आइतबार बिहान हामी पहिलो घन्टी पढाएर दोस्रो कक्षा लिँदै थियौं। ११ देखि ११:४५ बजेको कक्षा चलिरहेको थियो।
छ महिनायता म मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर- २ स्थित जनआदर्श अमरसिंह माध्यामिक विद्यालयमा पढाउँदै आएको छु। घर मेरो पर्वत हो।
यहाँ ११ र १२ कक्षालाई पढाउँदै आएको छु। हाम्रो कृषि क्याम्पस पनि हो।
आज कक्षा ११ मा माटो विज्ञान विषय पढाउँदै थिएँ। करिब ११:४० बजेको थियो। आकाश गज्रिएकोजस्तो ठूलो आवाज आइरहेको थियो। कक्षाकोठाभित्र भएकाले के भएको हो भन्ने थाहा पाइसकेको थिइनँ।
तलबाट गाउँलेहरूले पहिरो खसेको पहिल्यै देखेछन्। हेडसरलाई फोन गरेछन्।
सर बाहिर निस्केर सबैलाई भाग-भाग भन्नुभयो। आवाज आएको र सरले भाग भन्दै आउनुभएको एकै समय भयो।
बाहिर आएर माथितिर हेर्दा धुँवा-धुलो उडिरहेको थियो। हामीले बल्ल ठूलो हिमपहिरो आएको थाहा पायौं।
हामीले भूकम्पले पहाड भत्काएर पहिरो खसेको हो कि भन्ने सोच्यौं। कति माथिबाट खसेको छ भन्ने एकिन गर्न सकेनौं। रूखहरू पनि भाँच्चिएको देख्यौं। धुँवा-धुलो मिसिएको पहिरो विद्यालय नजिकै आउँदै थियो।
पुरिने डरले शिक्षक-विद्यार्थी एकैचोटी भाग्यौं। विद्यालयमा लगभग १२० जना विद्यार्थी र २७ जना स्टाफ थियौं। विद्यार्थीहरू पनि धेरैजसो यहाँकै छन्, केहीचाहिँ म्याग्दीबाट पनि आउँछन्।
भाग्ने क्रममा लडेर घाइते तीन जना स्टाफ र आठ जना विद्यार्थी सामान्य घाइते भएका छन्। दुई जना महिला र एक जना पुरूष शिक्षक घाइते भएका हुन्। उहाँहरूलाई हामीले गाडीमा हालेर जोमसोम अस्पताल ल्याएका छौं। उपचार भइरहेको छ।
उहाँहरूको खुट्टा मड्किएको, फ्याक्चर भएको छ। धेरै चोट लाग्न पाएन। ठूलो मानवीय क्षति हुन पाएन।
विद्यालयमाथिको पहाडले उताबाट आएको पहिरोलाई अर्कोतिर डाइभर्ट गरिदियो। हाम्रो विद्यालय भएको ठाउँमा आइपुगेन।
नत्र हाम्रो स्कुललाई पुर्थ्यो। हामी पनि पुरिन्थ्यौं होला। पहिरो अर्कोतर्फ गयो। हामीलाई हिउँसहितको उडेर आएको धुलो-धुँवा र पानी मात्रैले असर गर्यो। त्यसका छिटाहरूले भिजायो।
हाम्रो त्यहाँ होस्टेल पनि राखिएको थियो। अब त्यहाँ बस्न सक्ने स्थिति भएन। होस्टेल भत्किएको त छैन। तर माथिको पहाडबाट फेरि पहिरो लड्छ कि भनेर मानसिक रूपमा विद्यार्थीहरूलाई राख्न सक्ने जस्तो नभएको भएर चार-पाँच दिनको लागि अर्को बासस्थान खोजिरहेका छौं।
(सेतोपाटीका युनिक श्रेष्ठसँगको कुराकानीमा आधारित)