मुस्ताङको वारागुङ (बाह्रगाउँ) मुक्तिक्षेत्र गाउँपालिका–२ का वडा सदस्य दावा छिरिङ गुरूङको दिनचर्या फेरिएको छ।
वडाको विकास–निर्माणको अनुगमन गर्न छाडेर उनी कागबेनी ओर्लिएका छन्। कागखोलाले तहसनहस पारेका घरहरूबाट सामान निकाल्दैमा उनको दिन बित्छ।
उनी मात्र होइन, मुक्तिक्षेत्र, झोङ, छुसाङ, फल्याक तल जोमसोमदेखिका स्थानीय आएर कागबेनीको हिलो पन्छाइरहेका छन्। कालीगण्डकी र कागखोलाको किनारको धामकोरूपमा रहेको कागबेनीलाई लयमा ल्याउन भगीरथ प्रयत्न गरिरहेका छन्।
आइतबार साँझ दावा गाउँतिरै थिए। शनिबारदेखि परेको पानी केही थामिएजस्तो पनि भएको थियो। मुक्ति क्षेत्र र त्यसभन्दा माथिल्लो भेग डम्म बादलले ढाकेकाले पानी परिरहेकै अनुमान गर्न सकिन्थ्यो।
एक्कासि कागखोला गडगडाउन थाल्यो। खोलाको आवाज अरू दिनको भन्दा भिन्न थियो।
‘पानी परिरहेकै थियो। खोलामा बाढी आयो होला भनेर सोच्यौं,’ दावाले त्यस दिनको विपत्ति सुनाए, ‘बाक्लो लेदोसहितको बाढी पो आउन थाल्यो। हेर्दाहेर्दै ठूल्ठूला ढुंगासमेत छोपियो। दायाँबायाँ कटान गर्न गर्न थाल्यो।’
त्यसपछि हतारहतार कागबेनीका मानिसहरूलाई खबर गरेको बताए।
झोङ र कागखोलामा बर्सेनि बाढी आउँछ।
‘रेन स्याडो जोन’ मा पर्ने भनिए एक दशक बढी भइसक्यो कागखोलाले बाढी झेल्न थालेको। त्यही भएर धेरै क्षति नगर्ला नि त भनेर स्थानीय सुरूमा त त्रसित भएनन्।
तर, बाँध फुटेजसरी खोलाको सतह नै ढाक्ने गरेर बाक्लो लेदोसहितको बाढी आएको देखेपछि कागबेनीतिर खबर गरिएको दावाले बताए।
‘बाढीले हेर्दाहेर्दै कागबेनी बगरमा परिणत बनाइहाल्यो! गुजुमुज्ज परेको बजार अहिले उराठलाग्दो भएको छ,’ उनले भने, ‘हेर्दै विरक्त लाग्छ!’
गेग्रानसहितको बाढी सुरूमा उपल्लो मुस्ताङ जोड्ने पुलमा आएर अड्किएको र पछि पुलैसमते बगाउँदै बजार पसेको थियो।
वारागुङ गाउँपालिका–२ का वडाध्यक्ष न्होरू गुरूङले कागबेनीलाई लयमा फर्काउन मुस्ताङले निकै मेहनत गर्नुपर्ने बताए।
बाढी पसेका घरहरूबाट लेदो निकाल्न सबै मुस्ताङबासी धुइरिएको उनले बताए।
‘यस्तो पवित्र धाम मेला चल्ने सिजनमै क्षतविक्षत भएको छ,’ उनले भने, ‘अहिले सेना, प्रहरीका अतिरिक्त गाउँबासी पनि खटिएका छन्। मुस्ताङबासी नै आएर सफा गरिरहनु भएको छ।’
सम्साँझै बाढी आएकाले मानवीय क्षति बेहोरेन। तर, बाढीले खण्डहर तुल्याएका २९ वटा घरबाट सामान निकाल्न सक्ने स्थिति छैन। जनशान्ति माध्यामिक विद्यालयको भवनको एक पाखोमा क्षति पुर्याएकाले विद्यालय ८ दिनका लागि बन्द गरिएको छ। छात्रावासमा रहेको २५ जना विद्यार्थीलाई रासनपानीको व्यवस्था गाउँपालिकाले नै गरिदिएको छ।
