दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वी रूकुम खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो।
सडक शनिबार दिउँसोदेखि अवरूद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौं, पोखरा, बागलुङलगायतका स्थानमा छुटेका मालवाहक तथा सवारीसाधन सडकमा ठप्प भएका छन्। लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन्।
रातभर भारी वर्षा भएको अहिले केही कम भएको हुँदा खुलाउने प्रयास भएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए।
बाढीले करिब दुई सय मिटर कालोपत्र सडकमा क्षति पुर्याएको अध्यक्ष पौडेलको भनाइ छ। कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उनी बताउँछन्।
बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनको भनाइ छ।
‘यो ठाउँमा पानी पर्यो भने माथिबाट लेदोसहितको ठूलो बाढी आउँछ। बाढीले एकै छिनमा सबै सडक पुरिदिन्छन्,’ अध्यक्ष पौडेलले भने।
यसपालि बर्खामा पटकपटक बाढी आउँदा लोकमार्गसँग सहकार्य गरी खुलाएको उनले बताए। बाटो खुल्न केही समय लाग्ने पनि उनले जानकारी दिए।