एकदिन म मर्नेछु।
म मरेपछि जब मलाई जन्मदूत र कर्मदूत नाम गरेका दुई जना यमदूतले पाप र पुण्यको नापतौल गर्न यमराजको सभामा उपस्थित गराउने छन्, तब यमराज मलाई सोध्नेछन्, ‘तिमीले गुइतः (पाटन) को धँल्याः हिति हेरेका छौ?’
म भन्नेछु, ‘हेरेको छु प्रभु।’
त्यसपछि यमराज आफ्ना सेवकहरूलाई आदेश दिनेछन्, ‘त्यसो भए यिनको लागि स्वर्गलोकको ढोका खोलिदिनू।’
सेवकहरू यमराजको सभाबाट जुरूक्क उठ्नेछन् र मेरो लागि स्वर्गलोकको ढोका खोलिदिनेछन्।
घटटट, चररर, पररर, किटकिट गर्दै जसै स्वर्गलोकको विशाल प्रवेशद्वार खुल्ला, म यमराजलाई दुई हात जोडेर नमस्कार गर्दै बढो शानका साथ स्वर्गलोकमा प्रवेश गरूँला।
त्यो बेला सायद म सोचुँला, ‘धन्न मैले २०७८ भदौ ६ गते गुइतःको धँल्याः हिति हेरेछु।’
मैले त स्वर्गलोकमा आफ्नो स्थान सुरक्षित गरिसकेँ, तपाईंहरूले नि!
यो स्टोरी मेरो अघिल्लो गुइतः कथाकै निरन्तरता हो। (हेर्नुहोस्- गौतम बुद्धले सुनाएको पाटनको एउटा टोलको कथा)
(अघिल्लो स्टोरीको रिक्यापः
पाटन भित्री बस्तीको सबभन्दा पुछारको टोल गुइतः घुम्ने क्रममा करिब पाँच महिनाअघि बेखारत्न शाक्य, उमेर ७५ वर्ष, सँग मेरो भेट हुन्छ। आफ्नो टोलका कथा–किम्बदन्ती सुनाउँदै उनी मलाई जनैपूर्णिमाको दिन गुइतः आउने निम्तो दिन्छन् र भन्छन्, ‘त्यस दिन यहाँको प्रथमश्री महाविहारमा पुराना पौभाः चित्रहरू देखाइन्छ। म चित्र पनि देखाइदिउँला, त्यो चित्र हेर्दै कथा पनि भनुँला।’ तर अस्ति भदौ ६ गते जनैपूर्णिमाको दिन बेखारत्नलाई फोन गर्दा दुई महिनाअघि नै उनको मृत्यु भइसकेको थाहा हुन्छ।
मलाई गुइतःका पुराना पौभाः चित्रहरू देखाउने बेखारत्नको अन्तिम इच्छा थियो। त्यसैले उनी नभए पनि म त्यस दिन प्रथमश्री महाविहार पुग्छु र बेखारत्नले सुनाउन चाहेको तर सुनाउन नपाएको कथा नानीकाजी शाक्य र ज्ञानेन्द्र शाक्यबाट सुन्छु।
आजभन्दा २६ सय वर्षअघि गौतम बुद्धले जेतवन विहारमा घना पिपलको वृक्षमुनि बसेर आफ्ना शिष्यहरूलाई सुनाएको चार भागको उपदेश–कथा त्यो पौभाः चित्रमा छ। त्यसैमार्फत् उनले गुइतः नगर स्थापनाको कथा भनेका छन्। पौभाः चित्रको अन्तिम भाग मरणानुस्मृति अर्थात् कुनै दिन मर्नुपर्छ भन्ने चेतनासँग सम्बन्धित छ र यसैसँग लिच्छवि राजा वृषदेवको मृत्यु र उनको यमलोक यात्राको कथा जोडिन्छ।
यहाँसम्म तपाईंले अघिल्लो भागमा पढ्नुभयो, अब अगाडि...)