विस्थापितहरू अहिले आफन्तकहाँ आश्रय लिइरहेका छन्। आफन्त नभएका केही विस्थापितलाई त्रिपालको व्यवस्था गरिएको वडाध्यक्ष न्होरू गुरूङ बताउँछन्।
स्थानीयहरू बाढी पसेका घरबाट सद्दे सामान निकाल्न सकिन्छ कि भनेर प्रयत्न गरिरहेका छन्। एक तलासम्म हिलो पसेको घरमा स्काभेटर लगाएर गेग्रान पन्छाउनु परेको उनले बताए।
भदौ २८ गते कुशे औंसी पर्छ। त्यस दिन बाबुको मुख हेर्ने पर्वसमेत भएकाले कागबेनी धाममा पितृ तर्पण दिनेको ठूलो मेला लाग्छ। मुक्ति क्षेत्र जानेले पनि कागबेनीमा श्राद्ध गर्छन्।
त्यसकारण पनि छिटो कागबेनीलाई लयमा ल्याउनुपर्ने आवश्यकता रहेको न्होरूले बताए।
‘प्रकृतिको अगाडि केही नलाग्दो रहेछ! अहिले सबैले साथ दिइरहनु भएको छ। ठाउँठाउँबाट राहत सामग्री पनि जुटिरहेको छ। तर, बगर पन्छाएर कहिले लयमा फर्काउनु!, हामी त आत्तिएका छौं,’ उनले भने।
पाँच दिनअघिको बाढीले कागबेनीका २९ वटा पूर्णरूपमा क्षतिग्रस्त भए। १३ वटा घर, जनशान्ति मावि भवनमा आंशिक क्षति पुर्यायो। बाढीले १६ वटा मोटरसाइकल, २ वटा चार पाङ्ग्रे गाडीमा क्षति पुर्याएको छ। एउटा स्काभेटर, कागबेनी-माथिल्लो मुस्ताङ जोड्ने पक्कि मोटरेबल पुल, कागवेनी–तिरी जोड्ने झोलुङ्गे पुल, ३ वटा काठेपुलमा क्षति पुग्यो।
त्यसका अतिरिक्त सानो पक्की पुल, ९ वटा गोठ र ३२ वटा पशुचौपाया बाढीले बगाएको वडाध्यक्ष न्होरू गुरूङले बताए।
बाढीले वडा कार्यालयसहित, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा धर्मशाला पनि बगाएको उनको भनाइ छ।
यी सबै संरचना पुनःनिर्माण गरेर बजारलाई लयमा ल्याउन एक वर्षभन्दा बढी लाग्ने उनले बताए।
बाढी गएको साँझदेखि आधा कागबेनी अँध्यारोमा छ। खोलापारि केही घरमा बत्ती भए पनि अधिकांश ठाउँमा विद्युत् आपूर्ति अवरूद्ध रहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।
२८ वटाभन्दा बढी बत्तीका पोल बाढीका बगेको उनले बताए। लत्रिएका तार व्यवस्थित गर्ने र पोल राखेर बत्ती ल्याउने काम भइरहेकाले आज साँझ या भोलि बिहानबाट आपूर्ति नियमित हुने उनले बताए।
त्यसका अलावा पर्यटनको सिजनमै उपल्लो मुस्ताङ जाने बाटो विच्छेद भएकाले बगर सम्याएर भए पनि यातायात सञ्चालनमा ल्याउने प्रयत्न भइरहेको उनले बताए।
कसरी आयो बाढी?
