लकडाउन डायरी
लकडाउन नहुँदो हो त बुद्धिसागर ठमेलका गल्लीतिर बरालिइरहेका भेटिन्थे। वा, त्यहीँको कुनै रेस्टुरेन्टमा कुनाको टेबल छानेर किताबभित्र हराइरहेका हुन्थे। वा, ल्यापटपमा कुटुकुटु औंला चलाइरहेका हुन्थे।
पाँच वर्ष भयो, ठमेल बुद्धिसागरको दैनिकीको हिस्सा बनेको। त्यसअघि उनको अड्डा न्यूरोड थियो। त्यहाँका अँध्यारा र ओसिला गल्लीमा साँघुरा चिया र खाजा पसलहरू उनी यस्तरी खोतल्थे, जसरी उपन्यासमा पात्रको भाव खोतल्छन्।
न्यूरोडले बुद्धिसागरलाई काठमाडौं चिनायो, सहरको रैथाने स्वाद चिनायो। ठमेलमा उनले अन्तर्राष्ट्रिय परिवेश भेटेका छन्। त्यहाँका शान्त रेस्टुरेन्टमा विभिन्न भाषाबाट अनूदित विश्व साहित्य अध्ययनले उनी आफ्नो दायरा फराक हुँदै गएको ठान्छन्। देशदेशावरका मान्छे, खान्की र व्यवहारसँग नजिकिँदा लेखनमा नयाँ ऊर्जा अंकुराएको उनको अनुभव छ।
लेखकले अवस्थामा अवसर खोज्छ, तब न लेखक! जो अवस्थादेखि अत्तालिन्छ, ऊ के लेखक!
न्यूरोडदेखि ठमेलसम्म बरालिएका बुद्धिसागर पनि लकडाउन सुरू भएदेखि घरैभित्र सिर्जनाको अवसर खोज्न थालेका छन्। चौबीसै घन्टा छोरी र श्रीमतीसँग निकट रहने अवस्थाले उनलाई नयाँ कुरा सिकाएको छ- जुन लेखन-ऊर्जाको निम्ति उनी वर्षौंदेखि गल्ली-गल्ली भौंतारिए, खासमा त्यो ऊर्जा आफैंभित्र हुँदो रहेछ। खोज्यो भने आफ्नै घरभित्र, परिवारकै बीचमा पनि फेला पर्दो रहेछ।
बुद्धिसागरको निम्ति जिन्दगीकै सबभन्दा ठूलो खोज हो यो, सायद।
'पहिले दुई-तीन दिन बस्दा टाउको दुखेर ह्याङ भएजस्तो हुन्थ्यो। यसपालि यतिका दिन भइसक्यो, परेपछि सकिने रहेछ,' गोंगबु बस्ने बुद्धिसागरले सेतोपाटीसँग झन्डै एक घन्टा टेलिफोन वार्तामा पहिलोपटक परिवारसँग यति लामो समय बिताउँदाको अनुभव सुनाए।
'लकडाउनपछि मेरो लेख्ने स्वभाव नै परिवर्तन होला जस्तो लागिरहेको छ। घरमा लेख्नै सक्दिनथेँ, बाहिर बसेर लेख्ने बानी थियो। यसपालि व्यवस्थापन गर्यो भने घरमै पनि सकिँदो रहेछ भन्ने थाहा पाएँ।'
बुद्धिसागरका अघिल्ला दुई उपन्यास 'कर्णाली ब्लूज' र 'फिरफिरे' गाउँले जीवनमा केन्द्रित थिए। तेस्रो उपन्यासको केन्द्रमा सहर छ, जुन सहर उनले न्यूरोड र ठमेलमा देखे। सामान्य अवस्था भइदिएको भए सहरको विषयवस्तुलाई उनी सहरका गल्लीहरूबाट 'लाइभ' वर्णन गरिरहेका हुन्थे। लेखनको निम्ति घर छाडेर सहर पस्ने बुद्धिसागर यसपालि सहरलाई सँगै लिएर घर पसेका छन्।
रेस्टुरेन्टमा बसेर लेखपढ गर्न उनी कुनाको एकान्त टेबल रोज्छन्, घरमा भने कहाँ बसेर लेख्दा हुन्?