करिब सत्र सय वर्षअगाडि, बिक्रम सम्बतको चौथौं शताब्दीमा, यहाँ लिच्छवि राजा वृषदेवको शासन थियो। उनी राजा मानदेवका जिजुबुवा हुन्– हजुरबुवाका पनि बुवा।
वृषदेव बौद्ध धर्मका अनुयायी थिए। उनले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बौद्ध चैत्य निर्माण गराएको इतिहास छ। उनी हरेक दिन बज्रयोगिनीलाई भोजन दान गरेपछि मात्र आफू भोजन गर्थे। भन्तेहरूका निम्ति उपत्यकाका विभिन्न ठाउँमा विहारहरू निर्माण गराएका थिए। उनी एकदमै धेरै पूजापाठ र अनुष्ठान गर्थे र मठ–मन्दिरहरूमा दर्शन गर्न गइरहन्थे।
एकदिन राजा वृषदेव पाटनको लगनखेल थुर (जसलाई सत्ययुगको संस्मरणमा बनाइएको महाचैत्य मानिन्छ) दर्शन गर्न गएका थिए।
अगाडि–पछाडि बाजागाजाको लश्कर थियो। साथमा उनका पत्नी र छोराछोरी, भाइभारदार र भन्तेहरू थिए। सेनाको एउटा टुकडी पनि सुरक्षा निम्ति सँगसँगै थियो। तर धर्मात्मा राजाले हातहतियार लिएर तीर्थस्थल छिर्नु हुँदैन भनेर सेनाको टुकडीलाई लगनखेल थुरबाहिर सप्तपाताल पोखरी (जसलाई लामो कानुनी लडाइँपछि ब्युँताउने प्रयास भइरहेको छ) कोकिनारमै बस्नू भनेका थिए।
मौसम घामछायाको थियो। आकाशमा काला बादल मडारिएका थिए। घाम बेलाबेला बादलको लिहाफभित्र हराउँथ्यो र पानी पर्ला पर्लाजस्तो हुन्थ्यो। तेज हावाहुरी चलिसकेको थिएन तर हावाको गति बढ्दै गएको थियो। चराचुरूंगीहरू च्याँच्याँ चिँचिँ गर्दै गुँड फर्किन हतारिएका थिए। दक्षिणतिर गोदावरीमाथिको आकाशलाई कालो बादलको उरुङले आफ्नो लपेटमा लिइसकेको देखिन्थ्यो। त्यो बादल उड्दै उड्दै लगनखेलतिरै सर्दै थियो।
राजा वृषदेव भन्तेहरूलाई अगाडि लगाएर आफू टिङटिङ घन्टी बजाउँदै थुर परिक्रमा गर्न थाले। पत्नी र छोराछोरी र भाइभारदारहरू पछि पछि थिए।
वृषदेवले लगनखेल थुरको पहिलो चक्कर लगाए।
पहिलो चक्कर पूरा भएपछि भुइँमा लम्पसार परेर थुरलाई साष्टांग दण्डवत गरे।
त्यसपछि दोस्रो चक्कर लगाए।
दोस्रो चक्कर पूरा भएपछि फेरि भुइँमा लम्पसार परेर दोस्रोचोटि साष्टांग दण्डवत गरे।
दोस्रोचोटि साष्टांग दण्डवत गरेर उठ्दा उनलाई देब्रे छातीमा शूल रोपेझैं टनटन पीडा भयो। भुइँमा लम्पसार पारेका हातगोडा खुम्च्याएर दुवै हातले भुइँ टेक्दै जीउलाई तिनिक्क माथि उठाउँदा उनलाई तीन भुवन भननन घुमेझैं रिंगटा चल्यो। जीउभरि करोडौं कमिलाले एकसाथ किटिकिटी टोकेझैं उनी चलमलाए।
उनले कसरी–कसरी आफूलाई सम्हाले र छातीको अथाह पीडा र रोटे पिङझैं चक्कर लागिरहेको शिर थामेर तेस्रोचोटि थुर परिक्रमा थाले।
तेस्रो परिक्रमा आधा पनि नसकिँदै उनी पानीमा भिजेको कागजझैं ठाउँको ठाउँ लल्याकलुलुक भए। एक पाइला अगाडि सार्न सकेनन्। ठिंग उभिरहन पनि सकेनन्। जीउभरि चिटचिट पसिना छुट्यो। उनी पीडाले दाँत किटकिटाउन थाले र भुइँमा हल न चल डल्लो परे।
सायद उनलाई एक्कासि हृदयाघात भएको थियो!
