हामीले केही समयदेखि एउटा सपनाको कुरा गर्दै आएका छौं।
रंगशालादेखि रानीपोखरी हुँदै नारायणहिटी दरबारसम्मको क्षेत्र समेटेर काठमाडौंको मुटुमा विशाल टुँडिखेल पार्क बनाउने सपना। काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक वैभव ब्युँताउँदै ‘सम्पदा सहर’ मा रूपान्तरण गर्ने सपना। यो सहरलाई ‘काठमाडौं मण्डल’ का रूपमा चिनाउने सपना।
हामीले यी सपनाको खाका कोरेर केही महिनादेखि लगातार लामा–लामा स्टोरीहरू लेख्दै आएका छौं। संसारका विभिन्न देशको उदाहरण दिँदै काठमाडौंको वैभव कसरी फर्काउन सकिन्छ भन्ने प्रारुप प्रस्तुत गरेका छौं।
हामीलाई थाहा छ, हामी नागरिक र पत्रकारका रूपमा सपना त देख्न सक्छौं, तर त्यो सपनालाई कार्यान्वयनको पटरीमा दौडाउने काम सरकारको हो। हामीले देखेको टुँडिखेल पार्क र काठमाडौं मण्डलको सपना तबसम्म पूरा हुन सक्दैन, जबसम्म यो सरकारको चासो र प्राथमिकतामा पर्दैन।
के हामीले आफ्ना स्टोरीमार्फत् देखाउँदै आएको सपनाले सरकारलाई प्रभाव पारेको छ? के यसमा सरकारले चासो दिएको छ?
मैले यही जान्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसँग गत साता लामो कुराकानी गरेँ।
उनले मंसिर १२ गते ट्वीट गर्दै भनेका थिए, ‘हामीले हनुमानढोका क्षेत्रमा रहेको प्रहरी कार्यालय भवन भत्काएर त्यहाँ खुला स्थल बनाउने तयारी गरेका छौं। त्यस क्षेत्रमा रहेका महत्वपूर्ण सम्पदाहरू संरक्षण गर्न थप केही संरचना हटाउनेबारे छलफल गरेका छौं। सम्बन्धित निकायहरूसँग समन्वय गरेर अघि बढ्दैछौं।’
उनको ट्वीटले मलाई उत्सुक बनायो।
वसन्तपुर दरबार क्षेत्र मल्लकालीन संरचनाहरूले भरिएको विश्व सम्पदा स्थल हो। यहाँ हामीलाई भीमकाय तलेजु मन्दिरले मन्त्रमुग्ध बनाउँछ। कालभैरवको कालजन्य रौद्ररूपले झस्काउँछ। यहाँ पशुपति छ, कृष्ण मन्दिर छ। श्वेत भैरवको भीमकाय मुहार छ, कुमारी घर पनि छ।
यी सबै पुरातात्विक सम्पदाबीच ठिङ्ग उभिएको हनुमानढोका प्रहरी कार्यालय साँच्चै उदेकलाग्दो देखिन्छ। भुइँचालोले क्षति पुगेपछि प्रहरी कार्यालय टेकुको नेसनल ट्रेडिङ परिसरमा सारिएको छ। यही मौकामा हामीले यो भवन भत्काएर वसन्तपुरको जस्तै खुला डबली बनाउन वा ‘भुइँचालो संग्रहालय’ मा परिणत गर्न सेतोपाटीमा स्टोरी लेखेका थियौं।
ज्ञवालीले सामाजिक सञ्जालबाट दिएको सूचना त्यही स्टोरीसँग मिल्दोजुल्दो थियो।
मैले प्राधिकरणका मिडिया तथा सञ्चार प्रमुख भुवन केसीमार्फत् ज्ञवालीसँग सम्पर्क गरेँ। दिउँसो उनी व्यस्त थिए। मैले उनको मोबाइलमा ‘एसएमएस’ छाडेँ। बेलुकी फोनमा कुराकानी भयो।
‘सेतोपाटीले सम्पदा संरक्षण र खुला स्थलको पक्षमा लेखेका लेखहरू मैले जम्मै पढेको छु,’ उनले भने, ‘तपाईंहरूको परिकल्पना र हाम्रो तयारी मिल्दोजुल्दो छ।’
