इरान र इसराइलले रातभरि एक अर्कालाई आक्रमण गरेका छन्।
शुक्रबार बिहानै इसराइलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एयर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीहरूमाथि एकै पटक आक्रमण गरेपछि इरानले पनि इसराइलमाथि जबाफी हमला गरेको छ।
हमला शुक्रबार रातभरि जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इसराइलले इरानको राजधानी तेहरान आसपास भीषण हमला गरेपछि इरानले इसराइलको राजधानी तेल अभिभ र जेरूसलेममा हवाइ हमला गरेको छ।
इसराइलले इरानमाथि २०० भन्दा बढी लडाकू विमानसहित तीनसय बढी हतियार प्रयोग गरी हमला गरेको थियो। उसले कम्तिमा एक सय लक्ष्यहरूमा निशाना बनाएको भनिएको छ।
शुक्रबार बिहान नै इरानले एक सय वटा ड्रोन तेल अभिभ र जेरूसलेममा प्रहार गरेको थियो। इसराइलले अधिकांश ड्रोनहरूलाई निस्तेज पारेको थियो।
शुक्रबार राति भने उसले ब्यालिस्टिक मिसाइल प्रयोग गरी इसराइलमा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। राजधानी तेल अभिभ र जेरूसलेममा विस्फोटका ठूला आवाजहरू सुनिएको भनेर त्यहाँका स्थानीयहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि जेरूसलेम र तेल अभिभका एयर डिफेन्स सिस्टम रातभरि सक्रिय रहेको बताएका छन्।
शुक्रबार रातिको इरानी हमलाबाट इसराइलमा भौतिक क्षति र मानिसहरू घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
इरानको आक्रमणबाट इसराइलको गुस दान क्षेत्रमा ३४ जना घाइते भएको बताइएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इसराइलको सैन्य र हवाई अड्डालाई लक्ष्य गरेर आक्रमण गरिएको बताएका छन्।
शुक्रबार संयुक्त राष्ट्रसंघमा इरानका राजदूत अमिर सइद इराभनीले इसराइली आक्रमण र त्यसले इरानमा पुर्याएको क्षतिबारे ब्रिफिङ गरेका थिए।
उनका अनुसार इसराइली आक्रमणबाट इरानमा कम्तिमा ७८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इरानी सेनाका शीर्ष अधिकारीहरू पनि छन्। त्यस्तै ३२० जना नागरिकहरु घाइते भएको उनले संयुक्त राष्ट्रसंघमा बताएका छन्।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भिडिओ सन्देश जारी गर्दै आक्रमण अझै बाँकी रहेको बताएका छन्।
इसराइलले किन गर्यो इरानमा आक्रमण ?
-प्रेम ढकाल
इरान र इसराइलबीच दशकौंदेखिको दुश्मनी छ।
सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति हुनुअघि भने दुई देशको राम्रो सम्बन्ध थियो। दुवैको अमेरिकासँग पनि राम्रो सम्बन्ध थियो।
अमेरिका र इसराइलसँग राम्रो सम्बन्ध राखेको शाह पहलवी वंशको शासन अन्त्य गरेर इस्लामी कट्टरपन्थीले सत्ता हत्याएपछि इरान र इसराइलबीच शत्रुता सुरू भयो। इरानले इसराइलको अस्तित्व नै स्वीकार गर्दैन र इसराइललाई ध्वस्त पार्ने प्रण गरेको छ।
सिमाना नजोडिएकाले इरानले इसराइल घेराबन्दी गर्न छिमेकमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेसिस्टेन्स' भनिन्छ। बसर अल–असदले शासन गरेको सिरिया पनि यो मोर्चाबन्दीको हिस्सा थियो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को कुद्स फोर्सले यी विदेशी समूहहरू परिचालन गर्छ।
