यी तीन दिदीबहिनीलाई राम्ररी थाहा थियो, अब घर छाड्ने बेला भयो।
उनीहरू तीन वर्षे तिम्ल्याहा हुन्।
तीन वर्ष भनेको उनीहरूका लागि एकदमै भर्भराउँदो उमेर हो। यो बेला संसारै जित्ने आँट आउँछ। अवसर छोप्न आँखा नाचिरहन्छ। नयाँ चुनौती मोल्न हरदम पेट पोलिरहन्छ।
यही उमेरको जोशले होला, यी दिदीबहिनीले आफ्नो थातथलो छाडेर एउटा अन्जान गन्तव्यतर्फ चार खुट्टा उचाले।
हामी कुरा गर्दैछौं अफ्रिकी जंगली कुकुरहरूको जसलाई ‘खतरनाक शिकारी’ का रूपमा चिनिन्छ।
उनीहरू जति खतरनाक छन्, त्यति नै खतरामा छन्।
जंगल विनाशले उनीहरूको संख्या घट्दैछ। जंगली जनावरका शिकारीले आफ्नो खुराक निम्ति यिनै ‘शिकारी’ कुकुरको शिकार गर्छन् र मासु खान्छन्। सरूवा रोगहरूको संक्रमणले पनि यिनलाई गाँजेको छ।
सन् २०१२ को तथ्यांकअनुसार उपसहारा क्षेत्रीय अफ्रिकी मुलुकहरू, जुन यी जंगली कुकुरका मुख्य बासस्थान हुन्, त्यहाँ यिनको संख्या छ हजार छ सय मात्र छ। तीमध्ये वयस्क एक हजार चार सय छन्। पछिल्लो दस वर्षमा यो संख्या अझै घटेको हुनसक्छ।
आफ्नो अस्तित्वमाथि मडारिएको खतरा यी तीन दिदीबहिनीले बेलैमा भाँपे।
र, गत वर्ष अक्टोबर महिनामा उनीहरू यति लामो यात्रामा निस्के जुन उनीहरूको खलकमै यसअघि कसैले गरेको थिएन।
यी जंगली कुकुरहरू लामो यात्रा गर्न माहिर हुन्छन्। तै पनि नौ महिनामा दुई हजार ९२ किलोमिटर यात्रा गर्नु चानचुने होइन। यही जातका अरू कुकुरले अहिलेसम्म यति लामो दुरी नहिँडेको वैज्ञानिकहरू बताउँछन्।
यी वैज्ञानिकले सुरूआती विन्दुदेखि नै उनीहरूलाई पछ्याएका थिए।
ती कुकुरको यात्रा पूर्वी जाम्बियाको लुवाङ्वा उपत्यकाबाट सुरू भएको थियो जुन उनीहरूको जन्मस्थान हो।
उनीहरू जाम्बियाबाट मोजाम्बिक गए। त्यहाँबाट जिम्बाब्वेको किनारै किनार फेरि जाम्बिया छिरे र जाम्बियाको मध्य भागसम्म पुगेर फेरि जिम्बाब्वे फर्के।
आखिरमा जिम्बाब्वेको जाम्बेजी राष्ट्रिय निकुञ्जमा उनीहरूले नयाँ बासस्थान बनाए। अनुसन्धानमा संलग्न वैज्ञानिकका अनुसार उनीहरू अहिले पनि यही राष्ट्रिय निकुञ्जमा छन्।
यति लामो यात्राबीच उनीहरू घना वन हुँदै गुज्रे, घाँसे मैदानहरू पार गरे।
कहिले चारैतिर हरियोपरियो देखे, कहिले उजाड जमिन काटे।
कतै खेतबारीमा हिँडे, कतै भिरालो डाँडाका कापहरूमा ज्यानको बाजी लगाए।
कतै दलदले माटो, कतै गहिरो गल्छी।
कतै सास फुल्ने उकालो, कतै ज्यान नथामिने ओरालो।
पूर्वी अफ्रिकी क्षेत्रमा उत्तर–दक्षिण तन्केर बनेको गहिरो भू–चिरा (ग्रेट रिफ्ट) नै उनीहरूले तीनचोटि नाघेको वैज्ञानिकहरूको भनाइ छ। एसियाको लेबनानदेखि दक्षिणपूर्वी अफ्रिकाको मोजाम्बिकसम्म तन्किएको यो भू–चिरा झन्डै सात हजार किलोमिटर लामो छ।
