सोमबार साँझ साढे सात बजे।
काँध र टाउकोमा बोराका भारी बोकेका एक हुल मान्छे कोटेश्वरको बाटो हिँड्दै थिए।
एक जना युवक सुस्केरा हाल्दै औषधि पसलअगाडि थुचुक्क बसे, 'अझै कति हिँड्नुपर्ने हो? आज यतै कतै बसम् न, साह्रै भोक लाग्यो।'
उनले कडकडी दुखिरहेका आफ्ना गोडा छामे। आफ्नै हातले छुँदा पनि चिरिक्क दुखाइ आधा मरेझैं भयो।
मुन्टो बटारेर औषधि पसलतिर हेरे। यस्तो बेला त लम्पसार परेर दुखाइ मार्ने स्प्रे फिरफिर छर्न पाए पो! भर्खर १९ वर्ष लागेका आदित्य खत्रीको मनमा यस्तै तर्कना आएको हुँदो हो!
आदित्यको कुरा सुनेर अरू पनि एक-एक गर्दै पेटीमै खुइय्य गर्न थाले। काँध र टाउकोका भारी बिसाए।
उनीहरू १५ जना थिए। एकैठाउँ डल्लो परेर केहीबेर छलफल गरे- अब कहाँ जाने?
केही छिनमा गन्तव्य निधो भयो- आजको रात पशुपतिको आँगनमा बिताउँ।
टोलीमध्ये एक वयस्क जुरुक्क उठे। बोरा काँधमा हाले र सुमसुम अघि बढे। अरू सबै कमिलाको ताँतीजस्तै सिनामंगल, त्रिभुवन विमानस्थल हुँदै पशुपतितिर लम्के।
काठमाडौंको चकमन्न चिर्दै हिँडेका उनीहरूको पछि-पछि लागेँ म पनि। मनमा प्रश्न थियो- देशै लकडाउन भएका बेला यी १५ जना कहाँबाट कहाँ पुग्न हिँडेका होलान्?
टोलीलाई पशुपतिको बाटो डोर्याउने नेता रहेछन्, ३६ वर्षीय आशाराम चौधरी।
उनै आशारामले टोलीको यात्राकथा सुनाए, 'हामी चैत २० देखि हिँडिरहेका छौं।'
उनीहरू सोलुखुम्बु लिखुपिके गाउँपालिकाबाट आएका रहेछन्। सबै जना त्यहाँको मार्भुदोभान हाइड्रोपावर कम्पनीमा काम गर्थे। लकडाउनसँगै काम रोकियो। कोरोना भाइरसको त्रास र बन्दले टिक्न मुश्किल भयो।
'के खाने-के गर्ने, अत्यास लाग्न थाल्यो,' आशारामले भने, 'घरपरिवारको यादले पनि सताउन थाल्यो।'
घर जाने हुटहुटी त चल्यो, जाने पो कसरी?
सबैले भनेछन्- हिँडेरै जाऔं, सोलुखुम्बुदेखि काठमाडौं। काठमाडौंबाट कैलाली।
कैलाली, बेलारका आशाराम पैसा कमाउने सपना बोकेर सोलुखुम्बु पुगेका थिए। घरमा श्रीमती र दुई छोरा छन्- ११ र ५ वर्षका।
'गाउँका एक साथीले हाइड्रोपावरमा पैसा धेरै कमाइन्छ भने। उसैको कुरा सुनेर पहिलोपटक काठमाडौं आएँ र सिधै गाडी चढेर सोलुखुम्बु गएँ,' आशारामले सिनामंगल उकालो हिँड्दै गर्दा गत पुसको आफ्नो गाडीयात्रा सुनाए।
उनको योजना थियो, जेठसम्म काम गर्ने। तर आएको तीन महिना नहुँदै यसरी फर्किनुपर्यो।
आशारामको मात्र होइन, घरमा एक्ला र रोजगार नभएका बुबा छाडेर आएका सुमन चौधरीको पनि सपना टुटेको छ। २१ वर्षीय सुमन सोलुखुम्बु गएको दुई महिना मात्र भएको थियो। पहिले भारतमा प्लाइ बोक्ने काम गर्थे।
'विदेश बस्नु आफ्नो देशमा बसेजस्तो कहाँ हुन्छ र,' सुमनले भने, 'यहाँ दाइहरू काम गर्न जाँदै हुनुहुँदो रहेछ। उहाँहरूकै पछि लागेर आएँ। आफ्नै देशमा काम भयो भनेर खुसी थिएँ। पैसा कमाएपछि राम्रो खालको क्यामरा भएको फोन किन्ने मन थियो, त्यस्तै २०/२५ हजारको। तर भएन।'
सुमन पनि पहिलोपटक काठमाडौं आएका हुन्। उनलाई काठमाडौं यात्रा फापेनजस्तो लागेको छ। भने, 'अब फर्केर आउँदिनँ।'
उनीसँगै हिँडिरहेका आकाश चौधरी झनै निरश देखिन्थे। हिँड्दा-हिँड्दा उनका खुट्टा सुन्निएछन्।
२४ वर्षीय आकाश कैलालीबाट सोलुखुम्बु गएर काम थालेको दुई दिन मात्र भएको थियो। ठूलो परिवारका लागि हातमुख जोर्न हिँडेका थिए। घरबाट आउँदा कम्पनीले पठाइदिएको गाडी भाडा मात्र थियो। अहिले त्यो पनि छैन।
'मेरो परिवारमा खाने मुख धेरै छ। काम नगरी खान पाइँदैन। अहिले उनीहरू उता अन्योलमा छन्, म यता यो हालतमा,' आकाश भक्कानिन मात्र सकेनन्, 'न उनीहरू भए ठाउँ पुग्न सक्छु। न उनीहरू मकहाँ आइपुग्छन्।'
दिमाग, मन, शरीर- केहीलाई सुख छैन। कसरी जाने, के खाने थाहा छैन, त्यसमाथि घरपरिवारको सम्झना, दुखेका हातगोडा।
आशारामलाई लाग्छ, कोरोना र लकडाउनबारे पूर्वसूचना पाएको भए पहिल्यै गाडीमै घर जान्थे उनीहरू।
'कोरोना लागिरहेको छ अरे भन्ने सुनिएको थियो। तर हामी मजदुरहरूलाई के थाहा, कोरोना कुन चरीको नाम हो। काम गर्ने ठाउँको हाकिमले पनि कहिल्यै यो कोरोनाको कुरा निकालेनन्। एक्कैचोटि सबै काम बन्द गर्न भनेपछि पो थाहा भयो।'
'परिवारसँग उसै त छुट्टिएर बस्नु परिरहेको थियो। झन् यस्तो समस्या बेला एक बात गर्न पनि सकिरहेको छैन,' मलीन सुनिए उनी। श्रीमती र छोराको यादले झस्कायो क्यार!
