४४औं विश्व पर्यटन दिवस मनाउन आज बर्दियाको ठाकुरबाबा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।
मंगलबार सूचना जारी गरी नगर अस्पताल बाहेक अन्य सबै पालिका मातहतका कार्यालयहरुमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।
नगरपालिकालेले सम्पूर्ण बिद्यार्थी, शिक्षक र कर्मचारीलाई अनिवार्य रुपमा कार्यक्रममा उपस्थिति हुन आग्रहपनि गरेका छन् ।
मेयर तिलकराम लम्सालले बिहान ११ बजेदेखि मन्दिर प्राङगणमा कार्यक्रम सुरु हुने जानकारी दिए ।
ठाकुरबाबा नगरपालिका, पर्यटन परिषद्, लुम्बिनीको आयोजनामा ठाकुरद्वारा–९ मा पर्यटन दिवस मनाउन लागिएको हुँदा पर्यटन दिवसको महत्व बुझाउन सार्वजनिक बिदा दिइएको लम्सालले सेतोपाटीलाई बताए।
कार्यक्रममा सम्बोधन गर्न लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित अन्य मन्त्री र माननियहरु पनि आउने मेयर लम्सालले जानकरी दिए ।
‘लुम्बिनी प्रदेशको प्रमुख गनतब्यको रुपमा बिकास हुँदै गरेको बर्दिया नै हो,’ मेयर लम्सालले भने ‘ त्यसमाथि ठाकुरबाबाको संस्कृति र प्रकृतिका कारणले बिश्वभर आफ्नो पहिचान बनाउन सफल भएको छ ।’
ग्रिन डेष्टिनेसन अफ वर्ल्डमा सय औं स्थानमा र एसिया प्यासिफिकको घुम्नै पर्ने दशौं स्थानमा बर्दिया जिल्ला सूचिकृत रहेको हुँदा यसको प्रचारप्रसार थप व्यापक बनाइ यसको महत्व सबैलाई बुझाउने उदेश्यले सार्वजनिक बिदा दिएर उत्सवका रुपमा मनाउन थालिएको मेयर लम्सालले जानकारी दिए ।
‘बर्दियावासीलेजति फाइदा लिनुपर्ने हो त्यति फाइदा लिन सकिरहेका छैनौं,’ उनले भने‘ त्यस्तै कुराहरुको महत्व दर्शाउन र प्रचारप्रसार गरी यहाँको पर्यटन पर्वद्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।’
बर्दिया राष्ट्रिय निकुञ्ज बाघको प्रमुख बासस्थान मध्यको एक हो। यहाँ हात्ती, बाघ, चित्तल लगाएतका दुर्लभ बन्य जन्तु हेर्न जाने पर्यटकको संख्या बर्षेनी बढ्दै जान थालेको छ। निकुञ्जकै कारण बर्दियामा पछिल्लो समय स्तरिय होटेल, होमस्टेहरु खुलेका छन्।