दुई सामुदायिक वन क्षेत्रमा मनोमानी ढंगले रूख काटेको उजुरी परेपछि रूकुम पश्चिममा वडाध्यक्षसहित चारजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चौरजहारी नगरपालिका– ११ का वडाध्यक्ष तुल्से ओली र तीन जना स्थानीय छन् ।
डिभिजन वन कार्यालय रूकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी (विजय) र ५१ बर्षीय दिलबहादुर शाहलाई पक्राउ गरिएको सेतोपाटीलाई बताए ।
वडाध्यक्ष ओलीलाई मंगलबार, नेपाली र केसीलाई सोमबार र शाहलाई भदौ २९ गते नियन्त्रणमा लिइएको थियो।
चौरजहारी नगरपालिका–११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रको ३५ वटा सल्लोको रूख मनपरी फडानी गरेको आरोप र उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको परियारले जानकारी दिए ।
उनीहरूविरूद्ध साउनमै पक्राउ पुर्जी जारी भएको उनले बताए। पक्राउ पुर्जी जारी भएपछि चारै जना फरार थिए।
पक्राउ परेकाहरूलाई बुधबार म्याद थपका लागि अदालत पठाइएने डिभिजन वन कार्यालय रूकुम पश्चिमका निमित्त कार्यालय प्रमुख परियारले बताए ।
‘पक्राउ पछि वडाध्यक्षले विद्युत लाइन विस्तार गर्न रूखहरू काटेको दाबी गरेका छन्,’ परियारले भने ‘ उनले वनसंग समन्वय नै नगरी आफूखुसी रूख काट्न आदेश दिदा समस्या भएको हो।’
रूखहरू काटेको बारेमा हालसम्म बिद्युत प्राधिकरणले कुन प्रयोजनका लागि ती रूखहरू काटिएको हो भन्ने औपचारिक जवाफ नपठाएको परियारले जानकारी दिए ।
वन समूहका उपभोक्ताले वडाध्यक्षसहित चार जनाविरूद्ध वन ऐन अनुसार कारबाहीको माग गर्दै सवडिभिजन कार्यालय चौफामा मुद्दा दायर गरेका थिए।
आरोपी चारै जनालाई अदलतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालय रूकुम पश्चिमले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले सेतोपाटीलाई बताए ।
चौरजहारी नगरपालिकाको – ११ को टाटाबाट सर्केना हुँदै जोगिनेटासम्म बिद्युत लाइन बिस्तार गर्ने क्रममा केही रूखहरू काटिएका थिए। वन कार्यालयको अनुमति बिना रूख काटेपछि उनीहरूविरूद्ध मुद्दा परेको थियो।
वनसंग अनुमति नलिइ वडाध्यक्षले ओलीले आँफुखुसी रूख काट्न निर्देशन दिएको आरोप छ। त्यसपछि अन्य ब्यक्ति रूख काट्ने कार्यमा संलग्न भएको उजुरी परेको छ।
रूख काटेको उजुरीका आधारमा पक्राउ परेका ब्यक्तिहरू माथि क्रमिक रूपमा अनुसन्धान सुरू हुने वन कार्यालयका पदाधिकारीहरूले जानकारी दिएका छन्।
वडाध्यक्ष पक्राउ परेपछि उनलाई छोड्न भन्दै राजनीतिक दबाब आउन थालेको अधिकारीहरू बताउँछन् ।
‘वन संग समन्वय नै नगरी आँफुखुसी रूख काट्न आदेश दिएको बारे परेको उजुरीका आधारमा हामीले काम गरेका हौं,’ वनका एक अर्का पदाधिकारीले भने ‘ अदालत बाट पक्राउ पूर्जी जारी भएपछि फरार रहँदै आएका व्यक्ति पक्राउ गरिएको हो । अनुसन्धानमा सघाउनुको साटो हामीलाई छोड भनेर राजनीतिक दबाब दिनु उचित होइन ।’
नियम काननु सबैका लागि समान हुने हुँदा अनावश्यक दबाब नदिन उनले आग्रह गरे ।