पहाडमा पहिरो- ३
सिर्जना तामाङ सोमबार रातारात काठमाडौं आइन्। सिन्धुपाल्चोकबाट यहाँ आइपुग्दा राति एक बजिसकेको थियो।
बर्खेझरीले खुसुखुसु पहिरो खस्न थालेपछि जुगल गाउँपालिकाकी उपाध्यक्ष तामाङ गुहार माग्न आएकी हुन्।
गत शुक्रबार यही गाउँपालिकाको लिदीमा पहिरो खसेर ३९ जना एकैठाउँ पुरिएका थिए। यहाँका १ सय ७२ घरपरिवार अझै जोखिमपूर्ण अवस्थामा छन्। केही दिन मनसुनी झरी दर्किने प्रक्षेपणले अरू गाउँ पनि संकटमा छ।
‘पहिरो व्यवस्थापन गर्न गाउँपालिकाले के गर्दैछ?’ मेरो प्रश्न सुन्नेबित्तिकै उनले उल्टै प्रतिप्रश्न गरिन्, ‘हामी त के गर्ने, कसो गर्ने अलमलमा पो छौं। तपाईंहरू नै भन्नुस् न, के गर्ने होला?’
अन्तर्वार्ता लिन फोन गरेको मान्छे आफैं अन्तर्वार्तामा परेजस्तो भयो।
धन्न जवाफ सोच्दासोच्दै उनले आफैं भनिन्, ‘संकट घरभित्र पसिसक्यो। दिनहुँ घटना भइरहेका छन्। एक ठाउँ व्यवस्थापन गर्दागर्दै अर्को ठाउँ पहिरो खसेको सूचना आउँछ। यस्तो बेला पूर्वतयारी गर्न पनि हामीसँग समय छैन।’
उनले अगाडि भनिन्, ‘पहिरो गएका ठाउँमा तत्काल राहत उपलब्ध गराउने र जोखिमका बस्तीलाई सुरक्षित ठाउँ सार्नेबाहेक विकल्प छैन।’
यिनै दुई विकल्पनिम्ति चाँजो मिलाउन आफू काठमाडौं आएको उनले बताइन्।
उनले लिदीबाट मान्छे सार्न प्रतिघरधुरी ५ वटा त्रिपाल र टेन्टहरू संघीय सरकारसँग माग गरेकी छन्। स्थानान्तरण गर्नुपर्ने परिवारलाई राहतको पनि खोजी गर्दै छिन्। कतारमा बस्ने प्रवासी तामाङ समुदायबाट एक लाख रुपैयाँ पाएको उनले बताइन्।
‘जसरी हुन्छ यसपालि मनसुनमा सिन्धुपाल्चोकलाई पहिरोबाट बचाउने कोशिस गर्दैछौं,’ तामाङले भनिन्, ‘जोखिमपूर्ण क्षेत्रका मान्छेलाई सुरक्षित ठाउँ सार्न सके पनि मानवीय क्षति हुन पाउँदैनथ्यो।’
उनी यता पहिरो व्यवस्थापन निम्ति जुगाड खोज्दै हिँडेका बेला उनकै गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ भने वडा नम्बर ३ को गोल्चे गाउँतिर कुद्दै थिए।
यो गाउँ लिदीकै वारिपट्टिको डाँडामा पर्छ। त्यहाँ जमिन भासिएर पानीको मुस्लो निस्केछ। पहिरोको डरले झन्डै ७० घरधुरी विस्थापित भएछन्।
मंगलबार बिहानैदेखि परेको अविरल झरीले उनीहरू घर फर्किने वातावरण थिएन। वडा कार्यालयले बस्तीनजिकै सुरक्षित ठाउँ सार्न त्रिपाल र टेन्ट माग गरेको थियो। मैले फोन गर्दा गाउँपालिका अध्यक्ष श्रेष्ठ यसैको रनाहामा हिँडेका थिए। लामो कुराकानी गरेनन्।
बेलुकी ५ बजेतिर फेरि सम्पर्क गरेँ। उनी गोल्चेमा त्रिपाल, सिरक–डसनासहित केही स्वास्थ्य सामग्रीहरू पुर्याएर भर्खरै घर फर्केका रहेछन्।
ढाडको नसा चेपिएर शारीरिक रूपले कमजोर भए पनि मनसुन लागेदेखि उनको धपेडी बढेको छ। हरेक दिनजसो कुनै न कुनै गाउँबाट पहिरो गएको वा जान लागेको खबर आउँछ। उनी हाँपदाँप गर्दै कुदिहाल्छन्।