त्यही बेला दक्षिणतिरबाट सर्दै सर्दै आएको कालो बादलले लगनखेलमाथिको आकाशलाई खर्लप्पै आफ्नो लपेटमा लियो र झमझम पानी पर्यो।
राजा निष्प्राण हुँदै गएको देखेर पत्नी र छोराछोरी, भाइभारदार र अन्य सेवकहरूले भर दिन खोजे। उनलाई दरबारतिर दौडाउन हतारहतार घोडाबग्गी बोलाए।
तर घोडाबग्गी लगनखेल थुर आउन नभ्याउँदै राजा वृषदेवको प्राण गयो।
उनको प्राण लगनखेल थुरबाट सिधै यमलोक पुग्यो।
जन्मदूत र कर्मदूत नामका दुई जना भयंकर डरलाग्दा यमदूतले वृषदेवको प्राणलाई यमराजको सभामा उपस्थित गराए।
पृथ्वीमा सानै मुलुकको भए पनि राजा भएर बसेका वृषदेवको प्राणलाई यमराजको सभामा अपराधीझैं ठिंग उभ्याइयो। त्यहाँ पृथ्वीलोक र अरू थुप्रै लोकहरूबाट मरेर गएका प्राणीहरूको हंस आफूले जिन्दगीभरि गरेका पाप र पुण्य, न्याय र अन्यायको नापतौल निम्ति पालो पर्खेर बसेका थिए।
जसै यमराजको इजलासमा वृषदेवको सुनुवाइ हुने पालो आयो, जन्मदूत र कर्मदूतले वृषदेवको प्राणलाई च्याप्प समातेर यमराजको अगाडि उभ्याए।
यमराजले उनलाई देख्नेबित्तिकै चिनिहाले।
पृथ्वीलोकका धर्मात्मा राजा वृषदेवलाई त्यसरी बिनासम्मान यमलोकको सभाकक्षमा ल्याइएको देखेर यमराज रिसले आगो भए। उनले आफ्ना दुई जना दूतलाई बेस्कन हप्काए र भने, ‘यस्तो पुण्यवान् राजालाई सुझ्झ न बुझ्झ यसै उठाएर ल्याउने! उनको त आयु पनि सकिएको छैन। तिमीहरूले के सोचेर उनलाई टप्प टिपेर ल्यायौ हँ?’
यमराज रिसाएको देखेर जन्मदूत र कर्मदूतको सातो गयो। उनीहरू कालो–निलो भएर मुन्टो निहुराएर उभिइरहे।
यमराजले अगाडि भने, ‘अझै के हेरेर बसेका छौ तिमीहरू? उनलाई झट्टै धँल्याः हितिमा लग र आयु परीक्षण गराऊ।’
जन्मदूत र कर्मदूतले दुई हात जोडेर ‘हवस् महाराज’ भने र वृषदेवको प्राणलाई यमराजको सभाकक्षबाट धँल्याः हितिमा लिएर गए।
धँल्याः हिति भनेको यमलोकको यस्तो धारा हो जहाँ मरेर गएका प्राणीको आयु परीक्षण गरिन्छ। आयु पूरा भइसकेको छ भने उसलाई धाराको पानी खान दिइन्छ। होइन भने धँल्याः हितिको ढोकाबाटै फर्काइन्छ।
धँल्याः हितिको ढोकामा एक जना बूढीआमै टुक्रुक्क बसेकी हुन्छिन् जसले मरेर आएका प्राणीको आयु गणना गर्छिन्।
जन्मदूत र कर्मदूतले जब राजा वृषदेवको प्राणलाई धँल्याः हितिमा लगे, ती बूढीआमैले आयु टिपिएको लगत झिकिन् र हिसाब गर्न थालिन्।
नभन्दै राजा वृषदेवको आयु बाँकी नै रहेछ। यमदूतहरूले झुक्किएर उनको प्राण हरेका रहेछन्।
यस्तो अक्षम्य गल्तीको बदलामा जन्मदूत र कर्मदूतले यमलोकको कानुनअनुसार कस्तो दण्ड पाए, त्यो त हामीलाई थाहा छैन तर राजा वृषदेवको प्राण भने ससम्मान पृथ्वीलोक फर्काइयो।
यता वृषदेवको दरबारमा रूवाबासी चल्दै थियो। जनता आफ्ना राजाको निधनमा शोकाकूल थिए। भन्ते र ब्राह्मणहरू मृतक राजाको अन्त्येष्टिको तयारी गर्दै थिए। त्यही बेला वृषदेवको मृत शरीरमा प्राण फर्कियो। शोकाकूल जनतामा खुसियाली छायो। दरबार र राज्यभरि हर्षबढाइँ गरियो। भन्ते र ब्राह्मणहरूले मृत्यु जितेर आएका राजाका नाममा यज्ञ र अनुष्ठानहरू गरे।
मृत्युबाट ब्युँतिएपछि राजा वृषदेवलाई यस्तो लाग्यो, मानौं उनी लामो निद्राबाट ब्युँझिएका हुन्। उनले मर्नुअघि पृथ्वीलोकका घटना पनि सम्झेका थिए र मरेपछि यमलोकमा भएका घटना पनि सबै सम्झेका थिए। उनले आफ्नो दरबारमा एउटा ठूलो सभा डाके र सबैलाई यमलोक यात्राको बेलीबिस्तार लगाए, ‘मैले साक्षात् यमराजको दर्शन पाएँ। उहाँले बकाइदा मेरो आयु परीक्षण गराउनुभयो र मेरो आयु बाँकी नै छ भन्ने ठहर भएपछि मलाई पूर्ण सम्मानका साथ पृथ्वीलोक फिर्ता पठाइदिनुभयो।’
‘मैले पद्मपाणि लोकेश्वरले नरकमा गएर नरकवासीहरूलाई उद्धार गर्नुहुन्छ भन्ने कुरा बौद्ध धर्मको ‘कारण्डब्यूह’ ग्रन्थमा पढेको थिएँ,’ उनले भने, ‘ती यमराज उनै करूणामय लोकेश्वर हुनुपर्छ।’
त्यसपछि राजा वृषदेवले जटाधारी धर्मराज लोकेश्वरको प्रतिमा स्थापना गराए। पाटनको टंगबहालस्थित ज्येष्ठवर्ण महाविहारमा रहेको यो लोकेश्वरलाई जनबोलीमा धर्मराज, जमराज वा यमराज भनी सम्बोधन गरिन्छ।
टंगबहालको पूर्वउत्तर कुनामा एउटा खाल्डो पनि छ जसलाई यमद्वारको प्रतीक मानिन्छ।
कथा यहीँ सकिन्छ। मलाई यो कथा वर्णन गरेका थिए ज्ञानेन्द्र शाक्यले। कथा सुनाएपछि उनले भने, ‘वृषदेवले यमलोकमा देखेको धँल्याः हिति तपाईंले देख्नुभएको छ?’
