शनिबारको दिन बिदा–सिदा गोली मारेर, काँधमा गह्रुँगो क्यामरा र ट्राइपड बोकेर, मास्टरसेफ सन्तोष साहलाई पछ्याउँदै एकाबिहानै हामी नरदेवी आइपुगेका छौं।
म र मेरा भिडिओ सहकर्मी विवेक खिम्दुङ राई सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरको निम्तोमा यहाँ आएका हौं, जो आजका हाम्रा टूर गाइड हुन् र हामीलाई काठमाडौंका रैथाने पाकशालाहरूमा लिएर जाँदैछन्।
मैले उनलाई भनेको थिएँ, ‘हाम्रा नेताहरू दिनकै खिचडी पकाउँदै छन्, यी बबुरा भान्सेको के दाल गल्ला?’
उनले आफ्नै पारामा जवाफ दिए, ‘राजनीतिको खिचडी निल्नु न ओकल्नु!’
हो त नि! उनीहरू आफैं खान्छन्, हजम नभए आफैं ओकल्छन्! हामीलाई लिनु न दिनु!
उनले अगाडि भने, ‘यी मास्टरसेफलाई हाम्रा रैथाने परिकार चिनाउन पाए कम्तिमा विदेशमा त चिनाउँछन्।’
आलोकले यस्तो आशा राख्नु गलत होइन। बिबिसी मास्टरसेफ च्यालेन्जका उपविजेता सन्तोष साहले काठमाडौंको य:मरि बेलायतलाई चखाए, निर्णायकहरूको वाहवाही पाए र आफू फाइनलसम्म पुगे। त्यसको भिडिओ हेरेदेखि यहाँका स्थानीयमाझ सन्तोषको लोकप्रियता हलक्कै बढेको छ।
यतिखेर उनी हामीसित काठमाडौंका साँघुरा गल्लीमा हिँडिरहँदा पनि मान्छेहरू फर्की–फर्की उनैलाई हेर्दै छन्। बाइकमा कुदिरहेकाहरू आफ्नो स्पिड कम गर्दै छन् र हेल्मेटको आँखीझ्यालबाट उनैलाई चिहाउँदै छन्। कोही चाहिँ नेता–अभिनेताझैं हात हल्लाउँदै ‘सन्तोष दाइ तारे माम’ भन्दै छन्। कति युवायुवती त उनीसँग सेल्फी खिच्नधरि झुम्मिए।
तपाईंहरूलाई पनि राजनीतिको घिसिपिटी खिचडीले स्वाद बिगारेको छ भने आउनुस् हामीसँग यो फूड टूरमा — केही मिठा स्वाद चाखौंला, केही मिठा बात् गरौंला। आखिर दिन त त्यसै ढल्किँदैछ! भरे फेरि राजनीतिको पाकशालामा उही घिसिपिटी खिचडी नै पाक्दैछ!
लु त, आ छाय् लिबाक्यू? अब ढिलो किन?
यो हाम्रो बिहानी नास्ता अर्थात्, ब्रेकफास्टको समय हो। नास्ता खान हामी नरदेवीको तुंछेँ गल्लीमा छौं।
काठमाडौंको ब्रेकफास्ट के हो, तपाईंहरूलाई थाहा छ?
जेरी–स्वारी? होइन!
पुरी–तरकारी? होइन होइन!
पाउरोटी? छ्या!