इरान आफैले भने इसराइलमा प्रहार गर्दैन थियो। इसराइलले पनि बेला बेला इरानी आणविक वैज्ञानिकको हत्या गर्ने, ह्याक गरेर आणविक भट्टीहरूमा नोक्सान पुर्याउने र विदेशमा रहेका इरानी सैनिकको हत्या गरे पनि प्रत्यक्ष रूपमा इरानी भूमिमा हमला गर्दैन थियो।
यसरी दशकौंदेखिको इरान–इसराइलको छाया–युद्धमा इरानले परिचालन गर्ने हमासले २०२३ अक्टोबरमा इसराइलमाथि हमला गरेपछि तनाव थपियो। इसराइलले हमासमाथि जबाफी हमला गरेपछि हिजबुल्लाहले इसराइलमाथि रकेट प्रहार गर्न थालेर झन् टकराव बढ्यो। युद्ध तन्किँदै जाँदा इसराइलले अहिले लेबननमा हिजबुल्लाह र गजाको हमासलाई धराशायी पारेको छ।
तनाव बढ्दै जाँदा इरान र इसराइलले गत वर्ष अप्रिल र अक्टोबरमा एक अर्कामाथि पटक पटक हमला गरे। दुवैको चाहना युद्ध चाहिँ नहोस् भन्ने भएकाले त्यति बेला पूर्ण युद्ध भएन।
अक्टोबरको आक्रमण इसराइलले इरानका एयर–डिफेन्स सिस्टम ध्वस्त पारेको दाबी गरेको थियो। मिसाइल कारखानामा पनि प्रहार गरेको थियो। सो हमलापछि इसराइलले इरानको रक्षा प्रणाली कत्तिको बलियो छ भन्ने भेउ मात्रै पाएन, एयर–डिफेन्स सिस्टममाथि प्रहार गरेर भविष्यमा आक्रमण गर्न सजिलो पनि पार्यो।
गत डिसेम्बरमा सिरियामा असदको सत्ता ढलेपछि इरानको 'एक्सिस अफ रेजिस्टेन्स' धराशायी भएको छ। यमनमा हुथी विद्रोही अझै बाँकी रहे पनि तुलनात्मक रूपमा हिजबुल्लाह र सिरियाजति शक्तिशाली छैन हुथी। त्यस्तै लेबनन र सिरियाको जस्तो यमनको सिमाना इसराइलसँग जोडिएको छैन। त्यसैले लेबनन र सिरियाबाट जस्तो छोटो दुरीका धेरै हतियार प्रयोग गरेर इसरालमाथि प्रहार गर्न यमनबाट सम्भव छैन।
यस्तोमा इरान परिचालित 'एक्सिस अफ रेसिस्टेन्स' लगभग सकिएको र इरान आफै अक्टोबरको हमलापछि कमजोर भएकाले इसराइललाई अवसर जुरेको थियो। त्यसैले यो वर्षको सुरूदेखि नै उसले इरानमाथि हमला गर्ने प्रयास गरिरहेको थियो। जबकि, अमेरिकाले पटक पटक वार्ताबाटै समाधान खोज्नुपर्छ भनेर इसराइललाई रोकेको थियो।
भनिन्छ – अप्रिलमा ट्रम्प आफैले इरानसँग वार्ताका लागि इसराइलसँग ६० दिनको समय मागेका थिए।
दुई महिनामा पनि इरानसँग सम्झौता हुन नसके हमला गर्नू भनेर ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भनेका थिए भनेर समाचार आएका छन्। सो दुई महिनाको समय जुन १२ मा सकिएको र इरानले आणविक हतियार कार्यक्रम रोक्ने सम्झौता गर्ने लक्षण नदेखिएकाले इसराइलले हमला गरेको मानिन्छ।
यहाँ नेर अमेरिका र इरानबीच भइरहेको वार्ताको इतिहास पनि अलिकति फर्केर हेर्नुपर्छ।
इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम हतियार बनाउन नभएर शान्तिपूर्ण उद्देश्यका लागि हो भन्दै आएको छ। उता इसराइलले पनि अमेरिका लगायत पश्चिमा राष्ट्रले इरानले आणविक हतियार बनाउन खोजेको भन्दै रोक्ने कोसिस गर्दै आएका छन्।