मनसुन सुरू भएयता जुगल गाउँपालिकामा मात्र ७ सय ४८ घरपरिवार जोखिमपूर्ण अवस्थामा रहेको उनले बताए। ‘अहिलेलाई पहिरो गइहाले पनि मानवीय क्षति नहोस् भनेर हामी उद्धारमा लागेका छौं,’ उनले भने, ‘जोखिमपूर्ण परिवारलाई कम्तिमा दुई–तीन महिना अन्यत्रै राख्न सके धेरै क्षति कम हुन्थ्यो।’
यसबीच मैले जुगल गाउँपालिका- ३ का वडाध्यक्ष सानुकान्छा तामाङसँग पनि कुरा गरेँ।
उनी मंगलबार बिहान ६ बजे नै गोल्चे गाउँ निरीक्षण गर्न गएका रहेछन्। चार-पाँच सय मिटर माथिबाट पहिरो खस्ने जोखिम बढेको उनले सुनाए।
‘बर्खाको पानीले लेदो माटो खस्न थालेको छ। निकास खोल्ने हो भने पहिरो थामथुम पार्न सकिन्थ्यो, तर कहाँबाट खोल्ने नै भेउ पाउन सकिएन,’ उनले भने, ‘डाँडामाथि जमिन भासिन थालेको छ। थुप्रै खाल्डाहरू परेका छन्। ठाउँ–ठाउँ धाँजा फाटेको देखिन्छ।’
डाँडाको टुप्पोमा बसेर एक–एक घर गनेका तामाङले भने, ‘पहिरो खसिहाल्यो भने मान्छे बसिरहेका ६०–७० घरधुरी सप्पै बग्छन्।’
उनका अनुसार, त्यहाँका मान्छे सोमबार रातिबाटै आफ्नो घरमा सुतेनन्। कोही नजिकै स्कुलमा बास बसे। कसैले आफन्तकहाँ आश्रय लिए। उनीहरूलाई त्रिपाल र टेन्ट दिएर अहिलेलाई गाउँकै स्कुलमा अस्थायी बसोबास गराउन खोजिँदैछ। गाउँपालिकाबाट १ सय १० त्रिपाल प्राप्त भएको तामाङले जानकारी दिए।
‘अध्यक्ष (श्रेष्ठ) ज्यू आफैं त्रिपाल लिएर तल कात्तिकेसम्म आउनुभयो। त्यहाँबाट तीन–चार घन्टाको बाटो बोकेर ल्याउन १५ जना पठाएको छु,’ उनले मंगलबार साँझ भने।
यो गाउँमा २०७२ को भुइँचालोपछि नै जमिनमा धाँजा फाटेर पहिरो जोखिम बढेको थियो। त्यसमाथि बलेफी जलविद्युत आयोजनाले बाटो खन्न विष्फोटक पड्काउँदा धाँजाहरू झनै चर्केको वडाध्यक्ष तामाङले बताए।
‘हामीले तारजाली लगाएर पहिरो रोकथाम गर्न जलविद्युत आयोजनासँग माग गरेका थियौं। लेखेर पनि दिएका थियौं। हाम्रो कुरा सुनिएन। पोहोर पनि थुप्रै पहिरो गयो। यसपालि झनै खतरा बढेपछि हामीले फेरि लेखेर दिएका छौं,’ उनले भने।
यही वडाको बोल्दे ठूलोगाउँका पनि ५२ घरधुरी संकटमा छन्। त्यहाँको डाँडो पनि अहिले हो कि भोलि भन्ने छ। वडा कार्यालयले स्थानीयलाई आफ्नो घरमा नबस्न सल्लाह दिएको छ। उनीहरू यसपालिको मनसुन छल्न कोही गोठमा आश्रित छन्, कोही आलुबारीमा छाप्रो बनाएर बसेका छन्।
सिन्धुपाल्चोक देशकै बढी पहिरो जोखिम भएको जिल्ला हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुइँचालोबाट प्रभावित १४ जिल्लाको स्याटलाइट तस्बिर हेरेर जोखिम सूची तयार पारेको छ। सिन्धुपाल्चोक सबभन्दा माथि छ। दोस्रो नम्बरमा गोरखा र तेस्रोमा रसुवा पर्छ।
आकासबाट जमिनको रेसा–रेखा केलाएर यस्तो तस्बिर निकालिन्छ। जसअनुसार भोटेकोशी क्षेत्रमा भुइँचालोअघि र पछि भूसतह हल्लिएको प्रस्टै देखिन्छ। भुइँचालोपछि प्रत्येक मनसुनसँगै भूसतहमा धाँजाहरू बढेका छन्। यसले जमिन अस्थिर रहेको र कुनै पनि बेला पहिरो जान सक्छ भन्ने संकेत गर्छ।
पहिरो जोखिम देख्दादेख्दै समयमा व्यवस्थापनको पहल नहुँदा नै सिन्धुपाल्चोकका बासिन्दा संकट झेल्न बाध्य भएका हुन्।