हाम्रो यो प्रश्नमा उनले भने, 'घरको छत मेरो काम गर्ने ठाउँ हो। त्यहीँ बसेर बिहान सूर्योदयदेखि रातका तारा हेर्दै लेख्छु।'
उनले अगाडि भने, 'टाढा-टाढासम्म आकाश यतिविधि उज्यालो र रातका तारा अहिलेजस्तो चम्किलो पहिले कहिल्यै लागेन। धूलोधुवाँले हाम्रो सहरको बतास पनि फोहोरी भइसकेको थियो। प्रकृतिकै लागि भए पनि केही अन्तरालमा लकडाउन गर्दा राम्रो हुने रहेछ।'
बुद्धिसागर घरभित्र 'लकडाउन' भएको सरकारी आदेशभन्दा अलि अगाडि नै हो। चीन हुँदै संसारभरि कोरोना महामारी फैलिएपछि उनी दिनहुँ जाने ठमेलमा मान्छेको चहलपहल कम हुन थाल्यो। सडक खाली हुँदै थिए, रेस्टुरेन्टहरू सुनसान।
आँखाले नदेख्ने भाइरसको भयंकर डरले मन भारी हुन थालेपछि उनले पनि केही समय घरमै बसेर काम गरौं भन्ने सोच बनाए। त्यही बेला ठ्याक्कै लकडाउन भयो।
'सरकारले घरबाट ननिस्कनू भनेर सूचना जारी गर्दा म घरभित्र बस्न थालेको चार-पाँच दिन भइसकेको थियो,' उनले भने।
सुरूका दुई साता उनले आफैंलाई नियाले। दिनरात ठमेलमा हिँड्दा, त्यहाँ आउने मान्छेसँग देखभेट गर्दा भाइरस सुटुक्क छिरेको पो छ कि भनेर उनी झस्केका थिए। उनलाई आफ्नोभन्दा छोरी र श्रीमतीको चिन्ता थियो। दुई साता स्वैच्छिक क्वारेन्टाइनमा बसेपछि उनी ढुक्क भए।
त्यसपछिको समयलाई उनी परिवारसँगको 'रियुनियन' मान्छन्।
'खासगरी छोरी कृतिकाको स्वभावलाई नजिकबाट नियाल्ने मौका पाएँ। उसलाई चित्र बनाउन मन पर्छ, कार्टुन हेर्न खुब रमाउँछे। पहिले दिउँसो २ बजे निस्किएर राति ८ बजेतिर घर फर्किएपछि बल्ल छोरीसँग खेल्थेँ। अचेल दिनरात छोरीसँगै हुन्छु। ऊ पहिलेभन्दा झन् बढ्ता मसँग झ्याम्मिन थालेकी छे,' बुद्धिसागरले भने।
बुद्धिले दुइटा उपन्यास र अखबारी लेखन क्रममा थुप्रै पात्र जन्माए। ती पात्र मनभित्र खेलाउँदै हिँडे। अचेल उनी आफैं पात्र बनेर थरीथरीका भूमिका निर्वाह गरिरहेका छन्। छोरीलाई मनपर्ने कार्टुनको पात्र बनेर छोरीसँगै खेल्नु उनको दैनिकी बनेको छ।
घरको सानो बगैंचामा छोरीलाई सँगै राखेर झारपात उखेल्नु, छोरीलाई माटोको बासना सुँघाउनु र त्यसको स्पर्श अनुभूति गराउनु पनि उनको दैनिकीमै पर्छ।
