पश्चिम नेपालको पशुपति भनेर चिनिने रूपन्देहीको सैनामैनास्थित पर्रोहा परमेश्वर धामको पुनर्निर्माण सुरू भएको छ।
धामको पुनर्निर्माणको कामको पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन्।
सो अवसरमा बोल्दै पौडेलले धाम पुनर्निर्माणले सैनामैनाको विकासमा महत्वपूर्ण आयाम थपिने विश्वास ब्यक्त गर्दै गुरूयोजना अनुसारको काम गर्न स्रोत सुनिश्चितताको कमी नहुने प्रतिवद्धता जनाए।
सैनामैना नगरपालिकाले यो धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्यसहित पुनः निर्माणको काम सुरु गरेको जनाएको छ।
दुई वर्षमा सम्पन्न गर्ने गरी पुनर्निर्माण सुरू गरिएको उक्त मन्दिर प्यागोडा शैलीमा बनाउने योजना सैनामैना नगरपालिकाको छ।
सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले प्यागोडा शैलीमा कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा बनाउने गुरुयोजना तयार गरी निर्माण शुरू गरिएको बताए।
नगर प्रमुख कार्कीले हिन्दू धर्मावलम्बीको मुख्य गन्तव्यको रुपमा विकास गर्न गुरूयोजना बनाएर काम थालिएको जानकारी दिए ।
गुरूयोजना अनुसार मूल मन्दिरसहितका संरचनाहरू निर्माण गर्न १४ करोड बढी लागत लाग्ने अनुमान नगरपालिकाले गरेको छ। मन्दिर बनाउन नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा संघीय सरकारको सशर्त अनुदानको रकम खर्च हुनेछ।
पहिलो चरणमा चार वटा ढोकासहितको मूल मन्दिर प्यागोडा शैलीमा तामाको छानोसहित बनाईने छ। पहिलो चरण अन्तर्गत दुई तले ५१ फिट लम्बाईको मूल मन्दिर बनाउन ६ करोड ५७ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको छ।
मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहनेछन्। करिब ५०० किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु रहने मन्दिरमा साढे ५ फिटको मूल गजुर रहने छ ।
मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तमा पूरा गर्ने लक्ष्य लिईएको छ। पहिलो चरणको कामपछि दोस्रो चरणमा ८ करोड बढीको पूर्वाधारहरु बनाइने छ।
नेपालमै पहिलोपटक श्रावणी मेला तथा जलार्पण शुरु भएको पर्रोहा परमेश्वर बोलबम धाममा स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानि पूजा गरिदै आएको छ।
धामका अध्यक्ष रामवली चौधरी श्रीमद भागवतको दशम् स्कन्दको ३४ औं अध्यायको प्रथम श्लोकमा यहाँ स्वयंउत्पत्ति ज्योतिर्लिङ्गको भगवान श्रीकृष्णले पनि पूजा गरेको उल्लेख गरिएको दाबी गर्छन्।