पहाडमा पहिरो- १
मनसुन सुरू भएदेखि सिन्धुपाल्चोकमा तारनतार धपेडी छ। शुक्रबार बिहान यहाँ फेरि पहिरो गयो।
जुगल गाउँपालिका–२, लिदीमा बिहान ६ बजेतिर खसेको पहिरो बलेफी खोलासम्म झरेको स्थानीय बताउँछन्। अहिलेसम्म ११ जनाको शव भेटिएको छ भने ३८ जना पुरिएको पुष्टि भएको छ।
दुई साताअघि पनि मेलम्ची बजारमै आठ जना एकै चिहान भए। त्यसै रात पाँचपोखरी थाङपालधाप गाउँपालिका–२ मा एकै घरका श्रीमान–श्रीमतीले सुतेको सुत्यै ज्यान गुमाए। धन्न उनीहरूकी छोरी त्यो रात हजुरआमासँग बाहिर गएकी रहिछन्। नत्र पहिरोले उनीहरूको पनि पखेरु लैजान्थ्यो।
यो सिन्धुपाल्चोकको मात्र सन्ताप होइन।
गृह मन्त्रालयका अनुसार यो वर्ष साउन २९ सम्म पहिरोमा परेर १८९ जनाले ज्यान गुमाइसके भने ४३ जना बेपत्ता छन्, जो फर्केर आउलान् भन्ने आश कमै छ।
पहिरोका यी समाचार सुन्दा इञ्जिनियरिङ भूगर्भविद श्रीकमल द्विवेदी ठ्याक्कै छ वर्षअघिको जुरे (सिन्धुपाल्चोक) घटना सम्झन्छन्।
'करिब आठ सय मिटर उचाइ र एक वर्गकिलोमिटर क्षेत्रफलको त्यो पहिरो भूगर्भ विज्ञान दृष्टिले सय–डेढ सय वर्ष अन्तरालमा आउने ऐतिहासिक घटना हो,' उनी भन्छन्, 'जसरी हामी नब्बे सालको भुइँचालो, बहत्तर सालको भुइँचालो भनेर सम्झन्छौं, जुरे पहिरो त्यस्तै हो।'
यति भनेपछि द्विवेदीका आँखामा जुरे घटनाको वृत्तान्त हेलिकप्टरका पखेटाझैं घुम्न थाले।
२०७१ साउन १७ गते, शनिबार।
बिहान ८ बजेको थियो। द्विवेदीले खाना पनि खाएका थिएनन्। त्यही बेला तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक रामानन्द यादवको फोन आयो, 'तपाईं तुरुन्तै एयरपोर्ट जानुस्।'
साप्ताहिक बिदाको दिन अप्रत्यासित आएको विभागीय आदेश द्विवेदीका निम्ति भने अप्रत्यासित थिएन।
अघिल्लो रात सिन्धुपाल्चोकको जुरेमा ठूलो पहिरो गएको र धेरै मान्छे हताहत भएको खबर उनले पाइसकेका थिए। जुनसुकै बेला विभागबाट फोन आउन सक्छ र अफरातफरीमै एयरपोर्ट कुद्नुपर्छ भन्ने उनले सोचेकै थिए।
लगभग पन्ध्र मिनेटमा जुत्ताको तुना कसेर उनी एयरपोर्ट कुदिहाले।
उनीसहित अर्का एक जना हाइड्रो–भूगर्भविद षणमुकेशचन्द्र अमात्यलाई सेनाको हेलिकप्टरमा जुरे उडाउने चाँजो मिलाइएको रहेछ। उनीहरू एयरपोर्ट पुग्दा हेलिकप्टरमा विष्फोटक पदार्थ लोड हुँदै थियो। त्यही विष्फोटक पदार्थको बाकसमाथि ढलपल हल्लिँदै यी दुई जना जुरे उडे।