हुन त अचेल मकैको चिउरा, गहुँको चिउरा, ओट्स, म्युसेलीजस्ता अनेक विकासे ब्रेकफास्टको बिस्कुन लागेको छ, तर सही अर्थमा काठमाडौंको दिन सुरू हुन्छ तात्तातो ग्वारामरिबाट।
झिसमिसेमा स्वयम्भू दर्शन गर्न उक्लेकाहरू जब घर ओर्लिने बेला हुन्छ, तपाईं त्यो बेला काठमाडौं घुम्न निस्कनुस्, अनि देख्नुहुन्छ यहाँका गल्ली–गल्लीमा लागेको ग्वारामरि मेला। यस्ता कति पसल त ग्वारामरि र सेल पकाउन बिहान मात्र खुल्छन्, दिनभरि चकमन्न। दिउँसो मात्र घुम्नेले काठमाडौंमा लाग्ने ब्रेकफास्ट बजारको पत्तै पाउन्नन्।
ग्वारामरि भनेको सानो, पुक्क फुलेको, डल्लो रोटी। नेपाल भाषामा ग्वाराको अर्थ डल्लो, मरिको अर्थ रोटी। नामअनुसार कुनै चिजको विशेषता ठ्याक्कै मेल खान्छ भने त्यो ग्वारामरि नै हो। जसले ग्वारामरि चाखेको छैन, उसले काठमाडौंको स्वाद चिनेको छैन।
हाम्रो अगाडि फराकिलो फलामे कराईमा भकभकी तेल उम्लिँदैछ। पसलका सञ्चालक बाबुकृष्ण श्रेष्ठ गिलो मसालेदार पिठोको डल्लो एउटा–एउटा गर्दै थुपुथुपु खसाल्दै छन्। तातो तेलमा पिठोको डल्लो डुंगाजस्तै तैरिन थाल्छ। आधा भाग तेलमै डुब्छ, आधा तेलमाथि पुक्क फुल्छ।
जसरी फेवातालमा माझीले बहना चलाउँदै डुंगा खियाउँछन्, त्यसरी नै बाबुकृष्ण तेलतालमा तैरिरहेका ग्वारामरीका डल्लाहरूलाई झाँझर (प्वाल–प्वाल परेको ठूलो पन्यू) चलाएर ओल्टाइपल्टाइ पार्छन्।
यी सब दृश्य आफ्नो मोबाइल क्यामरामा कैद गरिरहेका सन्तोष साह सोध्छन्, ‘कति वर्ष हुनुभयो बुवा?’
‘८१ लागेँ’
‘अनि पसल चलाएको कति भयो?’
‘पसल त मभन्दा जेठो, सय वर्ष नाघ्यो होला।’
‘हाम्रो पुस्तैनी व्यापार नै यही,’ बाबुकृष्णले पहिलो खेपको ग्वारामरि तातो तेलबाट छानेर ठूलो किस्तीमा खन्याए।
उनकी पत्नीले कागजमा पोको पारेर हामी सबैलाई खान दिइन्।
एक टुक्रा मुखमा टोकेपछि सन्तोषले भने, ‘नुनिलो नुनिलो हुँदो रहेछ, फुलौराजस्तो। बिहान खानलाई ठिक छ यो।’
ग्वारामरि भनेको मैदाको डल्लो हो, जसमा थोरै बेसार, थोरै नुन र खाने–सोडा मिसाइन्छ। धेरैलाई ग्वारामरि खाने तरिका थाहा हुँदैन। दिनदिनै खानेले पनि तरिका मिलाएर खाएको मैले देखेको छैन। अक्सर उनीहरू ग्वारामरि कुटुक्क टोक्छन्, अनि चिया सुरुप्प पार्छन्। एकदिन असनको एउटा पसलमा मैले यसैगरी खाएको थिएँ। त्यहाँका साहुजीले मलाई नै ग्वारामरिसँगै चपाउँलाझैं गरे।
‘यसरी खाने होइन नि!’ उनले मलाई तरिका सिकाए, ‘पहिले अलिकति टोक्नुस्, अनि चियामा चोबेर सुरुप्प खानुस्।’
अर्को तरिका पनि रहेछ– औंलाले ग्वारामरिको सानो टुक्रा कोट्टयाएर प्वाल पार्ने र त्यही प्वालमा चिया उबाएर खाने। जसरी पानीपुरी खाइन्छ, त्यसरी नै।
मैले जसै असनमा सिकेको तरिका सुनाएँ, आलोकले भने, ‘म त त्यसरी नै खान्छु। चिया र ग्वारामरिको ‘कम्बो’ माक्कुसे (मिठो स्वाद) हुन्छ। ग्वारामरिले चियाको र चियाले ग्वारामरिको स्वाद बढाइदिन्छ।’
हामी यता गफिँदै गर्दा सन्तोष साह ग्वारामरि पकाउने तरिका बुझ्दै थिए। मैले उनलाई भनेँ, ‘एकचोटि ट्राई गर्ने कि?’
