महिनावारीका कुरा- दोस्रो शृंखला
सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिएर आएका छौं। यसमा सुदूरपश्चिमको महिनावारी अनुभव प्रकाशन गर्नेछौं।
...
सुशीला धामी जम्मा छ वर्षकी थिइन्, जब उनले पहिलोचोटि महिनावारीबारे थाहा पाइन्।
महिनावारी हुँदा आफ्नी आमा, फुपू र दिदी घरभित्र नबसेर गोठमा गाईगोरूसँग बस्ने गरेको उनी देख्थिन्।
उनको गाउँमा गाईगोरू बाँध्ने गोठ घरको तल्लो तलामा बनाइएको हुन्थ्यो। गोठको एकछेउ स्याउला र पराल ओछ्याएर महिनावारी भएकाहरू बस्ने गर्थे।
सुशीलाको घरमा पनि त्यस्तै चलन थियो।
उनको जन्म बझाङको दुर्गाथली गाउँपालिका–६, चुहावनमा भएको हो। उनको गाउँमा महिनावारीका लागि अलग्गै छाउघर बनाउने चलन थिएन। गाईगोरूका लागि बनाइएका गोठ नै महिनावारी भएकाहरूले प्रयोग गर्ने छाउघर थियो।
गोठमा बस्नुपर्दा अनेक समस्या भोग्नुपर्थ्यो। गोबर, गौहतको गन्ध, सर्प र अन्य विषालु जीवको डर सामना गर्नुपर्थ्यो। जाडोमा निकै चिसो हुन्थ्यो भने गर्मीमा झिँगा, छान (मच्छर) र कीराहरूले दु:ख दिन्थे। गाईभैंसीबाट सर्ने रोगको जोखिम पनि उत्तिकै थियो।
सुशीलालाई पछि महिनावारी हुँदा त्यसरी नै बस्नुपर्छ भनेर घरकाले भन्थे। धन्न उनले त्यो अवस्था भोग्नुपरेन।
उनी नौ वर्ष पुग्दा उनको परिवार कैलालीको चुरे गाउँपालिका, बालुवागडामा बसाइँ सऱ्यो। त्यहाँ डोटी, बैतडी, बझाङ लगायत धेरै जिल्लाका मान्छेको बसोबास थियो। फरक जिल्लाका मान्छेको महिनावारी बार्ने चलन पनि फरक थियो। डोटीकाले महिनावारी भएकालाई राख्न अलग कुटी बनाएका थिए भने अछाम र बैतडीकाले छाउगोठ बनाएका थिए।
सुशीलाको छिमेकमा मगर र गुरूङ परिवार बस्थे। उनीहरू महिनावारी बार्दैन थिए। त्यसैको प्रभावले उनको घरकाले पनि छाउगोठ वा कुटी बनाएनन्।
सुशीला पहिलोपटक महिनावारी हुँदा १३ वर्षकी थिइन्। महिनावारी भएको थाहा पाएपछि भागेर जंगल गएको उनी बताउँछिन्।
त्यहाँ एउटी बहिनीलाई भेटेर उनले आफू महिनावारी भएको कुरा आमालाई सुनाइदिनू भनिन्।
आमाले थाहा पाएपछि भाइलाई बिस्कुट, चाउचाउ लगायत खानेकुरा दिएर उनी भएकै ठाउँ पठाए, सुशीलाले भनिन्, 'म जंगलमै थिएँ। कसरी घर जाने होला भनेर सोच्दै थिएँ। पछि भाइ नै खानेकुरा लिएर लिन आयो। मैले भाइलाई छुन पाइनँ। उसले दिएको खानेकुरा पनि परबाट थापेर समातेँ।'
बझाङ छँदा आमा, फुपू र दिदीले गाईगोठमा अलग्गै बसेको उनले सम्झिइन्। आफू पनि त्यसैगरी बस्नुपर्ने हो कि भन्ने उनलाई चिन्ता थियो। तर उनले सोचेभन्दा केही फरक भयो।