पूर्वराष्ट्रपति बाराक ओबामाले आणविक हतियार कार्यक्रम रोक्नेबारे गरेको बहुराष्ट्रिय सम्झौता ट्रम्पले २०१७ मा कार्यभार सम्हाल्नेबित्तिकै तोडेका थिए। त्यसपछि वर्षौंसम्म अप्रत्यक्ष वार्ता भए पनि कुनै सफलता हासिल भएको छैन।
इसराइल र अमेरिकाले इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन नदिने चेतावनी दिइरहेको बेला ट्रम्पले दोस्रो कार्यकालमा अप्रत्याशित रूपमा इरानसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। ट्रम्पको नोबेल शान्ति पुरस्कार जित्ने उत्कट चाहना छ। रूस–युक्रेन युद्ध रोक्ने योजना सफल नहुने देखेपछि नोबेल पुरस्कारको आशमै ट्रम्पले इरानमाथि हमला नगरेर वार्ताको पहल गरेको कतिले अनुमान गरेका थिए।
सुरूमा त अमेरिकी वार्ता टोलीको नेतृत्व गर्ने ट्रम्पका अर्बपति मित्र स्टिभ विट्कफले झन्डै ओबामाले गरेकै खालका सर्तमा सम्झौता हुन सक्ने संकेत गरेका थिए। तर आफूले काम नलाग्ने भनेर पहिलो कार्यकालमा तोडेकै खालको सम्झौता गर्नु हुँदैन भनेर ट्रम्पलाई सल्लाहकारहरूले सम्झाए।
पहिलो कार्यकालमा ट्रम्प सरकारका धेरैजसो वरिष्ठ अधिकारीहरू इरानविरूद्ध कट्टर थिए। उनीहरूले नै त्यति बेला ट्रम्पलाई सो सम्झौता तोड्न उक्साएको मानिन्छ। अहिले भने ट्रम्पले आफूले जे भन्यो त्यही मान्ने अधिकारीहरू नियुक्त गरेका छन्। तीमध्ये धेरै ट्रम्पकै जस्तो अमेरिकाले टाढा टाढाका देशसँग युद्ध लड्नु हुँदैन भन्ने विचार भएका छन्।
मे महिनाको सुरूआतमा ट्रम्पले माइकल वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारबाट हटाएपछि इरानविरूद्ध कडा विचार भएका थोरै मात्रै अधिकारीहरू बाँकी रहेको मानिन्छ।
तर पनि ओबामाले सम्झौता गरेको बेलामा भन्दा इरान अहिले धेरै कमजोर छ। त्यसैले अहिले पनि त्यस्तै सर्तमा सम्झौता गर्न नहुने भनेर अन्ततः नरमपन्थीले पनि धारणा बनाए। त्यसपछि अमेरिकाले आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने र अरू देशमा विभिन्न समूह सञ्चालन पनि नगर्ने भनेर कडा सर्त तेर्स्यायो।
अहिलेका आणविक भट्टीहरू बन्द गरेर ऊर्जा निकाल्ने लगायत गैरसैनिक प्रयोजनका लागि साउदी अरेबिया लगायत देशहरूसँग संयुक्त आणविक कार्यक्रम चलाउनुपर्ने प्रस्ताव अमेरिकाले गरेको मानिन्छ।
सार्वजनिक रूपमा कुनै पनि हालतमा आणविक कार्यक्रम पूर्ण रूपमा बन्द नगर्ने बताए पनि अमेरिकाले प्रस्ताव गरेको संयुक्त आणविक कार्यक्रम इरानी भूमिमा सञ्चालन हुने हो भने इरानले मान्छ भनेर केही मिडियाले समाचार लेखेका थिए। कतिले त दबाब बढाउँदै लगे अरू देशमै सो कार्यक्रम चलाए पनि इरानले मान्छ भनेर अड्कल गरेका थिए।
द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले बिहीबार इसराइलले इरानमाथि हमला गर्न सक्छ भन्ने अभिव्यक्ति दिँदा पनि इरानी सरकारले सम्झौताका लागि दबाब हाल्न मात्रै उनले त्यसो भनेका होलान् भन्ठानेको थियो।
यसरी कडा अमेरिकी सर्त पनि मान्न लागेको अवस्थामा इरानमा इसराइलले किन आक्रमण गर्यो भन्ने कुरा उठ्छ। यसको प्रस्ट उत्तर अहिले नै आइनसके पनि केही अनुमान भने गर्न सकिन्छ।