उनी कस्सिए।
बाबुकृष्णले रमाउँदै ग्वारामरि पकाउने आफ्नो पुस्तैनी आसन छाडिदिए।
सन्तोष दंग पर्दै आसनमा बसे र गिलो पिठोका डल्ला विस्तारै तेलमा खसाल्न थाले। बाबुकृष्ण पछाडि बसेर उनलाई त्यसरी नै हात चलाउन सिकाउँदै थिए, जसरी शिक्षकहरू केटाकेटीलाई सिसाकलम चलाएर अक्षर कोर्न सिकाउँछन्।
पकाउनु भनेको पनि कला हो, त्यसैले त पाककला! एउटा कला जानेको मान्छेलाई अर्को कला सिक्न कति बेर लाग्छ!
हामीले अर्को खेपको ग्वारामरि सन्तोषको हातबाट खायौं। त्यो पनि उस्तै खुरदुरे र उस्तै कुरकुरे थियो, जस्तो बाबुकृष्णले पकाएका थिए।
‘सजिलै रैछ,’ सन्तोषले भने, ‘एक–दुईचोटि अभ्यास गरेँ भने अझै राम्ररी जानिएला।’
तुंछेँ गल्लीबाट हामी लाग्यौं छत्रपाटीतिर।
बांगेमूढा चोकमा महिला दिवसको मेला लागेको रहेछ। हाकु–पतासीमा सजिएका नेवार महिलाहरू विभिन्न रैथाने परिकार पकाउँदै थिए। त्यहाँ सन्तोष साहलाई नचिन्ने कोही रहेनछ। जसै उनको प्रवेश भयो, उनलाई आ–आफ्नो परिकार देखाउन, चखाउन र उनीसँग फोटो खिच्न भीड लाग्यो।
हामीले त्यहाँ व: खायौं, स्याफाली चाख्यौं।
‘व: त मैले खाएको छु, स्याफाली चाहिँ के हो?’ सन्तोषले हाँस्दै सोधे, ‘झापाली त होइन नि?’
भीडमा हाँसो गुञ्जियो। एक महिला उत्साहित हुँदै स्याफालीबारे वर्णन गर्न अघि सरिन्।
‘यो तिब्बती परिकार हो,’ उनले भनिन्, ‘यसमा पिठोको रोटीभित्र मासुको किमा पोको पारेर भुटेको तोरीको तेलमा तारिन्छ।’
‘मरमसला के–के हाल्नुपर्छ?’ सन्तोष जिज्ञासु देखिए।
‘खासै धेरै मसला चाहिन्न,’ उनले जवाफ दिइन्, ‘अलिकति जिराको धूलो, नुन, बेसार, अनि थोरै मरिचको धूलो। खासमा भुटेको तोरीको तेलले हो, यसलाई स्वादिलो बनाउने।’
उनले पहिलो खेपको स्याफाली भगवानलाई चढाइन्, दोस्रो खेप सन्तोषलाई दिइन्।
सन्तोषले यति मिठो मानेर खाए, कागजको प्लेट चाटचुट पारेर औंलाधरि चुस्न भ्याए।
हाम्रो त्यसपछिको गन्तव्य थियो, छत्रपाटी गणेश स्थानको श्रीकुमारी मरि पसः।
अघि बाबुकृष्णको ग्वारामरि पसलजस्तै यो हेमदास ताम्राकारको पुस्तैनी व्यापार हो। उनी भन्दै थिए, ‘बाबु–बाजेको पालादेखि हामी लाखामरि बनाउँदै छौं। असी–नब्बे वर्ष भयो होला, अझै त्योभन्दा पुरानो हो कि!’
