के तपाईंले पाटन दरबार क्षेत्रमा बिहानदेखि बेलुकीसम्मको गतिविधि नियाल्नुभएको छ?
मैले पनि दिनैभरि बसेर त हेरेको छैन, तर छुट्टाछुट्टै प्रहरमा त्यहाँ पुगेको छु। तपाईंहरू पनि पुग्नुभएकै होला!
प्रत्येक प्रहरमा मलाई बेग्लै अनुभूति हुन्छ।
बिहान कृष्ण मन्दिरका दर्शनार्थी बढी देखिन्छन्। दिउँसो पाटनका रैथाने वयोवृद्ध डबली र पेटीमा घाम तापिरहेका हुन्छन्। विदेशी पर्यटकको ताँती, नेपाली परिवारको हुल र आफ्नै तालमा टहलिरहेका प्रेमिल जोडी पनि खुब भेटिन्छन्।
जब चन्द्रागिरिबाट घाम अस्ताउँछ, यहाँको रौनक बेग्लै हुन्छ।
२०७२ को भुइँचालोपछि जीर्णोद्धार गरिएका मन्दिर बत्तीको प्रकाशमा जगमगाउन थाल्छन्। सडकछेउ मोटरसाइकलको लश्कर बढ्छ। डबली, पेटी र छेउछाउका चिया पसल र क्याफेहरूमा हुलमुल थपिँदै जान्छ।
साँझको हुल बिहान र दिउँसोभन्दा फरक छ। युवा–युवतीहरू धेरै छन्, जो एक्लै–दुक्लै होइन, समूहमा आउँछन्। र, अबेरसम्म यतै डुली बस्छन्।
मैले पाटन दरबार आउनेहरूको वर्गीकरण गर्न खोजेको होइन। यो ठाउँ खुला सार्वजनिक स्थलका रूपमा कसरी प्रयोग हुँदैछ भनेर हेर्न खोजेको हो।
केही साताअघि मार्टिन चौतारीमा सार्वजनिक स्थलको महत्वमाथि छलफल हुँदै थियो। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले सार्वजनिक स्थललाई ‘लोकतान्त्रिक स्पेस’ सँग दाँज्दै भनेका थिए, ‘यहाँ समाजको हरेक क्षेत्र, तह र वर्गका मान्छे आउँछन् र एकाकार हुन्छन्।’
उनले यो पनि भने, ‘सार्वजनिक स्थलहरू जति मासिँदै गयो, समाज उति खण्डित हुँदै जान्छ। वर्गीय विभाजन हुन्छ। धनी र गरिबको मिलनविन्दु नै अन्त्य हुन्छ।’
हरेक प्रहरका छुट्टाछुट्टै समूह हेर्दा पाटन दरबार क्षेत्र माथेमाले भनेजस्तै ‘लोकतान्त्रिक स्पेस’ बन्दै गएको अनुभूति हुन्छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ‘मास्टरप्लान’ पूर्ण कार्यान्वयनमा आयो भने त यसको महत्व अझ बढ्नेछ।
हामी प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसँग लामो अन्तर्वार्तामा छौं। आज चौथो अंकमा पाटन र सम्पदा बस्तीको कुरा गर्दैछौं। यसअघि ‘बृहत् टुँडिखेल’, काठमाडौं ‘कोर–सिटी’ र सुन्धारा क्षेत्रको कुरा गर्यौं।
पाटन दरबार क्षेत्रका सम्पदा स्थल पुनर्निर्माण अब लगभग सकिने क्रममा छ, जुन हामी सबैले देखेका छौं। यसबाहेक पाटन मास्टरप्लानमा थप केही योजना छन्।
एक हो, दरबारको भण्डारखाल बगैंचा।
करिब आठ रोपनीको यो मल्लकालीन बगैंचा जीर्णोद्धार गरेर ‘पुरातात्विक बगैंचा’ मा विकास गर्ने र सर्वसाधारणको प्रवेश खुला गर्ने योजना छ।
‘यति ठूलो खुला स्थल त्यत्तिकै खेर गएको छ। सर्वसाधारणले प्रवेश गर्न त के, देख्नसमेत पाएका छैनन्,’ ज्ञवालीले मास्टरप्लान सुनाए, ‘हामी यसलाई मल्लकालीन स्वरूप झल्किने हराभर बगैंचामा परिणत गर्दैछौं।’
उनका अनुसार, जीर्णोद्धारपछि बगैंचालाई पाटन दरबारको डबलीसँग जोड्न बाटो खोलिनेछ।