उनले अगाडि थपे, ‘हामी केही समयदेखि लगातार यो क्षेत्रमा काम गरिरहेका छौं। थुप्रै मास्टरप्लानहरू बन्दै छन्। म समय मिलाएर खबर गर्छु। तपाईंसँग बसेर लामै कुरा गर्नुछ।’
केही दिनपछि भुवनको फोन आयो। सिंहदरबारको प्राधिकरण कार्यालयमा ज्ञवालीले मसँग दुई घन्टा ‘अन रेकर्ड’ कुराकानी गरे।
पहिलो भेटमा वार्ता पूरा भएन। उनी अर्को मिटिङमा जाने हतारमा थिए। तीन दिनपछि उनले आफ्नो घर पायक भैंसेपाटीको हिमालयन जाभामा डाके। त्यहाँ पनि लगभग तीन घन्टा हाम्रो ‘अन रेकर्ड’ कुराकानी भयो।
दुई बसाइको पाँच घन्टा कुराकानीमा उनले काठमाडौं उपत्यकाको सम्पदा पुनर्निर्माण र सहरी विकासका विभिन्न योजनाबारे चर्चा गरे।
उनका अनुसार, प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको पुनर्निर्माण प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रको ‘मास्टरप्लान’ बनाउने काम गरिरहेको छ।
बृहत् टुँडिखेल पार्क, काठमाडौंको ‘कोर-सिटी’ लाई सम्पदा सहरमा रूपान्तरण गर्ने, सुन्धारालाई खुलास्थल बनाउने लगायतका मास्टरप्लानमा काम भइरहेको ज्ञवालीले बताए।
‘अधिकांश मास्टरप्लानको पहिलो खाका तयार छ। विभिन्न समूहहरूले अन्तिम रूप दिँदै छन्,’ उनले भने।
योजनाहरू बन्नु आफैंमा उपलब्धि हो कि होइन भन्ने प्रश्न गर्न सकिन्छ। हामी पछि परेको योजना अभावले होइन। हाम्रा मन्त्रालय र विभागहरूमा टन्नै छन्। कार्यान्वयनमा भने कोही गम्भीर हुँदैनन्। यो चुनौतीलाई प्राधिकरणले कसरी हेरेको छ?
‘हामी योजना मात्र बनाएर बसेका छैनौं। अन्तिम नक्सा आउनुअघि नै मस्यौदामा परेका र पहिलो चरणमा गर्न सकिने कामहरू पहिचान गरेका छौं,’ ज्ञवालीले भने, ‘त्यसलाई कार्यान्वयन गर्न विभिन्न निकायसँग परामर्श भइरहेको छ। कतिपय काम निर्णय भएर अगाडि बढिसकेको छ।’
उनले यो पनि भने, ‘मास्टरप्लानका सबै काम मेरो कार्यकालमा पूरा गर्न सम्भव छैन। प्राधिकरण वा यो सरकारकै कार्यकालमा पनि सबै योजना पूरा हुन सक्दैनन्। हामी यसलाई अन्तिम टुंगो लगाएर मन्त्रिपरिषदबाट पारित गराउने छौं। त्यसपछि कार्यविधि बन्छ। कामका आधारमा कार्यान्वयन निकाय छुट्टयाइन्छ। कुन काम स्थानीय सरकारले गर्ने, कुन संघीय र कुन प्रदेश सरकारले गर्ने भनी तोकिन्छ।’
उनले यसैमा थपे, ‘एकचोटि मास्टरप्लान बनेर सरकारले ग्रहण गरिसकेपछि र त्यसअन्तर्गत केही काम सुरू भइसकेपछि भोलि हामीलाई पछि हट्न गाह्रो हुन्छ। जनता, नागरिक समाज र मिडियाले यही मास्टरप्लानका आधारमा प्रश्न गर्न पाउँछन्।’
मैले यी योजनाहरू कार्यान्वयन गर्न बजेटको स्रोत के हो भनेर सोधेँ।
उनका अनुसार सबै मास्टरप्लानको बजेट आइसकेको छैन। पहिलो चरणको काम गर्न प्राधिकरणले साढे दुई अर्ब रुपैयाँ छुट्टयाएको छ। यो रकम हनुमानढोका दरबार क्षेत्र, रानीपोखरी र काठमाडौंको ‘कोर-सिटी’ पुनर्निर्माणमा खर्च गरिनेछ।