'काठमाडौंबाट पहिरोग्रस्त क्षेत्र पुग्न दस मिनेट पनि लागेन,' द्विवेदीले छ वर्षअघिको घटना सम्झँदै भने, 'हामीले हेलिकप्टरबाट देखेको पहिलो दृश्य पहाडमा कसैले ठूलो क्षमताको विष्फोटक पदार्थ पड्काइदिएजस्तो थियो। बुङबुङ्ती धूलो उडेर कुइरीमण्डल देखिन्थ्यो।'
हेलिकप्टर पहिरो गएको डाँडाभन्दा विपरीत दिशाको कोदो बारीमा अवतरण गर्यो।
द्विवेदी र उनका भूगर्भविद साथीले दिनभरि पहिरोग्रस्त क्षेत्र रेकी गरे। पहिरोले सुनकोशी नदी थुनिएर ताल बनेको थियो। नदीको सतह बढेर बाह्रबीसे बजार डुब्ला कि भन्ने सबभन्दा ठूलो चिन्ता थियो।
भूगर्भविद र सेनाको टोलीले ताल फुटाउन ब्लास्टिङ गरेपछि विस्तारै अलि–अलि पानी निकास हुन थाल्यो।
'अब बाह्रबीसे डुब्दैन भन्ने निश्चित भएपछि हामी काठमाडौं फर्क्यौं,' उनले भने।
त्यसको तीन दिनपछि जुरे पहिरोको वैज्ञानिक अध्ययन गर्न छ जना भूगर्भविदको टोली बन्यो, जसमा द्विवेदी पनि थिए।
उनीहरू अध्ययननिम्ति फेरि जुरे पुगे। यसपालि चार–पाँच दिन उतै बसे।
यो पहिरो जुरेको इटनी गाउँबाट सुरू भएको थियो, जुन अरनिको राजमार्गभन्दा करिब आठ सय मिटर माथि थियो। तलबाट हिँडेर जान झन्डै तीन घन्टा लाग्थ्यो। उनीहरूले बाटोको दायाँबायाँ जस्ताले बारेका स–साना झुप्राहरू देखे।
त्यति बेलासम्म यी अध्ययनकर्तालाई इटनी गाउँका कोही बाँचेनन् भन्ने परेको थियो। तर, ती झुप्रामा बस्नेहरू जम्मै इटनीकै स्थानीय थिए। कतिपयले त गाई, बाख्रा र मकैसमेत पहिरोबाट जोगाएर ल्याएका रहेछन्। राति साढे २ बजे पहिरो जाँदा पनि गाउँलेहरूले चाल पाएर वस्तुभाउ र मालमत्तासमेत जोगाउन सफल भएको देख्दा अनुसन्धानकर्ताहरू चकित खाए।
'हामीलाई बाहिरबाट हेर्दा त्यो गाउँ पूरै सोत्तर भयो होला भन्ने लागेको थियो, तर उनीहरूले त आफ्नो ज्यान मात्र होइन, वस्तुभाउधरि जोगाएका रहेछन्,' द्विवेदीले भने।
उनका अनुसार, त्यस दिन इटनीका स्थानीय जोगिनुको कारण पहिरो पहिल्याउने स्थानीय 'टेक्निक' थियो।
अघिल्लो दिन ११–१२ बजेदेखि नै गाउँको भीरबाट फुसफुस माटो झर्न थालेको उनीहरूले चाल पाएका रहेछन्। डाँडा किनारबाट घन्द्रङघन्द्रङ गर्दै ढुंगाहरू खसेको पनि देखेका रहेछन्। पुस्तौं पुस्तादेखि डाँडाको टुप्पोमा बसेर पहिरोको नाडी समातेका इटनीबासीलाई बुझ्न गाह्रो भएन– अब कुनै पनि बेला पहिरो जान सक्छ!