‘पाटन दरबार क्षेत्रमा हामी विदेशी पर्यटक मात्र देख्दैनौं। स्थानीय जनता पनि साँझ–बिहान टहलिन र दिउँसो घाम ताप्न आउँछन्। पाटनका जनताले यसलाई खुला स्थलका रूपमा आत्मसात् गरेका छन्। समाज र संस्कृतिको राम्रो सम्बन्ध गाँसिएको छ,’ उनले भने, ‘भण्डारखाल बगैंचा पर्यटक र स्थानीयका लागि नयाँ खुला स्थल हुनेछ।’
यो बगैंचा अहिलेसम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्।
राणाकालमा यहाँ काउली खेती गरिन्थ्यो। यसको नामै ‘काउली बगैंचा’ थियो। एक जना बिग्रेडियर जनरलले रेखदेखको जिम्मेवारी पाएका थिए। उनले जुन ठेकेदारलाई खेतीको ठेक्का दिएका थिए, उनलाई ‘काउलीराम’ भनिन्थ्यो।
२०१६ सालमा संस्कृतिविद् सत्यमोहन जोशी पुरातत्व विभागको महानिर्देशक भएपछि काउली रोप्न बन्द गराए। यसलाई ‘पुरातत्व बगैंचा’ मा पुनर्निर्माण गर्ने योजना अघि बढाए।
केही समय काम भयो। जोशी महानिर्देशकबाट हटेपछि त्यत्तिकै तुहियो। बगैंचा लामो समय प्रयोगविहीन रह्यो। यहाँका मूर्ति र काष्ठकला यताउति छरिए।
हामीले यसबारे जोशीसँग पनि कुरा गर्यौं। उनले सम्पदा क्षेत्रको ऐतिहासिक बगैंचा जीर्णोद्धार गरेर खुला गर्न सके ‘विदेशी पर्यटकदेखि स्वदेशीसम्म रमाउने’ बताए।
‘पाटन दरबारको संरचनामा भण्डारखालको ठूलो महत्व छ। यसलाई व्यवस्थित गर्न कसैले चासो दिएनन्,’ उनले भने, ‘चिरिबाबु (महर्जन) मेयर भएर आएपछि यस्तो ऐतिहासिक बगैंचा खेर नफालौं भनेर बारम्बार भन्दै आएको छु।’
मास्टरप्लानअनुसार काम भए सत्यमोहनले ६० वर्षअघि देखेको सपना बल्ल पूरा हुनेछ।
उक्त बगैंचामा साँझ बेला ऐतिहासिक कालखण्ड झल्काउने र पाटनका कथा–किम्बदन्ती बुझाउने ‘लाइट एन्ड साउन्ड शो’ आयोजना गरिने ज्ञवालीले बताए।
संसारका विभिन्न देशमा यस्तो कार्यक्रम हुँदै आएको छ। भारतको लालकिल्लामा हरेक साँझ हुन्छ। काठमाडौंको हनुमानढोकामा पनि राष्ट्रसंघीय नियोगहरूले विभिन्न अवसरमा गर्छन्। त्यहाँ पनि काठमाडौं सम्पदा कथासँग जोडेर ‘लाइट एन्ड साउन्ड शो’ आयोजना गर्ने प्राधिकरणको योजना छ।
पाटन मास्टरप्लानको अर्को योजना ‘कोर–सिटी’ लाई मल्लकालीन वैभव ब्युँताएर ‘सम्पदा सहर’ मा रूपान्तरण गर्ने हो। यो योजना काठमाडौं ‘कोर–सिटी’ को मास्टरप्लानसँग मिल्दोजुल्दो छ, जसका बारेमा हामीले दोस्रो अंकमा चर्चा गर्यौं।
हेर्नुस्ः यस्तो छ काठमाडौं ‘कोर–सिटी’ को सरकारी मास्टरप्लान
ज्ञवालीका अनुसार, पाटन ‘कोर–सिटी’ का मूलसडकदेखि सहायक सडकहरू सबैमा इँटा छापेर प्राचीन स्वरूप दिइनेछ। यी बाटोलाई ‘सम्पदा मार्ग’ का रूपमा विकास गरिनेछ।
जस्तो, पाटनढोकादेखि अशोक हल, नकबही, धलायचा लँ, क्वाल्खु न्हु लँ, स्वठः हुँदै मंगलबजार पुग्ने बाटो प्राचीन स्वरूपसहितको सम्पदा मार्ग बन्नेछ। यसैलाई च्यासल र कुम्भेश्वर हुँदै शंखमूलको बागमती नदीसम्म सम्पदा मार्गका रूपमा विकास गरिनेछ।
पुल्चोक (अशोक स्तुप चोक) बाट गाबहाल हुँदै मंगलबजार र त्यहाँबाट लगनखेल र ग्वार्को दुवैतर्फको बाटो पनि सम्पदा मार्ग बनाइनेछ।
पाटनढोका र पुल्चोकलाई मंगलबजारसँग जोड्ने यी दुई मूलसडक समानान्तर रेखाझैं तन्किएका छन्। यसबीच सबै सहायक मार्गको जालोलाई इँटा छापेर पुनर्निर्माण गरिने ज्ञवालीले बताए।
काठमाडौंमा जस्तै यहाँ पनि सहरभरिका सडक र गल्लीलाई प्राचीन स्वरूपमा ढालेपछि दायाँबायाँका घरको बाहिरी मोहडा मौलिक नेवार ढाँचामा पुनर्निर्माण गरिनेछ। घरको मोहडा फेर्न सबै स्थानीयको आर्थिक क्षमता नहुनसक्छ। तिनलाई काठ, इँटा र कालिगढ निम्ति अनुदान दिने ज्ञवालीले बताए।
‘सडकमा इँटा बिछ्याउने, ढल निकास, खानेपानी पाइप र निजी घरका बाहिरी मोहडा फेर्ने काममा ललितपुर महानगरसँग सहकार्य गर्दैछौं,’ उनले भने, ‘पाटनमा रहेका सयौं बहा–बहीहरूलाई परम्परागत ढाँचामै संरक्षण गर्ने काम पनि हुँदैछ।’
‘कोर–सिटी’ मास्टरप्लानले सवारीमुक्त सहरको योजना पनि समेटेको छ। यसले भित्री बस्तीका सम्पदा मार्गहरूमा सवारी आवागमन निषेध गर्छ। सर्वसाधारण र पर्यटकको सुविस्ता हेरेर बिजुलीबाट चल्ने ट्राम, गल्फ कोर्समा चल्नेजस्ता गाडी, तीनपाङ्ग्रे लगायत विकल्पमा ललितपुर महानगरसँग छलफल भइरहेको उनले जानकारी दिए।
'सम्पदा स्थलहरूमा हामीले ‘लाइटिङ’ लाई विशेष महत्व दिएका छौं,’ ज्ञवालीले भने।
‘सम्पदा क्षेत्रको लाइटिङ भनेको मन्दिर र वरिपरिको क्षेत्र झल्झलाकार पार्ने होइन। मल्लकालमा बिजुलीबत्ती नहुँदा दरबारक्षेत्रको प्रकाश संयोजन कस्तो थियो होला? त्यही झल्को दिने गरी मधुरो लाइटिङमा जान खोजेका छौं।’
‘लाइटिङ’ को योजना कार्यान्वयनमा आइसकेको छ। तपाईं साँझ दरबार क्षेत्र जानुभयो भने मन्दिरहरू मधुरो प्रकाशमा चम्किरहेका देखिन्छन्।
‘अन्य सम्पदा क्षेत्रमा पनि यस्तै मोडल अपनाउँदै छौं। काठमाडौंको रानीपोखरी, वसन्तपुर दरबार स्क्वायर र अन्य पुराना सम्पदा बस्तीमा यस्तै लाइटिङ गरिनेछ,’ उनले रातको समय सम्पदा बस्तीहरू कस्ता देखिने छन् भनेर छुट्टै ‘ले–आउट’ तयार भइरहेको बताए।
ज्ञवालीले अगाडि भने, ‘योजना बनाउँदा हामीले ‘स्पेस’ मात्र हेर्ने होइन, ‘टाइम’ पनि हेर्नुपर्छ। बिहानको समय मन्दिरका दर्शनार्थीलाई हेरेर योजना बनाउनुपर्यो। दिउँसो त्यहाँ घुम्न आउने पर्यटक र स्थानीयलाई लक्ष्य गर्नुपर्यो। रातको बेला सांस्कृतिक नाचगान, स्थानीय खान्कीजस्ता रात्रिकालीन गतिविधिहरू प्रोत्साहन गर्नुपर्यो।’
उनले यो पनि भने, ‘पाटनका सम्पदा स्थलहरू धेरै हदसम्म पुरानै स्वरूपमा छन्। चलाउनुपर्ने धेरै केही छैन। खाली ‘कोर–सिटी’ लाई परम्परागत ढाँचामा पुनर्जागृत गर्ने हो भने पाटनको वैभव फिर्ता आउँछ।’
पाटन मास्टरप्लानपछि हामीले कुरा गर्यौं, सम्पदा बस्तीको।
ज्ञवालीका अनुसार, काठमाडौं उपत्यकाभित्र साँखु, बुंगमती र खोकनालाई ‘सम्पदा बस्ती’ का रूपमा विकास गर्ने गरी तीनवटा छुट्टाछुट्टै मास्टरप्लान बन्दैछ।