‘मास्टरप्लान तयार भएपछि हामी दातृ संस्थाहरूसँग बजेट आह्वान गर्न सक्छौं,’ ज्ञवालीले भने, ‘प्रधानमन्त्रीसँग छलफल गर्दा उहाँले योजना अगाडि बढाऊँ, स्रोतको समस्याले काम रोकिँदैन भन्नुभएको छ।’
अब हामी प्राधिकरणमा बन्दै गरेका मास्टरप्लानहरूको विस्तारमा चर्चा गर्नेछौं।
सबभन्दा पहिला ‘बृहत् टुँडिखेल पार्क’ को कुरा गरौं।
टुँडिखेललाई अतिक्रमणमुक्त गरी खुला सार्वजनिक पार्कमा परिणत गर्न काठमाडौंका जागरूक नागरिकहरूले पाँच सातादेखि ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गर्दै आएका छन्। हामीले पनि काठमाडौंको मुटुमा विशाल टुँडिखेल पार्क बनाउनुपर्छ भनेर लामो समयदेखि लेख्दै आएका छौं।
‘बृहत् टुँडिखेलको मास्टरप्लान तपाईंहरूको भावनासँग मिल्छ,’ ज्ञवालीले भने, ‘अकुपाई टुँडिखेल अभियानलाई यसले तार्किक निष्कर्षमा लैजानेछ। टुँडिखेलको अतिक्रमण हटाउन के–के गर्न सकिन्छ र कसरी गर्ने भनेर हाम्रो मास्टरप्लानले विस्तृत खाका कोरेको छ।’
‘रानीपोखरी र टुँडिखेल क्षेत्र संरक्षण नभएसम्म काठमाडौं सभ्यता जोगाउन सकिन्न। जुन हिसाबले काठमाडौं सहर फैलिरहेको छ, हामीलाई ठूलो क्षेत्रफल भएको खुला स्थलको खाँचो पर्छ, जसले यहाँको प्राचीन सभ्यता र आधुनिक बसोबासलाई आपसमा जोड्छ। बृहत् टुँडिखेललाई हामीले यही रूपमा लिएका छौं। केशरमहलदेखि नारायणहिटी, रानीपोखरी, रत्नपार्क, खुलामञ्च, टुँडिखेल, सैनिक मैदान र रंगशालासम्मलाई एकीकृत प्याकेजमा हेरेर मास्टरप्लान बन्दैछ,’ उनले विस्तार लगाए।
बृहत् टुँडिखेल मास्टरप्लानमा चार चरणका योजना छन्। पहिलो चरणको नक्सा तयार भइसकेको छ। रानीपोखरी पुनर्निर्माण यसैको एउटा हिस्सा हो। यसले रानीपोखरीसँगै जोडिएको त्रिचन्द्र कलेज र रत्नपार्क हुँदै खुलामञ्चसम्मको भू–भाग समेट्छ।
अब हामी पहिलो चरणको मास्टरप्लान कसरी कार्यान्वयन हुँदैछ, त्यो हेरौं।
यसमा सबभन्दा पहिला रानीपोखरी वरिपरिका संरचना हटाइँदैछन्। यहाँ त्रिचन्द्र कलेजका केही भवन छन्। रानीपोखरी र रत्नपार्कको बीचमा प्रहरी कार्यालय छ। यी सबै संरचना भत्काउन सहमति भइसकेको ज्ञवालीले बताए।
‘प्रहरी कार्यालय हटाउने कि नहटाउने भन्नेमा कुनै दुबिधा भएन, त्रिचन्द्र कलेजका बारेमा भने हामीले धेरै छलफल गर्यौं,’ उनले भने।
ऐतिहासिक महत्वको यो शैक्षिक संस्थालाई बृहत् टुँडिखेलसँग कसरी समायोजन गर्ने भनेर त्यहाँका प्राध्यापक, विद्यार्थी संगठन, कर्मचारी युनियन र व्यवस्थापनसहित त्रिभुवन विश्वविद्यालयसँग पनि छलफल भएको उनले जानकारी दिए।
मुख्यगरी तीनवटा विकल्पमा छलफल भएको थियो।
पहिलो, त्रिचन्द्र कलेज परिसर एकदमै साँघुरो भएकाले नयाँ संरचना थप्न सम्भव छैन। कलेजको क्षमता विस्तार गर्ने हो भने त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर परिसरभित्र छुट्टै ठाउँमा सार्न सकिन्छ।
