टरमा उड्दै गर्दा विपद विज्ञ पोखरेल पनि अन्योलमा थिए।
'त्यति ठूलो ढुंगा र गेग्रानसहितको बाढी थामे गाउँसम्म कसरी आइपुग्यो भन्ने ठूलो अन्योल थियो,' उनले भने, 'जब अवलोकन गरियो, प्रस्ट भयो त्यहाँ हिमताल विस्फोट भएको रहेछ।'
पोखरेलका अनुसार थामे बजारबाट ९ किलोमिटर उत्तरमा रहेको हिमाली क्षेत्रमा लहरै पाँच वटा हिमताल भेटिएका छन्। तिनै पाँचमध्ये जोडिएर रहेका दुइटा हिमताल विस्फोट भएर भीषण बाढी निम्तिएको हो।
'त्यहाँ पाँच वटा हिमताल नजिकै रहेछन्। एकै क्लस्टरमा झुरूप्पै ती पाँचमध्ये तीनवटा हिमताल पूर्ववत् अवस्थामै छन्,' उनले भने, 'दुईमध्ये सबैभन्दा ठूलो ताल पूर्ण रूपमा विस्फोट भएर बाढीमा परिणत भएको छ। दोस्रो तालमा अझै पानी देखिन्छ। बाँकी तीनवटा पहिलेकै अवस्थामा जमेरै बसेको पाइएको छ।'
पोखरेलले दिएको जानकारी अनुसार विस्फोट भएको सबैभन्दा ठूलो हिमतालमा ग्लेसियर (हिउँका ठूला ढिक्का) सयौं वर्षदेखि जमेर रहेका हुन्छन्। बढ्दो तापक्रमले हिउँका ती ठूला ठूला ढिक्का क्रमशः पग्लिँदै गए। हिउँ पग्लेका कारण त्यसमा 'क्र्याक' आयो।
'त्यही क्र्याकले ताल विस्फोट भयो, त्यहाँ जमेको सबै कुरा पल्टियो,' पोखरेलले भने, ' त्यही ताल छचल्किएर अघि बाढी बनेको हो।'
उनका अनुसार पहिलो तालबाट घोप्टिएको पानी दोस्रो तालमा बजारियो।
'पानीसँगै त्यहाँको बरफ पनि बजारियो,' उनले थपे, 'यसले दोस्रो हिमताल छेकेर बसेको 'मरिन डिपोजिट' भत्कायो। यसरी दुइटा तालको सबै चिज मिसिएर बग्न थाल्यो। त्यसैले थामेमा विध्वंश मच्चायो।'
पोखरेलले भने अनुसार थामे गाउँमा जुन बाढी पस्यो, त्यो दुइटा हिमतालको मात्रै पानी होइन।
थामे बजारबाट उत्तरको नौ किलोमिटर दूरीमा रहेका पाँच हिमताल भएको क्षेत्र एकातिर छ भने, बीचको चार किलोमिटर क्षेत्रमा गेग्रान र ढुंगासहितको हिउँ फैलिएको पाइएको छ।
'त्यस्तो हिउँ साधारण होइन, त्यसलाई पर्माफोर्स भनिन्छ,' पोखरेलले भने, 'पर्माफोर्स भनेको गेग्रान, माटो, ढुंगासहितको हिउँ हो, जो सयौं वर्षदेखि रहेको हुन्छ। माथिबाट हेर्दा हेर्दा घाँसले छोपेजस्तो, जंगलले ढाके जस्तो देखिन्छ। बढ्दो तापक्रमले त्यसलाई गिलो बनाइदिएको हुन्छ। अहिले ग्याजग्याज हिलो जस्तो भएको बेलामा माथिबाट उर्लेर आएको बाढीले त्यो पर्माफोर्स पनि खोतल्यो। यसरी चार किलोमिटर क्षेत्रमा फैलिएको पर्माफोर्स पनि बाढीमा मिसियो र गाउँतिर गयो। थामेमा पुगेर त्यो पानी, ढुंगा, गेग्रान सबै फिँजारियो।'
अहिले थामे गाउँमा ठूला ढुंगा र गेग्रानले पुरेको छ। ६५० किलोवाटको खुम्बु हाइड्रो प्रणाली क्षतिग्रस्त छ। यसले बस्तीलाई नै बस्नै नसकिने बगरमा परिणत गरिदिएको छ।
सोलुको हिमाली क्षेत्रका दुइटा हिमताल विस्फोटको कारण के हो, सेतोपाटीको यो प्रश्नमा पोखरेलले थपे, 'अत्यधिक तापक्रम वृद्धि नै यसको मुख्य कारण हो।, चार दिनदेखि हिमाली क्षेत्रमा लगातार पानी परिरहेको थियो। धेरै ठूलो नभए पनि हिमाली क्षेत्रमा हुने निरन्तरको झरी नोक्सानदायक हुन्छ।'
त्यस क्षेत्रको अवलोकनका क्रममा उनले देखेअनुसार यो डोजर चलाएर, जंगल मासेर वा अन्य कुनै मानवीय गतिविधि भएको ठाउँ होइन।
'सोलुको हिमताल विस्फोटनको मुख्य कारण जलवायु परिवर्तन नै हो,' उनको दाबी छ, 'त्यहाँ मानवीय हिसाबले प्रकृति खल्बल्याउने कुनै काम भएको देखिँदैन। यो नितान्त विकसित मुलुकले गरेको जैविक इन्धन प्रयोग र त्यसले बढाएको कार्बनले निम्त्याएको विपद हो।'
अब एकै लहरमा जोडिएर रहेका अरू तीनवटा हिमताल कति जोखिमपूर्ण छन् भन्नेबारे अध्ययन जरूरी भएको उनले औंल्याए।
'हेलिकप्टरको अवलोकनबाट मैले एक्लै भन्न सक्ने स्थिति हुँदैन,' उनले भने। 'अध्ययनका लागि बहु विज्ञ टिम चाहिन्छ।'
जल तथा मौसम विज्ञान विभाग, सिँचाइ, भौतिक, वन मन्त्रालयका विज्ञसहितको टोली लिएर अध्ययनका लागि छिट्टै जाने उनले बताए। सोलुको अनुभवका आधारमा अरू जोखिमका तालहरूमा पनि अध्ययन जारी राख्ने पोखरेलको भनाइ छ।
बाँकी रहेका तीनवटा ताल विस्फोट हुने अवस्था भयो भने, त्यहाँबाट ओइरिने बाढी फेरि थामेमै आइपुग्ने उनले बताएका छन्।
'अरू ताल फुटे पनि आउने थामे क्षेत्रमै हो,' उनले भने, 'यसरी बुझौं, पाँचवटा हिमतालमध्ये एउटा पूरै र एउटाको थोरै भाग बगेको छ। बाँकी साढे तीनवटा फुट्यो भने अहिलेकै ठाउँ पुर्न आइपुग्छ। अरू धेरै खेतबारी बगरमा परिणत गरिदिन्छ।'
सोलुका माप्य दूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा रहेका पुल, सिँचाइ प्रणाली, खेतबारी र बस्ती जोगाउन तत्कालै बाँकी हिमतालको अध्ययन गर्नुपर्ने उनले बताए।
'तत्काल अध्ययन हुनुपर्छ र जोखिम रहेछ भने बस्तीहरू सुरक्षित ठाउँमा सार्नुपर्छ,' उनले भने।