कुकुरहरूका लागि यो यात्रा अरू कारणले पनि गाह्रो थियो।
उनीहरूले व्यस्त ग्रामीण सडकमा जोगिएर हिँड्नुपर्यो। अँध्यारो र घना वनको बीचमा सिंहहरूबाट जोगिनुपर्यो। गाउँका मान्छे र शत्रु जनावरहरूले उनीहरूलाई हायलकायल पारे। नदी तर्दातर्दै बीचमा फुत्त निस्कने अजंग गोहीबाट उनीहरू बालबाल बाँचे।
अनेक हन्डर खाँदै सुरक्षित बासस्थानको खोजीमा निस्केका यी कुकुरलाई मोन्टानो स्टेट विश्वविद्यालयका पर्यावरणविद् स्कट क्रिल र उनको टिमले सुरूदेखि अन्त्यसम्मै पछ्याएका थिए।
उनीहरूले तीन दिदीबहिनीमध्ये एउटीको घाँटीमा जिपिएस लगाइदिएका थिए। जिपिएस धारण गरेकी कुकुर नै यो कथाको मुख्य पात्र हो। वैज्ञानिकहरूले उसलाई ‘इडब्लुडी १३५५’ नाउँ दिएका छन्।
अनुसन्धान क्रममा वैज्ञानिकहरूले जति विवरण संकलन गरे, ती सबै इडब्लुडी १३५५ कै हुन्। तर यी जंगली कुकुर एकअर्काप्रति यति निर्भर छन्, उनीहरू समूहबाट कहिल्यै अलग हुँदैनन्। एउटा जहाँ गयो, अरू त्यहीँ जान्छन्। त्यसैले यो यात्रामा इडब्लुडी १३५५ जहाँ जहाँ गई, उसका दुई दिदीबहिनीले त्यही बाटो पछ्याएको र त्यही दुरी त्यसरी नै तय गरेको वैज्ञानिकहरूको ठम्याइ छ।
‘यति जोखिमपूर्ण लामो यात्रामा पनि उनीहरू बाँचे, हामीलाई सबभन्दा ठूलो आश्चर्य यसैमा छ,’ अनुसन्धानमा संलग्न जाम्बियन कार्निभोर प्रोग्रामका प्रमुख कार्यकारी तथा प्रबन्धक म्याथ्यू बेकरले भने।
‘तीनवटा देश नाघेर पार गरिएको दुई हजार किलोमिटरको दुरीभित्र कति मानव बस्तीहरू थिए, कति ठाउँमा जंगली जनावरको खतरा थियो। कति ठाउँमा भौगोलिक कठिनाइ थिए। जुनसुकै बेला जे पनि हुनसक्थ्यो। तर उनीहरू सकुशल आफ्नो गन्तव्यमा पुगे।’
पाउला बोले मांसाहारी जंगली जनावरका विशेषज्ञ हुन्। उनले यसअघि मोजाम्बिकको गोरोङगोसा राष्ट्रिय निकुञ्जमा बस्ने जंगली कुकुरहरूमाथि अनुसन्धान गरेका थिए। उनी यी तीन दिदीबहिनीले ‘इतिहास रचेको’ बताउँछन्।
‘हामी उनीहरूको यात्रालाई अत्यन्तै उत्सुकतासाथ हेरिरहेका थियौं। उनीहरूको कठिनाइ सम्झेर बेलाबेला अत्तालिन्थ्यौं,’ पाउला बोलेले भने, ‘तर यी कुकुरहरूले कहिल्यै हरेस खाएनन्।’
उनले अगाडि भने, ‘कुनै पनि जीवका लागि आफ्नो बासस्थानको संरक्षण कति जरूरी हुन्छ भन्ने यो घटनाले छर्लंग पार्छ।’
अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले यी कुकुरको अन्तरदेशीय यात्राको विस्तृत विवरण तयार पारेका छन् जसमा उनीहरू कुन दिन कहाँ पुगे र के–कस्ता अनुभव गरे भन्ने वृत्तान्त छ।
यसले यी जंगली कुकुरको मात्र होइन, संसारभरका लोपोन्मुख जंगली जनावरहरूको संरक्षण गर्न पाठ सिकाउँछ।
वैज्ञानिकहरूले तयार पारेको विवरण यहाँ उल्लेख गरिएको छः
१० अक्टोबर, २०२१
आज पानी परेको पर्यै छ। सामान्यतया नोभेम्बर महिना सुरू नहुँदासम्म पानी पर्दैन। यसपालि भने अक्टोबरको सुरूदेखि अविरल पानी परेर तल्लो तटीय क्षेत्रहरूमा बाढी आउन थालेको छ।
बाढीले नदी किनारका धेरै जमिन बगाएर लैजाने खतरा छ। अफ्रिकाका २१ वटा जंगली कुकुरहरूको समूहलाई भने न झरझर झरीसँग मतलब छ, न उर्लेको नदीको डर छ।
यी कुकुरहरूको प्रजनन याम भर्खरै सकियो। छाउरा–छाउरीहरू बासस्थानबाट बाहिर निस्किसके। वयस्क कुकुरहरू त शिकारको खोजीमा आफ्नो बासस्थानबाट तीन सय वर्गकिलोमिटर क्षेत्र चहार्न थालिसके।
जंगली कुकुरहरू हिंस्रक हुन्छन् तर हिस्सी परेका हुन्छन्। अनुहार निख्खर कालो हुन्छ। आँखा चमकचमक चम्किरहन्छन्। जीउमा कालो, सेतो र खैरो रङ यसरी छरिएको हुन्छ, मानौं कुनै चित्रकारले क्यानभासमा रङ पोतेका हुन्।
उनीहरूको पुच्छरको टुप्पो सेतो हुन्छ र कान अरू सामान्य कुकुरको दाँजोमा ठूलो र अन्डाकार हुन्छ।
सधैं रसिलो देखिने उनीहरूको नाक पनि अरू कुकुरको भन्दा लामै हुन्छ।
यो स्टोरी पढ्दै गर्दा तपाईंहरूको दिमागमा आफ्नो घरको प्रिय ल्याब्रडोरको चित्र आइरहेको हुनसक्छ, जो तपाईं घर छिर्नासाथ पुच्छर हल्लाउँदै खुट्टा चाट्न आइपुग्छ। त्यसो हो भने तपाईं बिल्कुलै गलत हुनुहुन्छ। त्यस्तो चित्र तपाईं कल्पना पनि नगर्नुहोला। किनकि, यी अफ्रिकी जंगली कुकुरहरू हाम्रो सहर–बजारका गल्लीमा देखिने कुकुरजस्ता हुँदैनन्, घरपालुवा ल्याब्रडोरको त कुरै छाडौं।
वैज्ञानिकका अनुसार अफ्रिकी जंगली कुकुरहरू आजभन्दा साठी लाख वर्षअघि नै आफ्नो प्रजातिबाट अलग्गिएका थिए। त्यो समयदेखि उनीहरू स्वतन्त्र रूपले बाँच्दै आएका छन् र कुकुर प्रजातिमै अलग पहिचान बनाएका छन्।
यिनको आवाजधरि अन्य कुकुरभन्दा फरक हुन्छ।
अफ्रिकी जंगली कुकुरहरू न घरपालुवा कुकुरजस्तो भौभौ भुक्छन्, न स्यालजस्तो हुँहुँ गर्छन्। उनीहरू त चराजस्तो चिँचीँ, चुँचुँ, चिरचिर, चुरचुर गर्छन्।
इडब्लुडी १३५५ र उसका दुई दिदीबहिनी सहितको समूहले आफ्नो बासस्थानबाट दक्षिण-पश्चिम यात्रा सुरू गरेको छ। उनीहरू झन्डै झन्डै सोझो बाटो हिँड्दै छन् र प्रत्येक आठ मिनेटमा डेढ किलोमिटर दुरी तय गर्छन्।
यी जंगली कुकुर आफ्नो सामान्य गतिभन्दा सुस्त हिँड्दै छन्। शिकार गर्दाको दाँजोमा यो गति छ भागको एक भाग हो।
उनीहरू सबेरै र साँझपख मात्र यात्रा गर्छन्। दिउँसो धेरैजसो आराम गर्छन्।
७ नोभेम्बर, २०२१
कुकुरहरूको समूहले आज दक्षिण लुवाङ्वा राष्ट्रिय निकुञ्जको दक्षिणी टुप्पो पार गरेको छ।
केही अघिसम्म उनीहरू सँगसँगै छिमेकी कुकुरहरूको समूह पनि थियो। तर ती कुकुर अहिले अलग भइसके।
इडब्लुडी १३५५ आफ्ना ती छिमेकीलाई हेरेर, सुँघेर र उनीहरूको आवाजले सजिलै चिन्छिन्। चिने पनि इडब्लुडी १३५५ र उसको समूहलाई आफ्ना छिमेकीहरूको चासो छैन। यी दुई समूहका कुकुर आपसमा सम्बन्ध राख्न र प्रजनन गर्न रूचाउँदैनन्।
उनीहरू आफ्नो यात्रा जारी राख्छन्।
८–२४ नोभेम्बर, २०२१
तीन दिदीबहिनी अहिले जहाँ हिँड्दै छन्, त्यो उनीहरूका लागि अपरिचित भूमि हो।
यहाँ उनीहरू आफ्नो घरभन्दा असुरक्षित छन्। कुनै पनि बेला शिकारीको बन्दुकको निशाना बन्न सक्छन्। मान्छेहरूले समातेर लग्न सक्छन्। अन्य घरपालुवा कुकुर वा मांसाहारी जंगली जनावरहरूले आक्रमण गरेर कोपर्न पनि सक्छन्।
मान्छे होस् वा कुनै जीव, आफ्नो थातथलो छाडेर, आफ्नो झुन्डबाट अलग्गिएर हिँड्नु खतरालाई निम्ता दिनु हो।
आफ्नो बास र झुन्ड छाडेर बसाइ सर्ने जंगली कुकुरहरूमध्ये आधाभन्दा बढी बीच बाटोमै मर्छन्। हामीले पछ्याइरहेका यी तिम्ल्याहा दिदीबहिनी भने एकनाश हिँडेका हिँड्यै छन्।
उनीहरू वरिपरि अन्य जंगली कुकुरको समूह छ कि भनेर बेलाबेला यताउति हेर्छन्। आफूजस्तै देखिने अनुहारको खोजी गर्छन्। तर बाटोमा यी कुकुरले ऐना हेरेजस्तो भान हुने जनावर कोही भेट्दैनन्। जो भेटिन्छ, त्यो मान्छे हुन्छ।
उनीहरू मान्छेदेखि डराउँछन्। पर मान्छेको छाया सल्बलाइरहेको देखियो वा मान्छेको गन्ध नाकमा ठोक्किन आइपुग्यो भने उनीहरू तुरून्तै बाटो बदल्छन् र हावामा धुँवा हराएजस्तै जंगलमा विलीन हुन्छन्।
२५ नोभेम्बर, २०२१
यी कुकुरहरू लुवाङ्वा नदीको किनारमा पुग्छन्। यहाँ नदी तीन सय फिट चौडा छ। केही सातादेखिको अविरल वर्षाले पानीको सतह बढेको छ। भेल देखेर कुकुरहरू खोला तर्न हच्किन्छन्।
यहाँ अफ्रिकाकै ठूला गोहीहरू बस्छन् भन्ने उनीहरूलाई थाहा छ। त्यसैले केही बेर नदी तर्ने कि नतर्ने भनेर अलमल पर्छन्।
उनीहरूलाई नदी नतरी सुखै छन्। जुन सुरक्षित गन्तव्यको खोजीमा छन्, त्यसको निम्ति नदी तर्नैपर्छ।
आखिरमा उनीहरू नदीमा हेलिन तयार हुन्छन् र पानीको धारमा पौडी खेल्दै नदी पार गर्छन्।
तीन दिदीबहिनीमध्ये सबभन्दा पहिला एउटी अर्को किनारमा पुग्छे।
उसलाई पछ्याउँदै अरू पनि किनार छुन सफल हुन्छन्।
तेस्रो बहिनीले नदी तरिसकेपछि उनीहरू जोडजोडसँग चिरचिर, चुरचुर गर्दै खुसी मनाउँछन्।
२६ नोभेम्बरदेखि १३ डिसेम्बर, २०२१