जसरी हामी रोगको लक्षण देखिएपछि औषधिमूलो गर्छौं वा खानपिन बार्न थाल्छौं, त्यसैगरी पहिरोको लक्षण देखिनासाथ ती गाउँले तारन्तै बसाइँ सरे। उनीहरूले वस्तुभाउदेखि सकेजतिका मालमत्ता पनि ओसारे।
इटनी गाउँभन्दा तल, राजमार्ग नआइपुग्दै दुई–चारवटा घर भएको सानो गाउँ थियो। इटनीबासीले त्यहाँका गाउँलेलाई पनि खबरदारी गरेका थिए। तर, उनीहरू खबरदार भएनन्। पहिरो आइहाले पनि आफ्नो गाउँसम्म आइपुग्दैन भन्दै निच मारेर बसे।
'आठ सय मिटरको जुरे पहिरोलाई माथिदेखि तलसम्म हेर्ने हो भने दुई भागमा बाँडिएको देखिन्छ। माथि र तल दुवैतिर माटोको ढिस्को छ भने बीचमा चट्टानेपत्रको एउटा खण्ड छ। माथिबाट पहिरो खसिहाले पनि चट्टानेपत्रले थेग्छ भनेर बीचको दुई–चार घरका मान्छे ढुक्क भएर बसेछन्,' उनले भने।
आखिरमा इटनीसहित त्यो सानो गाउँ पनि पहिरोले सोत्तर पार्यो। एउटा घरको त आँगन सिनित्तै खसेर घर मात्र ठिंग थियो। इटनी गाँवै सखाप भए पनि मान्छेलाई केही भएन। बढी हताहत तल सुनकोशी किनारको बस्तीमा भयो। यो घटनामा १ सय ५६ जनाले ज्यान गुमाए।
द्विवेदीका अनुसार जुरे पहिरोमा १ करोड ३५ लाख टन बराबरका चट्टान र माटोको लेदो लगभग ६०–७० मिटर प्रतिसेकेन्ड गतिले सुनकोशी नदीमा खसेको थियो। यति तीव्र वेगमा डाँडाको टुप्पोबाट झरेका चट्टान सुनकोशीमा छप्ल्यांग खस्दा एक्कासि सुनामीको छाल आएजस्तो भयो। वरपरका घर र सुनकोशी जलविद्युत आयोजनासमेत छालको लपेटमा परे। कति त चट्टानमुनि किचिमिची नै भए।
त्यो रात पहिरोका कारण जुरेको जमिन भुइँचालो गएजस्तो थर्रर हल्लिएको थियो। त्यो कम्पन ३.३ म्याग्निच्यूडको भुइँचालो बराबर भएको द्विवेदी बताउँछन्।
पहिरो गएको करिब दुईदेखि तीन मिनेटभित्र सुनकोशीमा पानीको बहाव ठप्पै थुनियो। यसले ३ किलोमिटर लम्बाइ र ३०० देखि ३५० मिटर चौडा ताल बन्यो। करिब १२ घन्टापछि मात्र तालको पानी प्राकृतिक रूपले बग्न थालेको थियो। यही प्राकृतिक रूपले बगेको ठाउँमा विष्फोटक पड्काएर पानी बग्ने निकास खोलिएको द्विवेदी सुनाउँछन्।
'हामीले तीन–चार दिन स्थलगत अध्ययन गरेपछि अब त्यो ठाउँमा थप पहिरो जाने सम्भावना कम छ भन्ने निष्कर्ष निकाल्यौं। ताल भएर जमेको पानीको निकास खुलिसकेकाले थप क्षतिको सम्भावना पनि टरेको थियो,' उनले भने।
'ताल पूरै खोल्न चट्टानको चोइटो पड्काउनुपर्छ भनेर सुझाव दियौं। त्यसैअनुरुप सेनाले चट्टान विष्फोट गरेपछि पानीको निकास सर्लक्कै खुल्यो।'