हामीले पहिरो जोखिममा रहेको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलसँग पनि कुरा गर्यौं।
मनसुन सुरू भएयता यहाँ पनि पहिरोका थुप्रै घटना भइसके। वडा नम्बर ५, मार्मिङको बुल्कुटे गाउँमा साउन २४ को पहिरोले चार जना पुरिएका थिए। एक जनाको शव फेला परेको छ भने तीन जना हराइरहेका छन्। त्यसै दिन वडा नम्बर ४, फुल्पिङकट्टीमा एउटै घरका पाँच जनाले ज्यान गुमाए।
यस्तै जोखिम वडा नम्बर ३, लार्चामा पनि छ। त्यहाँका ६४ घरपरिवारलाई यही साउन २५ गते तातोपानी भन्सार कार्यालयको एजेन्ट बस्ने घरमा सारिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए। उता, कोदारीमा पनि ३०–३५ घरपरिवार विस्थापित छन्।
‘सबै मिलाएर हाम्रो गाउँपालिकामा मात्र ५ सय परिवार यही सिजनमा विस्थापित छन्,’ उनले भने, ‘हामीले उनीहरूलाई पाल र त्रिपाल दिएर अन्यत्र सारेका छौं। खानलाई दालचामल व्यवस्था गरेका छौं।’
उनले अगाडि भने, ‘जोखिमको कुरा गर्ने हो भने भोटेकोशी पूरै बस्नलायक छैन। यहाँका धेरै गाउँ सार्नुपर्ने अवस्थामा छन्। तर कहाँ सार्ने? बसिरहेको ठाउँबाट थपक्क उठेर जान सजिलो छैन। जोखिम छ भन्ने जान्दाजान्दै गाउँलेहरू आफ्नै ठाउँमा बस्न बाध्य छन्।’
उनका अनुसार, दीर्घकालीन रूपमा गाउँ स्थानान्तरण गर्न सरकारले नै योजना नल्याई हुँदैन। गाउँलेहरू राम्रो बसोबासको विश्वास भए मात्र सर्न तयार हुन्छन्। त्यसैले, कम्तिमा यो मनसुनभरि पहिरोमुनि कोही नबसोस् र मानवीय क्षति नहोस् भन्ने चाँजो मिलाउनमै गाउँपालिका केन्द्रित देखिन्छ।
‘त्यसो भए जोखिम पन्छाउने कुनै उपाय छैन?’
मेरो यो प्रश्नमा उनले भने, ‘सरकारले यहाँका डाँडाकाँडाको विस्तृत म्यापिङ गर्ने हो भने केही उपाय निस्कन्छ होला। सबै गाउँ सार्नुपर्छ जस्तो त लाग्दैन। केही ठाउँमा खहरे खोला व्यवस्थापन गरेर वा पानी बग्ने ठाउँमा कुलो काट्ने योजना ल्याएर पनि पहिरो रोक्न सकिन्छ। यसका लागि पनि प्रत्येक गाउँमा वैज्ञानिक ढंगले सर्वेक्षण हुन जरूरी छ।’
जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठको पनि यस्तै भनाइ थियो।
‘हामीले गर्न सक्ने भनेको दुई–तीन महिनाको अस्थायी बास मिलाउने हो। दीर्घकालीन रूपमै बसाइँ सार्ने काम त संघीय वा प्रदेश सरकारले नै हेर्नुपर्छ,’ उनले भने।
यसको निम्ति आफूले निरन्तर पहल गरिरहेको बताउँदै उनले अगाडि भने, ‘भूगर्भविद्हरूको टोली गाउँ–गाउँ जानुपर्यो। कहाँ पहिरो रोकथाम गर्न सकिन्छ, कहाँ सकिन्न छुट्टयाउनुपर्यो। रोकथाम गर्नै नसकिने भए बल्ल स्थानान्तरणको कुरा आउँछ।’
स्थानीय सरकार प्रमुखहरूको कुरा सुन्दा सिन्धुपाल्चोकको पहिरो आतंक संघीय सरकारको लापरबाहीसँग जोडिन्छ।
पहिरो भनेको एक्कासि डाँडा खस्ने होइन। केही बेर अघिसम्म सग्लो डाँडा पानी पर्नेबित्तिकै गर्ल्यामगुर्लुम खस्दैन। पहिरो सधैँ विस्तारै जान्छ। जानुअघि आफ्नो लक्षणहरू पनि देखाउँछ। कहीँ फुसफुस माटो झर्छ, कहीँ चट्टानहरू खस्छन्। कहीँ डाँडामा हाम्रो नांगो आँखाले नै देख्न सक्ने गरी धाँजाहरू फाट्छन्।