यमलोकको धँल्याः हिति मैले कहाँ पाएर देख्नु!
के उनले मलाई पनि वृषदेवजस्तै एकचोटि मरेर फेरि बाँचेको सम्झेका हुन्!
होइन भने मर्दै नमरी धँल्याः हिति कसरी हेर्नु! कहाँ हेर्नु!
म सोचमग्न थिएँ, ज्ञानेन्द्रले भने, ‘ल आउनुस् म तपाईंलाई धँल्याः हिति देखाउँछु।’
उनले मलाई प्रथमश्री महाविहारको मूल मन्दिरभन्दा पूर्वतिरको एउटा कक्षमा लगे। काठले बारिएको त्यो कक्षलाई सलंशाला भनिँदो रहेछ।
मैले सलंशालाभित्र नियालेँ।
त्यहाँ काठको आसन थियो। आसनमाथि प्रभामण्डल थियो। प्रभामण्डलको अगाडि ‘यमराज’ भनिने धर्मराज लोकेश्वर र उनको साथमा भृकुटीतारा र आर्यतारा देवीका मूर्ति थिए।
धर्मराज लोकेश्वरको ठिकमुनि एउटा धारा थियो। धाराको मुख मकर आकारको थियो जसलाई ‘हितिमंग’ भनिन्छ। हितिमंगको ठिकमाथि एक बूढीआमैको मूर्ति थियो जसले टुक्रुक्क बसेर आफ्ना दुई हात एकअर्कामाथि खप्ट्याएकी थिइन् र दाहिने हत्केलाले देब्रे घुँडा र देब्रे हत्केलाले दाहिने घुँडा समातेकी थिइन्। धाराको दायाँबायाँ भयानक रूप भएका दुई यमदूत थिए।
‘यो यमलोकको धँल्याः हितिको प्रतिबिम्ब हो,’ ज्ञानेन्द्रले भने, ‘ती बूढीआमै प्राणीहरूको आयु हिसाब गर्ने महिला हुन् र दायाँबायाँका यमदूतहरू जन्मदूत र कर्मदूत हुन्।’
‘के यो पनि वृषदेवले नै बनाउन लगाएका हुन्?’ मैले सोधेँ।
‘त्यो चाहिँ थाहा छैन तर वृषदेवको त्यही कथाका आधारमा बनेको पक्का हो।’
‘यो धाराबाट पानी आउँदैन?’ मैले फेरि सोधेँ।
‘यहाँ आउने अरू मान्छे पनि यस्तै प्रश्न सोध्छन्। यो धँल्याः हिति हो कि ध्वँला (झुक्याउने) हिति हो भन्दै व्यंग्य गर्छन्,’ उनले हाँस्दै भने, ‘यो पानी आउने साँच्चैको धारा होइन। वृषदेवको यमलोक यात्रा सम्झाउने प्रतिबिम्ब मात्र हो।’
‘प्रतिबम्ब मात्र भए पनि यो धँल्याः हिति दर्शन गरेपछि स्वर्गलोकको ढोका खुल्छ भन्ने विश्वास गरिन्छ,’ उनले अगाडि भने, ‘हामी मरेपछि पाप र पुण्यको न्याय–निसाफ गर्न यमराजकहाँ लैजाँदा ‘गुइतःको धँल्याः हिति हेरेको छ?’ भनेर सोधिन्छ रे। जसले हेरेको छ, उसको निम्ति स्वर्गलोकको ढोका खुल्छ रे।’
‘उसो भए स्वर्गलोकमा मेरो स्थान सुरक्षित भयो, होइन त?’
ज्ञानेन्द्र हाँसे।
यो त भयो धँल्याः हितिको कथा। अब हामी यो कथा गुइतःको प्रथमश्री महाविहारमा प्रदर्शन गरिएको पौभाः चित्रको अन्तिम भागसँग कसरी जोडिन्छ, त्यो हेरौं।
पौभाः चित्रको अन्तिम भागमा मृत्युपछिका घटनाहरू देखाइएका छन् — धँल्याः हितिमा मरेका मान्छेको आयु परीक्षण हुँदैछ। यमलोकका राजा यमराजले पाप–पुण्यको नापतौल गरेर पापीहरूलाई नरकको बाटो देखाउँदैछन्, पुण्यात्माहरूको निम्ति स्वर्गको ढोका खुल्दैछ।
नरक नै १६ किसिमको हुँदो रहेछ। पाप गर्ने बेला हामी कहिल्यै सोच्छौं त?
तपन नरकमा दुई जना यमदूतले हातखुट्टा च्याप्प समातेर आगोमाथि सेक्दा रहेछन्, जसरी हामी कुखुराको भुत्ला खुइल्याएर नांगेझार पारी आगोमाथि तुर्लुङ्ग झुन्ड्याउँछौं।
अविचि नरकमा भकभकी उम्लेको पानीमा डुबाइँदो रहेछ, जसरी हामी तातोपानीमा आलु उसिन्छौं।
कालसुत्र नरकमा चाहिँ उत्तानो पारेर दुई जना यमदूतले घाँटी रेट्दा रहेछन्, जसरी हामी कुखुराको घाँटी रेट्छौं।
चिसोले जीउ पटपटी फुट्ने र तातोले जीउको बोसोधरि तपतपी चुहिने नरक पनि हुँदो रहेछ।
कसैलाई भुइँमा सहश्रकाँडा बिछ्याएर खुट्टा रगतपच्छे हुने गरी ठमठम्ती हिँडाइदो रहेछ, कसैलाई चाहिँ आधा जीउ पानीमा डुबाएर बाँकी आधामा सहश्रकागले एकैचोटि ठुङठुङ ठुँगाइदो रहेछ।
कसैलाई नांगेझार पारेर ओखलमा डमडम पिसिँदो रहेछ, कसैलाई गहिरो र अँध्यारो इनारमा फुत्तफुत्त मिल्काइदो रहेछ। कसैलाई सर्पले बेरिँदो रहेछ, कसैको जीउमा शूल रोपिँदो रहेछ।
बाफ रे! मेरो त आङ नै सिरिंग भएर आयो!
ज्ञानेन्द्रका अनुसार गुइतःको पौभाः चित्र र राजा वृषदेवको यमलोक यात्राले बौद्ध धर्मको एउटा महत्वपूर्ण अभ्यासलाई झल्काउँछ, त्यो हो मरणानुस्मृति अर्थात् कुनै दिन मर्नुपर्छ भन्ने चेतना।
ज्ञानेन्द्रले यसको दार्शनिक पक्ष चर्चा गर्दै भने, ‘एकदिन मर्नुपर्छ, यो अकाट्य सत्य हो। तर जिन्दगीको यो सत्य हामी कहिल्यै सम्झिन चाहँदैनौं। हामी जति पनि कुकर्महरू गर्छौं, त्यो सबै मर्नुपर्छ भन्ने सत्य बिर्सेर हो। जब मान्छेले मर्नुपर्छ भनेर सम्झिन्छ, उसको रिस त्यसै दमन हुन्छ, अहंकार बिलाउँछ, लोभ हराएर जान्छ।’
‘जुन मृत्यु हाम्रो जीवनको अकाट्य सत्य हो, त्यही मृत्युसँग अधिकांश मानिस डराउँछन्। साथीभाइबीच मृत्युको कुरा उठ्यो भने हामी आँखा तरेर पन्छाउँछौं। ह्या मर्ने कुरा के गरेको, रमाइलो कुरा गरौं न भन्छौं। हामी फिल्मको कुरा गर्छौं, खेलको कुरा गर्छौं, राजनीतिको कुरा गर्छौं, देश–विदेशका कुरा गर्छौं तर जसै मृत्युको कुरा उठ्छ, हामी मुख टालेर चुप्प लाग्छौं। मरणानुस्मृतिले हामीलाई अवचेतनदेखि चेतन मनसम्म मृत्युलाई स्मरणमा राख्न सिकाउँछ।’
‘धँल्याः हितिले यो कुरा कसरी सिकायो त?’ मैले आफू प्रस्ट हुन चाहेँ।
जवाफमा उनले भने, ‘मृत्यु स्मरण गर्ने भन्दैमा मान्छेले जहिलेसुकै मृत्यु सम्झेर हिँड्दैन। त्यसैले यसलाई पौभाः चित्रमा उतारियो, यमलोकको धँल्याः हिति बनाएर संस्कृतिको हिस्सा बनाइयो। अब कम्तिमा वर्षको एकचोटि धँल्याः हिति हेर्ने बहानामा भए पनि मान्छेले मृत्यु स्मरण गर्छन्।’
मरणानुस्मृतिसँग जोडिएका अरू परम्परा पनि छन्, ज्ञानेन्द्रले भने, ‘हामीकहाँ मलामी हेर्नुलाई शुभ मानिन्छ। किनभने यसले एकछिनलाई भए पनि मृत्यु स्मरण गराउँछ। कसैको मृत्यु भयो भने मलामी जानुपर्छ भनेर भनिन्छ। किनभने यसले मृत्युलाई निरन्तर हाम्रो चेतनामा राख्छ। धँल्याः हिति हेर्नु भनेको पनि त्यस्तै हो।’
‘पौभा: चित्रले कर्म र कर्मफलको शिक्षा पनि दिन्छ। मान्छेले जस्तो बिउ रोप्यो त्यस्तै बिरूवा उम्रिन्छ, जस्तो कर्म गर्यो उस्तै फल पाउँछ। कुशल कर्मको फल सुखद हुन्छ, अकुशल कर्मको फल दु:खद हुन्छ। पापकर्म गर्यो भने कठोर नरकभोग हुन सक्छ भन्ने सन्देश दिन विभिन्न नरकका दृश्य चित्रण गरिएका हुन्।’
‘त्यसैले मृत्युलाई स्मरणमा राख्नु र त्यसैअनुसार अभ्यास गर्नु सबै दुःखबाट मुक्ति पाउने उपाय हो,’ उनले भने।
यसरी मृत्यु स्मरण गर्न र कुशल कर्म वृद्धि गर्न जनैपूर्णिमाको रातदेखि भोलिपल्ट दिनभरि पाटनमा ‘धर्मञ्जय यात्रा’ गर्ने चलन छ जसलाई बोलीचालीमा धँल्याः भनिन्छ।
यात्राको सुरूआत बाग्मती तीर्थस्नानबाट हुन्छ। त्यसपछि शंखमूल नजिकको इबही थुर, पुल्चोकको पुच्व थुर हुँदै टंगबहालको ज्येष्ठवर्ण महाविहार गएर जटाधारी लोकेश्वर र यमद्वार दर्शन गरिन्छ। त्यहाँबाट प्रयागपोखरी जाने चलन छ। अहिले पोखरी पुरेर त्यसमाथि स्कुल बनाइएको छ। तर यो यात्रा बेला एक दिनलाई भए पनि पानी जम्मा गरेर पोखरीको रूप दिइन्छ।
प्रयागपोखरी तरेपछि श्रद्धालुहरू लगनखेल थुर जान्छन् र त्यहाँबाट इमाडोलको तेता थुर हुँदै अन्तिममा गुइतःको धँल्याः हिति दर्शन गर्छन्।
‘धँल्याः हिति दर्शन गरे स्वर्गको ढोका खुल्छ भन्ने त विश्वासको कुरा हो, खासमा यो यात्राको अर्थ नै मृत्यु स्मरण हो,’ ज्ञानेन्द्रले भने।
कथा र किम्बदन्ती, दर्शन र धँल्याः यात्रा वर्णनपछि अब हामी यसको पछाडि लुकेका केही ऐतिहासिक तथ्यबारे चर्चा गरौं। यसका लागि मैले इतिहासकार धनवज्र बज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ र प्राध्यापक जगदिशचन्द्र रेग्मीको ‘लिच्छवि इतिहास’ पल्टाएँ।
राजा वृषदेव कुनै काल्पनिक पात्र होइनन्। उनी ऐतिहासिक राजा हुन्। मैले सुरूमै भनिसकेँ, उनी लिच्छवि राजा मानदेवका जिजुबुवा हुन् अर्थात् हजुरबुवाका पनि बुवा।
वृषदेवका बारेमा हाम्रो इतिहास प्रस्ट छ। मानदेवको चाँगुनारायणको अभिलेख र जयदेव द्वितीयको पशुपतिको अभिलेखमा वृषदेवलाई ‘अनुपम, बेजोड र उत्तम’ राजाको उपमा दिइएको छ।