जुरे पहिरो गएको छ वर्ष बितिसक्यो, तै पनि जब–जब बर्खा सुरू हुन्छ, पहाडबाट पहिरोका खबर आउन थाल्छन्, द्विवेदीलाई झस्का पर्छ। कुन डाँडामा कति घरपरिवार बेघर भए होलान्, कतिको ज्यान गयो होला भनेर उनी कहालिन्छन्।
उनले भनेजस्तै जुरे पहिरो 'ऐतिहासिक घटना' होला, तर यस्तै जोखिमपूर्ण पहाड नेपालमा थुप्रै छन्। असी प्रतिशतभन्दा बढी पहाडी भू–भाग रहेको हाम्रो देशमा पहिरो प्राकृतिक विपतहरूकै 'यमराज' हो। बाढी र चट्याङको दाँजोमा सबभन्दा बढी ज्यान यसैले लिन्छ।
अझ हामी धेरैले नसोचेको कुरा त, यो भुइँचालोभन्दा ठूलो विपत हो। २०७२ को भुइँचालोमा नौ हजारभन्दा बढीले ज्यान गुमाए। तर, भुइँचालोको यति ठूलो विपत आएको लगभग ८० वर्षपछि हो। पहिरोले भने बर्सेनि औसत तीन सय जनाको ज्यान जाने सरकारी आँकडा नै छ।
भुइँचालोले एकैचोटि धेरैको ज्यान लिन्छ, त्यसैले सबैलाई भयभीत पार्छ। पहिरोबाट ज्यान जानेको आँकडा थोरै हुँदा खासै ठूलो क्षति भएजस्तो लाग्दैन।
अर्कातिर, भुइँचालोले बढी क्षति हुने सहरमा हो। सहरको आवाज राज्यले चाँडै सुन्छ। पहिरोको कहर भने दुरदराजको गाउँमा बर्सिन्छ। त्यहाँको पीडा या त राज्यसम्म पुग्दै पुग्दैन, या मधुरो सुनिन्छ। ज्यान गुमाउनेहरू सरकारी आँकडाका रूपमा खुम्चिन्छन्।
भुइँचालोको जोखिम आफ्नो ठाउँमा छँदैछ। बलियो संरचना बनाउन नीतिगत रूपमै पहल हुनुपर्छ। कुन ठाउँमा कति वर्षदेखि भुइँचालो थाती छ भनेर भौगर्भिक अध्ययन पनि जरूरी छ। तर, जतिसुकै अध्ययन गरे आजको मितिसम्म भुइँचालोको भविष्यवाणी कसैले गर्न सक्दैन। भूगर्भविदहरू भुइँचालो जोखिम देखाउन सक्छन्, तर यो सिजनमा जान्छ भनेर अनुमान लगाउन सक्दैनन्।
'भुइँचालोबाहेक अरू सबै प्राकृतिक विपत यकिनसाथ अड्कल काट्न सकिन्छ। यसको निम्ति जोखिमपूर्ण ठाउँको सूक्ष्म वैज्ञानिक अध्ययन हुनुपर्छ,' द्विवेदीले भने।
जुरे पहिरोकै कुरा गरौं।
२०४४ सालमा अरनिको राजमार्गमा गरिएको एक भौगर्भिक अध्ययनले जुरे क्षेत्र अस्थिर छ भन्ने पहिचान गरेको थियो। पहिरो जानुभन्दा तीन–चार वर्षअघिदेखिको 'गुगल अर्थ' नक्साले पनि त्यो ठाउँमा जमिनको सतह चिरा पर्दै गएको देखिएको थियो।
त्रिभुवन विश्वविद्यालय, भूगर्भशास्त्रका प्राध्यापक मेघराज धितालले जुरे घटनालगत्तै 'नागरिक' दैनिकमा एउटा लेख लेखेका थिए, जसमा उनले त्यो डाँडामा पहिल्यै धाँजा फाटेको उल्लेख गरेका छन्। पहिरो जाँदा उनी आफ्ना विद्यार्थीहरूसँग त्यही ठाउँको स्थलगत अध्ययनमा थिए। उनीहरूले एकदिनअघि मात्र 'डाँडामा डरलाग्दा धाँजा फाटेको र सडकसम्म माटोको लेदो बगेको' देखेका थिए।
