भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी भएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ।
शुक्रबार दिउँसो मन्त्री ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनी भएको घटनामा दुई जनाको मृत्यु भएपछि छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयको सचिवालयले जानकारी दिएको छ।
समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धा विभागका उपनिर्देशक बासु सिग्देल छन्।
कोरियन भाषा परीक्षामा आवेदनसम्बन्धी विषयलाई लिएर आन्दोलित समूहले शुक्रबार दिउँसो मन्त्रीको गाडीमा आगजनी गरेपछि दुई घन्टाभन्दा बढी समय ग्वार्को क्षेत्र तनावग्रस्त बनेको थियो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज, अश्रु ग्यास र गोलीसमेत चलाएको थियो।
घटनामा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाह छन्। रावतको किष्ट अस्पताल र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले ५४ जनाभन्दा बढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ।