मैले दुई दिनदेखि एउटा नम्बरमा लगातार फोन गरेको गर्यै थिएँ। टुइँटुइँ घन्टी जान्थ्यो तर उठ्थेन।
हिजो, २०७८ भदौ ६ गते, जनैपूर्णिमाको दिन पनि एकाबिहानै दुईचोटि कोशिस गरेँ। दुवैचोटि टुइँटुइँ घन्टी गयो तर उठेन।
दिउँसो फेरि कोशिस गरेँ। तेस्रोचोटिमा पनि फोन उठेन भने सरासर घरै जान्छु भन्ने मैले निधो गरिसकेको थिएँ।
यसपालि फ्याट्टै फोन उठ्यो।
नेपाल टेलिकमको कोरोना सन्देश सुन्दा सुन्दा थाकिसकेको मेरो कान एक्कासि कसैले ‘हेलो’ भन्दा खरायोको झैं टाठो भयो।
मैले बढो फुर्तिका साथ भनेँ, ‘बेखारत्न बा, नमस्कार।’
उताबाट आवाज आयो, ‘बेखारत्न बा त हुनुहुन्न, म उहाँको छोरा बोलेको। भन्नुस् न के काम थियो?’
मैले भनेँ, ‘खासमा आज बाले मलाई बोलाउनुभएको थियो।’
‘बोलाउनुभएको थियो!’ उनी छक्क परेझैं सुनिए, ‘किन बोलाउनुभएको थियो?’
‘त्यस्तो ठूलो कुरा त केही होइन,’ मैले उनको आश्चर्य दूर गर्दै भनेँ, ‘जनैपूर्णिमाको दिन गुइत:को महाविहारमा पुराना पौभा: चित्रहरू देखाइन्छ भनेर बाले भन्नुभएको थियो। उहाँले ती चित्र हेर्न आउनू है भनेर मलाई डाक्नुभएको थियो। त्यसैले फोन गरेको।’
उनी एकछिन चुप्प लागे।
म पनि केही बोलिनँ।
उनले फेरि सोधे, ‘तपाईंले कसरी चिन्नुभयो बालाई?’
मैले जवाफ दिएँ, ‘म गुइत:तिर घुम्न आइरहन्थेँ। उहाँ पनि घर अगाडिको चिया पसलमा आइरहनु हुन्थ्यो। त्यही बेला हाम्रो भेट भयो। हामीलाई आफ्नो टोलको बारेमा थुप्रै कथाहरू सुनाउनु हुन्थ्यो। यो पौभा: चित्रको कुरा पनि त्यही बेला सुनाउनुभएको।’
उनी फेरि एकछिन चुप्प लागे।
म पनि केही बोलिनँ।
‘ओहो, बाले बोलाउनुभएको रहेछ,’ उनले भने, ‘तर बा त हुनुहुन्न।’
‘कहाँ जानुभयो?’ मैले सोधेँ।
‘दुई महिना भयो बा बित्नुभएको।’
उनी यति भनेर चुप्प लागे।
म केही बोल्नै सकिनँ।
मेरो मुटु गह्रुंगो भयो। तालुदेखि पैतालासम्म काँडा उम्रे। एकछिन अगाडिसम्म चिटचिट गर्मी भइरहेको ज्यान भित्रैसम्म चिसो भएर आयो। हातगोडा थर्रर कामेझैं भए।
जिन्दगीमा पहिलोचोटि म कसैको मृत्युको खबर यसरी सुन्दै थिएँ।
जिन्दगीमा पहिलोचोटि कसैलाई भेट्न भनेर फोन गर्दा उनी अब यो संसारमै रहेनन् भन्ने खबर सुन्दै थिएँ।
जिन्दगीमा पहिलोचोटि कसैले मलाई भेट्न आउनू है भनेर दिएको समयमा भेट्न खोज्दा उनी मलाई कुर्दै नकुरी यो संसारबाट विदा भइसकेका थिए।
‘कसरी बित्नुभयो?’ एकछिनको मौनपछि मैले सोधेँ, ‘लकडाउन बेला त मैले उहाँलाई फोन पनि गरेको थिएँ। राम्रै हुनुहुन्थ्यो।’
‘लकडाउनकै बीचमा हो उहाँ बित्नुभएको,’ उनले भने, ‘अघिल्लो दिनसम्म ठिक हुनुहुन्थ्यो, यसै जानुभयो।’
यति सुनेपछि मेरो मुखबाट शब्दै फुटेन। म निःशब्द मूर्ति भएँ।
मैले समवेदना व्यक्त गरेँ, विदा लिएँ र फोन काटेँ।
फोन त काटेँ तर मेरो आँखा मोबाइल स्क्रिनबाट हट्नै मानेन।
मैले ‘बेखारत्न शाक्य, गुइत: (पाटन)’ भनेर उनको नम्बर सेभ गरेको थिएँ। मेरो मोबाइल स्क्रिनमा उनको नाउँ टल्किँदै थियो। मैले निकै बेर उनको नाउँलाई एकटक हेरिरहेँ।
जसको नाउँ मेरो मोबाइलमा उज्यालो टल्किँदै थियो, ती व्यक्ति बिनाखबर यो धर्तीबाट विलुप्त भइसके भन्ने अनुभूतिले मेरो पूरा जीउ सिरिंग भयो।
जान त हामी सबैलाई एकदिन जानै छ। एकचोटि गएपछि कहिल्यै नफर्किने गरी गएको गयै हुनैछ। तर कोही किन यसरी जान्छ हँ? किन यसरी गएको गयै हुन्छ?
भेट्न आउनू है भनेर बोलाएपछि त्यो दिनसम्म त पर्खिनु नि! पर्खिन नसक्ने मान्छेले किन बोलाउनू!
मेरो मुटुभरि बेखारत्न बाको सम्झना उर्लिएर आयो।
आँखाभरि उनको मुस्कुराइरहेको उज्यालो अनुहार झल्झल्ती नाच्न थाल्यो।
बेखारत्नसँग मेरो भेट गुइत:को एउटा चिया पसलमा भएको थियो। आजभन्दा छ महिनाअघि म कहिले एक्लै त कहिले मेरा सहकर्मी साथी सबिना श्रेष्ठ (जो सेतोपाटीमै सम्पदा र संस्कृतिबारे लेख्छिन्) सँग दिनहुँजसो पाटनका भित्री बस्ती र गल्लीहरू, बौद्ध विहार र बहालहरू, परम्परागत पोखरी र हितिहरू (ढुंगेधारा) घुम्दै हिँड्थेँ।
हामी त्यहाँका बूढापाकाहरूलाई भेट्थ्यौं र उनीहरूसँग बस्तीका कथा र किम्बदन्ती सुन्दै घन्टौं गफिन्थ्यौं। त्यही क्रममा एकदिन हामी पाटनको भित्री बस्तीको पनि सबभन्दा पुछारको टोल गुइत: पुगेका थियौं।
जब म पहिलोचोटि गुइत: पुगेँ, यस्तो लाग्यो म धेरै समयदेखि यस्तै ठाउँको खोजीमा थिएँ।
यो ठाउँ मध्य–सहरको हिस्सा त हो तर सहरको घन्चमन्च र अटसमटसबाट टाढा छ। भित्री बस्तीका साँघुरा गल्लीहरू छिचोल्दै यस्तो शान्त र खुला चोकमा पुगिन्छ जहाँ गाडीहरू कमै छिर्छन्। जुन ठाउँलाई सहरको हतारले छोएको छैन। हतार त टाढाको कुरा, यो ठाउँलाई सहरको हरकले पनि छोएको छैन।
यहाँ मान्छेहरू आफ्नै तालमा निस्फिक्री बसिरहेका भेटिन्छन्। महिला र पुरूषहरू आ–आफ्नै समूहमा गोलो परेर गुनगुन गरिरहेका भेटिन्छन्। बिहानदेखि बेलुकीसम्म भीडभाड भइरहने पाटन, मंगलबजारबाट लगभग दस मिनेट पैदल दुरीको गुइत: पुग्दा यस्तो लाग्छ, यहाँ समयको रफ्तार नै टक्क अडिएको छ।
गुइत:ले मलाई यस्तरी मोहनी लगायो, म कम्तिमा साताको तीनचोटि त्यहाँ जान थालेँ। कहिले एकान्त पछ्याउँदै, कहिले कथा–किम्बदन्ती पछ्याउँदै।
कहिले एक्लै, कहिले सहकर्मी साथी सबिनासँग।
हरेकचोटि हामी बेखारत्नलाई मूलचोकको एउटा चिया पसलमा आफ्ना समवयीहरूसँग चिया खाँदै गरेको देख्थ्यौं। उनी हामीलाई देखेर मुसुक्क हाँस्थे। जवाफमा हामी पनि मुसुक्क हाँस्थ्यौं।
धेरै दिनको देखादेख र हाँसाहासपछि एकदिन हामीले बोलीचाली सुरू गर्यौं। सुरूआत कसरी भयो भन्ने पनि मलाई प्रस्टै याद छ।
बेखारत्न जुन पसलमा बसेर आफ्ना समवयीहरूसँग चिया खाइरहेका हुन्थे, त्यही पसलको छेउमा एउटा पोखरी छ। त्यो बेला पोखरी सुख्खा थियो। सुख्खा पनि कस्तो भने, धाँजा फाटेको पिँधको सतहसमेत देखिने। हाम्रो पहिलो कुराकानी त्यही पोखरीको विषयमा भयो। विगतमा बाह्रै महिना लबालब पानी भरिने त्यो पोखरीमा केही समययता पानी अडिन छाडेको बेखारत्नले दुःखपूर्वक सुनाएका थिए।
त्यसपछि त कुराकानीको सिलसिला यस्तरी चल्यो, हामी हरेकचोटि गुइत: पुगेपछि उनलाई भेट्न थाल्यौं। उनीसँग त्यही चिया पसलमा बसेर घन्टौं गुइत:का कथा–किम्बदन्ती र यहाँका जात्रापर्वबारे सुन्न थाल्यौं।
एकदिन मैले आफूसँग पाटनको नक्सा पनि लिएर गएको थिएँ। उनले त्यो नक्सामा चिनो लगाउँदै हरेक ठाउँको नाउँ कसरी रह्यो, त्यो नाउँको अर्थ र त्यहाँको अतीतबारे सब बेलीबिस्तार लगाए।
उनले गुइत: बस्ती कसरी बस्यो भन्ने कथा पनि सुनाए र भने, ‘यो बस्ती सर्वानन्द राजाले बसालेका हुन्। सर्वानन्द राजाले यहाँ नौवटा चैत्य, नौवटा इनार, नौवटा हिति, नौवटा पोखरी, नौवटै फल्चा (पाटी), नौवटा गुठी र नौवटा मठ–मन्दिरहरू स्थापना गराएका थिए। यो ठाउँमा उनको नौतले दरबार पनि थियो रे। त्यही भएर यसलाई गुइत: भनिएको हो।’
नेपाल भाषामा गुंगु भनेको नौ हो, उनले अगाडि भने, ‘सर्वानन्द राजाले यो बस्ती कसरी बसाए भन्ने सम्पूर्ण कथा यहाँको एउटा पुरानो पौभा: चित्रमा वर्णन गरिएको छ।’
म उनको कुरा, खासगरी पौभा: चित्रका बारेमा थाहा पाएर उत्साहित भएँ र सोधेँ, ‘त्यो कति पुरानो चित्र हो?’
‘धेरै नै पुरानो हुनुपर्छ। मेरो बा, हजुरबाको पालादेखि नै थियो रे। पहिले कपडामा बनाइएको थियो। त्यो बिग्रेपछि अहिले त्यसैलाई दुरुस्त सारेर नयाँ बनाइएको छ।’
‘ओहो त्यो चित्र त हेर्न पाए हुन्थ्यो नि!’
‘जनैपूर्णिमाको दिन आउनू,’ उनले भने, ‘त्यो दिन यहाँको प्रथमश्री महाविहारमा सबै पौभा: चित्र देखाइन्छ।’
‘सबैले हेर्न पाउँछन्?’
‘जनैपूर्णिमादेखि तीन दिनसम्म सबैले हेर्न पाउँछन्। अरू बेला चाहिँ कसैलाई देखाइन्न।’
म दंग परेँ।
‘जनैपूर्णिमाको दिन आउनू है,’ उनले भने, ‘म चित्र पनि देखाइदिउँला, त्यो चित्र हेर्दै कथा पनि भनुँला।’
मैले ‘हुन्छ’ भनेँ र आफ्नो सम्झनाका लागि मोबाइल क्यालेन्डरमा ‘जनैपूर्णिमाको दिन गुइत: जाने’ भनेर चिनो पनि लगाएँ।
दिन बिते, साता बिते, महिना बिते।
यसबीच कोरोनाको दोस्रो लहर सुरू भयो। दोस्रो चरणको लकडाउनले हामी घरैमा थुनियौं। त्यही लकडाउनबीच मैले एकचोटि बेखारत्न बालाई फोन गरेर सन्चो–बिसन्चो सोधेँ।
त्यसो त मैले भेट्दासम्म उनी हट्टाकट्टा नै थिए। उनको हिँडाइ र बोलाइ, हेराइ र सुनाइमा ७५ वर्ष पुगेको छनक थिएन। भन्थे, ‘मलाई अरू त केही समस्या छैन, बेला बेला दम चाहिँ बढ्छ।’
यही दम बढ्ने कुरा सम्झेर मैले उनलाई फोनमा भनेँ, ‘कोरोनामा जहाँ पायो त्यहाँ नडुल्नू है। चुपचाप घरैमा बस्नू।’
उनले जवाफ दिए, ‘लकडाउनमा काँ हिँड्नू। घरै बस्छु।’
‘चिया पसल पनि नजानू नि!’
‘चिया पसल त खुल्दैन, कसरी जानू!’ उनले हाँस्दै भने।
त्यसपछि मैले उनलाई कहिल्यै फोन गरिनँ। अब एकैचोटि जनैपूर्णिमामा भेट्न जाउँला र उनकै मुखबाट गुइत: बस्तीको प्राचीन कथा सुनुँला भनेर पर्खेर बसिरहेँ।
जसै जनैपूर्णिमा नजिकियो, मैले उनलाई तारन्तार फोन गरेँ। घन्टी गयो तर फोन उठेन।
उनले मलाई फोन नम्बर दिने बेला भनेका थिए, ‘म खासै मोबाइल चलाउँदिनँ। कोठामा यसै मिल्किरहन्छ। नउठ्न पनि सक्छ है।’
मलाई लाग्यो, उनको सानो मोबाइल मेरा थुप्रै मिस्कलहरूको मेसेजसहित कोठामा कतै मिल्किरहेको होला!
यसबाहेक अरू कुरा मैले सोच्दै सोचिनँ। त्यस्तो नराम्रो शंका पनि मेरो मनमा आउँदै आएन।
हिजो जनैपूर्णिमाको दिन, बेखारत्न बाले गुइत: आउन निम्तो दिएकै दिन, उनको मृत्युको खबर सुनेपछि मलाई एकमन त जाउँ कि नजाउँ अलमल भयो।
बेखारत्नको अनुपस्थितिमा त्यहाँ कस्तो अनुभूति होला भन्ने सम्झेरै मलाई खल्लो लाग्यो।
मलाई जनैपूर्णिमाको दिन गुइत: बोलाउनु र त्यहाँको प्रथमश्री महाविहारका भित्तामा टाँगिने पौभा: चित्रहरू देखाउँदै आफ्नो बस्ती स्थापनाको कथा भन्नु उनको इच्छा थियो। मलाई भन्न चाहेको तर भन्न नपाएको यो कथा सायद उनको जिन्दगीकै अन्तिम इच्छा हो।
यही सोचेर म र सबिना हिजो दिउँसो ३ बजेतिर गुइत: पुग्यौं।
मैले बेखारत्न सधैं भेटिने चिया पसलतिर आँखाधरि उठाउन सकिनँ। हामी सरासर प्रथमश्री महाविहार छिर्यौं। एक-एक पाइला सार्दा बेखारत्नका एक-एक सम्झना मनमा खेलिरहे।
उनले भनेझैं प्रथमश्री महाविहारको भित्तामा वल्लो छेउदेखि पल्लो छेउ दुई लहरमा ३४ फिट लामो रंगीन पौभा: चित्र टाँगिएको थियो।
हामीले महाविहारका प्रमुख नानीकाजी शाक्यलाई भेट्यौं र जे जे भएको थियो सब कुरा सुनायौं।
‘बेखारत्न शाक्यले हामीलाई आज यी पौभा: चित्रहरूको कथा भन्छु भन्नुभएको थियो,’ मैले भनेँ, ‘हामीलाई निम्तो दिएर उहाँ आफैं गइसक्नुभएछ। अब यो कथा तपाईंहरूमध्ये कसैले सुनाइदिनुपर्यो।’
‘यसको राम्रो कथा भन्न सक्ने त ज्ञानेन्द्र शाक्य हुनुहुन्छ,’ नानीकाजीले भने, ‘उहाँ आर्किटेक्ट हो तर यहाँको बारेमा उहाँलाई संसारै थाहा छ।’
त्यति बेला ज्ञानेन्द्र शाक्य त्यहाँ थिएनन्। आउने कि नआउने पनि टुंगो थिएन।
हामीले नानीकाजीलाई नै ‘जे जति थाहा छ, त्यही सुनाउनुस्’ भनेर आग्रह गर्यौं।
उनी तयार भए।
ललितपुर बौद्ध विहार संघका अध्यक्षसमेत रहेका ५७ वर्षीय नानीकाजीले झन्डै आधा घन्टा लगाएर आफूले थाहा पाएसम्मको कथा सुनाए। जसै उनले कथा सके, निलो रङको टिसर्ट र कालो ट्राउजर लगाएका एक व्यक्ति मुसुमुसु हाँस्दै महाविहारभित्र छिरे।
पावरवाला चश्मा लगाएका ती व्यक्तिलाई देख्नासाथ नानीकाजीका आँखा चम्के र भने, ‘उहाँ नै हो ज्ञानेन्द्र शाक्य।’
मैले नमस्कार गर्दै भनेँ, ‘तपाईंको नाउँ उहाँले दसचोटि लिइसक्नुभयो।’
उनी मुसुक्क हाँसे।
बुवा बिरामी भएकाले अस्पताल दौडादौडमा लागेका ज्ञानेन्द्र कसरी–कसरी महाविहार आइपुगेका रहेछन्। नानीकाजीले हामीलाई उनैको जिम्मा लगाइदिए।
ज्ञानेन्द्रले फेरि सुरूदेखि सुरू गरे।
अस्पतालको धपेडीले होला उनको अनुहार थकित देखिन्थ्यो तर जसै कथा भन्न थाले, उनको स्वर फुर्तिलो सुनिँदै गयो।
गुइत:को कथा- प्रारम्भ
यो कथा आजभन्दा २६ सय वर्ष अगाडिबाट सुरू हुन्छ।
वसन्तको मौसम छ। श्रावस्ती (अहिले भारत, उत्तरप्रदेश) को जेतवन विहारमा हावा मन्द बहँदैछ। शरीरले हावाको चालधरि चाल पाइरहेको छैन तर त्यसले मनको भित्रसम्म छोएर आँत शितल पार्दैछ।
आकाश काँचझैं सफा छ। बादलको एक धर्सो पनि दूरदूरसम्म कहीँ देखिँदैन।
यस्तो सुखद मौसममा जेतवन विहारका मृग र हरिणहरू तन्नेरी जोश निकालेर बुर्लुकबुर्लुक उफ्रिँदैछन्, जसरी भर्खर तातेताते हिँड्न जानेको बालक घरिघरि जुरूकजुरूक उभिइरहन्छ।
मयुरहरू आफ्नो इन्द्रेणी पखेटा फिजाउँदै फुरूकफुरूक नाच्दैछन्, जसरी एउटी सानी नानी बाबाले किनिदिएको नयाँ फ्रक फननन घुमाउँदै फनफनी नाच्छिन्।
घना रूखका घना पतझडभित्र छेलिएर कोइलीहरू कुहूकुहू गाउँदैछन्, जसरी एउटी प्रेमिका आफ्नो प्रेमीलाई डाक्छिन्।
त्यही बेला एउटा घना पिपलको वृक्षमुनिबाट शान्त र सुरिलो गुनगुन सुनिन्छ।
शाक्यमुनी गौतम बुद्ध वृक्षको छहारीमा बसेर आफ्ना शिष्यहरूलाई उपदेश दिँदै छन्।
उनी सिद्धान्तका कुरा मात्र गर्दैनन्। सिद्धान्तका कुराले तबसम्म मान्छेको मुटु छुँदैन, जबसम्म त्यसमा व्यवहारिक अनुभवको लेप लगाइन्न। सिद्धान्तका कुरा सबै मान्छेलाई बुझ्न गाह्रो पनि हुन्छ। त्यही सिद्धान्तलाई कुनै घटनाको आवरणमा प्रस्तुत गरियो भने त्यसले मान्छेको अन्तरआत्मासम्म हल्लाइदिने तागत राख्छ।
त्यसैले जब गौतम बुद्ध शिष्यहरूलाई प्रवचन दिन्छन्, उनी आफ्ना अनुभवजन्य कथाहरू सुनाउने गर्छन्। यसरी सुनाइएका कथाहरूमध्ये आफ्नो पूर्वजन्मको कथालाई ‘जातक’ भनिन्छ। जातकमा अघिल्ला थुप्रै जन्मका थुप्रै कथाहरू समेटिएका हुन्छन्। बुद्ध धर्ममा यस्ता पाँच सयभन्दा बढी जातक छन्। यो कथा त्यसैमध्ये एउटा हो जसलाई ‘सर्वानन्द नृप’ जातक भनिन्छ।
त्यस दिन गौतम बुद्ध श्रावस्तीको जेतवन विहारमा घना पिपलको वृक्षमुनि बसेर दुःखको कारण र दुःख निवारणका उपायबारे प्रवचन दिइरहेका हुन्छन्।
उनी भन्छन्, ‘दुःखको कारण हाम्रो कर्म हो। हामीले कुशल कर्म गर्यौं भने सुख पाउँछौं, अकुशल कर्म गर्यौं भने दुःख पाउँछौं। त्यसैले हामीले अकुशल कर्महरूबाट आफूलाई बचाउनुपर्छ। कुशल कर्मतिर ध्यान लगाउनुपर्छ।’
एक जना शिष्य सोध्छन्, ‘कुशल कर्म भनेको के हो तथागत?’
‘दान नै कुशल कर्म हो,’ बुद्ध भन्छन्, ‘दान भनेको दिनु मात्र होइन, यो उदारताको अभ्यास हो। अरूलाई कुनै भौतिक वस्तु दिनु पनि दान हो, समस्यामा परेका व्यक्ति वा प्राणीलाई समस्याबाट मुक्ति दिलाउनु पनि दान हो र भ्रममा परेकाहरूलाई सत्यको बाटो देखाउनु पनि दान नै हो। यी सबै उदारताका अभ्यास हुन्। यसैबाट हाम्रो सत्कर्मको सुरूआत हुन्छ।’
शिष्यहरू चुप्प लागेर आफ्नो आसनमा स्थिर रहन्छन्।
गौतम बुद्धलाई उनीहरू अलमलिएको भान हुन्छ। आफ्नो उपदेश निशाना चुकेको तिरझैं भयो कि भन्ने उनलाई लाग्छ।
उनी शिष्यहरूको अलमल मेट्न आफ्नो पूर्वजन्मको कथा सुनाउँछन्।
‘धेरै धेरै, धेरै नै वर्षअघिको कुरा हो। पृथ्वीमा दिपंकर बुद्धले जन्म लिनुभएको थियो...’
गुइत:को कथा- अध्याय १
(बौद्ध साहित्यमा २८ जना बुद्धहरूको नाम उल्लेख छ। गौतम बुद्ध २८औं बुद्ध हुन्। उनीभन्दा अगाडि नै २७ जना बुद्ध थिए जसमध्ये तेस्रो बुद्धको नाम दिपंकर हो। गौतम बुद्धले श्रावस्तीको जेतवन विहारमा आफ्ना शिष्यहरूलाई सुनाएको यो कथा दिपंकर बुद्ध पालाको हो। त्यति बेला गौतम बुद्धको जन्म भएको थिएन। उनी ज्योतिपाल बोधिसत्वका रूपमा देवलोकमै थिए।)
जेतवन विहारको घना पिपलको वृक्षमुनि भिक्षुहरू ध्यानमग्न भएर गौतम बुद्धको पूर्वजन्मको कथा सुन्दैछन्। गौतम बुद्धको शान्त र सुरिलो गुनगुनले लठ्ठ भएर मृग र हरिण र मयुर र कोइलीहरू वरिपरि झुम्मिन आइपुगेका छन्।
यस्तो लाग्दैछ, बुद्ध बचनले समयको गति ठाउँको ठाउँ टक्क रोकिएको छ। हावाको मन्द बहावले उसैगरी आँत शितल पार्दैछ। आकाश उस्तै कञ्चन छ। बादलको एकधर्को पनि अझै पलाएको छैन।
बुद्ध भन्दैछन्, ‘नेपाल मण्डल (काठमाडौं उपत्यका) मा त्यति बेला एउटा घन्घोर जंगल थियो। घन्घोर पनि कस्तो घन्घोर भने, एकदमै अन्धकार। दिउँसै रात परेजस्तो। सूर्यको एउटा किरणले पनि त्यो जंगललाई चिरेर भुइँमा स्पर्श गर्न पाएको थिएन। आफ्नै हात आफ्नै आँखाले देख्थेन। एकअर्कालाई देख्नु त टाढाको कुरा।’
त्यो घन्घोर जंगललाई किन्सुक वन भनिन्थ्यो। सहश्रऔंसीको रातभन्दा अघोर अन्धकार त्यो जंगलमा बाँदरबाहेक अरू कुनै प्राणीको बास थिएन। ती बाँदरहरू पनि साह्रै दुःखमा थिए। जंगलभरि फलफूल लटरम्म फलेका थिए तर अँध्यारोमा केही नदेखिँदा बाँदरहरूले खान पाएका थिएनन्। उनीहरू भोकभोकै थिए। कतिले भोक सहन नसकेर सास छाडे, कतिले सास पनि छाड्न नसकेर घिटिघिटी परे। केही बाँदरले भने अँध्यारोमा छामछाम छुमछुम गर्दै भुइँ कोपरेर माटो खाँदै आफ्नो प्राण धानिरहेका थिए।
बाँदरहरू यस्तरी अथाह दुःखको सागरमा चुर्लुम्म डुबेको देखेर देवलोकमा रहेका ज्योतिपाल बोधिसत्व (जसले पछि गौतम बुद्धका रूपमा जन्म लिए) को हृदय आरीले रेटेझैं छियाछिया भयो।
उनको कोमल मनमा करूणाभाव पलायो। उनले किन्सुक वनका दुःखी बाँदरहरूको उद्धार गर्ने संकल्प गरे र बाँदरकै रूपमा यहाँ जन्म लिए।
त्यो बाँदरको नाम ज्ञानाकर थियो।
देवलोकका साक्षात् बोधिसत्वले बाँदरको जुनी लिएको हुँदा ज्ञानाकर आफ्नै खलकका अरू बाँदरभन्दा चेतनशील थियो। उसमा सही र गलतको विवेक थियो। ऊ कुशल कर्म र अकुशल कर्म छुट्टयाउन सक्थ्यो। उसको हृदय उदार थियो। लिनुमा भन्दा दिनुमा पुण्य छ भन्ने ऊ विश्वास राख्थ्यो। आफ्नो उच्च चेतना स्तरका कारण ऊ बाँदर भएर पनि ‘त्रिरत्न त्रिरत्न’ भनेर बोल्न सक्थ्यो र सधैं त्यो मन्त्र जपेर बस्थ्यो।
ज्ञानाकरको जन्मपछि किन्सुक वनमा बोधित्सवको प्रभाव देखिन थाल्यो। कयौं कालदेखि अन्धकार जंगलमा पहिलोचोटि घामको ज्योतिले प्रवेश पायो। जंगलका भुइँहरूमा सूर्यका किरणहरू यस्तरी पोखिन थाले, मानौं चित्रकारले क्यानभासमा मसिना रेखाहरू कोरेका हुन्। आफ्नै अंग–प्रत्यंग खुट्टयाउन कठिन जंगलमा वरिपरि फलहरू लटरम्म फलेका देखिए।
भोकले आलसतालस परेका र पेटको आन्द्राभुँडी बटारिन आँटेका बाँदरहरूमा चारैतिर फल नै फल देखेपछि उत्सव नै छायो। उनीहरूले लामो समयपछि खुम्चिएका आन्द्राभुँडी फुल्ने गरी खान पाए। निभ्न लागेको प्राणमा फेरि सास आयो।
बाँदरहरू बौरिए।
सबै बाँदरलाई लाग्यो, यो चमत्कार ज्ञानाकर बाँदरले ‘त्रिरत्न त्रिरत्न’ भन्दै मन्त्र जप्नाले भएको हो। त्यसैले उनीहरूले पनि ज्ञानाकरको सिको गरे। किन्सुक वनमा अब एकोहोरो ‘त्रिरत्न त्रिरत्न’ ध्वनि गुञ्जिन थाल्यो।
त्यही समय दिपंकर बुद्ध भिक्षाटनका लागि निस्केका थिए। नगर–नगर चहार्दै उनी किन्सुक वनको बाटो गुज्रँदै थिए।
ज्ञानाकर बाँदरले आफ्नो बोधिसत्व चेतनाका कारण दिपंकर बुद्धलाई चिनिहाल्यो। उसले तुरुन्तै सबै बाँदरको भेला डाक्यो र भन्यो, ‘यी चिवर धारण गरेका व्यक्तिहरू कुनै सामान्य मानिस होइनन्। यी त तथागत भन्तेहरू हुन् जो सृष्टिका हरेक चिजलाई जस्ताको तस्तै देख्न सक्छन्। यी भन्तेहरूमध्ये सबभन्दा अगाडि जो शान्त मुद्रामा हिँडिरहनुभएको छ, उहाँ तथागत दिपंकर बुद्ध हुनुहुन्छ। साक्षात् दिपंकर बुद्ध हाम्रो वनमा पाल्नु भनेको हाम्रो लागि ठूलो खुसीको कुरा हो।’
‘त्यसो भए के गर्ने त ज्ञानाकर,’ सबै बाँदरले एकै स्वरमा भने, ‘हामी बाँदरहरूमध्ये सबैभन्दा जान्ने–बुझ्ने भनेको तिमी नै हौ, तिमी जे भन्छौ हामी त्यही गर्छौं।’
यति सुनेर ज्ञानाकारले भन्यो, ‘त्यसो भए हामी सबै मिलेर जंगलको कुनै फल दिपंकर बुद्धलाई दान गरौं। दान दिनु नै सबभन्दा उत्तम पुण्य हो।’
सबै बाँदरहरूले ज्ञानाकरको सुझाव स्वीकार गरे।
उनीहरूले जंगलमा फलेका रूखकटहर टिपे र दिपंकर बुद्धलाई दान दिन उनको अगाडि लश्करै उभिए।
सबभन्दा पहिला ज्ञानाकर बाँदरले दिपंकर बुद्धको पाउमा रूखकटहर चढायो। त्यसपछि अरू बाँदरहरूले पनि पालैपालो रूखकटहर दान गरे।
दान दिएपछि दिपंकर बुद्धलाई आफ्नो ढाड देखाएर फर्किनु हुन्न भन्ने भनाइ छ। त्यसैले बाँदरहरू फरक्क नफर्की बिस्तारै पछाडि सर्दै आउँथे।
त्यो ठाउँमा एउटा ठूलो कुवा थियो। बाँदरहरू दिपंकर बुद्धलाई हेर्दै पछाडि सर्दै आउँदा पुत्रुकपुत्रुक त्यही कुवामा खस्थे। सबै बाँदर कुवामा खसेपछि दिपंकर बुद्धसँगै आएका भन्तेहरूले आफ्नो हात दिएर तिनलाई कुवाबाट बाहिर निकाले।
जसै ती बाँदर कुवाबाट बाहिर निस्के, उनीहरू सबका सब मान्छेमा परिणत भए।
दिपंकर बुद्धलाई दिएको दानको पुण्यबापत् बाँदरहरूले मानव जुनी पाए।
मानव जुनी पाए पनि ज्ञानाकरबाहेक अरू सबै अन्तरमनले बाँदर नै थिए। उनीहरूमा मानवीय संस्कार विकास भएको थिएन। इलम र सभ्यताबारे उनीहरू अञ्जान थिए। खेतीपातीको ज्ञान थिएन। व्यवस्थित बसोबासको भेउ पनि थिएन।
मानव जुनी पाइकन पनि बाँदरकै व्यवहारमा अलमलिएको देखेर एक अर्का बोधिसत्वलाई उनीहरूमाथि टिठ पलायो। उनले भ्रममा भौंतारिइरहेका बाँदरहरूलाई सही बाटोमा ल्याउने अठोट लिए र एक व्यापारीको भेष धारण गरेर किन्सुक वनमा आए।
व्यापारीको रूप धरेका ती बोधिसत्वले सबै बाँदरलाई एकै ठाउँ गुजुम्म पारे। यसको संयोजन ज्ञानाकर बाँदरले नै गरेको थियो।
बोधिसत्वले भने, ‘अब तिमीहरू बाँदर होइनौ। आफ्नो पुण्यको फलले तिमीहरूले मानव जुनी पाइसकेका छौ। त्यसैले अबदेखि तिमीहरूले मानिसले झैं बाँच्न सिक्नुपर्छ।’
एउटा बाँदरले सोध्यो, ‘मानिस भएर बाँच्न के गर्नुपर्छ?’
‘मानिस भएर बाँच्न इलम गर्नुपर्छ। आफू सभ्य हुनुपर्छ, अरूलाई पनि सभ्य बनाउनुपर्छ। आफ्नो नंग्राले एकअर्कालाई कोतर्ने होइन, त्यही नंग्रा खियाएर अन्न फलाउनुपर्छ। अब तिमीहरूले खेतीपाती गर्न सिक्नुपर्छ। व्यापार गर्न जान्नुपर्छ। घरखेत बसाएर सभ्य समाज निर्माण गर्नुपर्छ। कसैलाई कसैको डरभर नभएको जंगलराज होइन, आफ्नो अलग्गै विधिविधान बसाल्नुपर्छ। आफ्नो अलग्गै संस्कृति बनाउनुपर्छ। त्यसपछि बल्ल तिमीहरूको मानव चोला सार्थक हुनेछ।’
यसरी लामो उपदेश दिएर ती बोधिसत्वले किन्सुक वनमा एउटा सभ्य समाज निर्माण गराए र आफू फेरि देवलोक फर्किए।
किन्सुक वन अब बाँदर बस्ने वन रहेन। सभ्य मानिसहरू बस्ने समाज बन्यो। उनीहरूले विधान बनाए र संस्कृति बसाले र एउटा व्यवस्थित नगरलाई जन्म दिए।
यसबीच देवलोकबाट बाँदरको रूप धारण गरेर आएको र मानव जुनी पाएको ज्ञानाकारको मृत्यु भयो।
गुइत:को कथा- अध्याय २
बुद्धको कथा जारी छ।
उनी भन्दैछन्, ‘किन्सुक वनमा बसेको नगरका बासिन्दाहरू खेतीपातीबाट समृद्ध हुँदै गएका थिए। उनीहरूको व्यापार व्यवसाय पनि फस्टाउँदै गएको थियो। त्यही समयतिर कामार्थी भन्ने अर्को नगरमा भुवनानन्द नाम गरेका एक महाजनले आफ्नो अत्यन्तै दयालु, अत्यन्तै उदार र अत्यन्तै दानी स्वभावका कारण चौतर्फी ख्याति कमाइरहेका थिए।’
एकदिन भुवनानन्द महाजनको मनमा ऋषिमुनीहरूलाई डाकेर दान दिने इच्छा जाग्यो। उनले आफ्नो महलमा एउटा भव्य दान समारोह आयोजना गरे र नगरभित्र र नगरबाहिर टाढाटाढा बस्ने ऋषिमुनी र भन्तेहरूलाई समारोहमा सरिक हुन सन्देश पठाए।
दान समारोह भव्य रूपमा सफल भयो।
यही दान पुण्यको फलले महाजनकी पत्नी गर्भवती भइन् र चौबीस गुणले युक्त सुन्दर पुत्रलाई जन्म दिइन्। ती पुत्र अरू कोही होइन, उही ज्ञानाकर बाँदरको नयाँ अवतार थियो र नाम रह्यो– धर्मश्री बालक।
अर्थात्, देवलोकका ज्योतिपाल बोधिसत्वले कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमका रूपमा जन्म लिनुभन्दा अगाडि सुरूमा ज्ञानाकार बाँदर र फेरि धर्मश्री बालकका रूपमा जन्म लिएका थिए।
धर्मश्री बालकमा बोधिसत्वको चेतना भएकाले ऊ सानैदेखि उदार, दयालु, सहृदयी र दानी थियो। उसलाई दान दिन कसैले सिकाउनै पर्थेन। आफ्ना मातापिताको दानकर्मको प्रभाव पनि उसमा भरपूर देखिन्थ्यो।
एकदिन धर्मश्री बालक आफ्नै उमेरका केटाकेटीसँग धूलोमा खेलिरहेको थियो। त्यही बेला दिपंकर बुद्ध भिक्षाटन गर्दै विभिन्न नगर र ग्रामहरू घुम्दै कामार्थी नगर आइपुगे।
तथागत दिपंकर बुद्धलाई साक्षात् आफ्नो अगाडि देखेपछि धर्मश्री बालकमा दान दिने भावना जागृत भयो।
उसले सोच्यो, ‘भिक्षाटनमा आएका दिपंकर बुद्धलाई मैले खाली हात फर्काउनुहुन्न। जे उपलब्ध हुन्छ, त्यो उहाँको पाउमा टक्र्याउनैपर्छ। तर मेरो साथमा अहिले केही छैन। घरमा लिन जाऊँ भने त्यो बेलासम्म दिपंकर बुद्धलाई पर्खाउनु उचित हुन्न। उहाँ आफ्नो बाटो लागिसक्नुहुन्छ। मैले उहाँलाई दान दिने एउटा स्वर्णिम मौका यसै गुमाउनेछु। म गरूँ त के गरूँ?’
धर्मश्री बालक एकछिन अलमलियो। मनमा कुरा खेलाउँदै आफ्नो वरिपरि हेर्यो।
उसले आफ्नो अगाडि धूलोको थुप्रोबाहेक केही देखेन।
उसले आफ्नो बोधिसत्व चित्तले फेरि सोच्यो, ‘मान्छेको अगाडि जे छ, त्यो नै लाख बराबर हो। नभएको चिजको तिर्सना राखेर तड्पिनुभन्दा भएकै चिजमा रमाउनु सही मानवकर्म हो। अहिले मेरो अगाडि यो धूलोको थुप्रो छ। त्यसैले मेरो लागि यही धूलोको थुप्रो नै चौरासी व्यञ्जन र लाखौं–करोडौंका धनसम्पत्ति बराबर हो। मैले यही धूलो नै तथागतको चरणमा अर्पण गर्नुपर्छ। यही नै मेरो कर्म हो र यही नै मेरो धर्म हो।’
यति सोचेर धर्मश्री बालकले भुइँको धूलो आफ्ना दुवै मुठ्ठीमा उठायो र दिपंकर बुद्धको झोलीमा हालिदियो। त्यसपछि उसले धूलो लतपतिएका दुवै हात जोडेर धुलाम्मे भुइँमा लम्पसार पर्दै बुद्धलाई साष्टांग दण्डवत् गर्यो।
धर्मश्री बालकको यस्तो उदार व्यवहार देखेर दिपंकर बुद्ध अत्यन्तै खुसी भए।
हुन त त्यो धूलो न खान हुन्थ्यो न घरमा सजाउन मिल्थ्यो। न त्यसले भोक मेटिन्थ्यो न प्यास। तर त्यो दानको पछाडि लुकेको धर्मश्रीको उदार मनले दिपंकर बुद्ध कायल भए।
दान दिइने वस्तुको मूल्यले दानको वजन निर्धारण गर्दैन। दानको वजन निर्धारण गर्छ दान दिने व्यक्तिको मनको चेतनाले।
दिपंकर बुद्धले पनि धर्मश्री बालकको चेतनालाई पर्गेले र उसले झोलीमा हालिदिएको दुई मुठ्ठी धूलो सहर्ष ग्रहण गरे।
त्यही बेला एउटा चमत्कार भयो। धर्मश्री बालकले झोलीमा हालिदिएको धूलोजति जम्मै सुनमा परिणत भयो र टलटल टल्किन थाल्यो।
दिपंकर बुद्धकै शक्तिको बलले धूलो सुनमा बदलिएको हो भन्ने धर्मश्री बालकले बुझिहाल्यो।
आफूले दिएको धूलोलाई पनि दिपंकर बुद्धले तुच्छ नठानेको र त्यसलाई सुनजत्तिकै अमूल्य वस्तुका रूपमा ग्रहण गरेको बुझेर उसको मन झरनाको पानीझैं कलकल भयो। उसले फेरि साष्टांग दण्डवत् गरेर दिपंकर बुद्धको वन्दना गर्न थाल्यो।
‘धर्मश्री बालक एकदमै अल्पायु लिएर आएको थियो,’ गौतम बुद्ध जेतवन विहारको घना पिपलको वृक्षमुनि बसेर आफ्ना शिष्यहरूलाई भन्दैछन्, ‘उसको कम उमेरमै मृत्यु भयो र दिपावती नगरको राजकुमारका रूपमा उसले जन्म लियो।’
गुइत:को कथा- अध्याय ३
‘दिपावती नगरमा खुसियाली छाएको छ। नगरवासीहरूले खेतीपाती र व्यापार–व्यवसायमा निकै तरक्की गरेका छन्,’ गौतम बुद्धको उपदेश–कथा जारी छ।
यति बेला दिपावतीमा सर्वानन्द राजाको शासन छ। यी राजा अरू कोही होइन, उनै धर्मश्री बालकको नयाँ जन्म हो।
धर्मश्रीमा जस्तै सर्वानन्द राजामा पनि दान चेत अत्यन्तै प्रबल थियो। उनी नियमित रूपले ऋषिमुनी र भन्तेहरूलाई आफ्नो दरबारमा डाकेर दान दिने गर्थे।
एकदिन उनलाई स्वयं दिपंकर बुद्धलाई आफ्नो दरबारमा निम्तो गरेर दान दिने इच्छा जाग्यो। तथागत बुद्धलाई दान दिन भनेर उनी नायकी बाजा बजाउँदै र नगरभरि झ्याली पिट्दै बुद्धलाई निम्तो दिन आफैं गए।
दिपंकर बुद्धले उनको निम्तो स्वीकार गरे।
उनको आगमनको खुसियालीमा सर्वानन्द राजाले आफ्नो दरबारसहित पूरा नगरलाई इन्द्रको देवलोकभन्दा भव्य देखिने गरी सिँगारे। नगरको प्रवेशद्वारदेखि दरबारसम्म पुग्ने मार्गमा फूलैफूल बिछ्याए। घरका छतहरूमा आकाश ढाक्ने गरी तोरण टाँगे। छतछतबाट दिपंकर बुद्धमाथि फूल बर्साए।
झकिझकाउ नगर मार्ग हुँदै जसै दिपंकर बुद्ध सर्वानन्द राजाको दरबार अगाडि पुगे, उनी जहाँको तहीँ टक्क अडिए। उनको निम्ति दरबारको मूलढोका खुल्लै राखिएको थियो तर उनी भित्र प्रवेश गरेनन्। बरू सरासर दरबार छेउको एउटा सानो झुपडीतिर बढे जहाँ एउटी बूढी आमै आफ्नो अगाडि नाङ्लोमा धानका सिलाहरू राखेर बसेकी थिइन्।
खासमा सर्वानन्द राजाले यो दान समारोहमा आफू मात्र होइन, नगरका सबै व्यक्तिलाई सरिक हुन आह्वान गरेका थिए। त्यसैले इच्छुक व्यक्तिहरू आफ्नो गच्छेले भ्याएसम्मका मालवस्तु दान दिन अघि सरेका थिए। ती गरिब बूढी आमैसँग भने दान दिन योग्य वस्तु केही थिएन। त्यसैले उनले निकै दिनसम्म अर्काको खेतमा धाएर भुइँमा झरेका धानका सिलाहरू टिपेर ल्याएकी थिइन् र त्यसैलाई दानका रूपमा आफ्नो अगाडि राखेकी थिइन्।
बूढी आमैको त्यो मिहिनेत र उनको उदार चित्त दिपंकर बुद्धको आँखाबाट लुकेन।
उनी सर्वानन्द राजाको दरबारमा छिर्नुभन्दा अगाडि ती बूढी आमैको झुपडीमा गए र उनको सामु आफ्नो झोली फैलाए।
बूढी आमैको अनुहार घामजत्तिकै धपक्क बल्यो। अनुहारका छालाहरू खुसीले फूलका पत्रझैं मुजा–मुजा परे।
उनले नाङ्लोमा राखेको धानका सिलाहरू दिपंकर बुद्धको झोलीमा खन्याइदिइन् र भावविभोर हुँदै उनलाई दण्डवत् गरिन्।
त्यहाँबाट जब दिपंकर बुद्ध दरबारमा प्रवेश गरे, सर्वानन्द राजाले उनलाई सोधे, ‘तथागत, हजुरलाई यो दान समारोहमा आउन मैले नै निम्तो गरेँ। मैले यति धेरै बहुमूल्य सरसामग्री र चौरासी व्यञ्जन हजुरको निम्ति तयार राखेको थिएँ। तर हजुर मकहाँ नआई सरासर ती बूढी आमैको झुपडीमा किन जानुभयो? मेरो दान ग्रहण गर्नुभन्दा अगाडि किन हजुरले उनको दान ग्रहण गर्नुभयो?’
यो सुनेर दिपंकर बुद्ध मुसुक्क हाँसे र भने, ‘हे राजन, दानमा कसैको दाबी हुँदैन। दानको महत्व उसले दिने वस्तुमा पनि हुँदैन। दान लिँदा दिने व्यक्तिको चित्त हेरिन्छ, उसले सजाएको वस्तु होइन। राजन, तिमी दानी छौ, उदार छौ, यसमा मलाई शंका छैन। तर तिमी आफ्नो क्षमताले दानी भएका हौ। तिमी सम्पन्न छौ। यत्रो नगरको शासन व्यवस्था सम्हाल्छौ। जनतालाई दुःख पर्दा आफ्नो ढुकुटी पनि खोल्छौ। तर यो सबै तिमीले जनताबाटै उठाएको करले आर्जन गरेका हौ। तिम्रो सबै सम्पत्ति जनताको मिहिनेत पसिनाको उपज हो। तर ती बूढी आमैलाई हेर त राजन। उनलाई दान दिन कसैले कर गरेको छैन। दान दिनु उनको क्षमता पनि होइन। तै पनि उनलाई उनको चित्तले दान दिन घच्घच्यायो। उनले दिनरात अर्काको खेतमा गएर त्यहाँ झरेका धानका सिलाहरू टिपेर ल्याइन्। उनको हृदय सागरजत्तिकै फराकिलो छ। उनको दानमा तिम्रोभन्दा कयौं गुणा बढी उदार मन लुकेको छ। तिमीले दिने बहुमूल्य वस्तुको दाँजोमा उनले दिएको धानका सिलाहरू कयौं गुणा अमूल्य छन्।’
दिपंकर बुद्धबाट यस्तो कुरा सुनेपछि सर्वानन्द राजा झसंग भए। उनको आँखा खुल्यो।
उनी एकदिन भेष बदलेर दरबारबाट बाहिर निस्किए र कुनै अर्कै नगरमा गएर फलामको काम गर्ने गरिब व्यक्तिको झुपडीमा पुगे।
उनले धेरै समय त्यही झुपडीमा बसेर फलामको काम सिके। दिनरात कठोर मिहिनेत गरे र केही पैसा कमाएर फेरि आफ्नो दरबार फर्के।
दरबारको ढुकुटीमा भएका सुनचाँदी, हिराजवाहरातको दाँजोमा फलामको काम गरेर कमाएको रकम नगन्य थियो। तै पनि सर्वानन्द राजाले पसिना बगेको मिहिनेतको कमाइको महत्व बुझे। उनलाई दरबारको ढुकुटीभन्दा त्यो थोरै पैसा नै अमूल्य लाग्यो।
त्यसपछि फेरि सर्वानन्द राजाले दान समारोह आयोजना गरे र नायकी बाजा बजाउँदै, नगरभरि झ्याली पिट्दै दिपंकर बुद्धलाई निमन्त्रणा गर्न आफैं उनीकहाँ गए।
यसपालि चाहिँ दिपंकर बुद्ध सरासर उनकै दरबारमा प्रवेश गरे र सबभन्दा पहिला उनकै हातबाट दान ग्रहण गरे।
‘मैले तिम्रो बदलिएको चित्त भाँपिसकेँ राजन,’ उनले भने, ‘तिमीले आज मलाई दान दिन लागेको वस्तु जनताको करबाट आर्जित होइन, त्यो तिम्रो पसिनाको कमाइ हो। त्यसैले म यसपालि सरासर तिम्रै हातबाट दान ग्रहण गर्न तिम्रो दरबार आएको छु।’
सर्वानन्द राजाको खुसीको सीमा रहेन। उनको मुहार पूर्णिमाको जुनजस्तो उज्यालो भयो। उनको मन छाँगाबाट खसेको छहराजस्तो छमछम नाच्न थाल्यो। उनको हृदयमा वसन्तका असंख्य पालुवाहरू पलाए। उनको कानमा चराका चिरबिर गुञ्जिन थाल्यो।
गौतम बुद्ध आफ्ना शिष्यहरूलाई भन्दैछन्, ‘दिएको दान कहिल्यै खेर जाँदैन। त्यो कुनै न कुनै रूपमा फेरि फर्केर दिने मान्छेकै झोलीमा आउँछ। दिनु भनेको पाउनु पनि हो। दान नै समृद्धिको मार्ग हो। जुन समाज उदार हुन्छ, जुन समाजले अर्कालाई दिन जानेको हुन्छ, त्यो समाज समृद्ध हुन्छ। त्यहाँ समृद्धिले समृद्धिलाई पछ्याउँछ। खुसीले खुसीलाई तान्छ।’
नभन्दै सर्वानन्द राजाको उदारताको फलले दिपावती नगर झन् झन् समृद्ध हुँदै गयो।
नगरवासीहरू झन् झन् उच्च मुकाममा पुगे।
यसबाट प्रसन्न सर्वानन्द राजाले सम्पूर्ण दिपावती नगरलाई नयाँ स्वरूप दिए। उनले नगरभित्र नौ ठाउँमा नौवटा चैत्य स्थापना गराए। नौवटा हिति बनाए। नौवटा पोखरी र नौवटा इनार खनाए। नौवटा फल्चा बनाए। नौथरीका गुठी र नौवटा मठ–मन्दिरहरू स्थापना गराए। र, नगरको बीचमा नौतले भव्य विहारको पनि निर्माण गराए।
दिपावती नगरले हेर्दाहेर्दै यस्तो समृद्धशाली स्वरूप लियो जसलाई देखेर स्वयं देवराज इन्द्रले पनि इर्ष्या माने।
नयाँ नगर बसाइसकेपछि सर्वानन्द राजाले फेरि एकचोटि दान समारोह आयोजना गरे। नायकी बजाए र झ्याली पिट्दै दिपंकर बुद्धलाई निम्ता गर्न गए।
यसपालि उनले नगरको बीचमा बनेको नौतले विहार नै दिपंकर बुद्धलाई अर्पण गरे र आफू पनि त्यही विहारमा जीवनपर्यन्त बौद्ध धर्मको अभ्यास गर्दै बसे।
धेरै कालपछि उनै सर्वानन्द राजाले कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमका रूपमा जन्म लिए जो पछि तथागत गौतम बुद्ध बने।