यसबाहेक बुद्धिसागर घरको बढारकुँढारदेखि खाना पकाउनेसम्म गर्छन्। पछिल्लो समय युट्युब हेरेर नयाँ-नयाँ परिकार बनाउन सिकिरहेका छन्। कहिले पकौडा बनाउँछन्, कहिले बेसनको लड्डु। भान्साको काममा लाग्दा सकभर छोरीलाई सँगै राख्छन्।
'हामी बच्चाहरूसँग व्यवहार गर्न जान्दैनौं। उनीहरूको मनोविज्ञान बुझ्दैनौं। हामी सोच्छौं, बच्चाहरूलाई केही थाहा हुन्न। तर, मान्छेले सबभन्दा बढी सिक्ने, बुझ्ने र जान्ने नै यही उमेरमा हो,' उनी भन्छन्।
'जस्तो बच्चाहरूलाई झुक्याउन पढेजस्तो मात्र गर्नु हुँदैन। हामी साँच्चिकै मन दिएर पढेका छौं कि उनीहरूलाई भुलाउन मात्र खोजेका छौं भन्ने केटाकेटीले चाल पाइहाल्छन्,' उनले भने, 'बच्चाहरू मुखले भनेर भन्दा आँखाले देखेर सिक्छन्। कहिलेकाहीँ म लामो समय पढिरहेको हुन्छु। छोरीले धेरैपटक ओहोरदोहोर गर्दा पनि मलाई पढिरहेकै देखेपछि ऊ म पनि पढ्छु भन्दै आउँछे। उनीहरूको स्वभाव नै परिवारको नक्कल गर्ने हो। तपाईं जे गर्नुहुन्छ, तपाईंका केटाकेटी त्यसैको नक्कल गर्छन्।'
उनकी छोरी कृतिका एक महिनाअघि पाँच वर्षकी भइन्। छोरीलाई यसै वर्षबाट स्कुल भर्ना गराउने उनको सोच थियो। त्यो सोच कोरोना महामारी र लकडाउनले केही समय सर्यो। यसअघि उनी आमाले पढाउने मोन्टेसोरीमा पढिरहेकी थिइन्। उनकी श्रीमती दिप्तीको अहिले स्कुल बिदा छ। बिदाको समय उनी अनलाइनमार्फत् घरबाटै पढाइरहेकी छन्।
बुद्धिसागरले धेरै अन्तर्वार्तामा पिरो अचार हालेको मम: आफ्नो प्रिय खानेकुरा भएको बताएका छन्। कहिलेकाहीँ त उनी मम: को स्वाद सम्झेर घरबाट खानै नखाई निस्कन्छन्। लकडाउनपछि मम: खाने बानी कम भएको छ। 'श्रीमतीले कहिलेकाहीँ पकाउँछिन्,' उनले भने, 'अस्ति भर्खर भेज मम: खाएका थियौं।'
उनले मम:सँग जोडिएको आफ्नो पुरानो सम्झना सुनाए, 'पहिले रेडियो र पत्रिकामा मेरो कविता आइरहेकै हुन्थ्यो। कहिलेकाहीँ म पत्रिका नहेरिकनै साथीहरूलाई 'यसमा मेरो कविता छापिएको छ' भनेर बाजी मार्थें। जितेको पैसाले मम: खान्थेँ।'
बुद्धिको अर्को ठूलो सोख हो, फिल्म हेर्ने। उनी पहिले दिउँसो काम गर्थे, साँझतिर फिल्म हेर्थे। दिनको एउटा फिल्म बिराउँथेनन्। यो लकडाउन बेला धेरैले दिनका दिन फिल्म हेरिरहेका छन्, बुद्धिसागरले कति हेरे होलान्?