उनका अनुसार चैत १० बाट हाइड्रोपावरको काम बन्द भयो। दैनिक ज्यालादारी ६ सय रूपैयाँ र रासनको ५-६ हजार पाउँथे। महिनामा २४-२५ दिन मात्र काम हुनाले २०-२२ हजार आउँथ्यो। बस्न कम्पनीले सानो कोठा दिएको थियो, खाना आफ्नै खर्चमा।
यसरी महिनाको दस हजार बचाउन उनीहरू कैलालीबाट सोलु पुगेका हुन्। त्यही पैसा पनि लकडाउनमै सकिने देखियो।
'सोलुमा एक प्याकेट चाउचाउको ३०-४० रूपैयाँ पर्छ,' उनले सुनाए, 'बिनाकाम त्यहीँ बसौं भने त्यो खर्चमा कति दिन सकिन्छ र। बरू ज्यान रहे फेरि कमाइएला भन्दै हिँडियो।'
सुरूमा एक साता त हो भन्दै बसेका थिए। लकडाउन थपिने भनेपछि आत्तिए।
'कम्पनीका बडा हुन् कि गाउँपालिकाका, नचिनेका मान्छे आएर 'हामी तपाईंहरूलाई १८ गते जसरी पनि घर पठाइदिन्छौं, तपाईंहरूको नाम-ठेगाना लेखेर पठाउनू' भन्नुभयो,' आशारामले आशाको त्यो समय सुनाए।
उनीहरूले आफ्नो नाम लेखेर पठाए। कुनै खबर आएन। १९ गते उनीहरू आश्वासन दिने ती मान्छे भेट्न गए। तर आशा र आश्वासन दुवै त्यहीँ सेलाए। उनीहरूको नाम नै आइपुगेको छैन भनिदिए 'बडा' मान्छेहरूले।
'सिडिओको पास मिलेन, पठाउन सक्दैनौं भनेपछि हामीले के भन्नु र,' उनले भने।
आशारामलाई याद छ, उनको मुटु अमिलो भएको थियो त्यो बेला। साथीहरूको पनि। त्यहाँबाट निराश भएर उनीहरूले प्रहरीकहाँ बिलौना सुनाए।
'प्रहरी जवानले 'तपाईंहरू यहाँ भिडभाड नगर्दिनुस्' भनेर थर्काउनुभयो। 'दिनकै कति मान्छे गइरहेका छन्, तपाईंहरू पनि हिँडेर जानुस्' भन्नुभयो।'
उनीहरूसँग विकल्प थिएन। सोचे- यहाँ कोरोना देखिएको त छैन। एक जनामा मात्र देखियो भने सबै मर्छौं। बरू घरमै मरूँला। यसरी नै बसिरहने हो भने अलिअलि भएको पैसा सकिन्छ। घर फर्किने कुनै उपाय रहँदैन।
हिँडेरै जाने निधो भयो। बाटामा प्रहरीको सोधपुछ, मान्छेका जिज्ञासाले अप्ठ्यारो पार्ला भन्ने पनि भेउ पाए।
यी झमेला सुल्झाउन सहज होस् भनेर प्रहरीलाई नै एउटा पत्र बनाइदिन आग्रह गरेछन्। तर प्रहरीले 'केही हुँदैन, जानुस्' भन्दिए।
प्रहरीले नै 'केही हुँदैन' भनेपछि आँट थपियो।
चैत २० गते। साँझ परेपछि सबैले आ-आफ्ना पोका बाँधे। केही भाँडाकुँडा, अलिकति दाल-चामल, नुन, चिउरा, भुजिया लगायत खानेकुरा बोरामा हाले। अनि रातको २ बजे हिँडे काठमाडौं यात्रामा।
बाटामा सोलुखुम्बुका प्रहरीले भनेजस्तो सहज भएन। थुप्रै ठाउँमा उनीहरूलाई केरकार गरियो। उनीहरू सबैको एकै जवाफ थियो- घर हिँडेको।
प्रहरीले जेल हालिदिऊँ भन्ने शैलीमा 'क्वारेन्टाइन राखिदिऊँ' पनि भनेछन्। तर सबैलाई एकै ठाउँ राख्न नसक्ने भएपछि छोडिदिएका आशारामले बताए।
डर सोधपुछको मात्र थिएन। कहिल्यै नहिँडेको बाटो, कहिल्यै नपुगेको ठाउँ, कहिल्यै नदेखेका मान्छे। १५ जना भए पनि उनीहरूको मनमा डर थियो।
'हाम्रा लागि सबै बाटा नयाँ थिए। जाँदा गाडीमा गइयो। हिँडेर फर्किनुपर्ला भन्ने सोचेकै थिएनौं,' ५० वर्षीय जगतराम चौधरीले सुनाए।
बाटो थाहा नहुँदा धेरै सास्ती खेपेछन्। कुन बाटो कता जान्छ, जान्छ। कुनै लामो बाटो देखियो भने टोलीका एक जनालाई हेर्न पठाउँथे। उसले हेरेर जान सकिने खबर दिए मात्र अरू हिँड्थे। जंगलमा कसलाई सोध्नू!
गाउँघर गएर सोध्ने आँट हुन्थेन। नजिक जाँदा के भन्ने हुन् भन्ने डर। एकाध सहयोगी मनकाले भने बाटो बताइदिन्थे। कोहीले लेखेर पनि छोटो बाटो देखाइदिए।
छोटा बाटा खोज्दै हिँडेका उनीहरूका लामा पाइला बिहान ११ बजेतिर रोकिन्थे। कहिले जंगल त कहिले सडक किनारमा। कोही दाउरा खोजेर ल्याउँथे। कोही खोल्सा र नदीबाट पानी उघाउँथे। कोही बोराबाट सामान निकाल्थे। एउटा डेक्चीमा दाल-चामल एकै ठाउँ हालेर खिचडी पकाउँथे। कुनै दिन चिउराकै मात्र भर गरे।
साँझ परेपछि बास खोज्ने सास्ती हुन्थ्यो। जंगलका ओडार, खोला किनार नै घर बन्थे। आफ्नो घर पुग्ने रनाहा भएकाहरूको यात्रामा सायद यस्ता जोखिम 'घर' मा बस्न डर हुन्न!
'पहिलो, दोश्रो र तेश्रो दिन कुन-कुन ठाउँ बास बस्यौं, हामीलाई थाहा छैन। पहिलो दिन जंगलमा, दोश्रो दिन खोला किनार र तेस्रो दिन सडकछेउ सुतेको याद छ,' आशारामले भने।
बाटामा गाउँ आइपुग्दा बास पाइएला कि भन्ने आश उनीहरू राख्थे। तर कोरोना डरले घेरिएको लक्ष्मणरेखा पार गरेर उनीहरूलाई बास दिने आँट कसैले गरेनन्।
'हामी त परदेशी भइहालिम् नि,' आफ्नै देशको अर्को कुना पुगेका आशारामले भने, 'गाउँतिर त जानै भएन। लखेट्लान् भनेर बरू हामी मान्छेभन्दा परै बस्यौं। '
आशाराम र उनका साथीलाई पनि कोरोनाको डर कम्ता छैन। उनीहरूले सार्वजनिक गाडी पाए पनि हिँडेरै जानू ठीक मानेका थिए। गाडीको भिडमा कोचिनु, कोरोनाकै बिँड समात्नु!
फेरि उनीहरूसँग एक-दुई हजार रूपैयाँ मात्र थियो। यसले सोलुखुम्बुदेखि कैलालीसम्म भाडा पनि धानिन्थेन।
हरेक दिन उनीहरूको घरपरिवारसँग कुरा हुन्थ्यो। आशाराम मोबाइलको चार्ज जोगाउन अरू बेला फोन अफ गर्थे। बिहान एकपटक फोन गर्दा प्रश्नहरू ओइरिन्थे, 'खाना खायौ, कहाँ पुग्यौ, दुःख त पाएनौ नि?'
सबैका घरबाट यस्तै प्रश्न आउँथे, जसको जवाफ उनीहरू सही दिन्थेनन्। कुन ठाउँ पुगियो भन्दा रहेनछन्। उनीहरूलाई नै थाहा थिएन। आफूहरूको बेचैनी जति भए पनि घरकालाई सान्त्वना दिएरै बसे, 'टेन्सन नगर। हामी आउँदैछौं। भोलि या पर्सि काठमाडौं पुग्छम्।'
'आफूले त दुःख पाइयो, घरपरिवारलाई किन चिन्ता दिनू भनेर नि,' आशारामले भने, 'जंगलमा सुते पनि, बाटामा सुते पनि, केही भन्थेनौं। गाउँलेले गोठमा सुत्न दिएका छन्। राम्ररी सुतेका छौं, खान दिएका छन् भन्थिम्।'
यी सबै फोनमा भन्ने कुरा मात्रै थिए। बाटामा त कोहीले उनीहरूलाई तर्साउँथे, 'काठमाडौंमा त प्रहरीले लठ्ठीले हानेर खेद्छ।'
कसैले सान्त्वना पनि दिन्थे, 'जानू, जानू केही हुँदैन।'
कोही भने मनकारी हुन्थे। हिँडेको चौथो दिन नेपालथोक आइपुगेपछि उनीहरूले एक सहयोगी महिला भेटे। उनले स्थानीय प्रहरीसँग कुरा गरिदिइन्। उनीहरूलाई बनेपासम्म मालसामान बोकेका गाडीमा लगिदिने भए।
बनेपाबाट दिउँसो साढे बाह्र बजेबाट हिँडेका उनीहरू साढे सात बजेतिर कोटेश्वर आइपुगेका थिए।
'हामीमध्ये १२ जना जति पहिलोपटक काठमाडौंमा आइपुगेका छौं। पहिला आउँदा गाडीभित्रबाटै टन्न मान्छे देखिन्थ्यो, अचम्म लागेको थियो। अहिले हिँडेर आउँदा पनि मान्छे नदेख्दा फेरि अचम्म लागिरहेको छ। पशुपतिनाथलाई पहिलोपल्ट देख्दै छौं, केही होला कि,' आशारामले आशा व्यक्त गरे।
यात्राभरि पनि उनीहरूलाई काठमाडौं पुगेर कहाँ बस्ने चिन्ता थियो, 'बाटामा प्रहरीले सुत्न दिँदैनन्। यहाँ जंगल छैन। सबै घरैघर छ। घरनजिक बस्न पनि दिन्नन्।'
साढे आठ बजे पशुपति पुग्दा त्यहाँ बस्न दिइन्छ कि दिइँदैन भन्ने अन्यौल सबैमा देखिन्थ्यो। नयाँ ठाउँमा, कसैले केही भन्लान् भनेर डराएका पनि थिए।
फेरि पशुपतिमा मान्छे आवागमन नभएपछि बाँदरको प्रभाव बढेको छ। आफ्ना पोका-पन्तुरा बोकेर भगिदिएला भन्ने चिन्ता उत्तिकै। उनीहरूले पशुपतिमा बस्न आँटेनन् र नजिकैको राम मन्दिरतिर हिँडे।
बोराका भारी, सुन्निएका खुट्टा, थाकेको ज्यान राम मन्दिरका भर्याङमा लड्खडाउँदै थिए।
मन्दिरको फराकिलो आँगन पुगेर थुचुक्क बसेका उनीहरू कोही बोलेनन्। ज्यानमा ताकत नभएर हो वा बोल्ने विषय नभएर!
शान्त परिसरमा एकछिनपछि एक कुनाबाट आवाज आयो, 'यता दाउरा पाइएला कुन्नि, खाना बनाउने हो कि साथीभाइ हो?'
अर्काले भने, 'आ, हुन्देऊ, साह्रै थकाइ लागेको छ। कसले खाना बनाइराख्ने। बरू त्यो बोरामा चिउरा छ, त्यही खाऊँ।'
उनीहरूसँग बचेको अलिकति दाल-चामल, गुन्द्रुक, चिउरा, नुन, चिनी थियो।
टोलीमा भएका जवानहरू खाना पकाउन पाए हुन्थ्यो भन्दै थिए। अलि वयस्कहरू भने 'लौ पकाउने भए आफैं पकाओ' भन्दै चिउरा फुकाउन थाले। जवानहरूका पनि हात लागेनन्। कसैले थालमा चिउरा र भुजिया हाले, केहीले फुक्का खाए। कोहीसँग एक प्याकेट चाउचाउ रहेछ, त्यही हाले। कसैले सिन्की हाले।
आशाराम चिउराको फाँको हाल्दै भन्दै थिए, 'यो चिउरासँग चट्नी भएको भए, कति मिठो हुन्थ्यो। हामी चौधरीले त असाध्यै चट्नी मन पराउँछन् नि।'
तर यहाँ चिउरासँग पानी मात्र थियो। सबैले ज्यान आडिलो भएझैं माने, अब निद्रा पर्छ होला!