नेवार समुदायमा ८० भन्दा बढी थरीका रोटी वा मिठाइ बनाइन्छ। फरक–फरक चाडपर्व र अवसरका लागि फरक–फरक रोटी प्रयोग हुन्छ। तीमध्ये लाखामरिको स्थान विशिष्ट छ। यो रोटीहरूको राजा हो। किनभने, जति बेला बिहेको निम्तो–कार्ड छाप्ने र बाँड्ने चलन थिएन, नेवारहरू लाखामरिलाई नै निम्तो–कार्डका रूपमा प्रयोग गर्थे। काठमाडौं उपत्यकामा यो चलन अझै हराएको छैन।
यति मात्र होइन, केटा पक्षले जब ठूलो लाखामरि केटी पक्षलाई दिन्छ, तब बिहे पक्का भएको बुझिन्छ।
‘यो रोटी चामल र मासको पिठोबाट बन्छ,’ हेमदासले लाखामरि बनाउने तरिका सुनाए, ‘चामल र मासलाई दिनभरि भिजाएर रातभरि ओभाउन राखिन्छ। भोलिपल्ट मज्जाले मुछेर पिठो बनाइन्छ, अनि पानी र घ्यूमा मज्जाले फिटिन्छ।’
उनले यसो भन्दै गर्दा आफैंले पिठो मुछेर पनि देखाउँदै थिए।
मुछ्दा मुछ्दा जब पिठो नरम भयो, हेमदासले त्यसलाई सानो–सानो प्वाल भएको कपडामा हालेर बाँधे। अगाडि ठूलो कराईमा तेल तात्दै थियो। तेल राम्ररी तातेपछि उनले प्वाल भएको कपडाबाट नरम पिठो तरतर खसाले र तेलमै लाखामरिको बुट्टा पनि भरे। मानौं कुनै कलाकारले क्यानभासमा रङ भर्दैछ।
मैले सन्तोष साहतिर हेरेँ। उनी सानो बालकजस्तै देखिएका थिए। नौलो चिज भेट्दा बालकहरू जसरी उत्सुक र कौतूहल हुन्छन्, सन्तोषका चनाखा आँखा लाखामरि पकाएको हेर्दा उसैगरी चम्केका थिए।
सँगसँगै, आफ्नो मोबाइलबाट लगातार भिडिओ पनि खिच्दै थिए।
जसै तेलमा तैरिरहेको लाखामरिको रङ खैरो भएर आयो, हेमदासले त्यसलाई कराईबाट झिकेर बाहिर राखे। ध्यानपूर्वक हेरिरहेका सन्तोषले तुरुन्तै सोधिहाले, ‘लाखामरि तयार भयो?’
‘होइन होइन, यसलाई अब केही बेर सेलाउन दिनुपर्छ,’ यति भनेर उनले भर्खरै पकाएको लाखामरिलाई चास्नी अर्थात् चिनीपानीको घोलमा डुबाए।
‘अब चाहिँ तयार भयो,’ हेमदासले लाखामरिको सानो–सानो टुक्रा हामी सबैलाई चाख्न दिए।
‘लाखामरिको आकार हेरेर बिहेमा कति जनालाई निम्ता गरेको छ भन्ने बुझ्नुपर्छ। सिंगै लाखामरि दिएको छ भने पूरै परिवारलाई डाकेको हो। आधा दिनुको मतलब श्रीमान–श्रीमती र एक चौथाइ दिनुको मतलब परिवारमा एक जनालाई मात्र डाकेको अर्थ लाग्छ,’ उनले भने।
यहाँनिर फूड टूरका आयोजक काठमाडौं गेष्ट हाउसकी निर्देशक सगुनी सिंह शाक्यले भनिन्, ‘टाढाका नातेदारलाई बोलाउँदा सानो लाखामरि दिए हुन्छ, नजिककालाई ठूलै दिनुपर्छ।’
आलोकले पनि थपे, ‘लाखामरिको बुट्टा पनि थरीथरीको हुन्छ।’
उनले यसो भन्दै दराजमा राखिएका विभिन्न आकृतिका लाखामरि देखाए। त्यहाँ कुनै भ्यागुतोजस्तो लाखामरि थियो, कुनै माछा आकारको त कुनै चराजस्तो।
‘यस्ता लाखामरि प्रायः सजावटका लागि प्रयोग गरिन्छ,’ हेमदासले अर्थ खुलाए।
‘गहुँको पिठो लाम्चो–लाम्चो पारेर, फनक्क–फनक्क बटार्दै पकाइने अर्को खालको लाखामरि पनि हुन्छ,’ उनले भने, ‘त्यसलाई हामी ‘एथ्यामरि’ वा ‘ल्हाःमरि’ भन्छौं। भोजमा आएका पाहुनालाई फर्किने बेला यस्तो लाखामरि सगुनका रूपमा दिने चलन छ।’
यसबाहेक विभिन्न पूजाआजा, भाइटीका, आमाबुवाको मुख हेर्ने दिन प्रयोग हुने लाखामरिका आकार छुट्टाछुट्टै हुन्छन्।
‘अचेल आधुनिक मिठाइले लाखामरि प्रयोग घट्दै गएको छ,’ आलोकले भने।
सन्तोषले छक्क माने, ‘यस्तो त जोगाउनुपर्यो नि!’