यसरी भू–सतह अस्थिर भएको र पहिरो जाने जोखिम रहेको डाँडामा पहिले नै तारबार लगाएको भए त्यो वीभत्स घटना हुने थिएन। यसलाई सामान्य बोलीचालीको भाषामा पहाड 'किला ठोकेर अडाउने' भनिन्छ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा कुनै समय हरेक वर्ष पहिरो गएर सडक आवागमन प्रभावित हुन्थ्यो। कति दिन राजधानी काठमाडौंमा मालसामान ढुवानी रोकिन्थ्यो। पेट्रोलियम पदार्थको हाहाकार हुन्थ्यो। कृष्णभीरलाई किला ठोकेर अडाएपछि धेरै समयदेखि यो समस्या टरेको छ।
यस्तै किला ठोक्ने काम पहिरो जोखिम भएका अरू डाँडामा पनि गर्न सकिन्छ, ताकि बर्सेनि औसत तीन सय जना व्यक्ति मृतक सूचीमा पर्नु नपरोस्।
यसको निम्ति जोखिमपूर्ण पहाडहरू पहिचान गरी ती ठाउँमा क्षति हुनुअघि नै पहिरो रोकथामको उपाय अपनाउनुपर्छ। अचेल त स्वचालित यन्त्र जडान गरेर पहाडको सानो–सानो हलचल मापन गर्ने सुविधा छ। त्यस्तो हलचल काठमाडौंको 'कन्ट्रोल सेन्टर' बाटै अनुगमन गरेर कुन ठाउँमा जमिन कति चिरा पर्यो, कुन ठाउँमा माटो फुसफुस खस्दैछ वा कुन ठाउँमा चट्टानहरू झर्न थालेका छन् भनी मिहिन अवलोकन गर्न सकिन्छ। यस आधारमा कुन डाँडाले यसपालिको मनसुनी बर्खा झेल्न सक्दैन भन्ने पहिल्यै अनुमान हुन्छ।
पछिल्लो समय डाँडाकाँडामा हचुवा तालले डोजर चलाएर बाटो खन्ने प्रवृत्तिले पनि पहिरो जोखिम बढाइदिएको छ। पहिल्यै फुसफुस माटो झर्न थालेका वा धाँजा फाँटेका डाँडामा भौगर्भिक अध्ययनै नगरी डोजर चलाउँदा त्यहाँको माटो र चट्टान झनै कमजोर हुन्छ। जसरी हाम्रा दाँतहरू हल्लिएका छन् भने मसिनो ढुंगा चपाउँदा पनि फुस्किने डर हुन्छ, त्यस्तै डोजरको दारा र नंग्राले कोपरेर कमजोर पारिदिएका माटो र चट्टानले मनसुनी पानीको धक्का थेग्न सक्दैन।
डोजरले बनाएको चिराबाट मनसुनी पानी खुसुक्क छिर्छ। त्यसले माटो र चट्टानको आपसी जोड फुस्किन्छ र पहिरोका रूपमा तल बग्न थाल्छ।
यस्तो अवस्था नआओस् भनेर कुनै पनि ठाउँमा बाटो खन्नुअघि भौगर्भिक अध्ययन अनिवार्य छ। तर, डोजर किनेर आफैं इञ्जिनियर बनेका ठेकेदारहरू भौगर्भिक भवितव्यको ख्याल राख्दैनन्। केही परिहाले बेहोर्नुपर्ने गाउँलेहरूले न हो!
सरकारले पनि पहाडमा पहिरोको कहरबाट आँखा चिम्लेर 'डोजरे विकास' प्रोत्साहित गरिरहेको छ। सरकारलाई आफ्नो कार्यकालमा यति किलोमिटर बाटो खनियो भनेर तथ्यांक देखाउनु छ। भलै त्यही तथ्यांकका कारण हरेक वर्ष पहाडबाट पहिरोसँगै झर्ने मृतकको तथ्यांक किन नलम्बियोस्!