आ-आफ्नै बोराका सिरानी बनाउँदै कम्बल निकाले र घप्लक्क सुते। आकाश चौधरी भने सुन्निएका खुट्टामा तेल घस्न थाले। निक्कै दुखेको छ भन्दै थिए।
रात गाढा हुँदै गयो, थकित ज्यानको निद्रा गाढा भएन। बाँदर आएर पोका खोस्देलान् भन्ने पिर छँदै थियो।
बाँदरले पनि उनीहरूको दुःख देखे कि, केही गर्न आएनन्। बरू रुखमुनि सुतेकाहरूलाई माथिबाट खसेका पातले झसंग ब्युँझाउँथ्यो। झस्किँदै, कोल्टे फेर्दै जसोतसो उनीहरू मन्दिरको आँगनमा ढल्किरहे।
मंगलबार, बिहान हुनेबित्तिक्कै आशाराम र अर्का एक जनाले हिँड्ने सुरसार कसे, 'थानकोटसम्म पुगेर गाडीको व्यवस्था मिलाउँछु' भन्दै।
केही बेरमा सुहिराम चौधरीको फोन बज्यो। उनी काठमाडौंमै भएका उनका ज्वाइँ भेट्न हिँडे। अरू १२ जना त्यहीँ बसे।
बिहान मन्दिर ओहोरदोहोर गर्नेहरू यो जमात देखेर 'को हुन्, कहाँबाट आएका हुन्' भन्दै तर्सिएजस्तो गर्न थालेका थिए। कतिले त लखेट्नै खोजे। तर उनीहरू चुपचाप बसिरहे। कसैको जवाफ दिएनन्।
मन्दिरकै भागवत सन्यास आश्रम गुरुकुलका एक गुरूले उनीहरूलाई चिया र चिउरा उपलब्ध गराइदिने भए। 'चिया नपिएको कति दिन भइसक्यो,' खाँदै गर्दा उनीहरूमध्ये एकले भने।
त्यही बेला बिहान हिँडेका आशाराम र अर्का साथी हतासिँदै फर्किए। उनीहरू रातोपुल पनि कट्न पाएनछन्, 'प्रहरीले क्वारेन्टाइनमा हाल्दिन्छु है भन्दै लखेटे।'
आफ्नो समस्या बताउन नपाउँदै लखेटिएकोमा चिन्तित थिए उनीहरू।
चियाले उज्याल्दै गरेको अरूको अनुहार पनि अघिल्लो रात थाकेर आएजस्तै मलीन भयो, 'काठमाडौंसम्म त जसोतसो आइपुगियो, अब यहाँबाट कटेर जान पाइन्न कि के हो।'
जगतराम चौधरीलाई वाक्क लाग्यो। खाँदै गरेको चिया-चिउरा छाडेर टाउकोमा हात राख्दै सुस्केरा हाले। एकछिनपछि खल्तीबाट मोबाइल निकालेर कसैलाई फोन लगाए।
फोन गर्दा अरू बेला टुँइटुइँ घन्टी बज्थ्यो, अहिले कोरोना भाइरसबारे जानकारी। दिक्क भएका जगतरामलाई यो सुनेर रिस उठेछ क्यार, फोनमै कराउन थाले, 'खान पाएर बाँचे पो कोरोना हो कि कोरोला लाग्छ। अहिल्यै बचिँदैन जस्तो छ, कसरी बच्ने कोरोनाबाट।'
उनले छोरीलाई फोन गरेका रहेछन्। चार छोरीमध्ये एक जना बिहे गरेर काठमाडौंमै बस्ने रहिछन्।
'बिहे गराएर पठाएको छोरी-ज्वाइँले के भन्लान् भन्ने सोचेर म आउँछु पनि भनेको छैन। भेट्न पनि पाएको छैन,' जगतरामले बाबुको भावना सुनाए, 'उनीहरू पनि काम बन्द भएर बसिरहेका छन्। म गएँ भने समस्या हुन्छ।'
छोरीको फोन उठ्यो। कहाँ पुगेँ र के खाएँ भन्ने सुनाउँदा-सुनाउँदै 'ब्यालेन्स' सकियो। फेरि सुस्केरा हाल्दै थचक्क बसे।
सबै 'अब के गर्ने' भन्ने चपेटामा थिए। उनीहरूले कैलाली, घोडाघोडी नगरपालिकाका मेयरलाई भन्ने पनि सोचेका रहेछन्, 'ठूला मान्छेसँग कसरी बात गर्ने भन्ने डरले गरेनौं।'
केही बेरको सोच र छलफलपछि निधो गरे- सोलुबाट राति हिँडिएको थियो। यहाँबाट पनि राति नै हिँड्ने।
भर्खरै बिहानको चिया खाएका उनीहरूलाई रातको पर्खाइ व्यग्र हुन थाल्यो।
सुमन चौधरी, सुरज चौधरी र आदित्य खत्रीको मोबाइलमा चार्ज सकिन लागेछ। उनीहरू धेरै बेर फोन चलाएर बस्ने भएकाले चार्ज सकिएको भन्दै थिए वयस्कहरू। आरती स्थलमा दुइटा अस्थायी 'प्लग' रहेछन्। त्यहीँ जोडे। बाँकी 'अझै चार्ज पुग्छ' भन्दै बसे।
'गहुँ छरेर पाकिसक्यो होला घरमा। काट्ने मान्छे पनि छैन होला,' १९ वर्षीय सुमनले सम्झिए। उनी पहिलोपटक काठमाडौं आउनेमध्ये एक हुन्।
'काठमाडौंको नाम मात्र सुनेको थिएँ। भारतमा काम गर्न जाँदा 'तुम्हारा काठमाडौं कैसा है' भन्थे त्यहाँका मान्छेले,' उनले भने, 'म नगएकाले कहिल्यै उनीहरूलाई भन्न सक्थिनँ। अहिले अब काठमाडौं आएँ, तर कहिले-कसरी घर जाऊँ भइसक्यो।'
उनको जस्तै छटपटी सुरजको अनुहारमा देखिन्थ्यो, आदित्यको पनि, सुनील चौधरीको पनि।
दस बजेतिर मन्दिरमा खानाका प्याकेट भरिएका झोला बोकेर एक व्यक्ति आइपुगे। आशाराम र उनका साथीबारे खबर पाएर आएका ती व्यक्ति थिए नवजीवन परोपकार समाजका दुर्गानाथ दाहाल।
चार दिनदेखि चामल पेटमा नपरेका बेला खानाको मिठो हरक नाकमा पुगेपछि सबै एकैतिर झुम्मिए। केहीले छिट्टै सिध्याएर अर्को प्याकेट लिए। ४८ वर्षीय महावीर चौधरीले त तीनपटक थपे।
आफ्नो भोक मेट्नु मात्र सन्तुष्टि हुँदैन क्यार! मुखमा गाँस हाल्दै गर्दा प्रकाश देवकोटाले परिवार सम्झिएर आँशु चुहाए। घरमा श्रीमती र भर्खरै जन्मिएको सन्तान मात्र रहेछन्। उनले बिहान फोन गरेका थिए, उठेनछ।
उनीहरूकै लागि भनेर कमाउन हिँडेका २६ वर्षीय प्रकाशले भने, 'आफूले त यति खान पाइयो। उता श्रीमतीले के खाई होली!'