‘अब तपाईंले सिकेर अन्तर्राष्ट्रिय रूपमा चिनाइदिनुभयो भने मद्दत होला,’ आलोकले सुझाए।
‘म काठमाडौं आउनुको उद्देश्य नै त्यही हो,’ सन्तोषले भने, ‘काठमाडौं पाककलामा धनी छ। यहाँ थुप्रै रैथाने परिकार छन्। म यहाँका नेवारहरूसँग त्यसको ठेट तरिका सिक्न चाहन्छु र ती सबै संकलन गरेर किताब निकाल्छु।’
लाखामरि र साथमा जेरी–स्वारीको गुलियोले मुख मिठ्याउँदै हामी छत्रपाटीबाट असन हुँदै मरुतिर लम्कियौं।
असनमा विभिन्न रैथाने मरमसला र माछाका सिद्राबारे सोधपुछ गर्दै हिँडेका सन्तोषलाई मैले सोधेँ, ‘तपाईंलाई भान्से भनेको खुब मन पर्छ है?’
‘हो,’ उनले मुसुक्क हाँस्दै भने, ‘कसैलाई भान्से भनेको नराम्रो लाग्ला, मलाई चाहिँ यो शब्द एकदमै स्वादिलो लाग्छ। आई लव यू भनेजस्तो।’
‘हामी सबै आमा, दिदी–बहिनी, भाउजू र श्रीमतीले पकाएको खाएर हुर्कियौं। उहाँहरू हामीलाई छातीमा बसाउनुहुन्छ। अहिलेसम्म हामीकहाँ उहाँहरूले मात्र भान्से काम गर्नुभयो। म भाग्यमानी हुँ, आमा, दिदी–बहिनीको त्यो पदबी मैले पाएँ। यो जत्तिको ठूलो काम अर्को के होला?’ उनले भने।
सन्तोषले एउटा अन्तर्वार्तामा ‘मान्छेको सम्झना उसको जिब्रोको स्वादमा बसेको हुन्छ’ भनेका थिए। मैले यसबारे पनि कुरा झिकेँ।
‘सम्झना भनेकै स्वाद हो। हामी कुनै ठाउँ घुमेर आएपछि अरू सबथोक बिर्सन्छौं, तर खाएको स्वाद बिर्संदैनौं,’ उनले भने, ‘मान्छे कुनै एउटा खास रेस्टुरेन्ट घरिघरि जान्छ, त्यसको कारण उसलाई त्यहाँको स्वादको सम्झनाले तानेको हो।’
घरको स्वाद, आमाको हातको स्वाद भनेर त्यसैले भनिएको होला!
हामी लामो समय बाहिर जाँदा घर ‘मिस’ गर्छौं। घर ‘मिस’ गर्छौं कि घरको स्वाद? हँ!
स्वाद संवाद चल्दाचल्दै हामी मरु गणेशस्थानको एउटा लोकल खाजाघरमा पुगिसकेका थियौं। यहाँ हामीलाई रांगोको मासुका विभिन्न परिकार चखाउँदै छन्, उत्तम राजकर्णिकार।
बाहिर हरियो पर्दा टाँगेको साँघुरो पसलभित्र छिर्दै आलोकले छोटो परिचय दिए, ‘सबैले बुझ्ने भाषामा भन्दा यो भट्टी हो। रांगोको मासुको रैथाने स्वाद यस्तै भट्टीमा पाइन्छ।’
नेवारहरू रांगोको सिङ र खुरबाहेक कुनै अंग खेर फाल्दैनन्। किन होला हँ?
