कलंकी बस्ने रोहिन्द्र मन्डल बिहीबार राति राम्रोसँग निदाउन सकेनन्। बिहान २ बजे नै आँखा खुले। अघिल्लो दिन नै तयार पारेको झोला बोकेर उनी कोठाबाट निस्किए।
१३ घन्टा हिँडेर शुक्रबार दिउँसो धुलिखेल पुगेका मन्डल घर पुग्न अझै चार दिन हिँड्नु पर्नेछ। उनको घर सप्तरी हो।
‘लक डाउनले जनताका लागि राम्रो गरेको छ,’ पसिना पुछ्दै उनले भने, ‘कामधन्दा केही भएन। आफूसँग भएको पैसा पनि सकियो। खाना खान पनि पैसा छैन। बरू हिँडेरै घर जाने भनेर निस्किएको हुँ।’
उनले बर्दिवास पुग्न दुई दिन र त्यसपछि दुई दिन हिँडेपछि सप्तरी पुगिने बताए।
‘सरकारले लकडाउन चाँडै नै खोल्लाजस्तो भएन। अहिलेसम्म जसोतसो बसेको थिएँ,’ उनले भने, ‘यहाँ बसेर के खाने? बरू घर पुगे खान त पाइन्छ।’
ललितपुरको झम्सिखेल बस्दै आएका सन्तोषकुमार चौधरी पनि हिँडेर घर जाँदैछन्। उनी पनि शुक्रबार दिउँसो धुलिखेलमा भेटिए। सेतोपाटीसँगको कुराकानीमा चौधरीले रासनपानी सकिएपछि घर हिँड्नु परेको बताए।
‘लक डाउनका यतिका दिन बसियो। रासनपानी सकियो, ठेकेदारसँग अलिकति पैसा मागेर हिँडेरै घर जान लागेको,’ उनले भने, ‘भोलि के खाने भन्ने समस्या आइपरेपछि हिँडेरै घर जाने निर्णयमा पुगेका हौं।’
उनी शुक्रबार बिहान ३ बजे झम्सिखेलबाट सप्तरीस्थित घर हिँडेका हुन्। ‘अब चार दिन हिँड्नुपर्छ, खुट्टा दुखिसक्यो,’ उनले भने, ‘सरकारले लक डाउन खोलिदिएन, हिँड्नुको विकल्प छैन।’
सिन्धुलीका असिम मगर पनि घर जाँदै छन्। भैंसेपाटी बस्ने उनी शुक्रबार बिहानै ३ बजे कोठाबाट निस्केका हुन्।
‘लक डाउन खुल्छ भन्ने समाचार सुनेर कोठाबाट निस्केको। होइन रहेछ,’ उनले भने, ‘कोठाबाट निस्किहालें अब घर नै जान्छु।’
घर पुग्न अझै तीन दिन लाग्ने उनले बताए।
हिँडेरै उपत्यका छाडेकाहरू धुलिखेल पुगेपछि भने केही खुसी देखिए।
यहाँ चप्पल, जुत्ता, जीवनजल र चाउचाउलगायत सामान नि:शुल्क पाइन्छ। धुलिखेलमा स्थानीयहरूको समन्वयमा युवाहरूले जुत्ता, चप्पल र खाद्यान्न राखेका छन्।
उपत्यका छाडेर टाढा जान लागेकाहरूका लागि सहयोग गर्न युवाहरूले खाद्यान्न र औषधि सडकमै राखेका हुन्।
लक डाउनका बेला काठमाडौं छाडेर घरतर्फ जानेहरूको दिनहुँ सडकमा लर्को देखेपछि आफूहरूले सहयोग गरेको एक युवाले बताए।
‘चारदिनदेखि हामीले सहयोग गरिराखेका छौं। कसैको जुत्ता, चप्पल फाटेका छन् भने यहाँबाट लिएर जान सक्नुहुन्छ,’ उनले भने, ‘मास्क, जीवनजल, चिउरा, दालमोठ पनि दिएका छौं।’
मानिसहरू फाटेको चप्पल लगाएर लामो दूरीमा गइरहेको देखेपछि यस्तो सहयोग गरेको ती युवाले बताए।
‘घरघरबाट हामीले जुत्ता, चप्पल तथा खाद्यान्न ल्याएर सडकमा राखेका हौं। स्वेच्छाले मानिसहरूले सहयोग गरिरहनुभएको छ,’ ती युवाले भने।
काठमाडौंबाट हिडेर आउनेहरू भोकाउने भएकोले खाने कुरा सहयोग गरेको उनले सुनाए।
‘कोही काखमा बच्चा च्यापेर आइरहेका छन्। पैसा भए पनि पसल खुला हुन्न उनीहरू भोकै हुन्छन्। त्यसैले हामीले सहयोग गरेको हो,’ उनले भने, ‘सबै सामानहरू डिसइन्फेक्सन गरेर दिएका छौं।’
सोलुबाट काठमाडौं हुँदै कैलाली हिँडेकाहरूको कथा