त्यत्तिकैमा नेपाल स्काउटबाट पनि केही साथीहरू एक बोरा चामल, पाँच केजी दाल र बिस्कुटका बट्टा बोकेर आइपुगे। कमसेकम बाटोमा भोको हुन नपर्ने भयो भन्दै उनीहरूको अनुहार अलिकति चम्कियो।
खानापछि एकअर्काका काँधमा ढल्किन लागेका उनीहरू 'अब दिनभर के गर्ने' भनेर गफ्फिन थाले। एकले भने- पशुपति गएर दर्शन गरौं।
अमित चौधरीले भने, 'मैले बिहान जाने कोशिस गरेको, पुलिस बसेको देखेर फर्किएँ।'
'काठमाडौं त आइयो, केही देख्न पाइएन,' उनीहरू थारू भाषामा कुरा गर्न थाले। कोही यताउता हिँडिरहे, कोही एकै ठाउँ बसिरहे, कोही सुते।
चार बजेतिर फेरि त्यही आश्रमले चिया खुवायो। 'बेलुका हामी हिँड्नुअघि रोटी र सब्जी पनि खुवाउँछौं भनेर गुरुले भन्नुभएको छ,' आशारामले सुनाए।
आशारामले बिहान ज्वाइँको घर जान हिँडेका सुहिरामलाई दिउँसैदेखि फोन गरिरहेका थिए। नउठेको देखेर अनौठो माने।
'म आउँछु अनि मात्र जाऊँ है भनेर हिँडेको थियो। अहिले फोन उठाउँदैन। केही भयो कि! त्यहाँदेखि सँगै आएको साथी। यहाँ एक्लै छाडेर जान सकिँदैन। आउने हो कि होइन, केही अत्तोपत्तो छैन,' आशारामले मलिनो स्वरमा कालिचरण चौधरीलाई सुनाए।
साढे ६ बजेतिर बल्ल सुहिरामको फोन उठ्यो। उनी नजाने रे, यहीँ ज्वाइँकोमा बस्ने खबर दिए। आशारामले 'ठिकल बा, खुस रहे' भन्दै फोन राखे।
अँध्यारोले छोप्दै गएपछि उनीहरू पोका-पन्तुरा बाँध्न थाले। दिउँसो पाएका दाल-चामल बोक्न सजिलो होस् भनेर सबैलाई बराबर भाग लगाए।
सात बजेतिर आश्रमबाट आलु-काउलीको तरकारी, रोटी, दाल र खाना आइपुग्यो। आश्रमका विद्यार्थीले पस्किदिए। उनीहरूले हिँडेदेखि एकै दिन दुई छाक खान पाएका थिएनन्।
खानापछि एक जना साना विद्यार्थीले ठूलो भाँडोमा चिउरा र चिनी बोकेर ल्याए र भने, 'यो बाटोमा खान हुन्छ भनेर ल्याइदिएको।'
साना विद्यार्थीलाई हेरेर सबै मुस्काए, सायद कतिले आफ्ना सन्तान सम्झे! कति मनकारी देखेर खुसी भए!
आठ बज्यो। अब हिँड्नुपर्छ।
आदित्य खत्रीलाई पोका बाँध्नुपछि अर्को जरूरी काम गर्नु थियो, जुत्तामा म्याट च्यातेर तलुवा हाल्ने। हिँडाइ र गुम्साइले उनको खुट्टा सेतै भएछ।
'यो राख्यो भने अलि नरम हुन्छ,' मोजा लाउँदै उनले भने।
यसअघि उनीहरूलाई राति हिँड्न डर लाग्थ्यो। अहिले विकल्प छैन। राम मन्दिरबाट निस्कँदै उनीहरूले पशुपतिनाथलाई सम्झे। दुई हात जोडे। 'चाँडै घर पुग्न पाऊँ,' सबैको कामना यही थियो।
अघिल्लो दिन मन्दिरका भर्याङ उक्लिँदा स्याँस्याँ गरेका उनीहरू ओर्लँदा फूर्तिला देखिन्थे। घर नजिक हुँदैछ भनेर होला! दुई छाकले ताकत आएर पनि होला!
जय बागेश्वरी हुँदै उनीहरू चक्रपथ निस्किए। थानकोट निस्कन चक्रपथै-चक्रपथ जानुपर्यो कि काठमाडौंका भित्री सडक पार गर्नुपर्यो। बाटामा प्रहरीले रोक्छन् भन्ने चिन्ता छ। उनीहरूले दोस्रो बाटो रोजे। गौशालाबाट ओरालो लागेर रातोपुल हुँदै हात्तिसारबाट निस्किँदा ९ बजेको थियो।
त्रिचन्द्र कलेजअगाडि पुगेपछि माथितिर हेर्दै 'घन्टाघर यही रहेछ है' भन्दै अघि बढे।
बाटामा फाट्टफुट्ट हिँडेकाहरूले सोध्थे- कहाँ जान लागेको?
उनीहरू पालैपालो भन्थे- कैलाली।
कैलाली सुनेर सोध्नेहरू अक्कबक्क पर्थे, 'पुगिन्छ र? कति समय लाग्ला?'
यसको जवाफ उनीहरू दिन्थेनन्। तर गस्ती भ्यानमा आएका प्रहरीलाई त दिनै पर्यो।
'कहाँ जान लागेको? यसरी हिँड्न हुँदैन भन्ने थाहा छैन? पास बनाएको छ?'