पहिरो नियन्त्रण गर्न वैज्ञानिक अध्ययन र रोकथामको आवश्यकता यति टड्कारो भएका बेला सरकारको चासो र प्राथमिकता भने कम छ।
विगतमा बाढी–पहिरो लगायत प्राकृतिक प्रकोपमाथि अध्ययन–अनुसन्धान र रोकथामको जिम्मा जलउत्पन्न प्रकोप नियन्त्रण विभागको थियो। २०७४ सालमा आएर सिँचाइ र जल उत्पन्न प्रकोप विभागलाई 'जलस्रोत तथा सिँचाइ विभाग' का रूपमा गाभियो। कुनै समय छुट्टै विभागीय संरचनाअन्तर्गत रहेको बाढी–पहिरोको काम एउटा विभागको महाशाखामा परिणत भयो।
हुन त छुट्टै विभाग हुँदा पनि पहिरोमा खासै अध्ययन भएको होइन। विभागको धेरैजसो काम बाढीमै केन्द्रित हुन्थ्यो। पहिरोले कमै प्राथमिकता पाउँथ्यो। त्यसमाथि बाढी–पहिरोको सम्पूर्ण काम सिँचाइ विभागको एउटा सानो युनिटले हेर्न थालेपछि त्यसको दायरा खुम्चिएको द्विवेदीको भनाइ छ।
यति जोखिमपूर्ण क्षेत्रमा सरकारको यति कम चासो किन त?
यसबारे हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसँग कुरा गर्यौं।
उनी विभाग गाभेर बाढी–पहिरोको अध्ययन खुम्चियो भन्नेमा सहमत छैनन्।
संघीय संरचनाअनुसार केन्द्रीय तहबाट धेरै जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गर्ने उद्देश्यअनुरुप विभाग गाभिएको उनको भनाइ छ। यसका लागि स्थानीय तहलाई नै पहिरो पूर्वानुमान गर्ने र रोकथाम विधि सिकाउने प्राधिकरणको योजना छ।
बाढी–पहिरो, भुइँचालो, चट्याङ लगायत सबै किसिमका प्राकृतिक प्रकोपमाथि वैज्ञानिक अध्ययन र व्यवस्थापनको जिम्मेवारीसहित प्राधिकरण गठन गरिएको उनी बताउँछन्।
'विभाग गाभिएर एक हिसाबले बाढी–पहिरो हेर्ने निकाय साँघुरो भयो होला, तर यसलाई उपेक्षा गरिएको होइन। त्योभन्दा बृहत स्तरमा अध्ययन–अनुसन्धान गर्ने गरी राष्ट्रिय विपत प्राधिकरण स्थापना भएको छ,' उनले भने, 'सबै किसिमका प्राकृतिक विपतलाई सोलोडोलो एकै छातामुनिबाट अध्ययन–अनुसन्धान गर्न सकियोस् र एकै छातामुनिबाट व्यवस्थापनको काम होस् भनेर नै प्राधिकरण बनेको हो।'
यसनिम्ति आवश्यकताअनुसार विभिन्न विभागमा रहेका विभिन्न खालका भूगर्भविद झिकाएर क्षेत्रगत अनुसन्धानमा लगाउन सक्ने अधिकार प्राधिकरणसँग रहेको उनले बताए।
'हामी हरेक खालका प्राकृतिक विपतका निम्ति छुट्टाछुट्टै युनिट खडा गरी समानान्तर रूपले वैज्ञानिक अध्ययन सुरू गर्ने योजनामा छौं,' पोखरेलले भने।
पहिरोको जोखिम बढ्नुका कारण, नियन्त्रणमा देखिएका समस्या र प्राधिकरणको योजनाबारे हामी अर्को अंकमा विस्तृत चर्चा गर्नेछौं।