उनीहरू लगातार पश्चिम दिशामा बढ्दै लुवेम्बे व्यवस्थापन क्षेत्रमा पुग्छन् जहाँ उनीहरूलाई आफ्नै प्रजातिका जंगली कुकुरहरू प्रतीक्षा गर्दै छन्।
लुवेम्बे पनि जंगली कुकुरहरूको बाक्लो बसोबास भएको ठाउँ हो। लामो यात्रामा निस्केका इडब्लुडी १३५५, उसका दुई बहिनी र अरू कुकुरहरू यहाँ केही समय आराम गर्न सक्छन्। रमाउन सक्छन्। मन मिल्यो भने अर्को भेगका जंगली कुकुरसँग संसर्ग पनि गर्न सक्छन्।
अफ्रिकी जंगली कुकुरहरू सामाजिक स्वभावका हुन्छन्। उनीहरू एक्लैदुक्लै बाँच्न सक्दैनन्। सधैं समूहमा बस्छन्। उनीहरूको हुर्काइ नै सामूहिक रूपमा हुन्छ। शिकार पनि अनुशासित र सामूहिक रूपमै गर्छन्।
त्यही सामूहिक बलले लगभग २३ किलोका जंगली कुकुरहरूको समूहले आफूभन्दा करिब छ गुणा ठूलो (औसत १३६ किलो) मृगलाई लछारपछार पारेर शिकार गर्न सक्छ।
माउ कुकुरहरू आफ्ना छाउरा–छाउरीलाई हदैसम्म माया गर्छन्। उनीहरूको लालनपालन र सुरक्षाको ख्याल राख्छन्। आफू भोकभोकै बसेर भए पनि छाउरा–छाउरीलाई मासु खुवाउँछन्। नखुवाऊन् पनि किन? आखिर यी जंगली कुकुरहरू निकट नातेदारजस्तै समूहमा बस्छन्। साना भाइबहिनी, भतिजाभतिजी र भान्जाभान्जीलाई बचाउन उनीहरू जस्तोसुकै खतरा मोल्न तयार हुन्छन्।
‘यी जंगली कुकुरको समूहमा सबैको लक्ष्य एउटै हुन्छ,’ डा. क्रिलले भने।
कुकुरको समूहमा एउटा नाइके हुन्छ जो भाले (राजा) वा पोथी (रानी) दुवै हुनसक्छ। राजा वा रानीको मृत्यु भयो भने उसको ठाउँ समूहकै अर्को कुकुरले लिन्छ।
इडब्लुडी १३५५ र उसका दुई बहिनीहरू लुवाङ्वा उपत्यकाका राजा–रानीकै सन्तान हुन्। उनीहरूका आमाबुवाले अहिलेसम्म नेतृत्व छाडेका छैनन्। नेतृत्व हात पार्न एउटै समूहका कुकुरबीच झगडा हुन सक्छ। झगडामा कसैले आफ्नो राजा वा रानीलाई पराजित गर्यो भने नेतृत्व उसको हातमा जान्छ।
‘मैले नेतृत्वका लागि झगडा गर्दा अनुहारभरि घाउ बनाएर हिँडेका कुकुरहरू धेरै देखेको छु,’ जाम्बियन कार्निभोर प्रोग्रामका पर्यावरणविद् हेनरी मुवापेले भने, ‘सबैलाई लाग्छ, अब नेतृत्वको पालो मेरै हो।’
१४–२३ डिसेम्बर, २०२१
इडब्लुडी १३५५ र उसका बहिनीहरूको बसाइसराइ जारी छ। उनीहरू लुवेम्बेबाट दक्षिणतर्फ बढिरहेका छन्। लुवाङ्वा नदी उनीहरू हिँडेकै दिशामा कलकल बग्दैछ।
२४ डिसेम्बर, २०२१ देखि १७ जनवरी, २०२२
यी दिदीबहिनी अफ्रिकाको ग्रेट रिफ्ट (पूर्वी अफ्रिकी क्षेत्रमा उत्तर–दक्षिण तन्केर बनेको गहिरो भू–चिरा) उपत्यका पुग्छन्। यो भू–चिरा यति विशाल छ, निकै माथि आकाशबाट पनि छर्लंग देखिन्छ।