प्रहरी देख्नेबित्तिकै आत्तिने उनीहरूले सानो स्वरमा भने, 'कैलाली हिँडेको हजुर। चार दिनदेखि हिँडिरहेका छौं। सोलुदेखि आयौं। आवाज नगरी निस्किन्छौं सर। बिन्ती जान दिनुस्।'
कैलाली सुनेपछि प्रहरीले पनि छक्क पर्दै भने, 'अलि टाढा-टाढा गरेर हिँड्नू।'
'बिहान रातोपुल कट्न नदिएका पुलिसहरूले अहिले त रोक्दा पनि रोकेनन्,' उनीहरूले खुसुक्क खुसी साटे।
टुँडिखेल अँध्यारो थियो। आफ्नो अगाडिको बाटोबाहेक दायाँबायाँ हेर्न मन गरिरहेका थिएनन्। सहिदगेट पुगेपछि एकले सोधे, 'यो के रहेछ?'
पछाडि हिँडिरहेका सुनील चौधरीले भने, 'यो, त्यो मरेका मान्छेहरूका लागि बनाएको गेट हो क्यारे। सहिदगेट भन्छ।'
'हामी पनि घर जाँदै गर्दा मर्यौं भने हामीलाई सहिद भनेर यस्तो गेट बनाइदेलान् त,' प्रकाश चौधरीले हाँस्दै भने। अरू पनि हाँसे। हिँडेदेखि यसरी हाँसेको पहिलोपटक हो रे।
त्रिपुरेश्वरको चौडा बाटो देखेपछि उनीहरू अलिकति अत्तालिए। प्रहरीले 'कता जाने' भनेर सोधे। उनीहरूले अलिअगाडिकै जवाफ दोहोर्याए।
'कहाँबाट जाने?'
'थानकोट।'
'यो बाटो सिधै जानुस्,' टेकुतिर देखाउँदै प्रहरीले भनिदिए।
'अरे हामीलाई थुन्ला र छेक्ला भनेको त बाटो पो देखाइदिए पुलिसले। यो त गजबै भइहाल्यो,' उनीहरूको डर कम भयो। पाइला तेज। उनीहरूलाई देखेर कुकुर भुक्थे। तर उनीहरू एक सेकेन्ड अडिएनन्। राम मन्दिरबाट हिँडेको तीन घन्टा अर्थात् ११ बजे उनीहरू कलंकी पुगे।
कलंकीबाट थानकोट लाग्ने बेला पछाडिबाट उज्यालो बत्ती आइरहेको देखियो, ठूलो ट्रक रहेछ। रोकिहाल्छ कि भनेर हात देखाए, रोकियो।
बर्दिया जाने मालवाहक ट्रक रहेछ। समस्या सुनाएर बिन्ती गरेपछि चालकले जहाँसम्म सकिन्छ त्यहाँसम्म पुर्याइदिने भए।
चालकले सर्त पनि राखे, 'कानुनविपरीत भए पनि यो समस्या सबैलाई परेको भएकाले सहयोग गरिदिन्छु। तर बीचमा कुनै प्रहरी-प्रशासनले रोके, म झुट नबोली तपाईंहरूले जे मलाई सुनाउनुभयो त्यही भन्छु। उनीहरूले जान दिए ठीकै छ, नभए तपाईंहरू त्यहीँ ओर्लिन पर्छ।'
केही दिनको बाटो भए पनि गाडीमा काटिने मौका पाउँदा यो सर्तको अर्थै के थियो र!
'मञ्जुर छ हजुर' भन्दै सबै ट्रकमा चढे। सबैका अनुहार उज्याला देखिए। खुट्टा सुन्निएका आकाश चौधरी र जुत्तामा म्याट हालेर हिँडेका आदित्य खत्री झनै दंग परे।
ट्रकभित्र चढ्दै गर्दा सबैले हात हल्लाउँदै भने, 'बचिएछ भने फेरि भेटौंला है।'
उनीहरू सबै ट्रकको पछाडि भागमा बसे। भित्र अँध्यारो थियो। बर्दियासम्म जान पाइयो भने त कल्याणै हुन्थ्यो भन्ने सोच्दै सबै चुप थिए।
गुड्न थालेपछि ट्रक हल्लियो। 'आइया, यता नठेल्नुस् न,' कसैले झोंक्किएर भन्यो।
त्यो आशाराम र उनका साथीको आवाज थिएन। उनीहरूले मोबाइलको टर्च बालेर हेरे। त्यहाँ उनीहरूबाहेक अरू ९-१० जना कोचिएर बसेका रहेछन्।
'ट्रक निकै लामो थियो। हामी मात्रै छौं भनेको अरू पनि रहेछन्,' आशारामले भने, 'उनीहरू पनि हाम्रैजस्तो समस्या परेर आएका होलान्।'
केही सोधपुछ गर्न भएन, ट्रक चालकले आवाज ननिकाल्नू भनेका थिए।
उनीहरू एकै गुटुमुटु परेर सुत्ने प्रयास गरे। मनमनै कतै पनि नरोकिए हुन्थ्यो र कुनै प्रहरीले नछेकिदिए हुन्थ्यो भन्दै प्रार्थना गरे।
'ट्रक हल्लिँदा कोक्रोजस्तै लाग्यो। सबै झपक्कै सुते। मलाई भने गाडी लाग्ने समस्या छ। वान्ता आउलाजस्तै भइरहेको थियो,' आशारामले भने, 'तर मैले त्यहाँ वान्ता गरेँ भने सबैलाई समस्या हुन्छ भनेर रोक्दै बसेँ। कति बेला निदाएछु पत्तै भएन।'
उनीहरूका आँखा ट्रक रोकिएपछि मात्र खुले।
आँखा खुल्दा ट्रक छोपेको त्रिपाल हटाइँदै थियो। गुनगुन आवाज पनि सुनियो। एकअर्कालाई नदेखिने अँध्यारो भइरहेका बेला एक्कासि उज्यालो किरणले आँखा चर्कायो। अगाडि प्रहरी रहेछन्।
प्रहरीहरूले उनीहरू सबैलाई ओराले। दाङको लमही आइपुगेको रहेछ। त्यहाँ ट्रकका अरूसँग कुराकानी गरे, जो तुलसीपुर जान हिँडेका रहेछन्।
'प्रहरीले हामीलाई पनि निक्कै बेर सोधपुछ गर्नुभयो। हाम्रो निधारमा मेसिन देखाएर जाँच्नुभयो। हामी कसैमा पनि ज्वरो, रुघाखोकी थिएन,' समस्या त गलेको ज्यानमा थियो। घर पुग्ने छटपटीले रन्थनिएको दिमागमा थियो।
उनीहरूको वृत्तान्त सुनेपछि प्रहरीले केहीबेर बस्न भनेछन्। उनीहरूलाई केही व्यवस्था हुन्छ कि भन्ने आश थियो। निक्कै बेर बसे। केही होला जस्तो लाग्न छाड्यो।