दोस्रो, प्रदर्शनीमार्गमा रहेका रत्नराज्य, कानुन, वाल्मिकी र विश्वभाषा क्याम्पस क्षेत्रलाई एउटै ‘कम्प्लेक्स’ बनाएर शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने र त्रिचन्द्र कलेजलाई त्यसैभित्र समावेश गर्ने।
तेस्रो, घन्टाघरपछाडि करिब आठ–नौ रोपनी जग्गा छ। त्यहाँ नयाँ भवन बनाएर रानीपोखरीतिरको संरचना सार्न सकिन्छ। नयाँ घर बनाउँदा घन्टाघरलाई नै ओझल पार्न दिनु हुँदैन। त्यसको उचाइ घन्टाघरभन्दा होचो हुनुपर्छ। चार तल्लासम्म बनाउन दिने कुरा भएको छ। यसको प्रवेशद्वार कमलादीतिरबाटै खोलिनेछ।
‘थुप्रै विकल्पमाथि कुराकानी हुँदा उहाँहरू त्यो ठाउँ छाडेर बाहिर जान चाहनुभएन। बरू घन्टाघरपछाडि नयाँ पूर्वाधार थप्ने र जमलको पुरानो परीक्षा नियन्त्रण कार्यालयको जग्गा उपलब्ध भए त्यहाँ सर्न सकिने प्रस्ताव ल्याउनुभयो,’ ज्ञवालीले छलफलमा उठेका बुँदा उद्धृत गर्दै भने, ‘हामीले उहाँहरूकै प्रस्तावअनुसार छलफल गर्यौं। मोटामोटी सहमति भएको छ।’
रानीपोखरी आसपास थुप्रै मन्दिर, पाटी लगायत सम्पदाहरू छन्। कलेज र प्रहरी कार्यालय सर्नेबित्तिकै ती सम्पदा बाहिरबाट छर्लंगै देखिन्छ। त्यसलाई रानीपोखरी किनारको खुला स्थलमा गाभेर आकर्षक ढंगले प्रस्तुत गरिनेछ। पोखरी वरिपरि सहरी बोटबिरुवा, फूलले ढकमक्क उद्यान र केटाकेटी खेल्ने पार्क निर्माण गरिने ज्ञवालीले बताए।
यो योजना कार्यान्वयन भएपछि रानीपोखरी वरिपरिको खुला स्थल कस्तो देखिन्छ, मास्टरप्लानको यो चित्रमा हेर्नुस्।
यहाँ रानीपोखरी पुनर्निर्माणको कुरा पनि जोडिन्छ।
सरकारले यसको जिम्मा प्राधिकरणलाई दिएपछि परम्परागत शैलीमा काम हुँदैछ। माटो मुछ्नेदेखि इँटा बिछ्याउने र पानी जम्मा गर्ने काममा भक्तपुरका स्थानीय परिचालन गरिएको छ।
पोखरीबीचको बालगोपालेश्वर मन्दिर मल्लकालीन ग्रन्थकुट, अर्थात् शिखर शैलीमा पुनर्निर्माण भइरहेको छ। राणाकालमा ग्रन्थकुट फेरेर गुम्बज शैलीमा बनेको थियो। अहिले पुरानै स्वरूपमा फर्काउन खोजिएको छ। निर्माण कम्पनीमार्फत् भइरहेको यो काम अनुगमन गर्न पुरातत्वविद्, जनप्रतिनिधिसहितको विज्ञ समिति गठन गरिएको छ।
केही समयअघि रानीपोखरीमा डोजर चलाइयो भनी अभियन्ताहरूले विरोध गरेका थिए। यस सम्बन्धमा सोध्दा ज्ञवालीले भने, ‘माटो ओसार्ने र एक चरणको बिछ्याउने काम सजिलो र छिटो होस् भनेर डोजर चलाइएको हो। यसबाहेक सबै काम समुदायबाटै भइरहेको छ।’
पानीको स्रोतबारे भूगर्भविद् र भूमिगत जलस्रोत विज्ञहरूसँग परामर्श भइरहेको उनले बताए।
विगतमा रानीपोखरीमुनि सातवटा इनार छ भनिएको थियो। ती फेला परेका छैनन्। यहाँको माटो परीक्षण गर्दा पूरै क्षेत्र भरिने गरी पानी रसाउने अवस्था पनि देखिएन। त्यही भएर तीनवटा विकल्पमा काम भइरहेको छ — ट्युबवेल खनेर पानी निकाल्ने, बर्खाको पानी जम्मा गर्ने र सुख्खा यामका लागि मेलम्ची प्रयोग गर्ने।