उनी भारतका शक्तिशाली सम्राट समुद्रगुप्तका समकालीन थिए। त्यति बेला नेपाल राजनीतिक रूपले गुप्त साम्राज्यको अधीन त होइन तर पूर्ण रूपमा स्वतन्त्र पनि थिएन। समुद्रगुप्तले बलियो साम्राज्य खडा गरेपछि लिच्छविहरूले आत्मरक्षाका लागि कर बुझाउनुपरेको थियो। वृषदेवकै पालामा नेपाल त्यो बन्धनबाट मुक्त भयो। यसलाई वृषदेवको राजनीतिक उपलब्धि मानिन्छ। तर साँचो अर्थमा भन्दा, यसमा उनको व्यक्तिगत योगदान कम देखिन्छ। समुद्रगुप्तको निधनपछि गुप्त साम्राज्य पतन हुन थाल्यो। नेपालमा भने त्यसपछि पनि तीन वर्ष वृषदेव नै शासनमा रहे। त्यही अवधिमा मौका छोपेर उनले तिरो तिर्ने चलन बन्द गराएका हुन सक्छन्।
समुद्रगुप्तपछि कुनै पनि गुप्त राजाले नेपाललाई फेरि करकापमा पार्न सकेनन्। समुद्रगुप्तको प्रभावबाट मुक्त गरेकैले वृषदेवलाई उनका पनाति मानदेव र धेरैपछि जयदेव द्वितीयले आ–आफ्नो अभिलेखमा विशेष चर्चा गरेका हुन सक्छन्।
यो त भयो राजा वृषदेवको राजनीतिक प्रसंग, अब धँल्याः हिति किम्बदन्तीले वृषदेवको जीवनको कुन पाटो संकेत गर्छ, त्यसतर्फ विचार गरौं।
वृषदेवलाई उनका नाति धर्मदेवले पशुपतिको अभिलेखमा ‘वर्षशतञ्चकार’ भनेका छन्। यसको अर्थ, वृषदेवले सय वर्ष शासन गरेको बुझिन्छ। उनको शासनकाल विक्रम सम्बत् ३४० देखि ४४० बीच हुनसक्छ। यसैबीच कुनै बेला वृषदेव मरणासन्न बिरामी परेका हुन सक्छन्। राजवैद्यहरूले उनको माया मारिसकेका हुन सक्छन्। लगनखेल थुर दर्शन गर्ने क्रममै उनी त्यस्तरी बिरामी परेका थिए कि!
यो पनि हुनसक्छ, त्यति बेला राजवैद्यहरूले मृत घोषणा गरिसकेपछि एकाएक उनी बौरिएका थिए कि!
यस्तो घटना विरल होइन। अहिले पनि धेरैचोटि डाक्टरहरूले माया मारिसकेको व्यक्ति हट्टाकट्टा घर फर्केका उदाहरण पाइन्छन्। यसरी ब्युँझेका कतिपय व्यक्तिले आफ्नो अर्धप्राणमा धारा देखेको वा आफूलाई एकदमै तिर्खा लागेको तर अगाडि धारा हुँदाहुँदै पानी पिउन नपाएको वृत्तान्त सुनाउँछन्।
कतै त्यो धारा यमलोकको धँल्याः हिति त होइन? धँल्याः हितिकी बूढीआमैले आयु बाँकी देखेर फर्काइदिएकी त होइनन्?
यो किम्बदन्तीले राजा वृषदेवको धार्मिक पाटो पनि उजागर गर्छ।
ऐतिहासिक अभिलेखहरूका अनुसार वृषदेव बौद्ध धर्मका अनुयायी थिए। मानदेवको चाँगुनारायणको अभिलेखमा उनलाई ‘लडाइँ–भिँडाइ’ कम गर्ने राजा भनिएको छ। जयदेव द्वितीयको पशुपतिको अभिलेखमा ‘सुगतशासनपक्षपाती’ भनी वर्णन गरिएको छ। यहाँ ‘सुगत’ को अर्थ बुद्ध हो। यसबाट पनि वृषदेवमा बौद्ध धर्मप्रति अगाध आस्था थियो भन्ने बुझिन्छ।
यति मात्र होइन, स्वयम्भू चैत्य लगायत धेरै बौद्ध चैत्य वृषदेवकै पालामा बनेको विभिन्न वंशावलीमा उल्लेख छ। वृषदेवले नै चाबहिलमा बस्ती बसाल्नुका साथै ‘धन्दो’ चैत्य निर्माण गराएको विश्वास गरिन्छ। बाँडेगाउँको चैत्य र बानेश्वरनजिकैको विहार पनि उनकै पालामा बनेको इतिहासकारहरू बताउँछन्।
यस आधारमा गुइतःको जुन प्रथमश्री महाविहारमा हामी भ्रमण गर्न गयौं, त्यो पनि वृषदेवकै पालामा बनेको हुनसक्छ।