'त्यसपछि हामी बिदा लिन्छौं सर भनेर हिँड्यौं। लमहीबाट कम्तिमा १४० किलोमिटर यात्रा पूरा गर्नुपर्छ घर पुग्न। यहाँबाट हिँड्यो भने ५/६ दिन लाग्छ। हामी जाँदैछौं,' उनले भने।
छ दिन हैन, उनीहरू छ साता लागे पनि हिँड्न तयार सुनिए।
सुनील चौधरीले राम मन्दिरमै बस्दा भनेका थिए, 'हामीलाई विश्वास छ, हामी हिँडेरै घर पुग्छौं।'
तराईका समथरमा हुर्किएका, उकाली-ओरालीको बानी नपरेका पाइला भनेर के र, हुर्किनुपर्ने त मन रहेछ। हिम्मत रहेछ।
लमही बजार काटेर सतबारीय आइपुगेपछि उनीहरू रोकिए। खिचडी पकाउँदै गर्दा एक व्यक्ति उनीहरू नजिकै आएर बसे। भारतीय नागरिक रहेछन्, पूर्व जान हिँडेका।
'उहाँलाई पनि हामीले पकाएको खिचडी दियौं,' आशारामले सुनाए।
बीचमा घरबाट फोन आइरहेको थियो। आशारामलाई उठाउन मन लागेन। अरू भने फोनमा कुरा गर्दै हिँड्दै थिए। उनीहरू आपसमा भने केही नबोली हिँडे। साँझ पर्दै थियो। आशाराम कुनै गाडी आउला कि, लगिदेला कि भन्ने आश गर्दै थिए।
बाँके पुग्न लाग्दा एउटा ट्रक आइरहेको देखे। सबैले हात हल्लाएर रोक्न आग्रह गरे, रोकियो।
'चालकसँग कुरै नगरे पनि साह्रै खुसी लाग्यो। सबै सुनाएपछि उनले कोहलपुरसम्म छोड्दिने तर पैसा लिने भने। केही घन्टा भए पनि बाटो घट्ने आशले हामीले दुई हजार दियौं,' घर पुग्न हतार भएका बेला दुई हजार तिर्न आँट आयो।
उसो त 'समस्यामा परेको भएर सहयोग गरेको' भन्दै कलंकीबाट लैजाने ट्रक चालकले पनि उनीहरूसँग पैसा मागेका रहेछन्, १५ हजार रूपैयाँ।
'उहाँले हामीसँग टन्नै पैसा छ भनेर सोच्नुभयो होला। मेरो खल्तीमा भएको एक हजार निकालेँ। सबैले निकाल्दा १२ हजार पुगेको थियो। त्यही दियौं।'
बचेखुचेको दुई हजारले उनीहरूलाई कोहलपुरसम्म पुर्यायो। लगभग रातको ११ बजे, बिहान खाएको खिचडीको आड सक्किहाल्यो। खाना पकाउने हिम्मत कसैलाई आएन। बिस्कुट चपाउँदै फेरि केहीबेर हिँडे उनीहरू।
एक बज्न थालेपछि सडकछेउ रोकिए।
'परबाट बाइक आएको देख्यौं। दुई जना बसेका थिए। नजिक आएर हामीलाई 'यहाँ किन बसेको, गई हाल' भनेर तर्साए,' आशारामले भने, 'हामी हडबडायौं र उठेर हिँड्यौं।'
मध्यरात हिँड्न कम्ता सकस थिएन। अलि पर पुगेपछि हिँड्ने स्थिति नै देखिन छाड्यो, 'यति टाढासम्म त भगवानको कृपाले गाडीमा आउन पाएका थियौं, अब बिसाउने कि नबिसाउने भन्ने अलमल भयो।'
रात छिप्पिसकेको थियो। सडकबाट नजिकै खेत देखियो। म्याट ओछयाएर, कम्बल ओढेर त्यहीँ सुते।
आशारामले भने कम्बलको पोको फुकाएनन्, बिहान छिट्टै उठेर हिँडिहाल्न सजिलो होस् भनेर। उनी खेतमा त्यत्तिकै पल्टिए। निद्रा कहाँ परोस्। मन चिसै थियो, रातको शितले ज्यान पनि चिसियो।
साढे चार बजेतिर झपक्क हुन लागेका थिए, अमितले बोलाए।
'चिया खाने कि भन्दै थिए साथीहरू। तर घर पुग्न ढिला हुन्छ भनेर हिँड्यौं,' आशारामले सुनाए, 'काठमाडौंभन्दा धेरै कम मान्छे देखिन्थे।'
करिब साढे सात बजेतिर उनीहरू बाँसगढी पुगे। त्यहाँ प्रहरी चौकीमा सोधपुछ भयो। उनीहरूको नाम, ठेगाना, फोन नम्बर टिपियो।
'त्यहाँका प्रहरी राम्रो हुनुहुँदो रहेछ। हामीलाई चिया-नास्ता खानुहुन्छ भनेर पनि सोध्नुभयो। हामीले हिँड्न पाए हुन्थ्यो भन्यौं। उहाँहरूले बस भनेजस्तो कुरा गर्नुभयो। न हामीलाई रोकेर पो राख्नुहुन्छ कि भन्ने सोचेर हामी आत्तियौं। होइन रहेछ,' प्रहरीको राम्रो व्यवहार देखेर उनीहरू काठमाडौंमै चकित खाएका थिए।
केही बेर त्यहीँ बसेको देखेपछि स्थानीयले पनि उनीहरूलाई सहयोग गरेछन्। बिस्कुट, चिउरा, पानी दिए।
'हामीले सबैलाई आफ्नो यात्राबारे बताउँदै चिया पियौं,' मनकारी मन देखेर उनीहरूको मनले पनि बिसाउने ठाउँ पाएछ।
करिब ४५ मिनेट बसेपछि उनीहरूले जाने अनुमति पाए। प्रहरीले उनीहरूसँग कैलाली, घोडाघोडी नगरपालिकाका मेयरको नम्बर मागेछन्।
आशारामले डायरीमा लेखेको नम्बर दिए।
दिउँसोपख आशारामलाई पनि अब त घरमा फोन गर्छु भन्ने भएछ, 'म आउँदैछु। एक-दुई दिनमा आइपुग्छु भनेँ श्रीमतीलाई। उनी बहुतै खुसी भइन्। मेरो पनि मन फुरुंग पर्यो। आफ्नो गाउँठाउँको जस्तै सास फेर्न पाइयो भनेर।'
श्रीमतीसँग बोलेर राखेका मात्र थिए, मोबाइल बज्यो। नचिनेको नम्बरबाट आएको फोनमा सुरूमै कसैले भने, 'कहाँ पुग्नुभयो?'