‘विगतमा राजकुलोबाट पानी आउने व्यवस्था थियो, तीव्र सहरीकरणले राजकुलोहरू मासिए। अहिलेको अवस्थामा रानीपोखरी ब्युँताउन वैकल्पिक उपाय अपनाउनुपर्ने भएको छ,’ ज्ञवालीले भने, ‘पानी अभावले पोखरी नसुकोस् भनेर मेलम्चीको विकल्प पनि राखेका हौं।’
रानीपोखरीपछि कुरा आउँछ, रत्नपार्क र खुलामञ्चको।
पहिलो चरणको टुँडिखेल मास्टरप्लानअनुसार अब रानीपोखरी र रत्नपार्कबीचको बाटोमा सवारी आवागमन बन्द गरिनेछ। यहाँ पैदलयात्रु मात्र हिँड्न पाउनेछन्। यसले रानीपोखरी र रत्नपार्क आपसमा गाभिनेछन्। त्यसपछि रत्नपार्कको हिस्सा पनि पुनर्संरचना गरेर बृहत् टुँडिखेलकै अंग बनाइनेछ।
रत्नपार्कमा बगैंचा छँदैछ। यसलाई ‘थिम पार्क’ का रूपमा विकास गर्ने प्राधिकरणको योजना छ। गोदावरीको बोटानिकल गार्डेनजस्तै यहाँ विभिन्न जातका फूल र मध्य–सहरमा हुर्कन सक्ने पुतलीहरूमाथि अनुसन्धान हुनेछ। एउटा हिस्सामा ‘पुतली बगैंचा’ पनि निर्माण गरिनेछ।
रत्नपार्कसँगै जोडिएको खुलामञ्चमा बसपार्क सञ्चालन भइरहेको छ। अरू भौतिक संरचनाहरू पनि बनेका छन्। यी सबै संरचना यहाँबाट हट्नेछन्। त्यसपछि खुलामञ्च मर्मत गरेर विगतमा जस्तै राजनीतिक तथा सार्वजनिक कार्यक्रमहरू गर्न मिल्ने थलोका रूपमा राखिनेछ।
नेपालको राजनीतिक आन्दोलनमा खुलामञ्चको ठूलो भूमिका छ। केही वर्षअघिसम्म यहाँ राजनीतिक दलका आमसभा हुन्थे। कार्यक्रम नहुँदा सर्वसाधारण सुस्ताउन आइपुग्थे। पञ्चायतदेखि राजतन्त्रसम्मको विरोध देखेको यो चउरलाई प्रजातान्त्रिक आन्दोलनको सम्झनाका रूपमा जीवित राख्ने ज्ञवालीले बताए।
उनका अनुसार, खुलामञ्चको भुइँमा दुबो लगाउने कि ढुंगा वा इँटा बिछ्याउने भन्नेबारे छलफल भइरहेको छ। दुबो लगाउँदा भीडभाड बेला मासिने डर हुन्छ। प्राचीन शैलीको इँटा बिछ्याएर पम्परागत स्वरूपमा ढाल्न सकिन्छ। खुलामञ्चको सार्वजनिक ‘अडिटोरियम’ पनि नयाँ ढंगमा पुनर्निर्माण गरिनेछ।
मास्टरप्लानको पहिलो चरण सकिएपछि त्रिचन्द्रदेखि रानीपोखरी हुँदै खुलामञ्चसम्मको क्षेत्र कस्तो देखिन्छ, तलको भिडिओमा हेर्नुस्।
अब कुरा गरौं, दोस्रो चरणको।
यसमा दुइटा योजना छन् — रानीपोखरीबाट उत्तर नारायणहिटी हुँदै केशरमहलसम्मको योजना र दक्षिणमा टुँडिखेल, सैनिक मैदान हुँदै रंगशालासम्मको योजना।
सैनिक मञ्च र टुँडिखेलदेखि रंगशालासम्मको क्षेत्र सेनाको स्वामित्वमा छ। सहिदगेट र रंगशालाबीचको भाग त सेनाले पूरै ओगटिसक्यो। यहाँ उनीहरूका ‘पार्टी प्यालेस’, खेल मैदान र पुस्तकालय छन्। टुँडिखेलको खुला चउरमा पनि सार्वजनिक कार्यक्रमहरू गर्न सेनाको अनुमति लिनुपर्छ। यी सबै क्षेत्र सेनाले खुला पार्क बनाउन छाड्ला त?
प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवालीले यो क्षेत्र बृहत् टुँडिखेलमा समेट्न सेनाको उच्च तहसँग विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए।
‘मैले प्रधानसेनापतिसँग चरणबद्ध कुरा गरेको छु। सेनाको हेडक्वार्टर नै अर्को ठाउँमा सार्न सकिन्छ कि भन्ने कुरा पनि सुनिन्छ। तर, कहिलेकाहीँ भावना एउटा हुन्छ, वास्तविकता अर्को। तत्काल हेडक्वार्टर सार्न नसकिने अवस्थामा बढीभन्दा बढी के गर्न सकिन्छ भनेर हेर्नुपर्छ,’ ज्ञवालीले भने।
‘सेनाको नेतृत्वसँग कुरा गर्दा उहाँहरूको असहमति देखेको छैन,’ उनले भने, ‘हामी विभिन्न विकल्पमा छलफल गरिरहेका छौं।’
उनका अनुसार, ठूल्ठूला राष्ट्रिय समारोह र विदेशी राष्ट्र-प्रमुखहरूको स्वागतनिम्ति सैनिक मञ्च प्रयोग गर्न सकिन्छ। सेनालाई आवश्यक पर्दा परेड पनि खेल्न सक्छन्। बाँकी समय यो चउरलाई टुँडिखेल पार्कमै समेटेर सर्वसाधारणको प्रवेश खुला गर्ने कुरा भएको छ।
‘राज्यलाई चाहिँदा राज्यले प्रयोग गर्छ, सेनालाई चाहिँदा सेनाले प्रयोग गर्छ, अरू बेला यो ठाउँ पनि जनता घुम्ने र खेल्ने ठाउँ हुन्छ,’ उनले भने।
सहिदगेटसँगै जोडिएको सैनिक ‘पार्टी प्यालेस’, पुस्तकालय लगायत संरचना हटाउन भने सेना सहमत रहेको ज्ञवालीले बताए। स्थानीयको बढी विरोध यसैमा हो।
पार्टी प्यालेस हटेपछि त्यहाँको संरचना ‘पब्लिक अडिटोरियम’ मा परिणत गरिनेछ। यहाँ विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रम, प्रदर्शनीदेखि सार्वजनिक गोष्ठीहरू हुनेछन्। छेउको सैनिक पुस्तकालय सार्वजनिक पुस्तकालयमा परिणत गर्न सकिन्छ।
‘यसरी बृहत् टुँडिखेल रानीपोखरीदेखि दशरथ रंगशालासम्म जोडिन्छ,’ उनले भने, ‘त्यसपछि टुँडिखेलबाटै रंगशाला छिर्न मिल्ने बाटो खोल्नेछौं।’
(यो पनि हेर्नुहोस्: टुँडिखेल पार्कका लागि राष्ट्रपति र सेनापतिसँग 'लबिङ' गर्दा)
यहाँनिर सहिदगेटको बाटोमा पनि रत्नपार्कजस्तै सवारी आवागमन निषेध गरिनेछ। यहाँ मान्छे मात्र हिँडडुल गर्न पाउनेछन्।
यी दुवैतिरका सडक बन्द गरेर प्राधिकरणले रत्नपार्क र खुलामञ्चको बीचबाट टुँडिखेलमुनि भूमिगत ‘बाइपास’ बनाउने योजना अघि सारेको छ।
भूमिगत सडकका दुवै किनारमा विशाल भूमिगत पार्किङ बन्नेछ। यहाँ सार्वजनिक बस लगायत काठमाडौंको ‘कोर–सिटी’ आउनेहरूका गाडी पार्क गरिनेछन्। मध्य–काठमाडौंका स्थानीयले पनि आफ्नो गाडी यही भूमिगत पार्किङमा राख्नेछन्।
‘हामीले टुँडिखेल पार्कमा मान्छेको निर्वाध आउजाउ होस् भनेर ‘अन्डरग्राउन्ड बाइपास रोड’ को योजना ल्याएका हौं,’ ज्ञवालीले भने, ‘यसो गर्दा टुँडिखेल माथि र मुनि दुवैतिर ठूलो स्पेस निर्माण हुन्छ। माथि पार्क हुन्छ, मुनि अन्डरग्राउन्ड पार्किङ।’
टुँडिखेलमुनिको भूमिगत ‘बाइपास’ सडक र भूमिगत पार्किङको निम्ति करिब सात अर्ब रूपैयाँ बजेट अनुमान गरिएको छ।
भूमिगत पार्किङ काठमाडौंको ‘कोर-सिटी’ लाई सवारीमुक्त गर्ने योजनाको हिस्सा हो, जसका बारेमा म अर्को अंकमा चर्चा गर्नेछु।
‘काठमाडौंको कोर–सिटी घुम्न आउनेहरूले आफ्नो गाडी टुँडिखेलको अन्डरग्राउन्ड पार्किङमा राख्नेछन्। सार्वजनिक बस पनि यहीँ रोकिन्छ। मान्छेहरू पार्किङबाट टुँडिखेल पार्कमा उक्लनेछन्। हराभरा पार्कको बीचमा हिँड्दै मध्यसहर छिर्नेछन्,’ ज्ञवालीले भने।
यति मात्र होइन, टुँडिखेलमुनिको भू–भागलाई प्राधिकरणले भविष्यमा निर्माण हुने मेट्रो रेलको ‘हब’ का रूपमा विकास गर्दैछ।
दीर्घकालमा उपत्यकाभित्र मेट्रो रेल चलाउनुपर्छ। लगानी बोर्डले मेट्रोका तीनवटा योजनामा काम गरिरहेको छ। एउटा रेल रिङरोड वरिपरि घुम्छ, बाँकी दुइटा उपत्यकाका चार कुनाबाट मध्य–सहर हुँदै गुज्रनेछन्।
मेट्रो रेलले ‘कोर–सिटी’ छुँदैन। ‘कोर–सिटी’ मा रेल दौडाउनु यहाँको सम्पदा र सांस्कृतिक महत्वका हिसाबले उपयुक्त होइन। तर, कोर–सिटीका जनताले सहजै मेट्रो सुविधा पाऊन् भनेर टुँडिखेलमुनि ‘सेन्ट्रल हब’ निर्माण गरिने ज्ञवालीले बताए।
‘भविष्यमा टुँडिखेलको अन्डरग्राउन्ड नयाँ र पुरानो सहरको मास–ट्रान्जिट केन्द्र हुनेछ,’ उनले भने।
के यो मास्टरप्लानले त्रिपुरेश्वरदेखि दरबारमार्गसम्मको सडक पनि ‘अन्डरग्राउन्ड’ गर्ने परिकल्पना गरेको छ?
मेरो यो प्रश्नमा ज्ञवालीले भने, ‘यसबारे छलफल भएको हो, तर अहिलेको मास्टरप्लानमा समेटेका छैनौं। काठमाडौंको मेट्रो र समग्र यातायात प्रणालीको योजना तयार भएपछि कहाँ–कहाँ स्टेसन राख्ने, कहाँ ओभरहेड ब्रिज र कहाँ–कहाँ अन्डरपास बनाउने निर्क्यौल हुनेछ। बरू यही सडकको एउटा लेन खुलामञ्चनिर पुगेपछि टुँडिखेलको ‘अन्डरग्राउन्ड बाइपास’ तिर मोडिनेछ।’
दोस्रो चरणकै अर्को योजनामा रानीपोखरीलाई दरबारमार्ग हुँदै नारायणहिटी र केशरमहलसँग जोडिनेछ।
दरबारमार्गमा अहिल्यै पैदलयात्रु हिँड्ने फराकिलो बाटो छ। यसलाई अझ विस्तार गर्न सकिन्छ। गाडीभन्दा पैदलयात्रुलाई प्राथमिकता दिने गरी सडक पुनर्संरचना हुनेछ। यसले नारायणहिटी र केशरमहल बृहत् टुँडिखेलकै हिस्सा बन्नेछन्।
नारायणहिटीलाई शाहवंशदेखि गणतन्त्रसम्मको राजनीतिक कालखण्ड झल्काउने संग्रहालयका रूपमा विकास गर्ने प्राधिकरणको योजना छ। यसका लागि कुन–कुन घर भत्काउने, कुन–कुन ‘रेट्रोफिट’ गर्ने अध्ययन हुँदैछ।
‘नारायणहिटीलाई भूमिगत पैदलमार्गबाट केशरमहलसँग जोड्न सकिन्छ,’ ज्ञवालीले भने, ‘हामीले छलफल गर्दा विगतमा यहाँ भूमिगत मार्ग थियो भन्ने कुरा आएको छ। त्यो मार्ग अहिले ढलमा परिणत भएको सुनिन्छ। हामी त्यसलाई पुनर्निर्माण गर्न सक्छौं। यति छोटो दुरीमा नयाँ भूमिगत मार्ग वा नारायणहिटी–केशरमहल जोड्ने ओभरहेड पुल बनाउनु पनि ठूलो कुरा होइन।’
केशरमहल विकासनिम्ति प्राधिकरणसँग छुट्टै योजना छ। यसलाई कला, संस्कृति र संगीत संग्रहालयमा रूपान्तरण गरिनेछ। लोकबाजा संग्रहालय, ललितकला प्रतिष्ठान लगायत यस क्षेत्रसँग जोडिएका निकाय यहाँ सारिनेछन्। केटाकेटीलाई संगीत र चित्रकला सिकाउने छुट्टै केन्द्र पनि बन्नेछ।
केशरमहल अगाडिको भागलाई ‘गार्डेन अफ ड्रिम्स’ सँग मिल्दोजुल्दो पार्क बनाइने उनले बताए। यति गरेपछि ‘गार्डेन अफ ड्रिम्स’ पनि बृहत् टुँडिखेल पार्कभित्र समेटिनेछ। त्यसपछि यो पार्क ठमेल हुँदै परम्परागत सहरसँग जोडिन्छ।
अब कुरा गरौं, तेस्रो चरणको।
पहिलो र दोस्रो चरणको मास्टरप्लानले टुँडिखेललाई रंगशालादेखि केशरमहलसम्म जोडेपछि तेस्रो चरणमा के गर्ने त?
यसमा खुलामञ्चदेखि टुँडिखेलसम्मको क्षेत्रलाई भृकुटीमण्डप हुँदै पुतलीसडकसम्म विस्तार गर्ने योजना पर्छ।
अहिले टुँडिखेल क्षेत्र अग्लो सतहमा छ। पुतलीसडक र सिंहदरबार त्योभन्दा होचो छ। तेस्रो चरणको मास्टरप्लानअनुसार खुलामञ्च र टुँडिखेलको हरित पार्कलाई समथर सतह कायम राख्दै पुतलीसडकसम्म विस्तार गरिनेछ। भृकुटीमण्डपमा रहेका प्रदर्शनी गृह र पसलहरू ‘अन्डरग्राउन्ड’ हुनेछन्।
‘प्रत्येक सहरमा व्यवस्थित ढंगको अनौपचारिक बजार हुन्छ। खुलामञ्च वा भृकुटीमण्डपको बजार त्यस्तै हो। यो बजार हामी हटाउन सक्दैनौं, तर यसले खुला पार्कको ठूलो हिस्सा ओगटेको छ,’ ज्ञवालीले भने, ‘हामीले विकल्पका रूपमा टुँडिखेल पार्कको सतह विस्तार गर्ने र त्यसैमुनि भृकुटीमण्डप बजार र प्रदर्शनी केन्द्र निर्माण गर्ने योजना अघि बढाएका छौं।’
तेस्रो चरणको यो मास्टरप्लान अध्ययनकै क्रममा छ। सरोकारवालाहरूसँग छलफल गरेर नक्सा बनाउन बाँकी रहेको ज्ञवालीले बताए।
टुँडिखेलमुनि यति फराकिलो भूमिगत संरचना बनाउँदा काठमाडौंको पर्यावरणमा प्रभाव पर्दैन त भन्ने प्रश्न उठ्न सक्छ। टुँडिखेल भनेको बर्खाको पानी सञ्चित भएर जमिन ‘रिचार्ज’ हुने ठाउँ हो। भूमिगत संरचना बनाएपछि जमिनमुनि पानी कसरी सञ्चित रहला?
यसबारे मैले सहरी विकास योजनाकार तथा भूमिगत जलस्रोत विज्ञ पद्मसुन्दर जोशीसँग कुराकानी गरेर स्टोरी लेखेको थिएँ। उनले ‘भूमिगत पानीको स्रोत जस्ताको तस्तै राखेर पनि टुँडिखेलमुनि पार्किङ बनाउन सकिन्छ’ भनेका छन्। संसारमा यस्तो कामका लागि नयाँ–नयाँ प्रविधि विकास भएको उनले बताएका छन्।
(हेर्नुहोस्ः माथिमाथि पार्क, मुनिमुनि पार्किङ)
‘हामीले सम्बन्धित विज्ञहरूसँग परामर्श गरेका छौं। यो योजना कार्यान्वयन गर्न समय लाग्छ, तर असम्भव छैन,’ ज्ञवालीले भने।
बृहत् टुँडिखेल पार्कका यी तीन चरण कार्यान्वयनमा आएपछि मध्य–काठमाडौंको मुटुमा हामीले सपना देखेजस्तै विशाल पार्कको योजना पूरा हुनेछ।
‘यो आजको भोलि नै सकिने कुरा होइन, समय लाग्छ,’ उनले भने, ‘यसको कार्यान्वयन रानीपोखरी वरिपरि खुला स्थल निर्माणबाट सुरू गर्दैछौं। अरू कामका लागि सरोकारवालाहरूसँग छलफल जारी छ।’
अर्को अंकमा हामी काठमाडौंको ‘कोर-सिटी’ लाई पुरानो वैभव ब्युँताउँदै ‘सम्पदा सहर’ मा रूपान्तरण गर्ने मास्टरप्लानबारे चर्चा गर्नेछौं।