यी सबै लक्षण विचार गर्ने हो भने कुन ठाउँमा पहिरो जान सक्छ भनी पत्ता लगाउनु भूगर्भ विज्ञानका लागि ठूलो कुरा होइन। यसको निम्ति जोखिमपूर्ण ठाउँहरूको सूक्ष्म वैज्ञानिक अध्ययन हुनुपर्छ। देशभरका डाँडाकाँडाको भूसतहमा आउने प्रत्येक हलचल नापेर कुन ठाउँ कति जोखिमपूर्ण छ र कहाँ–कहाँ पहिरो जाने खतरा छ भनी पत्ता लगाउन सकिन्छ।
देशैभरिका पहाडी क्षेत्रको स्याटलाइट तस्बिर निकाल्ने र कुन–कुन डाँडा जोखिमपूर्ण छ पत्ता लगाउने काम भूगर्भविद्हरूको हो। हामीकहाँ भने जोखिम पहिचान भइसकेका सिन्धुपाल्चोकजस्ता जिल्लामा पनि पहिरो रोकथामको कुनै उपाय अपनाइएन। देशैभरिको जोखिम पत्ता लगाउनु त टाढाको कुरा।
सरकारी आँकडा हेर्ने हो भने जोखिमका बस्ती पहिचान र पहिरो रोकथाम गरे मात्र हरेक वर्ष कम्तिमा तीन सय जनाको ज्यान जोगाउन सकिन्छ। यसै वर्ष वैशाखदेखि भदौ २ सम्म पहिरोबाट २ सय १६ जनाको ज्यान गएको सरकारी तथ्यांक छ। ५८ जना अझै बेपत्ता छन्, जो फर्किने आश कम छ।
त्यसो भए के अब यो मनसुनभरि हात बाँधेर बस्नुको धर छैन?
सरकारले पहिरो, बाढी, चट्याङ लगायत सबै किसिमका विपदमा काम गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेको छ।
मैले प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेललाई लामो दीर्घकालीन योजना होइन, यसैपालि बर्खेझरीले ल्याउने जोखिम थेग्न के गरिँदैछ भनेर बुँदामा सोधेँ।
उनले पनि बुँदामै जवाफ दिए।
पहिलो, जहाँ जमिन चिरा परेको छ, त्यहाँबाट पानी पस्न नदिने। यसलाई ‘भल तर्काउने’ भनिन्छ। चिराबाट जति धेरै पानी पस्यो, माटोको पकड उति खुकुलो हुँदै जान्छ। लेदो माटो बगेर पहिरोको खतरा बढी हुन्छ।
दोस्रो, चिरा परेको ठाउँ चिम्टाइलो माटोले टाल्ने। यसो गरेर पनि पानी छिरेर माटो कमजोर हुनबाट रोक्न सकिन्छ।
तेस्रो, चिरा परेका ठाउँ प्लास्टिक वा त्रिपालले छोप्ने।
‘अहिलेलाई यी तीन उपाय अपनाएर पनि धेरै ठाउँमा जोखिम कम गर्न सकिन्छ,’ उनले भने, ‘हामीले जोखिमपूर्ण क्षेत्रका जनप्रतिनिधिहरूलाई यो सन्देश प्रवाह गरिरहेका छौं।’
कतिपय ठाउँमा भने रोकथाम गरेर मात्र पहिरोको कहर टर्ने सम्भावना छैन। धेरै धाँजा फाटेका, माटो वा चट्टान खस्न थालेका र ठूल्ठूला खाल्डा परेका त्यस्ता डाँडा पहिचान गर्न प्राधिकरणले स्थानीय सरकारहरूसँग समन्वय गरिरहेको पोखरेलले जानकारी दिए।
त्यस्ता ठाउँमा रोकथामले पार लाग्दैन। डाँडाको टुप्पो वा माटो–चट्टान बगेर आउने फेदमा बसेको बस्ती नहटाई हुन्न।
‘आ–आफ्नो क्षेत्रको जोखिम अवस्थाबारे हामीलाई पूर्वजानकारी दिनुस् भनिरहेका छौं। सकेसम्म रोकथाम गर्ने हो, सकिन्न भने त्रिपाल–टेन्ट दिएर सुरक्षित ठाउँमा सार्ने हो,’ उनले भने।
यसको निम्ति रेडक्रस लगायत विभिन्न संस्थासँग समन्वय गरी बढीभन्दा बढी त्रिपाल, टेन्ट लगायत सामग्री जोहो गरिरहेको उनले बताए।
यो पनि हेर्नुहोस्: