नेपालको जनसंख्या २०७८ मा दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।
बुधबार केन्द्रीय तथ्यांक विभागले जारी गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९२ लाख पुगेको हो।
दस वर्ष अघि २०६८ सालमा गरेको जनगणनामा नेपालको जनगणना २ करोड ६४ लाख ९४ हजार ५०४ थियो।
त्यसको तुलनामा नेपालको जनसंख्या दस वर्षमा १०.१८ प्रतिशत बढेको विभागले जनाएको छ। पछिल्लो १० वर्षमा २६ लाख ९७ हजार ९७६ ले जनसंख्या बढेको हो।
नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो देशको वृद्धिदर पछिल्लो आठ दशककै न्यून वृद्धिदर हो।
२०५८ देखि २०६८ सालसम्मको वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो।
११० वर्षअघि अर्थात १९६८ सालमा नेपालको जनसंख्या जम्मा ५६ लाख ३८ हजार ७४९ थियो।
१९७७ सालमा सो जनसंख्या घटेर ५५ लाख ७३ हजार ७८८ पुगेको थियो। त्यस्तै १९८७ मा पनि जनसंख्या घटेर ५५ लाख ३२ हजार ५७४ पुगेको थियो।
त्यसपछिका जनगणनामा भने जनसंख्या बढेको विभागको तथ्यांकले देखाएको छ।
१९९८ मा नेपालको जनसंख्या ६२ लाख ८३ हजार ६४९ पुगेको हो।
नेपालको जनसंख्या २०२८ मा मात्रै एक करोड १५ लाख ५५ हजार ९८३ पुगेको हो।
२०५८ सालमा नेपालको जनसंख्या बढेर दुई करोड ३२ लाख ५१ हजार ४२३ पुगेको विभागले जनाएको छ।
अहिले २०७८ मा प्रकाशित प्ररम्भिक तथ्यांक अनुसार भने सो संख्या बढे दुई करोड ९१ लाख पुगेको हो।
यसैगरी नेपालमा बुधबार सार्वजनिक भएको जनगणनाको नतिजाअनुसार पुरूषको भन्दा महिलाको जनसंख्या बढी देखिन्छ।
नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।
नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ छ।
त्यसैगरी पछिल्लो १० वर्षमा भौगोलिक क्षेत्रअनुसार तराईको जनसंख्या २३ लाख ४७ हजार १२३ ले बढेको छ।
तराईमा हाल जनसंख्या एक करोड ५६ लाख ६५ हजार ८२८ पुगेको छ। २०६८ मा तराईमा एक करोड ३३ लाख १८ हजार ७०५ जनसंख्या थियो।
विभागका अनुसार १० वर्षअघि तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत थियो। अहिले सो संख्या बढेर ५३.६६ प्रतिशत पुगेको हो।
त्यो भनेको तराईमा मात्रै २३ लाख ४७ हजार १२३ ले जनसंख्या वृद्धि भएको हो।
यस्तै हिमाली क्षेत्रमा १० वर्षअघि कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा अहिले ६.०९ प्रतिशतमा झरेको देखिएको विभागले जनाएको छ।
२०६८ सालमा हिमाली क्षेत्रको जनसंख्या १७ लाख ८१ हजार ७९२ थियो। हाल जनसंख्या घटेर १७ लाख ७८ हजार १०४ पुगेको हो।
यसैगरी पहाडी क्षेत्रमा १० वर्षअघि १ करोड १३ लाख ९४ हजार ७ अर्थात ४३.०१ प्रतिशत जनसंख्या थियो। अहिले सो जनसंख्या एक करोड १७ लाख ४८ हजार ५४८ पुगेको हो।
विभागका अनुसार सो जनसंख्या पहिले ४३.०१ प्रतिशत रहेकोमा ४०.२५ प्रतिशतमा झरेको हो।
विदेशिने महिलाहरूको संख्या ७१ प्रतिशतले वृद्धि भएको छ।
१० वर्ष अघिको तुलनामा विदेशिने महिलाहरूको संख्या बढेको हो।
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको २०७८को जनगणनाको प्रारम्भिक नजिताअनुसार अहिले विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको हो।
अहिले कुल २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू विदेशमा बसोबास गर्दै आएको प्रारम्भीक तथ्यांकले देखाएको छ।
जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष र ४ लाख ६ हजार १०३ महिला विदेशमा बसोबास गर्दै आएका छन्।
त्यो भनेको ८१.२८ प्रतिशत पुरूष र १८.७२ प्रतिशत महिला विदेशमा छन्।
१०वर्ष अघिको तथ्यांकलाई हेर्ने हो भने जम्मा विदेशिनेको संख्या १९ लाख २१ हजार ४९४ जना थियो।
जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ जना पुरूष र महिला २ लाख ३७ हजार ४०० जना थिए।
त्यतिबेला विदेशिने पुरूषको संख्या ८७.६४ प्रतिशत थियो भने महिलाहरूको जम्मा १२.३६ प्रतिशत मात्रै थियो। त्यसअनुसार अहिले महिलाहरू विदेशिने दर बढेको छ।
यस्तै भौगोलिक क्षेत्रअनुसार तराईका १० लाख ६५ हजार ९६९ जना, पहाडका ९ लाख ८४ हजार ८९६ हजार र हिमालका १ लाख १८ हजार ६१३ जना विदेशमा रहेको देखिन्छ।