यसको पछाडि एउटा किम्बदन्ती छ।
यो त्यति बेलाको कुरा हो, जब भारतका राजा हरिसिंह देव नेपाल आउँदै थिए। मधेसको मलेरिया छलेर नेपाल आउँदा कयौं दिन कयौं ठाउँमा बास बस्नुपर्थ्यो। त्यस्तो बेला आफूसँग बोकेको रासन नपुग भए अर्को विकल्प केही थिएन।
हरिसिंह देव र उनको सेनालाई त्यस्तै परेछ। लामो समय बास बस्दै हिँड्नुपर्दा रासनपानी सकिएर सेना भोकले छट्पटाउन थालेछ। कतिले त खान नपाएर प्राण नै त्यागेछन्।
राजा हरिसिंह देव तलेजु भवानीका परमभक्त थिए। उनले समस्याबाट त्राण पाउन आफ्ना इष्टदेवी तलेजु भवानीलाई पुकारे। तलेजुले उनलाई दर्शन दिएर भनिछन्, ‘भोलिपल्ट सबेरै जंगलमा जे जनावर भेटिन्छ, त्यसैको मासु मेरो प्रसाद सम्झेर खानू। तर याद राख्नू, तिमीहरू आफ्नो भोक मेट्न अर्काको प्राण लिँदैछौ। त्यसैले, कुनै पनि चिज खेर फाल्यौ भने तिमीहरूलाई पाप लाग्नेछ।’
राजाले बिहानै जंगलभरि आफ्नो सेना परिचालन गरे।
सेनाको नजर एउटा अजंग राँगोमा गयो। उनीहरूले त्यसैलाई समातेर हरिसिंह देवसामु पेस गरे।
हरिसिंहले भने, ‘यो तलेजु भवानीले हाम्रो निम्ति पठाइदिएको प्रसाद हो। अब हामी यसलाई मारेर खाऔं। तर, यसको कुनै अंग फाल्न पाइँदैन है।’
त्यति बेला हरिसिंह देवको सेनाले राँगोको सिङ र खुरधरि फालेनन् रे। कालान्तरमा सिङ र खुर चाहिँ खान छाडियो। त्यसबाहेक टाउकोदेखि पुच्छरसम्मका अरू कुनै अंग खेर जान दिइन्न। यो चलन अहिले पनि उस्तै छ।
नेवार समुदायमा राँगाको प्रत्येक अंगबाट छुट्टाछुट्टै परिकार बनाइन्छ। त्यसमध्ये मुख्य तीन परिकार हामी यहाँ उत्तम राजकर्णिकारको पसलमा चाख्दैछौं — छ्वेला, सपूम्हिचा र बुल्ला।
छ्वेला त हामी धेरैले खाएकै छौं। सामान्यतया छ्वेला बनाउन राँगाको फलमासु टुक्रा–टुक्रा पारेर परालको आगोमा पोलिन्छ। आगोमा पोल्दा माथिबाट परालले नै छोपिन्छ। त्यसपछि मासुमा लागेको खरानी टक्टकाएर त्यसलाई भुटेको तोरीको तेल, रातो खुर्सानीको धूलो, जिराको धूलो र अलिकति नुन हालेर मज्जाले मोलिन्छ। छ्वेला तयार।
अचेल परालमा पोल्ने झन्झट प्रायःले गर्दैनन्। उत्तमले पनि स्टोभको आगोमै पोलेका थिए।
तपाईंहरू छ्वेला खान चाहनुहुन्छ भने खासै गाह्रो छैन। काठमाडौं, पाटन र भक्तपुरका दरबार स्क्वायर वरिपरि छ्वेला पाउने थुप्रै स्थानीय होटल छन्। पाटन, मंगलबजारको होनचा त खुबै हिट छ। ठूल्ठूला रेस्टुरेन्टले पनि यसलाई आफ्नो मेनुमा समेट्न थालेका छन्।
सपूम्हिचा भने धेरैले नचाखेका हुन सक्छन्। यो सबै रैथाने होटलमा पाइँदा पनि पाइन्न। पकाउन पनि गाह्रै हुन्छ।
सपूम्हिचा भनेको राँगाको भुँडी र हड्डीको भित्री तत्व (बोनम्यारो) को मिश्रण हो। भुँडी काटेर सानो–सानो थैलोजस्तो बनाइन्छ। त्यसभित्र हड्डीको बोनम्यारो भरेर मसिनो धागोले बेरिन्छ र तोरीको तेलमा तारिन्छ।
