नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बिबिसी मास्टर सेफ’ को टोली नेपाल आउने भएको छ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरूत्थान अभियानअन्तर्गत ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरूलाई नेपाल ल्याउन लागेको हो।
मौलिक संस्कृति र खानामार्फत् गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले सो टोलीलाई नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले विज्ञप्तिमार्फत् जनाएको छ।
पाटा नेपालका अनुसार मास्टर सेफ टोली ७ अप्रिल २०२२ मा काठमाडौं आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ।
सेफ सन्तोष साहका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र यहाँका विभिन्न स्थानहरूमा पर्यटन प्रवर्द्धनमा सहभागी हुनेछन्।
उक्त कार्यक्रमअन्तर्गत काठमाडौंमा ‘फाइनडाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारू संस्कृति तथा खानासम्बन्धी प्रवर्द्धधनात्मक कार्यक्रमसहित मास्टर सेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ।
त्यसैगरी, सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामा समेत भ्रमण एवम् पर्यटन प्रवर्द्धनका कार्यक्रमसमेत रहेको छ।
मास्टर सेफहरूले अप्रिल ११ मा काठमाडौंमा आयोजना हुने पाटा नेपालको ४५ औं वार्षिक साधारण सभाको औपचारिक समारोहमा पनि सहभागी हुनेछन्।
पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टू नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवर्द्धधकका रूपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरका रूपमा श्रीलंकन एयरलाइन्स, बैंकिङ पार्टनरका रूपमा नबिल बैंक र हेल्थ पार्टनरका रूपमा सिवेक हस्पिटलले सहयोग गरेका छन्।
त्यसैगरी, बुद्ध एयर, समिट एयर, नाथम, केजिएच ग्रुप अफ होटेन्स, कम्युनिटी होमस्टे, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, सनफ्लो सनफ्लावर आयल र हाइग्राउन्ड एडभेन्चर समेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका छन्।