स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्ने भनेर गरेको निर्देशन हावादारी रहेको ठहर गर्दै निजी अस्पतालहरूले उक्त कुराप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
निजी अस्पतालहरूको छाता संगठन 'एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल' अफिनले विज्ञप्तिमार्फत मन्त्रालयले गैरजिम्मेवारपूर्ण निर्णय गरेको बताएको छ।
'सीमित साधन स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमितको उपचारमा केन्द्रीत गरिरहेको अवस्थामा अत्यावश्यक साधन स्रोत राज्यले उपलब्ध गराउनुको साटो गैरजिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी सञ्चालन भैरहेछ भन्ने स्पष्ट हुन्छ,' विज्ञप्तिमा भनिएको छ।
पछिल्लो सातायता अक्सिजनको चरम अभाव हुन थालेपछि मन्त्रालयले सय बेड माथिका निजी तथा सरकारी अस्पताललाई १५ दिनभित्र आफैं अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको थियो। तर अफिनले हाल देशभरि नै निषेधाज्ञा रहेको र अन्तर्राष्ट्रिय हवाई सेवा पनि बन्द रहेकाले द्रुत ढुवानी गर्न सम्भव नहुने जनाएको छ।
'अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन। विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि तीन महिना नभई प्लान्ट तयार गरिदिने अवस्था रहँदैन। प्लान्ट भित्रिएपछि सोको जडान गर्न कम्तीमा १५ दिन लाग्छ,' अफिनले भनेको छ।
निजी अस्पतालले प्लान्ट जडान गर्न कम्तीमा २ करोड लाग्ने र जडान गर्नका लागि थप पूर्वाधार तयार पार्न अरू ५० लाख रुपैयाँ चाहिने भन्दै वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पताल सक्षम नरहेको जनाएका छन्।
अफिनले अहिलेको अवस्थामा सरकार अक्सिजन व्यवस्थापन गर्न जुट्नु पर्ने बेलामा झन् आफ्नो दायित्वबाट विमुख भएको बताएको छ।