'यो समय त झन् मैले एउटा पनि फिल्म हेरेको छुइनँ। किताबको काम थालेपछि फिल्म हेरेर लेख्ने मुड 'डिस्ट्रयाक्ट' गर्न चाहँदिनँ,' उनले भने।
यसबीच सामाजिक सञ्जालमा साथीहरूले सेयर गरेका प्रायः फिल्म उनले पहिल्यै हेरिसकेका छन्। एकदमै चर्चा सुनेर यो चाहिँ हेरिहालौं भन्ने पनि नलागेको उनी बताउँछन्।
'लेखिरहेको बेला प्राय: फिल्मतिर लाग्दिनँ। फिल्मले तान्यो भने केही गर्न मन लाग्दैन। पछिल्लो चरणमा फिल्मभन्दा सिरिज हेर्छु। ती चाखलाग्दा हुन्छन्। तान्या तान्यै गर्छन्। फेरि घन्टौं लामा हुन्छन्। सुरू गरेपछि छाड्न मन लाग्दैन। काम बिथोलिएला भनेर सुरू गरिहालेको छैन,' उनले भने।
बरू उनले लेखनसँगै पढाइलाई निरन्तरता दिएका छन्। 'पेड्रो पारामो', 'मेमोरी पुलिस', 'होम सिक', 'डायरी अफ क्रोकोडायल' लगायत दर्जनभन्दा बढी किताब पढिसके। उनले यसै समय पढिरहेको 'वार एन्ड पिस' बारे सामाजिक सञ्जालमा तस्बिर पनि राखेका थिए। साना अक्षर भएर पढ्न थाति राखेको किताब किन्डलले सजिलो बनाइदिएको उनको अनुभव छ।
'यो किताब पढिसकेपछि 'क्वारेन्टाइनमा वार एन्ड पिस' भनेर लेख लेख्ने विचार छ,' उनले भने।
अंग्रेजी साहित्यतर्फ रूचि उनलाई पाउलो कोहेलोको 'अलकेमिस्ट' ले बढाएको हो। त्यो किताबले सपना बुन्न सिकाएको हुँदा बुद्धिसागर पाउलोका 'फ्यान' हुन्।
कतिले उनलाई 'तपाईं त पाउलो कोहेलोको किताब डिलरजस्तो व्यवहार गर्नुहुन्छ' पनि भन्छन्। उनलाई त्यसले फरक पर्दैन। भन्छन्, 'मान्छेको स्वभाव हुन्छ नि, एउटा चिज मन पराउने तर अर्कोको गफ दिने। मन पर्छ साउथ इन्डियन फिल्महरू, तर मार्टिन स्कोर्सिस मन पर्छ भनेर गफ दिन्छन्। फेक सोसाइटी छ नि त। त्यो समय मलाई पाउलोको किताबले आफूलाई चिन्न निकै सहयोग गर्यो। त्यसैले म उनको फ्यान हुँ।'
किताब लेख्दा र पढ्दा अक्षरसँगको सम्बन्धले निरन्तरता पाइरहने हुँदा लेखन र पठन परिपूरक हुन् भन्ने उनलाई लाग्छ। उनी लेख्ने क्रममा चिनियाँ संगीत सुन्न रूचाउँछन्। घरमै बसेर लेख्न थालेपछि निश्चिय समय छुट्टयाएका छन्। त्यो बेला बाधा नहोस् भनेर फोन बन्द गर्छन्।
कहिलेकाहीँ लेख्ने विषय केही भएन वा विषयवस्तु दिमागमै अड्कियो भने पनि उनी हार मान्दैनन्। 'लेख्ने समय भनेको मेरा लागि लेख्ने समय नै हो,' उनले भने, 'लेख्न सकिएन भनेर अरू काममा लाग्दिनँ। बरू केही लाइन लेख्छु, मन नपरे डिलिट गर्छु, फेरि लेख्छु, फेरि डिलिट गर्छु।'