सपूम्हिचा खाँदा काटेर खाने होइन, मःम जस्तै एकैचोटि मुखमा हाल्ने हो। तात्तातै मुखमा हाल्न गाह्रो पर्ने हुँदा अलि बेर सेलाउन दिनुपर्छ। त्यसपछि जसै तपाईं धागो झिकेर क्वाप्प मुखमा हाल्नुहुन्छ, बोनम्यारोको रसिलोले मुख भरिएर आउँछ। यो स्वाद साँच्चैको माक्कुसे हुन्छ।
अब कुरा गरौं, बुल्लाको, जसबारे धेरै कमले सुनेका हुन्छन्।
बुल्ला भनेको राँगाको हड्डीबाट बनाइने सुप हो। यसमा हड्डीसँग कः पनि मिसाइन्छ। कः भनेको जाँड बनाइसकेपछि बाँकी रहेको पदार्थ हो।
उत्तमले सन्तोषसहित हामी सबैलाई बुल्ला बनाउन सिकाए।
‘सबभन्दा पहिला राँगाको कुरकुरे हड्डी र खुट्टातिरको हड्डीलाई सानो–सानो टुक्रा पारिन्छ। हड्डीका टुक्रामा आफ्नो स्वादअनुसार अदुवा, लसुन, प्याज, नुन, जिरा, मरिच लगायत विभिन्न मरमसला हालेर भुटेको तोरीको तेलमा पकाइन्छ। जब हड्डीका टुक्रा रातो भएर आउँछ, त्यसलाई जाँडको कःसँग मिसाएर ठूलो कसौंडीमा भकभकी उमालिन्छ। आवश्यकताअनुसार पानी पनि मिसाइन्छ। बासनादार बनाउन तेजपत्ता हालिन्छ।’
उनले अझै विस्तार लगाए, ‘यसरी उमाल्दा कसौंडी छोप्नुहुन्न। करिब दुई घन्टा उमालेपछि एकचौथाइ झोल सुकेर जान्छ। बाँकी रहेको तीनचौथाइ सुप नै बुल्ला हो।’
यस्तो सुपले टाउको दुखेको, रूघा लागेको र माइग्रेनसमेत निको हुने विश्वास छ। जाडो याममा ज्यान तातो पार्न मद्दत गर्छ। नेवार समुदायमा पूजाआजा, श्राद्ध लगायत विभिन्न भोजमा बुल्ला नभई हुँदैन।
उत्तमले सबै परिकार तयार भएपछि छ्वेला–चिउरा, आलुको अचार, बुल्ला, सपूम्हिच र कचिलासमेत सन्तोषलाई चखाए।
काठमाडौंका ठेट रैथाने परिकारको स्वादमा मुख मिठो पार्दै सन्तोषले भने, ‘साहुजी थोँ (जाँड) पनि खाउँ न।’
उत्तमले एक–एक गिलास थोँ ल्याएर दिए।
थोँका दुई-चार सुरुपले नै सन्तोषको अनुहार रमरम भएर आयो।
काठमाडौंको फूड हेरिटेज टूर त यहीँ सकियो, तर सन्तोषका निम्ति यो भ्रमणको पहिलो चरण हो।
उनी व्यक्तिगत रूपमा यस्ता थुप्रै टूर गरेर यहाँका रैथाने स्वाद मिहिन रूपले चाख्न चाहन्छन्। त्यसमा प्रयोग हुने मरमसला र पकाउने विधि टिप्न चाहन्छन्। र, यसपालि बिबिसी मास्टरसेफ च्यालेन्जमा जसरी य:मरि बनाएर देखाए, त्यसरी नै कुनै अन्तर्राष्ट्रिय मञ्चमा यहाँका ग्वारामरि, लाखामरि, छ्वेला, बुल्ला वा सपूम्हिचा पकाएर विश्वलाई चखाउन चाहन्छन्।
कुनै पनि सम्पदा त्यसै धनी हुँदैन। सम्पदालाई धनी बनाउँछ, त्यससँग जोडिएको संस्कृतिले, त्यहाँ मनाइने जात्रापर्वले, त्यहाँ गाइने गीत र बजाइने बाजाले र सँगसँगै त्यहाँ खाइने परिकारहरूले। काठमाडौंमा यति धेरैथरीका परिकार खाइन्छ, हरेक दिन एक–एक थोक खाए पनि जिब्रो फेर्दा–फेर्दा पूरा साल बित्ला!
‘म ती सबै स्वाद समेटेर एउटा ‘कुक–बुक’ निकाल्छु। संसारलाई काठमाडौंको परिकार चिनाउन चाहन्छु,’ मास्टरसेफ सन्तोषले भने।