तिनीहरू हाम्रो घरका कुनाकाप्चामा लुकेर बस्छन्। जब राति हुन्छ, लुसुक्क बाहिर आउँछन् र भुइँमा केही खोज्न थाल्छन्।
झरेका खानेकुराका टुक्रा, चिनी वा त्यसको चिपचिप उनीहरूलाई प्रिय लाग्छ। कहिलेकाहीँ त मन्जन वा साबुनका टुक्रा पनि खोज्छन्।
हामीले सफा गर्न नभ्याएर वा नगरेर छाडेका यस्तायस्तै चिजको खोजीमा तिनीहरू घरभरि घुमिरहन्छन्।
हामी कुरा गर्दैछौं साङ्लाको, जसलाई देख्नेबित्तिकै धेरै जना घिन मान्छन्। कोही तर्सिन्छन्। कोही त मार्नै तम्सिन्छन्।
उसो त साङ्लाले हामीले छरेका चिजबिज खाइदिएर उल्टो घर सफा गरिदिन्छ। त्यसैले धेरै वैज्ञानिक यसलाई 'सफाइकर्मी' भन्छन्। तर साङ्ला संसारभर आतंक बनेको छ। यसले धेरै घरलाई तनाव दिएको छ। किनभने यसले हाम्रो स्वास्थ्यमा गडबडी ल्याउन सक्छ। साङ्लाको रजगज चलेको खानेकुरा हाम्रा लागि हानिकारक हुन सक्छ।
साङ्ला धेरै लामो समयदेखि पृथ्वीमा बाँचिरहेका प्राणीमध्ये एक हो। अहिले पनि संसारभर करिब ४५ सय प्रजातिका साङ्ला छन्। अधिकांश जंगली हुन्। तीमध्ये हाम्रो घरमा सबभन्दा धेरै चहार्ने चाहिँ 'जर्मन साङ्ला' हुन्।
यो यस्तो साङ्ला हो जसले आफ्नै अरू प्रजातिलाई पराजित गर्न सफल भएको छ। विश्वमै मानिसहरूको घरभित्र सबभन्दा धेरै पाइने कीरा यही हो।
कुनै बेला साङ्ला जंगली कीरा थियो। कुनै पनि जंगली प्राणी मानिसको जीवनमा घुलमिल भएर बस्न सक्नु प्राकृतिक नियममा सामान्य मानिँदैन। यस्तो विरलै हुन्छ। जर्मन साङ्ला भने सहजै मानिसको जीवनमा घुसपैठ गर्न सफल भएको छ।
आखिर कसरी यो हाम्रो घरभित्र छिरेर हामीसँगै घुलमिल भएर बाँच्न सक्यो?
यो प्रश्नले वैज्ञानिकहरूलाई पनि अचम्म पारेको थियो। त्यसैले उनीहरू निरन्तर साङ्लाबारे अध्ययन गरिरहेका छन्।
त्यही सिलसिलामा एउटा नयाँ शोधपत्र 'प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्स' मा सोमबार प्रकाशित भएको छ। यो अध्ययनले जर्मन साङ्लाको उत्पत्ति कथा वर्णन गर्छ।
'यो साङ्लामा अरू प्रजातिभन्दा आनुवांशिक भिन्नता पाइएको छ,' हार्वर्ड विश्वविद्यालयका विकासवादी जीव-वैज्ञानिक तथा अध्ययनका लेखक कियान टाङले भनेका छन्, 'यही आनुवांशिक भिन्नताका कारण यो अरू साङ्लाभन्दा फरक छ। यस आधारमा हामी साङ्ला नियन्त्रणको उपाय खोज्न सक्छौं।'
सन् १७०० को उत्तरार्द्धतिर मध्य-युरोपमा यो प्रजातिलाई 'जर्मन साङ्ला' नामकरण गरिएको थियो। अनुसन्धाताहरूले अध्ययन गर्दै जाँदा यसको उत्पत्ति उत्तरपूर्वी अफ्रिकामा भएको निष्कर्ष निकाले।
साङ्लाको अर्को प्रजाति पनि छ जसलाई 'एसियाली' साङ्ला भनिन्छ। यो जर्मन साङ्लाको पूर्वज हुन सक्ने बलियो सम्भावना वैज्ञानिकहरूले देखेका छन्। किनभने, यी दुवै साङ्ला लगभग मिल्दाजुल्दा देखिन्छन्।
एसियाली प्रजातिका साङ्लामा अरू खास गुण पनि हुन्छन्। जस्तो — यो धेरै प्रकाश भएको ठाउँमा आकर्षित हुन्छ। कुनाकाप्चा र अँध्यारोमा मात्र नभई बाहिर बस्ने क्षमता राख्छ। उड्न पनि सक्छ।
यस्ता केही विशिष्ट विशेषता जर्मन साङ्लामा पनि सरेको देखिएको छ।
अध्येता कियान टाङ जर्मन साङ्लाको वंशवृक्ष खोतल्न लागिपरेका थिए। उनको टोलीले त्यसको आनुवांशिक भिन्नता अध्ययन गर्न १७ देशका २८१ वटा साङ्लाको डिएनए लियो। त्यसपछि यो कीराले संसारभर कसरी यात्रा गर्यो भनेर खोजबिन गरे। उनीहरूले यो साङ्ला हाम्रो भान्सामा छिर्नुअघि पहिलो पटक कहाँ विकसित भएको थियो भन्ने पत्ता लगाए।
रिभरसाइडको युनिभर्सिटी अफ क्यालिफोर्नियाका सहरी कीटवैज्ञानिक डा. चाउ-याङ ली यसलाई 'ऐतिहासिक अध्ययन' मान्छन्। उनी ३० वर्षदेखि जर्मन साङ्लाबारे अध्ययन गरिरहेका छन्। उनी कियान टाङको उक्त अनुसन्धानमा भने संलग्न थिएनन्।
अध्ययनको तथ्यांकले जर्मन साङ्ला भारत वा म्यानमारको कुनै ठाउँमा लगभग २१ सय वर्षअघि 'एसियाली' साङ्लाबाटै विकसित भएको पुष्टि गरेको छ।
'केही एसियाली साङ्ला मानव बस्ती वा बगैंचा नजिकै बस्थे र तिनले सम्भवतः मानिसले रोपेका बाली खान थाले,' डा. कियान टाङ अनुमान गर्छन्।
त्यसपछि ती साङ्ला त्यस्तै प्रकारका खानेकुरा खोज्दै मान्छेका घरभित्र सरे र अन्ततः घरेलु कीरा बने।
'लगभग त्यही बेलाबाट एसियाली साङ्लाहरू जर्मन साङ्ला बन्न थाले,' डा. टाङले भने, '
यी कीरा दुई लहरमा पश्चिमतर्फ लागे। पहिलो पटक १२ सय वर्षअघि सैनिकहरूको रोटीको टोकरीमा बसेर मध्यपूर्वतिर गए। यो हामीले पहिले सोचेभन्दा धेरै अगाडिको समय हो। तिनीहरू पछि, सम्भवतः २७० वर्षअघि युरोपेली औपनिवेशिक जहाजहरूमा चढेर युरोप पुगे।'
नेपालमा पाइने साङ्ला भने एसियाली र जर्मन दुबै हुने सम्भावना छ।
१९औं र २०औं शताब्दीमा विश्वव्यापी व्यापार बढेसँगै यी साङ्लालाई विश्वका अधिकांश कुनाकाप्चामा घुसपैठ गर्न सहज भयो। घरघरमा धाराहरू जोडिएपछि र न्यानो हुन थालेपछि तिनीहरू घरभित्रै रमाउन थाले।
कियान टाङको अध्ययनमा संलग्न नभएकी भर्जिनिया टेकका सहरी कीट व्यवस्थापनका प्राध्यापक डिनी मिलरले भनिन्, 'हामीले तिनलाई खाना, आद्रता र न्यानोपन दियौं। सम्भवत तिनीहरू त्यस बेलादेखि नै हामीसँग छन्।'
उनी अमेरिकाभर साङ्ला व्यवस्थापन परियोजनाहरूमा काम गर्छिन्। साङ्ला समात्न भवनहरूमा जाल हाल्छिन्। प्रायः एक रातमा सात सय वटासम्म साङ्ला भेट्टाउँछिन्।
'खासमा साङ्ला धेरै ज्याद्रा हुन्छन्,' डा. मिलरले भनिन्, 'विगत ६० वर्षमा मान्छेले जे-जस्ता कीटनाशक बनाएर तिनलाई मार्न प्रयोग गरे, ती सबैको सामना गरेर बाँच्न सफल भएका छन्। तिनीहरूले लगभग सबै कीटनाशक औषधिको प्रतिरोध क्षमता विकास गरेका छन्।'
सहरी ठाउँमा यी जर्मन साङ्लालाई आक्रमणकारी भएर बस्न के कुराले मद्दत गरेको छ भनेर बुझ्न यसको प्राचीन आनुवांशिक इतिहास पत्ता लगाउनुपर्ने जर्मनीको म्युन्स्टर विश्वविद्यालयका आनुवांशिक विकास विज्ञानका प्राध्यापक एरिक बोर्नबर्ग बाउर बताउँछन्।
'त्यसपछि बल्ल तिनीहरू कसरी मानव बसोबाससँग अभ्यस्त हुँदै गए भन्ने पत्ता लगाउन सकिन्छ,' उनले भने।
उनको आफ्नै अनुसन्धानले यो घरेलु साङ्लामा गन्ध थाहा पाउने 'रिसेप्टर' जिन र विषाक्त पदार्थ प्रतिरोध गर्न मद्दत पुर्याउने प्रोटिन धेरै हुने पत्ता लगाएको छ। सम्भवतः तिनै जिनले साङ्लालाई नयाँ खाद्य स्रोत थाहा पाउन र कीटनाशकको प्रतिरोध क्षमता द्रुत गतिमा विकास गर्न मद्दत पुर्याउँछन्।
'साङ्लामा यस्तो जिन धेरै संख्यामा हुन्छ। त्यसैले कुनै नयाँ वा अर्को वातावरणमा सहजै र एकदमै चाँडो घुलमिल हुन सक्ने क्षमता उनीहरूमा एकदमै उच्च छ,' डा. बोर्नबर्ग बाउरले भने।
(द न्यूयोर्क टाइम्समा प्रकाशित स्टोरीको भावानुवाद)