आशाराम एकछिन त अकमक्क परेछन्। उताबाट फेरि आवाज आयो, 'म मेयर बोलेको, ममताप्रसाद चौधरी।'
घोडाघोडीका मेयरको नाम सुन्नेबित्तिकै आशारामका आँखा र बोली दुवै चंख भए।
'खोइ, ठाउँको नाम पत्ता लाउन सकिएन हजुर,' आशारामले भने।
'बाँसगढीबाट निस्केको कति भयो,' मेयरले सोधे।
'८-९ घन्टा भै'गयो हजुर।'
'ल, चिसापानी पुग्न लाग्नुभएछ, म एउटा ट्रक पठाइदिन्छु,' मेयर ममताप्रसादले पठाइदिने ट्रक भगवानकै प्रसाद जत्तिकै लाग्यो उनीहरूलाई।
बाँसगढी प्रहरीले नम्बर मागेका थिए, मेयरलाई फोन गरिदिएछन्।
'काठमाडौंदेखि नै हामीमाथि कृपा बसिरहेको थियो। हिँड्ने भनेर अठोट लिँदा पनि केही न केही राहत आइरहेको थियो,' उनी भगवानप्रति कृतज्ञ भए। सहयोगीहरूलाई धन्यवाद पनि भन्दै थिए।
चिसापानी पुग्दा-नपुग्दै मेयरले भनिदिएको ट्रक आइपुग्यो।
'अब चाहिँ घर पुगिन्छ,' सबै रमाए।
बौनिया पुगेपछि ट्रक रोकियो।
'ला, फेरि हिँड्नुपर्ने भयो' भन्ने सोचे। त्यहाँ उनीहरूलाई लाइन लगाएर राखियो। स्वास्थ्यकर्मीले जाँच गर्न लागेका रहेछन्।
दुई महिला स्वास्थ्यकर्मीले अलि टाढैबाट निधारमा 'थर्मा गन' तेर्स्याए। कसैलाई ज्वरो थिएन। स्वास्थ्यकर्मीले कोरोनाका केही लक्षणबारे बताउँदै साबुनपानीले हात धुनुपर्छ है भनेर बुझाए।
'त्यो अचेल फोन गर्दा कोरोना के-के भन्दै बोल्छ नि, त्यस्तै भन्नुभयो उहाँहरूले पनि,' स्वास्थ्यकर्मीका भनाइ बुझाउने प्रयास गरे आशारामले।
त्यहाँबाट अब उनीहरूको घर पुग्न ७-८ किलोमिटर मात्र थियो। फुरूकफुरूक हुँदै ट्रक चढे।
एकैछिनमा घरको बाटोनिर ट्रक रोकियो।
१४ जना ट्रकबाट ओर्लिए। आशाराम, अमित, सुमन र सुनीलको घर खोलावारि पर्छ। बाँकीको खोलापारि।
'हामी त हाँस्दै हाँस्दै दौडिँदै गयौं। कहाँबाट आयो है दौडिने शक्ति थाहा छैन,' आशाराम खुसी सुनिए, 'हामीले यति छिट्टै घर पुगिएला, सहायता पाइएला भनेर सोचेका पनि थिएनौं। २० दिनको यात्रा एक सातामा टुंगियो।'
चैत २० गते मध्यरात सोलुखुम्बुबाट हिँडेका उनीहरूले २७ गते साँझ कैलालीमा आफ्नो घरको आँगन टेके।
अमित चौधरीका घरमा खुसी र आँशुको माहोल भयो। श्रीमती रेखा र सानो छोरोले अमितलाई देख्नेबित्तिकै गम्लङ्ग अंगालो हाले। टाउको जोडे। हाँस्दै रोए। रूँदै हाँसे।
'यति खुसी मलाई जिन्दगीमै लागेको थिएन,' २१ वर्षीया रेखाले भनिन्, 'निक्कै न्यास्रो लाग्थ्यो। ५ वर्षको छोराले बुवा खोज्थ्यो। कहिले आउनुहुन्छ, के ल्याउनुहुन्छ भनिराख्थ्यो। उहाँसँग भएका बिस्कुट दियौं। छोरा रमाएर खेलिरहेको छ।'
अमितको घरदेखि अलि पर आशारामको घरमा पनि यस्तै माहोल छ। एक साताको यात्रा वृत्तान्त आशाराम आफ्नी श्रीमती लालमतीलाई सुनाउँदैछन् रे। बाटाभरका दुःख र झमेला उनलाई चिन्ता होला भनेर सुनाएका थिएनन्!
'बिहान फोन गर्दा दुई-तीन दिन हिँडेर लाग्छ भन्नुभएको थियो। अहिले साँझै आइपुग्नुभयो,' चिन्तामा निदाउन नसकेकी ३२ वर्षीया लालमतीको हर्षको सीमा थिएन।
उनले आशारामलाई बन्द खुलेपछि आउनू भनेकी थिइन्। तर त्यहाँ बस्नुभन्दा नबस्नु नै जाती मानिन्।
'खाने कुरा कत्ति महँगो त्यहाँ, पैसा छैन भोको पेट बस्नुपर्थ्यो। एक हप्ता त बस्नुभयो क्यारे,' उनले भनिन्, 'पछि फोन गरेर हामी आउन लाग्यौं, जहिले सकिएला त्यही दिन आइएला भन्नुभयो।'
त्यो दिन कहिले आउला भनेर लालमती निक्कै छटपटाएकी थिइन्। आफू त्यहाँ बसेर केही गर्न नसक्दा उनलाई लाचार महशुस हुन्थ्यो। श्रीमान राति कहाँ सुते? के खाए?
न जंगलमा सुतेका आशारामहरूलाई निद्रा थियो, न उनीहरूका घरपरिवारलाई।
'आइपुग्नुभयो, निक्कै खुसी छु। अब चट्नी र खाना बनाउँदैछु। उहाँलाई खुब मनपर्छ,' राम मन्दिरमा चिउराको फाँको हाल्दै गर्दा आशारामले लालमतीले बनाएकै चट्नीको स्वाद सम्झेका रहेछन्।
सबै तस्बिरः निशा भण्डारी
बेजोडी चप्पल लगाएर काठमाडौंबाट घर हिँडेका पाइलाहरू (फोटो फिचर)