यो महाविहार लिच्छविकालीन त हो नै, जसलाई पुष्टि गर्ने शिलालेखसमेत फेला परेको छ।
२०७२ को भुइँचालोपछि महाविहार पुनर्निर्माण क्रममा बुद्धको पूर्णकदको धातुको मूर्तिपछाडि छैठौं शताब्दीको शिलालेख फेला परेको थियो। काठमाडौं उपत्यकाका बहाबहीहरूमा पाइएका अभिलेखमध्ये यो सबभन्दा पुरानो हो।
पुरातत्व विभागका अभिलेख विशेषज्ञ श्यामसुन्दर राजवंशीले उक्त शिलालेख पढेर त्यसको पाठ र भावार्थ राष्ट्रिय अभिलेखालयको ‘अभिलेख’ पत्रिकामा प्रकाशन गरेका छन्। उक्त अभिलेखअनुसार बिक्रम सम्बत् ५९९ मा यहाँ धातुको बुद्धमूर्ति प्रतिस्थापन गरिएको थाहा हुन्छ। शाक्यभिक्षु यशोमित्रले आफ्ना आमाबुवा, पूर्वआचार्य र सबै प्राणीहरूका नाममा यो बुद्धमूर्ति चढाएका थिए। त्यति बेला लिच्छवि राजा रामदेव र महासामन्त क्रमलीलको शासन थियो।
यो अभिलेखले दुइटा सम्भावना देखाउँछ — पहिलो, राजा रामदेव र महासामन्त क्रमलीलकै शासनकालमा यो महाविहार बनेको हो र महाविहार बनेपछि शाक्यभिक्षु यशोमित्रले धातुको बुद्धमूर्ति चढाएका हुन्।
दोस्रो, यो महाविहार राजा वृषदेवको पालादेखि नै थियो र पुरानो महाविहारमा शाक्यभिक्षु यशोमित्रले बुद्धमूर्ति चढाएका हुन्।
दुवै अवस्थामा गुइतःको प्रथमश्री महाविहार कम्तिमा १५ सय वर्ष पुरानो हो भन्ने थाहा हुन्छ।
यसबाट हामी के पनि अड्कल लगाउन सक्छौं भने, राजा वृषदेवको कथा जोडिएको धँल्याः हिति लिच्छविकालमै बनेको हुनसक्छ। जनैपूर्णिमाको दिन प्रथमश्री महाविहारमा प्रदर्शन गरिने पौभाः चित्र पनि लिच्छविकालीन नै हुन सक्छ। अमेरिकी अनुसन्धाता मेरी स्लसरले आफ्नो ‘नेपाल मण्डल’ किताबमा यो पौभाः चित्रलाई चौधौं शताब्दीमा बनेको भनेर लेखेकी छन्। उनले पौभाः चित्रको कलात्मक शैलीका आधारमा यो आकलन गरेकी हुन्। यसलाई पुष्टि गर्ने ठोस प्रमाण भने छैन।
स्थानीयहरू यो पौभाः चित्र चौधौं शताब्दीभन्दा धेरै अगाडि लेखिएको र समयक्रममा बिग्रँदै, मक्किँदै गएपछि पुरानो चित्रका आधारमा हुबहु नयाँ बनाइँदै आएको विश्वास गर्छन्। जसरी कपडामा लेखिएको पुरानो चित्र बिग्रेपछि अहिलेका पुस्ताले त्यसैबाट सारेर नयाँ बनाएका छन्।
त्यसै पनि पाटनको गुइतः टोलमा अरू थुप्रै लिच्छविकालीन प्रस्तर मूर्ति र अर्को एउटा लिच्छविकालीन अभिलेख पनि छ जसले यो ठाउँको प्राचीनता झल्काउँछ।
योसँगै बेखारत्न शाक्यले मलाई सुनाउन चाहेको तर सुनाउन नपाएको कथा पूरा हुन्छ।
कथा–किम्बदन्ती भनेको यसरी नै एक मुखबाट अर्को मुख सर्दै जाने र कयौं कालसम्म जीवित रहने सम्पदा हो। बेखारत्न आफू नरहे पनि यो कथा सधैं बाँचिरहोस् भन्ने चाहन्थे। त्यसैले उनी मलाई सुनाउन चाहन्थे र ममार्फत् तपाईंहरू सबैलाई सुनाउन चाहन्थे।
सायद मलाई जनैपूर्णिमाको दिन गुइतः डाक्नुको पछाडि उनको अर्को मनसाय पनि थियो — मलाई धँल्याः हिति दर्शन गराउने र मेरो निम्ति स्वर्गलोकको ढोका खोलिदिने!