मुस्ताङ तुलनात्मक रूपमा कम पानी पर्ने जिल्ला हो। हिमालपारिका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा बादललाई हिमालले ढाक्ने र कम पानी पर्ने हुनाले ‘रेन स्याडो’ मा पर्छ भनिएको हो।
जल तथा मौसम विज्ञान विभागको आँकडाअनुसार जोमसोम केन्द्रमा वर्षभरिमा औसत २९२.७ मिलिमिटर पानी पर्छ। विभागका अनुसार जोमसोमदेखि माथिल्लो क्षेत्रमा झन् कम पानी पर्छ।
वर्षातकै समयमा पनि मुस्ताङको तल्लो तटीय क्षेत्रमा कम पानी परेको तथ्यांक छ। विभागका अनुसार जोमसोम केन्द्रमा जुलाई महिनाभरि औसत ४६.८ मिलिमिटर र अगस्टभरिमा औसत ४३.९ मिलिमिटर वर्षा मापन हुन्छ।
बाढी गएको दिन जोमसोम स्टेसनमा २५.२ मिलिमिटर वर्षा मापन भएको थियो। जुन औसतभन्दा बढी हो।
पछिल्लो समय वर्षासँगै बाढी पनि हिमाली भेगमा उक्लन थालेको छ।
जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट सुनील पोखरेलका अनुसार झोङ आसपासमा खोला थुनिएपछि कागखोलाले भीषण बाढीको रूप लिएको हो।
साउन २८ गते कागबेनीदेखि करिब १२ किलोमिटर तल जोमजोम जलमापन केन्द्रमा राति ८ः१० बजे जलसतह २.३५ मिटर रहेकामा राति ९ बजे घटेर १.६५ मिटर हुन पुगेको पोखरेलले बताए।
त्यही केन्द्रमा राति ९ः३० बजे पुनः केही बढेको र २.१० मिटर पुगेको पोखरेलको भनाइ छ।
त्यसको केही घन्टापछि पुनः खोलाको सतह घटेको र राति ११ बजे एक्कासि जलसतह अधिकतम २.७७ मिटर पुगेको देखिएको उनले बताए।
‘अतः माथिल्लो तटीय क्षेत्रमा पहिरोले गर्दा कागखोला थुनिएर पानी जम्मा भई ताल भएपश्चात सो फुटेको र त्यसले गर्दा एक्कासि गेग्रान बहाब भई लेदो सहितको बाढी आएको देखिन्छ। कागबेनी (कागखोला र कालीगण्डकीको दोभान) देखि जोमसोम जल मापन केन्द्र करिब १२ किलोमिटर तल रहेको र कागबेनीदेखि जोमसोम बाढी पुग्न १ घन्टाभन्दा धेरै लाग्ने भएकाले त्यहाँ अन्दाजी ८ बजेतिर बाढी आएको देखिन्छ। गत असोजमा जोमसोम जल मापन केन्द्रमा जलसतह ३.५२ मिटर पुगेको थियो,’ बाढी पूर्वानुमान महाशाखाको सूचनामा उल्लेख छ।
जलवायु परिवर्तनको असर विश्वव्यापी बन्दै गएको छ। मनसुन प्रणालीमा पनि त्यसको असर देखिएको छ। अनावृष्टिका कारण कतिपय ठाउँमा रोपाइँ नै हुन सकेन। अतिवृति वृष्टिका कारण बाढी, पहिरो पनि गइरहेकै छ। मनसुन सुरू हुनेबित्तिकै सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा बाढी–पहिरोले क्षति पुर्यायो। त्यहाँ पनि ग्रेगानसहितको भेलबाढी आउँदा बढी क्षति पुगेको स्थानीयले बताए।
अहिले पनि एकै ठाउँमा धेरै पानी पर्ने र कतै नपर्ने भइरहेको मौसमविद् वरूण पोखरेल बताउँछन्।
‘मुस्ताङजस्तो ठाउँमा २४ घन्टामा २५ मिलिमिटर वर्षा हुनु धेरै नै हो। वनबुट्यान, झारपात नभएकाले माटो-ढुंगा छेकिँदैन।भेलसँगै माटो, ढुंगा बगेर आउँछ र बाढीको रूप लिन्छ। त्यसका अलावा कागखोलाको माथिल्लो तटीय क्षेत्रमा भेल थुनिएर बाँध बनेको र फुट्दा धेरै क्षति गरेको देखिन्छ,’ उनले भने।
हिमाली क्षेत्रमा बढ्दो मनसुनजन्य विपद्को प्रकृति हेर्दा हाम्रो विकासको मोडल परिवर्तनको पनि माग गरेको उनले बताए।
‘पानी परेपछि बाढी आएको देखिन्छ। तर, बाढीको कारण पानी मात्रै हुँदैन। हाम्रो विकासको तौरतरिका पनि हुन्छ। वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी जथाभावी सडक खनिएको छ,’ उनले भने।
डोजरे विकासले जमिनको अवस्थिति, भू–बनोटमा दख्खल लिँदा त्यसले प्रकोप रूप लिएको हुन सक्नेतर्फ सचेत हुनु्पर्ने उनले औंल्याए।
‘हिमाली क्षेत्रमा बढ्दो विपत्ति अध्ययनको विषय हो। मौसम प्रणाली कसरी परिवर्तन भइरहेको छ? विकासको मोडल कसरी विस्तार भइरहेको छ। त्यसले कहाँ के कस्तो असर पुर्याइरहेको छ भनेर अध्ययन, अनुसन्धान हुन जरूरी छ,’ उनले भने।