युट्युबमा लेखकहरूको अन्तर्वार्ता र वृत्तचित्र हेर्दा पनि ऊर्जा प्राप्त हुने उनको भनाइ छ। एक लेखकले भनेको उनी सम्झन्छन्, 'मास्टरपिस लेखहरू ३०–४० वर्षको बीचमै लेखिएका हुन्छन्।' आफू पनि ४० हाराहारी हुँदा उनलाई लाग्न थालेको छ, मास्टरपिस लेख्ने समय यही हो।
पछिल्लो समय उपन्यासमै रमाएका बुद्धिसागरले कविता लेखेका छैनन्। दिमागमा आएका बिम्ब र प्रतीक आख्यानमै गइहाल्छन्। बरू धेरै कविता पढिरहेको र अनुवाद गरिरहेको उनले सुनाए।
'राम्रो भयो भने पत्रिकामा छापौंला भन्ने छ। विभिन्न भाषाका कविता यहाँका कविले थाहा पाऊन् भनेर अनुवाद गर्न खोजिरहेको छु,' उनले भने।
उनी लकडाउनको मौकामा पुरानो कविता सम्झँदै सामाजिक सञ्जालमा हालिरहेका छन्। आफ्ना दैनिक गतिविधि पनि सामाजिक सञ्जालमा रमाइलो पाराले बताइरहेका हुन्छन्। त्यसैबाट प्रश्न थुत्दै सोधेँ, 'घरमा फलेको घ्यूकुमारी के गर्नुभयो नि?'
'केही जुस खाएँ, केही कपालमा लगाएँ,' उनले हाँस्दै भने, 'घ्यूकुमारीले रौं पलाउँछ भन्थे, हो कि जस्तो लाग्न थालेको छ। केही खुइलिएको ठाउँमा रौं पलाइरहेको महशुस गरिरहेको छु।'
लकडाउनमा उनले आफ्नो कपाल आफैं काटेका थिए। कताकता नमिलेजस्तो भए पनि कपाल जिंग्रिङ्ग भएपछि काटेको उनी सुनाउँछन्। लामो कपाल भएपछि उनी दिक्क मान्छन्।
लकडाउनले उनको सुत्ने र उठ्ने बानी फेरिएको छ। राति १-२ बजे निदाएर बिहान ९ बजेतिर उठ्न थालेका छन्। पहिले त रात-रातभर जागै हुन्थे। भन्छन्, 'यो समय त भोग्ने हो, हेर्ने हो। यसको असर लकडाउनपछि बल्ल थाहा हुन्छ। पछि गएर कला, साहित्यमा पनि एकदमै असर पर्छ होला। मान्छेको स्वभाव र व्यवहारमा धेरै असर पर्न सक्छ। हाम्रो पुस्ताले धेरै कुरा देख्यौं। महामारी हुन्थ्यो भन्ने पढिन्थ्यो, त्यो पनि भोग्न पायौं।'
लकडाउन बेला मान्छेहरू दिन-बार हेक्का हुन छाडेको गुनासो गर्छन्। बुद्धिसागरलाई यसै पनि दिन-बार ख्याल हुन्न। पूर्णकालीन स्वतन्त्र लेखनमा लागेका उनी आफूलाई 'बेरोजगार' भनिरहेका हुन्छन्। बेरोजगारलाई कुन दिन, कुन महिना के मतलब!
'जागिर भए पो यति बेला तलब आउँछ भन्ने हुन्छ। कहिलेकाहीँ गुगल गर्छु, कहिले सामाजिक सञ्जालले सम्झाउँछ। जुन गते भए पनि मेरो खासै लिनुदिनु छैन,' उनले भने।
यस्तै नसम्झ्ने बानीलाई गिज्याउँदै लकडाउनकै बीच २०७७ साल लाग्दा उनले ट्वीट गरेका थिए, 'बार र गते बिर्सेर केही हुँदैन। बस् सालचाहिँ सम्झना हुनुपर्यो। ए सालै त किन बिर्सनू! २०७६ त हो नि!'
यो पनि पढ्नुहोस्: