भारतले पाकिस्तानको एयर डिफेन्स प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।
गएराति भारत र पाकिस्तानबीच भएको मिसाइल र ड्रोन हमलाबीच भारतले पाकिस्तानको मुख्यमध्येको लाहोरको एयर डिफेन्स प्रणाली ध्वस्त पारेको दाबी गरेको हो।
लाहोरको एयर डिफेन्स सिस्टम भारतीय हमलामा ध्वस्त भएको विषयमा पाकिस्तानी पक्षले कुनैपनि विवरण सार्वजनिक गरेको छैन।
पाकिस्तानले रातभरिमा भारतीय पक्षले गरेको २५ भन्दा बढी ड्रोन हमलालाई भने निस्तेज गरेको दाबी गरेको छ।
पाकिस्तानी पत्रिका द डनका अनुसार लाहोर, अटोक, रावलपिण्डी, घोट्की, गुजरनवाला, चकवल, वहावलपुर, सुकुर, उमेरकोट र कराची क्षेत्रमा भारतले ड्रोन र मिसाइल आक्रमण गरेको थियो। आक्रमणमा एक महिलाको मृत्यु भएको र चार सैनिक घाइते भएको पनि जनाएको छ।
पाकिस्तानी सेनाका प्रमुख प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतले ती क्षेत्रहरुलाई लक्ष्य गरी हमला गरेको ड्रोनहरूलाई निस्तेज तुल्याइएको बताएका छन्। यद्यपि एक नागरिकले भने ज्यान गुमाएको उनले बताएका छन्।
प्रवक्ता लेफ्टिनेन्ट जनरल चौधरीले भारतले इसराइलमा बनेको ड्रोनहरू हमलामा प्रयोग गरेको पनि बताएका छन्। भारतीय सञ्चारमाध्यमहरूले पनि बिहीबार राति भारतले पाकिस्तानमा प्रहार गरेको ड्रोनहरू इसराइलमा बनेका हारोप ड्रोन रहेको खुलाएका छन्।
के हो हारोप ड्रोन?
हारोप ड्रोन इसराइल एरोस्पेस इन्डस्ट्रिज (आइएआइ)ले बनाएको एक विशेष हतियार हो। यसमा मिसाइलको पनि संयोजन गरिएको छ। यस्ता ड्रोनमा रडार प्रणाली र एयर डिफेन्स सिस्टम लगायतका हवाई रक्षा संरचनाहरु आफै पत्ता लगाएर हान्न सक्ने क्षमता हुने टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।
यो ड्रोनले ९ घण्टासम्म लक्षित क्षेत्रमा उडेर इलेक्ट्रो-अप्टिक सिकरको सहायताले लक्ष्य पत्ता लगाउँछ र विभिन्न कोणबाट हमला गर्छ भनेर टाइम्स अफ इन्डियाले लेखेको छ। यो ड्रोन जटिल युद्ध क्षेत्रमा प्रभावकारी मानिन्छ। हारोपलाई मोबाइल सवारी साधन वा नौसैनिक प्लेटफर्ममा जडित क्यानिस्टर प्रणालीबाट प्रक्षेपण गर्न सकिन्छ।
ड्रोन बनाउने आइएआइको वेबसाइटमा पनि हारोपबारे जानकारी भेटिन्छ।
आइएआइका अनुसार हारोप कमाण्ड पोस्ट, आपूर्ति डिपो, ट्यांक र एयर डिफेन्स सिस्टमजस्ता लक्ष्यहरुलाई निशाना बनाउन सुसज्जित शक्तिशाली हतियार हो।
यसमा भएको इलेक्ट्रो अप्टिकले आफ्नो लक्ष्य आफै खोज्छ। ९ घन्टासम्म उड्ने क्षमता भएकाले हारोपले सजिलै त्यस्ता संरचनाहरू खोज्ने क्षमता राख्छ। त्यस्ता संरचना भेटिएपछि उसले आफै आक्रमणको तरिका र बाटोबारे योजना बनाउँछ र हमला गर्छ। यसले माथिबाट सिधा, समानान्तर र घुमाउरो सबै तरिकाले आक्रमण गर्न सक्ने आइएआइले जनाएको छ।
हारोप सुसाइड ड्रोन हो। यो स्याटेलाइट जामिङबाट पनि प्रभावित नहुने भएकाले सटिकरूपमा निशाना साँध्न सक्ने बताइएको छ। अर्कोतर्फ यसमा २३ किलोसम्म उच्च विस्फोटक पेलोड बोक्न सक्छ जुन रडार, मिसाइल लन्चर, कमान्ड पोस्ट, वा सैन्य सवारी साधन जस्ता लक्ष्यहरूलाई पूर्ण रूपमा नष्ट गर्न पर्याप्त हुन्छ भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।