यहाँ पुगेपछि उनीहरू अलमलिन्छन्। पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व भौंतारिन्छन्। यसबीच कतै मानव बस्तीको संकेत देखियो भने उनीहरू तुरून्तै आफ्नो बाटो बदल्छन् वा मान्छेहरूबाट बच्न एकदमै तीव्र गतिमा दौडिन्छन्।
अनुसन्धाता डा. क्रिलका अनुसार यी जंगली कुकुर संकट छल्न माहिर हुन्छन्। शिकार गर्न पनि अन्य जनावरभन्दा प्रभावशाली मानिन्छन्। सिंहले शिकार गर्दा २५ प्रतिशत मात्र सफल हुन्छ भने जंगली कुकुरहरूको सफलता दर झन्डै ५० प्रतिशत छ।
तर यी कुकुरको आकार सानो भएकाले आफ्नो शिकार जोगाएर राख्न गाह्रो पर्छ। उनीहरूले मारेर खान ठिक्क पारेको आहारालाई सिंह आएर सजिलै कब्जामा लिइदिन सक्छ। यी कुकुरको तुलनामा सिंह निकै ठूलो (१९० किलो) हुन्छ।
सिंह मात्र होइन, हाइना भन्ने जनावर पनि आफ्नो आहारा निम्ति जंगली कुकुरहरूलाई पछ्याउँदै हिँडछ। दुई–तीनवटा कुकुर मिलेर शिकार गरेको छ भने हाइना बीचमा घुस्छ र कुकुरहरूलाई खेदेर शिकारमाथि कब्जा जमाउँछ। त्यसैले पनि जंगली कुकुर एक्लै–दुक्लैभन्दा झुन्डमा हिँड्न रूचाउँछन्।
आफ्नो शिकारलाई सिंह वा हाइनाबाट सुरक्षित राख्न उनीहरू चिरचिर, चुरचुर गर्दै सन्देश आदानप्रदान गर्छन्। मान्छेहरूबाट बच्न पनि यसरी नै आवाज निकालेर एकअर्कालाई सतर्क गराउँछन्।
‘पचास लाख वर्षदेखि ठूल्ठूला जंगली जनावरसँग प्रतिस्पर्धा गर्दै बाँचेकाले उनीहरू घना जंगल र कठिन भूगोलमा पनि जीवन निर्वाह गर्न अभ्यस्त भइसकेका छन्,’ डा. क्रिलले भने।
२७ जनवरी, २०२२
जंगली कुकुरहरू पूर्वी दिशामा बढ्दै छन्। बाटोमा लुवाङ्वा नदी आइपुग्छ। उनीहरूले अब फेरि यो नदी तर्नुछ, त्यो पनि बाढी उर्लिएका बेला।
उनीहरू चुपचाप नदीको भेलमा हेलिन्छन् र सबै किनार पुगेपछि चिरचिर, चुरचुर गर्दै खुसी मनाउँछन्।
१८ फेब्रुअरी, २०२२
जंगली कुकुरहरूका लागि गोही र सिंहजस्तै खतरनाक दुश्मन हुन्, अफ्रिकी राजमार्गमा गुड्ने ठूल्ठूला ट्रकहरू।
तीन दिदीबहिनी जाम्बियाको राजधानी लुसाका र मालावीको राजधानी लिलंगवे जोड्ने चारलेनको राजमार्गमा पुग्छन्। यहाँ तीव्र रफ्तारमा कुद्ने ट्रकहरूलाई छलेर सडक पार गर्नु उनीहरूका लागि जोखिमपूर्ण हुन्छ। उनीहरू सायद दायाँबायाँ हेर्छन् र ट्रकहरू नआएको मौका पारेर गुटुटुटु दौडिँदै सडक पार गर्छन्।
त्यहाँबाट गाउँबस्ती र खेत–खलिहान हुँदै उनीहरूको यात्रा अगाडि बढ्छ।
२२ फेब्रुअरी, २०२२
यी जंगली कुकुर पासपोर्ट बोकेर हिँडेका भए यहाँ उनीहरूले छाप लगाउनुपर्नेछ। किनभने, यहाँबाट उनीहरू मोजाम्बिकको सीमामा प्रवेश गर्छन्।
७–२५ मार्च, २०२२
यहाँ करिब दुई साता जंगली कुकुरहरूको हिँडडुल कम हुन्छ। हिँड्दा पनि यताउति भौंतारिएजस्ता, बाटो बिराएजस्ता लाग्छन्। यसले डा. क्रिल र उनको टिमलाई चिन्तित बनाउँछ।