उपत्यकाबाहिर नुवाकोट दरबार क्षेत्र, गोरखा दरबार क्षेत्र र दोलखाको भीमसेन मन्दिर पुनर्निर्माणको खाका कोरिँदैछ।
‘पर्या–सम्पदा बस्ती’ का रूपमा बुंगमती पुनर्निर्माण सुरू भइसकेको ज्ञवालीले बताए, जसमा राष्ट्रसंघीय नियोग ‘युएन–ह्याबिट्याट’, एकीकृत सहरी विकास केन्द्र लगायत विभिन्न संस्थाले काम गर्दैछन्।
यही पुस १४ गते बसेको बैठकमा प्राधिकरणले बुंगमती मास्टरप्लानबारे सरोकारवालाहरूसँग छलफल गरेको थियो। संघीय सांसद पम्फा भुषालले मास्टरप्लान स्वीकार गर्दै निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट अधिकतम बजेट राख्ने प्रतिबद्धता गरेकी थिइन्।
ललितपुर मेयर चिरिबाबु महर्जनले पनि महानगरपालिका तर्फबाट मास्टरप्लानको स्वामित्व लिँदै त्यसका केही मुख्य भाग पुनर्निर्माणमा सहयोग गर्ने बताएका थिए।
मास्टरप्लानमा थप छलफल गरेर अन्तिम रूप दिने समझदारी बैठकले गरेको छ।
यसमा छ मुख्य योजना छन् — बुंगमतीको जावलाखेल बसपार्क, ढोकापिने, मच्छिन्द्रबहाल, दे पुखु, बहिली क्षेत्र र चोहेल ननी। खानेपानी, फोहोरमैला, ढल व्यवस्थापन, बिजुली र पदमार्ग योजना पनि पर्छन्।
सबै योजनामा ४४ करोड ६० लाख रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ।
सबभन्दा पहिला जावलाखेल बसपार्कको कुरा गरौं।
तपाईंहरू नझुक्किनुहोला, यो पाटनको जावलाखेल होइन। बुंगमती बसपार्क भएको ठाउँलाई पनि जावलाखेल नै भनिन्छ। पुनर्निर्माणपछि यो दुई सय ५० वर्गफिटको हुनेछ। बसपार्कको बीचमा हरितपार्क बन्नेछ। वरिपरि छ हजार पाँच सय वर्गफिटमा ढुंगा छापिनेछ। परम्परागत ढाँचाको फल्चा (पाटी) र खाः पुखु (पोखरी) पुनर्निर्माण पनि गरिनेछ। यी सबै कार्यान्वयन चरणमा छन्।
त्यसपछि आउँछ ढोकापिने क्षेत्र, जसमा ढोकापिने पुखु, भुन्ना पुखु, न्हवं गाः, सार्वजनिक फल्चा, सम्पदा मार्ग लगायत छन्।
फल्चाको काम पूरा भइसकेको छ। स्थानीय वडाबाट भुन्ना पुखु जीर्णोद्धार सुरू गरिएको छ। ढोकापिने पुखु पनि वडाले नै सरसफाइ गरेको छ, जीर्णोद्धार भने बाँकी छ। न्हवं गाः को काम वडाले नै गर्ने भनेको छ।
मच्छिन्द्रबहाल बुंगमतीकै ‘मुटु’ हो। रातो मच्छिन्द्रनाथ, हयंग्रीव भैरव, ‘नन्दे–कुन्दे आजु’ भनिने मनकामना मन्दिर, शृष्टिकान्त लोकेश्वर लगायत प्राचीन सम्पदाहरू यहीँ छन्।
यहाँ पुनर्निर्माणका धेरै काम सुरू भइसकेका छन्। नन्दे–कुन्दे आजुको मन्दिर पूरा भएको छ। हयंग्रीव भैरवको निर्माण जारी छ। रातो मच्छिन्द्रनाथ मन्दिर लामो समय रोकिएको थियो। प्राधिकरणले पुस १४ को बैठकबाटै उपभोक्ता समितिमार्फत् गराउने निर्णय गरेको छ।
यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा ठेकेदारमार्फत् काम बढाइएको थियो। ठेकेदारले मन्दिरको इतिहास नै मासिने गरी जग भत्काइदियो। सम्पदाको मान्यताविपरीत कंक्रिट प्रयोग गर्यो। स्थानीयको विरोधपछि ठेक्का तोडियो।
‘अब रानीपोखरीको मोडलअनुसार उपभोक्ता समितिमार्फत् पुनर्निर्माण गराउँदैछौं,’ ज्ञवालीले भने।
हयंग्रीव भैरव मन्दिरअगाडि बगैंचा बनाउने योजना पनि छ। यसको काम सुरू भएको छैन। बहालमा रहेको सार्वजनिक शौचालयलाई अपांगतामैत्री ढंगले पुनर्निर्माण गरिएको छ।
मच्छिन्द्रबहालमै युएन–ह्याबिट्याटबाट ता फल्चा र ललितपुर महानगरबाट आरती छेँ पुनर्निर्माण सकिएको छ। ढुंगेधारामा नपुखुबाट पाइप ल्याएर पानी झार्ने काम एकीकृत सहरी विकास केन्द्रले गर्दैछ। पाइपलाइन बिछ्याउन सकिएको केन्द्रका आर्किटेक्ट अनिल तुलाधरले जानकारी दिए।
उनका अनुसार, बुंगमती संग्रहालय र साँचो टोलमा ‘भ्यू प्वाइन्ट’ बनाउने काम पूरा भएको छ।
त्यस्तै, दे पुखु पुनर्निर्माणअन्तर्गत पोखरी जीर्णोद्धार लगभग सकिएको छ। वरिपरिका घर परम्परागत ढाँचामा पुनर्निर्माण गर्ने, बाटोमा ढुंगा छाप्ने, सार्वजनिक पाटी निर्माण, खुला स्थल व्यवस्थापन लगायत जारी छन्।
बहिली क्षेत्रमा ‘लुमन्ती’ भन्ने संस्थाले प्रथमपुर महाविहार र कार्यविनायक जोड्ने बाटो बनाएको छ। यही संस्थाले भाछेँ टोलमा मञ्जुश्री पाटी र पानी ट्यांकी निर्माण गर्दैछ।
चोहेल ननीमा प्राचीन पाटी, सल छेँ, डबली लगायत पुनर्निर्माण गर्ने योजना छ। प्राचीन पाटीको डिजाइन ‘आर्किटेक्ट विदाउट बोर्डस्’ भन्ने बेलायती संस्थाले गरेको छ।
बुंगमतीमा भइरहेको अर्को महत्वपूर्ण काम स्थानीय घरहरूको बाहिरी मोहडालाई परम्परागत स्वरूप दिने हो। सम्पदा बस्तीको पहिचान ब्युँताउन र पर्यटक आकर्षित गर्न यो महत्वपूर्ण छ।
यहाँ पाँच सय ८० घर छन्। तीमध्ये लगभग चार सय भुइँचालो पीडित हुन्। अहिलेसम्म एक सय ३० घरको बाहिरी मोहडा पुनर्निर्माण भइसकेको वा हुने क्रममा रहेको तुलाधरले बताए।
‘यसनिम्ति सबै स्थानीयलाई विश्वासमा लिनुपर्छ,’ उनले भने, ‘प्राचीन ढाँचाको घर कसरी बनाउने भनेर यहाँका सबै टोलबाट भक्तपुर, बन्दीपुरजस्ता बस्तीमा अवलोकन भ्रमण गराएका छौं।’
बाहिरी मोहडा फेरिएका केही घरमा पछिल्लो समय व्यवस्थित ‘होम–स्टे’ सुरू भएको छ।
‘अरू ठाउँको तुलनामा राम्रो काम हुँदैछ, तर अझै धेरै बाँकी छन्,’ बुंगमतीका स्थानीय तुलाधरले भने।
प्राधिकरणले बुंगमतीको काष्ठकलालाई ‘अमूर्त सम्पदा’ का रूपमा विकास गर्ने योजना पनि बनाएको छ।
यहाँ घर–घरमा काष्ठकलाका कालिगढ छन्। उनीहरूलाई परम्परागत पेसामा फर्काउन सके सिंगो गाउँ नै ‘काष्ठकला सम्पदा स्थल’ बन्नसक्छ, ज्ञवालीको भनाइ छ, ‘काष्ठकला मात्र देखाउने गरी एक दिनको भ्रमण प्याकेज बनाउन सकिन्छ।’
‘सम्पदा बस्तीको यही मोडल साँखु र खोकनामा पनि लागू गरिनेछ,’ उनले भने।
कुराकानीको अन्त्यमा ज्ञवालीले थपे, ‘भुइँचालोमा ढलेको बुंगमती आफ्नो खुट्टामा उभिँदैछ। प्राचीन नेवार बस्तीको स्वाद लिन चाहने पर्यटकका लागि आकर्षक गन्तव्य हुनेछ।’