घरकाले उनलाई गोठमा राखेनन्, बरू अर्काको बाँझो घरमा बस्न लगाए। त्यो घर अलि टाढा जंगलनजिकै थियो।
'त्यहाँका मान्छे तराई झरेका थिए। घर बाँझो थियो, त्यसैले मलाई त्यहीँ बस्न लगाए,' उनले भनिन्, 'त्यो घर त्यति सुरक्षित थिएन। ढोका राम्रो थिएन। जंगल नजिक भएकाले जंगली जनावरको डर थियो।'
उनलाई त्यहाँ बस्न घरबाट ल्याएको कम्बल, ओढ्ने र गुन्द्री दिइयो। उनले उज्यालै छँदा खाना खाइन् र सम्साँझै ओछ्यान लगाएर पल्टिहालिन्।
'घरमा अँध्यारो थियो। मसँग टर्चलाइट थिएन। डरले रातभरि निन्द्रा लागेन। मसँग प्याड पनि थिएन। सुत्न निकै अप्ठ्यारो भयो। जंगल नजिक भएकाले डर लागिरह्यो,' उनले भनिन्।
पहिलो रात प्याड नहुँदा गाह्रोसँग काटिन्। दोस्रो दिन उनकी आमाले पुराना कपडाको टालो बनाएर दिइन्। यसले उनलाई केही राहत मिल्यो।
उनले दोस्रो दिन पनि खाना र पानी अलग थापेर खानुपर्यो। सरसफाइका लागि घरबाट करिब बीस मिनेट हिँडेर नदी जानुपर्थ्यो।
'नदी पुग्न जंगलको बाटो हिँड्नुपर्थ्यो। बाहिर खुल्ला नुहाउनुपर्दा साह्रै गाह्रो भो,' उनले भनिन्।
महिनावारी भएको दुई दिनसम्म सुशीला स्कुल गइनन्। तेस्रो दिन पनि आधादिन मात्रै पढेर फर्किनुपरेको उनी सुनाउँछिन्।
उनको स्कुलमा शौचालय राम्रो थिएन। न सरसफाइ गर्न पानी थियो, न उनीसँग प्याड नै थियो। त्यसमाथि पेट धेरै दुख्न थालेपछि स्कुलबाट पढाइ छाडेर फर्किनुपर्यो।
यसरी उनी आठ दिनसम्म घरबाट टाढा अनेक समस्या सहेर बसिन्। पढाइ पनि बिथोलियो।
'मैले त कहिल्यै छाउगोठमा बस्नुपरेन तर त्यसरी गोठमा बसेका अरूलाई सर्पले टोकेका घटना सुन्थेँ। आगो सल्केर घाइते भएका पनि सुन्थेँ। म घरमै बसे पनि छाउगोठमा बस्नुपरेको भए कस्तो हुन्थ्यो होला भनेर अत्तालिन्थेँ,' उनले भनिन्।
चार वर्षअघि उनको परिवार चुरे गाउँपालिकाबाट बसाइँ सरेर तराई झऱ्यो। तराईमा पनि महिनावारी बेला घरभन्दा टाढै बस्नुपरेको सुशीला बताउँछिन्।
उनी दुई वर्षअघि अध्ययन गर्न धनगढी आइन्। धनगढीजस्तो ठूलो सहर आएपछि छोइछाउबाट छुट्कारा पाइएला भन्ने उनले सोचेकी थिइन्। तर त्यस्तो भएन।
उनले धनगढीमा पनि महिनावारी बार्ने सकसबाट मुक्ति पाइनन्। सहरका मान्छे पनि छोइछाउको जकडबाट मुक्त नभएको देखेर उनी छक्क परेकी छन्।
सबभन्दा पहिला त उनलाई धनगढीमा कोठा खोज्नै सकस पर्यो। जहाँ कोठा खोज्न जाँदा पनि उनलाई दुइटा प्रश्नले लखेट्थ्यो- जात र महिनावारी।