गौतम बुद्धले जेतवन विहारको घना पिपलको वृक्षमुनि बसेर आफ्ना शिष्यहरूलाई सुनाएको उपदेश–कथा यहीँ सकिन्छ।
र, योसँगै गुइत:का ज्ञानेन्द्र शाक्य र नानीकाजी शाक्यले मलाई वर्णन गरेको पौभा: चित्रमा उल्लिखित चार भागको कथा पनि यहीँ सकिन्छ।
पौभा: चित्रको अन्तिम भागमा एउटा अर्को कथा पनि छ जुन लिच्छवि राजा वृषदेवको मृत्यु र स्वर्गयात्रा र त्यसले दिने सन्देशसँग सम्बन्धित छ। वृषदेव राजाको यो कथा म फेरि अर्कोचोटि सुनाउँला।
गौतम बुद्धले जेतवन विहारमा आफ्ना शिष्यहरूलाई वर्णन गरेको दिपावती नगर नै पाटनको गुइत: टोल हो।
सर्वानन्द राजाले पहिलोचोटि दान समारोह आयोजना गर्दा दिपंकर बुद्धले उनको दरबारभित्र नछिरी जुन बूढी आमैको हातबाट दान ग्रहण गरेका थिए, ती बूढी आमैलाई आज पनि ‘गुइत: अजी’ का रूपमा पूजा गरिन्छ। त्यहाँको एउटा विहारमा गुइत: अजीको मूर्ति स्थापना गरिएको छ।
गुइत: नगर स्थापनासँग जोडिएको पौभा: चित्र कहिले बन्यो भन्ने कसैलाई थाहा छैन। अमेरिकी अनुसन्धाता मेरी स्लसरले आफ्नो ‘नेपाल मण्डल’ किताबमा यसलाई चौधौं शताब्दीमा बनेको भनेर लेखेकी छन्। उनले पौभा: चित्रको कलात्मक शैलीका आधारमा यो आकलन गरेकी हुन्। यसलाई पुष्टि गर्ने प्रमाण छैन।
स्थानीयहरू यो पौभा: चित्र त्योभन्दा धेरै अगाडि लेखिएको र समयक्रममा बिग्रँदै, मक्किँदै गएपछि हुबहु नयाँ बनाइँदै आएको विश्वास गर्छन्। जसरी कपडामा लेखिएको पुरानो चित्र बिग्रेपछि अहिलेका पुस्ताले त्यसैबाट सारेर नयाँ बनाएका छन्।
‘यो पौभा: चित्र गुइत:को इतिहास कथा मात्र होइन, हाम्रो संस्कृति पनि हो,’ ज्ञानेन्द्रले भने, ‘हाम्रा पुर्खाहरूले एउटा बिग्रेर गएपछि त्यही हेरेर अर्को बनाएका हुन सक्छन्। यो गुइत:मा निरन्तर चलिआएको प्रक्रिया हो।’
बेखारत्न शाक्यले मलाई सुनाउन चाहेको तर सुनाउन नपाएको पौभा: चित्रको यो कथा गुइत: टोलकै ज्ञानेन्द्र र नानीकाजीबाट सुनेर फर्कंदा मलाई अत्यन्तै खुसी लागिरहेको थियो।
बेखारत्नको अन्तिम इच्छा पूरा भयो भन्ने अनुभूतिले म आफैंमा मखलेल थिएँ।
सोच्दै थिएँ, यी ज्ञानेन्द्र शाक्य आफ्ना बा बिरामी भएको दौडादौडबीच एकछिनका लागि विहारमा आएका थिए। त्यो पनि हामी भएकै बेला। यस्तो लाग्थ्यो, नियतिले उनलाई हामीलाई कथा सुनाउनकै लागि यहाँ पठाइदिएका थिए।
कतै बेखारत्नकै आत्माले उनलाई डोर्याएर यहाँ ल्याइदिएको त होइन! के बेर!
गुइत:बाट फर्किनुअघि म र सबिनाले बेखारत्नको घरमा आवाज दियौं। माथि चोटाबाट एउटी महिलाले पुलुक्क हेरिन्। हामीले उनलाई तल बोलायौं। उनी बेखारत्नकी छोरी रहिछन्।
मैले उनलाई बेखारत्नसँग हाम्रो भेट कसरी भयो र कसरी उनले पौभा: चित्रको कथा सुनाउन जनैपूर्णिमाको दिन आउनू भनेर निम्तो दिएका थिए भन्ने सुनाएँ।
असार ५ गते बेखारत्न बाको मृत्यु भएको रहेछ। त्यसको दुई महिनापछि उनैलाई सम्झना गर्दै दुई जना अपरिचित व्यक्ति आफ्नो घरको ढोकामा आएको देखेर होला, छोरीका आँखा रसाए।
‘बालाई केही भएकै थिएन। दिउँसो अलिकति भोज खानुभएको थियो। राति दम बढ्यो। हतारहतार अस्पताल पुर्यायौं। अस्पताल लग्नासाथ उहाँ जानुभयो। मार्नकै लागि अस्पताल लगेजस्तो पो भयो,’ बेखारत्नकी छोरी भावुक सुनिइन्।
‘तपाईंहरू उहाँलाई सम्झँदै आउनुभयो, खुसी लाग्यो,’ उनले भनिन्, ‘त्यहाँ विहारमा जानुस् है, उहाँले आफैं सुनाउन नपाए पनि पौभा: चित्रको कथा सुनाउनेहरू त्यहाँ भेटिन्छन्।’
मैले उनलाई धन्यवाद दिएँ र बेखारत्न बाले सुनाउन चाहेको तर सुनाउन नपाएको कथा हामीले भर्खरै सुनेर आएको उनलाई बतायौं।
उनी चुप्प लागिन्।
हामी पनि केही बोल्न सकेनौं।
‘फेरि आउँछौं है,’ यति भनेर हामी विदा भयौं।
बेखारत्नको घरको ठ्याक्कै अगाडि गुइत: पोखरीमा यति बेला लबालब पानी भरिएको छ। यही पोखरीको प्रसंगले हामीलाई परिचित गराएको थियो। तर अहिले लबालब पानी भरिएको पोखरी हेर्दै दंग पर्न बेखारत्नका आँखाहरू गुइत:मा छैनन्।
बेखारत्नले सुनाउन नपाएको यो कथा म उनैलाई समर्पण गर्न चाहन्छु। यो कथा मेरो तर्फबाट बेखारत्न शाक्यलाई श्रद्धाञ्जलि।