इरानले बाहिर वार्ता गरेजस्तो गरेर भित्रभित्रै आणविक हतियार कार्यक्रम अघि बढाएर हतियार बनाउन लागेको इसराइलले दाबी गरेको छ। इरानले साँच्चै आणविक हतियार बनाउनै लागेको थियो भने इसराइलले त्यो रोक्न हमला गरेको हुन सक्छ।
इरानले अहिले कमजोर भएको बेलामा कडा सर्त माने पनि बिस्तारै शक्ति सञ्चय गरेर फेरि आणविक हतियार कार्यक्रम अघि बढाउँछ भन्ठानेर इसराइलले हमला गरेको हुन सक्छ। धेरै आणविक हतियार बनाउने वैज्ञानिकको हत्या गरेर सो कार्यक्रम फेरि सुरू गर्न अप्ठयारो पारेको हुन सक्छ।
सेनाको चेन–अफ–कमान्ड नै तोडिने गरी सेनाप्रमुख सहित वरिष्ठ जनरलहरूको पनि हत्या गरेकाले इसराइलले इरानमा सत्ता परिवर्तन नै खोजेको पनि हुन सक्छ।
अहिलेको इस्लामिक कट्टरपन्थीले आणविक हतियार बनाउन खोजेकाले अमेरिका लगायत पश्चिमा देशले कडा आर्थिक नाकाबन्दी लगाए। यस कारण प्रशस्त तेलखानी भए पनि इरानको अर्थतन्त्र धेरै कमजोर छ। सत्ता ढलेपछि नयाँ सरकारले आणविक हतियार कार्यक्रम सधैंका लागि बन्द गरेर आर्थिक विकासमा ध्यान दिन सक्ने सम्भावना हुन्छ। त्यसैले इरानमा सत्ता परिवर्तन हुने गरी इसराइलले हमला सुरू गरेको हुन सक्छ।
इरानले कडा सर्त नमाने पनि ट्रम्पले नोबेल पुरस्कारको लोभमा नरम सर्तमै सम्झौता गर्लान् कि भन्ने डर पनि इसराइललाई हुन सक्छ।
त्यस्तै आक्रमण गरेपछि वार्तामा अहिलेको भन्दा इरानले अझ लचकता अपनाउँछ भन्ने आशामा पनि इसराइलले हमला गरेको हुन सक्छ।
नेतन्याहुले व्यक्तिगत कारणले पनि इरानमा हमला गरेका हुन सक्छन्। हमासले सन् २०२३ अक्टोबरमा इसराइलमाथि आक्रमण गर्नु अघिदेखि नै उनीमाथि भ्रष्टाचारको छानबिन भइरहेको छ। उनी प्रधानमन्त्रीबाट हट्नेबित्तिकै उनी सो मुद्दामा जेल जान सक्ने सम्भावना छ।
कतिले त जेल जानबाट जोगिनै उनले कट्टरपन्थी सत्ता साझेदारलाई खुसी पार्न गजामा हमला जारी राखेको मान्छन्। उनी प्रधानमन्त्रीबाट हटेपछि छानबिन आयोग बनेर हमासले गरेको हमला रोक्न नसकेको भनेर उनलाई दोषी ठहर्याउन सक्ने सम्भावना पनि छ।
उसै पनि उनीमाथि गजामा दसौं हजार बालबालिका र महिलाको हत्या गरेको, प्यालेस्टिनीको नरसंहार गरेको आरोप छ। अहिले इसराइलभित्रै पनि निर्दोष प्यालेस्टिनी बालबालिकाको हत्या गरेर नेतन्याहुले विश्वभर छवि बिगारेको भन्दे विरोध हुन थालेको छ।
यस्तोमा लामो समय प्रधानमन्त्री भए पनि इतिहासले भ्रष्टाचारी र नरसंहार गर्ने आतातायीका रूपमा आफूलाई सम्झिने डरले उनले आफ्नो छवि उकास्न इरानमाथि हमला गरेका हुन सक्छन्।
उनी भ्रष्टाचारी भए पनि, उनले हमासको हमला रोक्न नसकेको भए पनि उनले हमासलाई लगभग सिद्ध्याएका छन्। त्यस्तै इसराइलको घाँटीमा तरवार जसरी झुन्डिइरहेको हिजबुल्लाहलाई पनि उनले धराशायी बनाएका छन्।
हमास र हिजबुल्लाहलाई चलाउने इरानी सत्ता पनि पल्टाएर इरानको खतरा सदाका लागि समाप्त पारे सबै कमजोरीका बाबजुद इसराइली इतिहासमा अमर हुनेछु भनेर पनि उनले आक्रमण गरेका हुन सक्छन्।