चार-पाँच दिन लगातार खोजेपछि बल्लतल्ल उनले एउटा कोठा पाइन्।
'घरबेटीहरू सुरूमा जात सोध्ने गर्थे। त्यसपछि कति जना बस्ने? कति महिना बस्ने? महिनावारी भएपछि खानेपानी भर्न पाइँदैन, नुहाउन बाहिर जानुपर्छ भन्थे। कतिले महिनावारी भएपछि तल्लो तलाको छतमा जान पाइँदैन भन्थे,' उनले भनिन्।
धनगढीमा पढ्न आएकी सुशीला यी सबै सर्त मान्न बाध्य भइन्।
महिनावारी बेला अलग्गै नुहाउने र खानेपानी नछुने सर्तमा उनले कोठा पाइन्। तर त्यहाँ उनी दुई महिना मात्रै बसिन्।
'प्याड फाल्न गाह्रो भयो। केटा मान्छेले देख्छन् भनेर राति वा बिहानै ४ बजे नल्कामा नुहाउनुपर्थ्यो। नल्कामा पर्खाल थिएन। खुल्ला नुहाउन गाह्रो लाग्थ्यो,' उनले भनिन्।
महिनावारीकै अप्ठ्यारोले उनले डेरा छाडिन्। नयाँ कोठा खोजेकी थिइनन्, त्यसैले आफ्ना सामान साथीकोमा राखिन्।
यसपटक कोठा खोज्न उनलाई पहिलेभन्दा गाह्रो भयो।
'चौध दिन खोज्दा पनि पाएनौं। पहिला जात सोध्ने, त्यसपछि महिनावारीको कुरा निकाल्ने। महिनावारी भएपछि अलग ठाउँमा नुहाउनुपर्छ भन्ने,' उनले भनिन्, 'जात र महिनावारीबारे किन सोध्नुहुन्छ भनेर प्रश्न गरे उल्टो गाली खाइन्थ्यो।'
पन्ध्र दिनपछि उनले बल्लतल्ल कोठा पाइन्। त्यहाँ पनि बाहिर नल्कामै नुहाउनुपर्थ्यो। खानेपानी छुन पाइँदैन थियो।
'महिनावारी हुँदा धेरै सरसफाइ चाहिन्छ, बाहिर नुहाउन गाह्रो हुन्छ, भित्र नुहाउँदा के फरक पर्छ र भनेर सोध्न मन लाग्थ्यो। तर कोठा सर भन्छन् कि भन्ने डर लाग्थ्यो। बाहिर नुहाउन अहिले पनि गाह्रै लाग्छ। वल्लोपल्लो घरका मान्छे हुन्छन्, देख्छन् भन्ने पिर हुन्छ,' उनले भनिन्, 'अहिले त मान्छे पढेलेखेका छन्। तै पनि किन यस्तो व्यवहार गर्छन् भन्ने लाग्छ।'
सुशीलाले आफ्नो समस्या आमासँग पनि बाँडिन्। आमाले अर्काको घरमा बसेपछि केही कुरा मन नपरे पनि सुन्नुपर्छ, सहनुपर्छ भनेर सम्झाइन्।
महिनावारी हुँदा एकातिर पेट दुख्ने र अर्कातिर प्याड किन्न नसकेर कपडा प्रयोग गर्नुपर्ने अवस्था आउने गरेको उनले सुनाइन्।
आफू मात्र होइन, धनगढीका आफ्ना साथीहरूले पनि यस्तै समस्या झेल्दै आएको उनको भनाइ छ।
'मेरो एक जना साथीले त महिनावारी हुँदा धारामा लुगा पखाल्यो भनेर डेरा नै छाड्नुपरेको थियो,' उनले भनिन्।
'हामीले छोइछाउको यो भेदभावबाट कहिले मुक्ति पाउने होला खोइ?'
'महिनावारीका कुरा' को पहिलो शृंखलामा प्रकाशित स्टोरीहरू: