दाङको घोराहीमा मोही किसानहरूले सडकमै सुतेर आन्दोलन गरेका छन्। आफूहरूले जोतभोग गर्दै आएको गुठीको जमिनको लालपुर्जा नपाएको भन्दै उनीहरूले फागुन ८ गतेदेखि विरोध प्रदर्शन गरेका हुन्।
आन्दोलनरत गुठी पीडित किसानले आफूहरूले पाएको कागजी र नाम मात्रैको स्वामित्वको कुनै अर्थ नरहेको बताए।
'पुर्जा नपाए त्यो स्वामित्वको कागज जलाइदिए पनि फरक पर्दैन,' उनीहरूले भने, 'वर्षौंदेखि हामीले जोतभोग गर्दै आएको जमिनको मोहीयानी स्वामित्व पाएका छैनौं। राज्यले जिउँदै मारेसरह भएको छ। कि हामीले जोतभोग गर्दै आएको जग्गाको स्वामित्व दिनुपर्यो। नभए अनागरिक घोषणा गरेर नागरिकता जलाइदिनुपर्यो।'
सर्वोच्च अदालतले गुठीको जग्गा खण्डीकरण नगर्ने भनी गरेको फैसलाले पुस्तौंदेखि आफूहरूले जोतभोग गर्दै आएको र पाउनुपर्ने जग्गा नपाएको उनीहरूको भनाइ थियो।
स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भएको दाङको एक हजार ५० बिघा जग्गामध्ये सात सय ५३ बिघामा तीन हजार बढी किसानको मोही छ। सर्वोच्च अदालतले २०६२ चैत १४ गते स्वर्गद्वारी निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नू, नगराउनू भन्ने उत्प्रेषण मिश्रित आदेश गरेको थियो।
फागुन ८ गतेदेखि सयौंको संख्यामा सडकमै खाने र सडकमै सुत्दै आएका चौधरी समुदायका आन्दोलनरत किसानले 'कि हामीलाई लालपुर्जा दिलाइदेऊ, कि हाम्रो नागरिकता जलाइदेऊ, धर्मको नाममा शोषण गर्न पाइँदैन, जमिनमाथिको द्वैत स्वामित्व अन्त्य गर, गुठी जग्गा रैकर गर, मोही अधिकार सुनिश्चित गर' लगायत लेखिएका प्लाकार्ड बोकेर सिठ्ठी फुक्दै, रित्ता थाल ठटाउँदै र नारा लगाउँदै बजार परिक्रमा गरेका थिए।
शुक्रबार मध्याह्न पनि उनीहरूले घोराहीस्थित तुलसीपुर चोकमा एक घन्टा सडकमा सुतेर विरोध गरे।
जिल्ला प्रशासन कार्यालय अगाडि त्रिपाल टाँगेर चार दिनदेखि धर्ना बसेका मोही किसानले मानव साङ्लो बनाएर घोराही बजार परिक्रमा गरेका थिए। त्यसपछि मुख्य चोकमा पुगेर सडकमै सुतेर विरोध प्रदर्शन गरे।
उनीहरू दाङका तुलसीपुर, घोराही र लमहीबाट आएका हुन्। घोराहीमा भेला भएर सरकारको ध्यानाकर्षण गराउन आएको उनीहरूले बताए।
'दशकौंदेखि बाँझो जमिन हराभरा बनाउने किसानलाई राज्यले जिउँदै मार्न खोजेको छ। घरबारबिहीन बनाउन खोजेको छ,' उनीहरूले भने, 'भोकै मर्नुपर्ने अवस्था भएकाले सडकमा आउनुपर्यो।'
मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसँग पटकपटक सम्झौता भए पनि कार्यान्वयन नभएको दाङका मोही किसानले बताएका छन्। अब निर्णायक आन्दोलन भन्दै फागुन ८ गतेदेखि उनीहरूले आन्दोलन सुरू गरेका हुन्।
मोही किसानहरूले फागुन ८ गतेदेखि चैत १ गतेसम्म चक्काजामदेखि जिल्ला बन्दसम्मका कार्यक्रम घोषणा गरेका छन्। त्यस्तै उनीहरूले जिल्लादेखि केन्द्रिकृत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
सबै तस्बिरः नारायण खड्का/सेतोपाटी