सबभन्दा ठूलो चिन्ता त इडब्लुडी १३५५ कै छ, जो सायद कुनै भिरबाट खसेर वा कसैसँग झगडा गरेर घाइते भएकी छे।
२६ मार्च, २०२२
कुकुरहरू जसै फेरि उफ्रिन थाल्छन् र पहिलेजस्तै एक सुरमा अगाडि बढ्छन्, तब बल्ल वैज्ञानिकहरूलाई सुकून हुन्छ।
कुकुरहरू मानव बसोबास क्षेत्रबाट पन्छिँदै पन्छिँदै दक्षिणपूर्वतिर बढ्छन्। यो बाटो एकदमै नराम्रो र निर्जन छ।
२० अप्रिल, २०२२
उनीहरू मोजाम्बिक, जिम्बाब्वे र जाम्बियाको सीमावर्ति क्षेत्रभन्दा केही किलोमिटर वर छन्। बाटोमा लुवाङ्वा नदी छ। नदी तरेर उनीहरू फेरि आफू जन्मेको देश जाम्बिया प्रवेश गर्छन् र त्यहाँबाट जम्बेजी राष्ट्रिय निकुञ्जको तल्लो क्षेत्रतिर लम्किन्छन्।
उनीहरूलाई त्यहाँ बस्ने २९ वटा जंगली कुकुरको गन्धले तानेको हुनसक्छ।
जम्बेजी राष्ट्रिय निकुञ्जका कुकुर आफूभन्दा निकै ठूलो अफ्रिकी भैंसीलाई पनि कुशलतापूर्वक मारेर खान सक्छन्।
२ मे, २०२२
निकै समय हिँडेपछि उनीहरू लगभग राष्ट्रिय निकुञ्जको मध्यविन्दुमा बास बस्छन्। यो कम्तिमा अहिलेका लागि उनीहरूको अस्थायी बासस्थान हो।
निकुञ्ज निकै ठूलो छ। तीन दिदीबहिनीले जम्बेजी निकुञ्जका कुनै दाजुभाइलाई आकर्षित गरेर उनीहरूको समूहबाट अलग्याउन सके भने यहाँ जंगली कुकुरको नयाँ वंश सुरू हुन सक्छ। नेतृत्व पनि फेरिन सक्छ।
१४ मे, २०२२
तर यो सम्भव हुँदैन।
तीन दिदीबहिनी केही समय त्यहाँ बिताएर जम्बेजी राष्ट्रिय निकुञ्जबाट उत्तरपश्चिमी दिशामा बढ्छन्।
२४ मे, २०२२
कुकुरहरू लुसाकाको सीमामा पुग्छन्।
उनीहरूको यो लामो यात्राले जंगली जनावरहरूका लागि यस भेगका सबै संरक्षित क्षेत्र र त्यसको महत्व उजागर गरेको अनुसन्धाताहरू बताउँछन्। यस्तो क्षेत्रमा शिकार र मानवीय हस्तक्षेप बन्द गर्नुपर्नेमा उनीहरूको जोड छ।
तर २५ लाख जनसंख्या भएको लुसाका आफैंमा उनीहरूका लागि असुरक्षित ठाउँ हो। सायद कुकुरहरूले पनि त्यहाँ आफूलाई सुरक्षित ठानेनन्।
उनीहरूले आफ्नो दिशा परिवर्तन गरे र जम्बेजी राष्ट्रिय निकुञ्जको तल्लो भेगतिर बढे।
११ जुन, २०२२ देखि अहिलेसम्म
इडब्लुडी १३५५, उसका बहिनीहरू र समूहका अरू कुकुर फेरि जम्बेजीका जंगली कुकुरको झुन्ड पछ्याउनतिर लाग्छन्।
किन नलागून्? उमेर सँगसँगै यी दिदीबहिनी निकै राम्री देखिन थालेका छन्। त्यसमाथि दुई हजार किलोमिटरभन्दा धेरै यात्रा गरेको कीर्तिमान पनि उनीहरूसँग छ।
‘हरेक काममा निरन्तर लागिरहनु यी जंगली कुकुरको सबभन्दा ठूलो विशेषता हो,’ डा. क्रिलले भने।
सबै तस्बिर: न्यूयोर्क टाइम्स